बुधबार, ४ असार, २०८२

मुटु रोगी बालबालिकाका लागि निःशुल्क उपचारको अवसर

मुटु रोगको उपचार महँगो हुने भएकाले धेरै बालबालिका उपचार नपाएरै जटिल अवस्थाबाट गुज्रन बाध्य हुने गर्छन्। यस्तो अवस्थामा, प्रतिष्ठानले प्रारम्भिक जाँचदेखि काठमाडौँसम्मको यातायात व्यवस्थासमेत सुनिश्चित गर्नु पीडित परिवारका लागि राहतपूर्ण पहल हुने विश्वास गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले १५ वर्षमुनिका मुटु रोगी बालबालिकाका लागि निःशुल्क उपचार सेवाको व्यवस्था गरेको छ। प्रतिष्ठानको बालरोग विभागअन्तर्गत हुने यो सेवामा बालबालिकाको निःशुल्क मुटुको भिडियो एक्सरे गरिनेछ। साथै, थप उपचार आवश्यक परेमा दाताहरूको सहयोगमा काठमाडौँसम्म पुर्‍याइने व्यवस्था समेत मिलाइनेछ।

बाल रोग विशेषज्ञ डा. कमल थानीका अनुसार, यदि बालबालिकामा उकालो चढ्दा सास फेर्न गाह्रो हुने, ओठ वा मुख निलो हुने, छाती दुख्ने, मुटुको चाल असामान्य हुने जस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नुपर्ने हुन्छ। समयमै उपचार गराउन सकेमा गम्भीर समस्या हुन नदिइने उनको भनाइ छ।

यो सेवाबाट आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई विशेष लाभ पुग्नेछ। प्रतिष्ठानले आवश्यक सम्पूर्ण प्रारम्भिक परीक्षण निःशुल्क गर्ने भएकाले अभिभावकहरूलाई समयमै सम्पर्क गरी नाम टिपाउन अनुरोध गरिएको छ।

मुटु रोगको उपचार महँगो हुने भएकाले धेरै बालबालिका उपचार नपाएरै जटिल अवस्थाबाट गुज्रन बाध्य हुने गर्छन्। यस्तो अवस्थामा, प्रतिष्ठानले प्रारम्भिक जाँचदेखि काठमाडौँसम्मको यातायात व्यवस्थासमेत सुनिश्चित गर्नु पीडित परिवारका लागि राहतपूर्ण पहल हुने विश्वास गरिएको छ।

डा. थानीले मुटु रोगका लक्षण देखिएका बालबालिकालाई ढिलो नगरी परीक्षण गराउन र आवश्यक परे थप उपचारका लागि पहल गर्न आग्रह गरेका छन्। उनका अनुसार, समयमै उपचार गराउन सके धेरै बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार