तस्बिर : विकिपिडियाबाट
जुम्लाको राजनीतिक क्षेत्रमा एउटा अशल उच्च विचारक मानव सेजुवाल गुमाउँदा जुम्ली जनता टुहुरा जस्तै बने। उहाँ समेत दुर्घटनामा बोहोरा गाउँका राजेन्द्र प्रसाद देवकोटा लगायत क्याप्टन समेत १८ जना छिट्टै ईश्वरको प्रिय बन्न पुग्नु भयो।
म श्री सत्यवादी निम्न माध्यमिक विद्यालयमा सात कक्षासम्मको अध्ययन सकेर ८ कलासदेखि माध्यामिक पढाइ पूरा गर्न चन्दननाथ माध्यमिक विद्यालय खलंगा जुम्लामा भर्ना भएको थिएँ।
सदरमुकाम स्थित म चन्दननाथ मा.वि.खलंगा जुम्लामा ०४४/४५ साल ताका अध्ययन गर्दा विगतमा अनिवार्य पढाइ हुने भूगोल, शिक्षा, कृषि विषयलाई क्रमभंगता गर्दै अतिरिक्त विषयको रुपमा विज्ञान, स्वास्थ र ऐच्छिक गणित रोजेको थिएँ। त्यसबेला यी नयाँ विषय भर्खर लागू भएकाले धेरै विद्यार्थीहरू रोज्न डराएका थिए।
यी नयाँ विषय रोजेर पढ्ने विद्यार्थीहरूमा म लगायत महत गाउँका दिलबहादुर महत, खलंगा बजारका हिक्मतसिंह कठायत लगायतका केही साथीहरू थियौँ।
म पढ्नु भन्दा अघि चन्दननाथ माविमा दाङतिरका घमानसिँङ बुढाथोकी कि यस्तै थरका प्रधानध्यापक हुनुहुँदो रहेछ। उहाँको विद्यालय प्रशासन निकै कडा थियो भन्ने सुनेको थिएँ। उहाँलाई खासै मैले देख्न चिन्न भने पाइनँ।
म पढ्दा बुबाका साथी साविकमा कार्तिक स्वामी गाविस हाल चन्दननाथ नगरपालिका गैरागाउँका गुरुराज न्यौपाने प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँ साह्रै अशल मिजासिलो कसैको मन र आँखामा नबिझाउने जस्तो लाग्थ्यो मलाई।
यसैगरी पछिल्लो समयमा गुरु ईश्वरी न्यौपाने प्रधानाध्यापक भएर आउनु भयो। उहाँबाट पनि त्सबेलाका हामी विद्यार्थीहरुले थुप्रै ज्ञानज्ञुन सिक्न पायौँ।
चन्दननाथ माविमा विज्ञान पढाउने खलंगा बजारका नारायण भट्चन, विज्ञान विषयमा एमएस्सी गर्नु भएका जुम्ला खोलिकोटका मानव(मानबहादुर) सेजुवाल र पछि पोखरा तिरबाट आउनु भएका रामचन्द्र बराल जो पछिल्लो समय जुम्ला बजारमा व्यापार गरेर पनि बस्नु भयो। उहाँहरुले विभिन्न कक्षामा विज्ञान पढाउनु हुन्थ्यो। जुम्लाका धेरै विद्यार्थीले उहाँहरूबाट धेरै वर्षसम्म भौतिक विज्ञान, रसायनशास्त्र, जिव विज्ञान बारे थुप्रै ज्ञान हासिल गरेका थियौँ।
त्यो बेलामा ८ कक्षामा पढ्दा म औद्योगिक शिक्षा पढ्थेँ। जुम्ला छिनाका नारायणनाथ योगी औद्योगिक शिक्षा पढाउनु हुन्थ्यो। अरु साथीहरुले नपढ्ने भएपछि मैले पनि पढ्न छोडि दिएँ।
त्योबेलामा हामीलाई सरल तरीकाले अंग्रेजी पढाउने स्वर्गीय खडानन्द चौलागाईं हुनुहुन्थ्यो। उहाँको विधिले अंग्रेजी र व्याकरण नपढेकोभए सजिलै अंग्रेजी सिक्न बुझ्न सकिने थिएन।
खडानन्द सरपछि पछि गणेशप्रसाद चौलागाईंले पढाउनु भयो। यस्तै कृषि पढाउने गैरागाउँका टेकबहादुर भण्डारी, धनप्रसाद शर्मा। पछि रमानन्द आचार्य सर पनि चन्दननाथमै आउनु भयो।
त्यो बेलाकासँगै पढ्ने समकक्षी साथीहरुमा भारती बाडाका महेन्द्रराज भारती र नृप भारती, भण्डारी बाडाका पदम बहादुर भण्डारी र रत्नबहादुर भण्डारी, सिंमखाडाका लक्ष्मीप्रसाद उपाध्याय, महत गाउँका मिनबहादुर महत, विष्णु बहादुर महत, (बिएम भनेर चिनिने जो अहेव हुँदाहुँदै स्वर्गवास भैसके) थिए।
यसैगरी धिँताका लक्ष्मीकान्त चौलागाईं जो अहेव थिए। द्वन्द्वकालदेखि आजसम्म बेपत्ता नै छन् जस्तो लाग्छ। फोईका लक्ष्मीकान्त आचार्य लगायतका थुप्रै साथीहरु थिए।
जुम्ला बजारका प्रविन श्रेष्ठ, बोहोरागाउँका हरीबहादुर रावल, पिपलगाउँका धिरेन्द्रद्रराज गिरी, गैरागाउँका रामेश्वर न्यौपाने मेघराज न्यौपाने, कमलबहादुर शाही, रविन्द्र शाही, मान बहादुर शाही, दिपक बहादुर शाही, अर्को पछिल्लो समय सेनामा जागीर खाएका दिपक बहादुर शाही समेत, खगेन्द्र बहादुर शाही यी दुई मेघराज न्यौपाने र खगेन्द्र शाहीको पनि मृत्यू भसक्यो। लाम्रा गाउँका खडानन्द चौलागाईं, हरीबाबु चौलागाईं र नन्दराम चौलागाईं थिए।
यसैगरी छात्रा साथीहरु हुम्ला घर भई चन्दननाथ माबिमा पढ्ने तारा कुमारी शाही, कलन्धरा शाही, तातोपानी डाँगीबाडाकी कमला डाँगी, महतगाउँकी रीता महत, मिचा गाउँकी शुशीला रावल, मुगु गमगढीकी राधिका भाम, मालाभिँडकी राधिका मल्ल थिए।
यसैगरी अन्य छात्रहरु तलिचौरका नन्दप्रसाद न्यौपाने, श्री ढुस्काका विष्णुप्रसाद उपाध्याय (ज्योतिष) र विष्णु प्रसाद उपाध्याय रेग्मी/ पंडित थिए। अरु धेरै साथीहरुलाई पनि सम्झे तर अहिले सम्झिन गाह्रो भयो।
एकदिन जुगाढ खोलाको किनार नजिक पर्ने दश कक्षाको कलास कोठाको अगाडी चौरमा हामी दश कक्षाका विद्यार्थीहरुलाई अंग्रेजी विषयका गुरु गणेशप्रसाद चौलागाईं ज्यूले कक्षा लिँदै हुनुहुन्थ्यो।
पढाउँदा पढाउँदै महेन्द्र राज भारतीले चकचक गरे। गणेश सर रिसाउनु भयो सम्झाउँदा पनि मानेनन्। डरले भागे। गणेश सरले यस्तो चकचक गर्ने केटा काम लाग्दैन, कसरी पास गर्छ यसले भन्नुभयो। महेन्द्र भारतीले त्यो दिन डरले कक्षा लिएनन्। बस यतिमै कक्षा सकियो।
अन्ततः महेन्द्र भारतीलाई चकचक गर्ने भनिए पनि जसले चकचक र बदमासी गर्ने अरुलाई नियन्त्रण गर्ने नेपाल सरकारको सुरक्षा निकायमा जागीर खानु भयो।
अग्रज कलासमा पढ्ने जुम्ला बजारका हालका मेयर राजुसिँह कठायत, तपेन्द्र श्रेष्ठ, मालाभिँडका नारायण हमाल, तातोपानी गौतमबाडाका धनबहादुर गौतम आदि थिए।
यी चारजना मध्ये तीनजना भलिवल र धनबहादुर गौतम हाईजम्प लम जम्प र ट्रिपलजम्पका मावि लेभलका जुम्लाका बरिस्ठ खेलाडी थिए। कसैले पनि विरेन्द्र रनिङ सिल्डमा उनीहरूलाई जित्दैनथे।
मैले चन्दननाथ माध्यमिक विद्यालय रोज्नुको कारण मेरो बुबा पढेको र उहाँले पढिसकेर केही समय चन्दननाथमा पढाउनु पनि भएको रहेछ। आफ्नो पुर्खा हिँडेको बाटोमा म किन नहिँड्ने भनेर भर्ना भएँ।
लोकराज चौलागाईं गणित विषयको जुम्लामै विज्ञ लाग्यो। उहाँसँग केही महिना गणित विषयको ट्युसन पढेको थिएँ। उहाँसँग मैले चन्दननाथमा भने कलास लिने अवसर पाइनँ। उहाँ रत्नचुँडेश्वर माविमा प्रअ हुनुहुँदोरहेछ।
चन्दननाथ माध्यामिक विद्यालयमा विज्ञान विषय पढाउने मानव सेजुवाल गुरु प्रखर बौद्विक, राजनैतिक विचार एवं जुम्लाको आर्थिक सामाजिक साँस्कृतिक परिवर्तन कसरी गर्न सकिन्छ भन्नेबारे धेरै राम्रो दृष्टिकोण, सोच र दर्शन भएका व्यक्तित्व हुनुहुन्थ्यो।
म चन्दननाथ मा.वि.परिसरमा रहेको निलभैरव र सरस्वती मन्दिरमा छिमेकीबीच पालो परेको बेलामा पुजा गर्न गइरहन्थेँ। हामी तलिचौर देवकोटाबाडाका देवकोटाहरू बडादशैँमा व्यारेक बडाघरमा निशान भगवती (दुर्गाभगवती) र निल भैरव मन्दिरको सदावहार पुजा गर्ने हकदारनै हौँ।
मैले सुनेको राजेन्द्र विक्रम शाहदेवका पालामा हामी तलिचौर देवकोटाबाडाका देवकोटा परिवारलाई पुजाआजा गर्न तोकिएको रहेछ। यो कुरा बुबा प्राज्ञ रत्नाकर देवकोटा र उहाँबाट लिखित कृति कर्णाली अञ्चलका धार्मिक तथा सांस्कृतिक स्थलहरु र कर्णालीको अथइति पढ्दा जान्न बुझ्न पाएको हुँ।
यसैले मलाई त्यो बेला ८, ९ र १० कक्षामा पढ्ने अग्रज र समकक्षी चन्दनननाथ माध्यमिक विद्यालयका प्राय शिक्षक, शिक्षिका, छात्रछात्राले कसैले गुरु, कसैले गुरुदेव भनेर बोलाउने गर्दथे। उहाँ मानव गुरुले मलाई जहिल्यै गुरु भनेर बोलाउनु हुन्थ्यो। कोही विद्यार्थीलाई पनि नरिसाई मुस्कान दिएर पढाउने उहाँको कला र छवि थियो।
नारायण भट्चन सर जुम्लाका राम्रा फुटबल खेलाडी भित्र पर्नु हुन्थ्यो। उहाँबाट ज्ञानमात्र सिकेनन् विद्यार्थीले विद्यालयबाट फुटबल पनि सिक्न पाए। होचो कदका खाइलाग्दो मोटो पुठ्ठो ज्यानका उहाँको कलाकौशलबाट फुटवल खेलका धेरै राम्रा विद्यार्थी खेलाडीहरु जन्मे।
मलाई याद छ। म त्यहाँ पढ्दै गर्दा चन्दननाथ माध्यामिक विद्यालयका त्यतिबेलाका केही सर, छात्रछात्रा र कलास मेड साथी, को कससँग मायाप्रिति बसेको थियो, को कसलाई मन पराउँथे र को कसको कोसँग बिबाह हुँदैछ भन्ने कुरा पनि थाहा पाउँदथेँ। तर यी व्यक्तिगत मामलाका र गोपनियताका कुरा भएकाले यतातिर प्रवेश गरिनँ।
पढाउँदै गर्दा र हाफ टायम मध्यान्हमा गफ गर्दा पनि समाज परिवर्तनका कुरा गरिरहेको मानव गुरुको मुखार बिन्दुबाट सुन्न पाइरहन्थ्यौँ हामी विद्यार्थीहरु। विधिको विज्ञान कसैले टार्न नसक्ने। आखिर विज्ञानको विद्यार्थीलाई विज्ञान र प्रविधिलेनै हामी माझबाट खोसेर लगिदियो। २०७० साल फागुन ४ गतेको दुखद प्लेन दुर्घटना भएर।
त्यो बेलामा म जिल्ला सरकारी वकिल कार्यालयको सरकारी वकिल भएर प्रमुखको भूमिका निभाएरहेको थिएँ। साँझ एकाएक प्लेन दुर्घटना भएको खबर समाचारबाट सुनियो। हामीसबैको सातोपुग्लो उड्यो। जो सुकै परेपनि त्यो राम्रो खबर थिएन दुखद खबर थियो।
त्यसमै पनि काठमाडौंबाट पोखरा हुँदै जुम्ला आउने भएपछि क्याप्टन लगायत जुम्लाका जनता कोही न कोही परे भनेर डरले थुरथुर भइयो।
समाचार सुन्दा नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ अन्तर्गत मसिने भन्ने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा भएछ। दुर्घटनामा परी त्यसमा सवार १५ जना यात्रु र चालक दलका सदस्य तीन सहित सबै १८ जना को मृत्यु भयो भनेर समाचारबाट थाहा भयो।
समाचार सुन्दै गर्दा जहाज पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो ९ एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर प्लेन उडेको रहेछ। सो प्लेन दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो भनी सुनाएपछि अब कोही जिवीत रहेन भन्ने पक्कापक्की भयो।
जुम्लाको राजनीतिक क्षेत्रमा एउटा अशल उच्च विचारक मानव सेजुवाल गुमाउँदा जुम्ली जनता टुहुरा जस्तै बने। उहाँ समेत काठमाडौंबाट पोखरा हुँदै जुम्ला आउँदै गर्दा अप्रिय रुपमा भएको दुर्घटनामा बोहोरा गाउँका राजेन्द्र प्रसाद देवकोटा जो कृषि बिकास बैंक जुम्ला शाखाको प्रबन्धक हुनुहुन्थ्यो, उहाँहरु लगायत क्याप्टन समेत १८ जना छिट्टै ईश्वरको प्रिय बन्न पुग्नु भयो।
देश विकास र परिवर्तनका लागि जन्मेका होनहार व्याक्तित्व हरू, मानव शक्ति र अगुवा एवं नेतृत्वकर्ता गुमाउनु पर्दा जुम्लालाई मात्र होइन, पुरै देशको लागि अपुरणीय क्षति भयो। यस्तो दु:खदायी, पीडादायी, घटना देख्न सुन्न नपरोस्।
एक अब्बल नेपाली काँग्रेस जुम्लाका नेता मानव सेजुवाल, राजेन्द्र प्रसाद देवकोटा र अन्य क्याप्टन दलका सदस्य सहित १६ जनाको घरपरिवार र आफन्तजनलाई बाँचुञ्जेल पीडा बोध भैरहनेछ। उहाँहरुमा गहिरो समवेदना एवं मृतक आत्माहरू पर्ति हार्दिक श्रद्धाञ्जली छ, साथै सँगै पढेका जो जति साथीहरुको यस अवधिमा स्वर्गबास भयो उहाँहरु सबै प्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
२०८१/११/४/ खलंगा, प्यूठान।
















