कर्णालीको इतिहास फेरिँदै छ। हिजोका पीडाहरू केवल सम्झनामा सीमित रहनेछन्। त्यसैले राकम अस्पताल भविष्यको प्रतीक पनि हो।
हिजो हजारौं कर्णालीबासीले सिटामोल नपाएर ज्यान गुमाए। तर समय बदलिएको छ। अब त्यही कर्णालीमा विश्वविद्यालय स्तरको संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ।
साविकको कर्णालीमा स्थापना भएको प्रतिष्ठान यतिबेला साविकको भेरीमा समेत सेवा दिने अवस्थामा पुगेको छ। सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत सञ्चालन गर्ने निर्णय गरेको छ।
यो केवल एउटा नीतिगत निर्णय नभई यो कर्णालीका लागि नयाँ इतिहास लेख्ने क्षण भएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
कर्णालीबासीले स्वास्थ्य सेवाका लागि गन्तव्य खोज्नुपर्ने बाध्यता अब अन्त्य भइसकेको अवस्थामा सेवा विस्तार महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुँदैछ।
“यो हाम्रो सपना थियो, जुन अब साकार हुँदै छ। कर्णालीका जनताको स्वास्थ्य सेवा सहज बनाउन यो अस्पताल एउटा माइलस्टोन सावित हुनेछ,” उपकुलपति डा. मंगल रावलले थपे।
कर्णालीमा चिकित्सा शिक्षा सम्भावना बोकेर आएको छ।
“हामी आउटरिच सेन्टरको अवधारणालाई अझ बलियो बनाउँदै अन्य नगरपालिकासँग समन्वय गर्न चाहन्छौं,” प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले बताए।
उनले थपे, “राकम कर्णालीमा चिकित्सा शिक्षाको र सेवाको विस्तार गरिँदै अरु क्षेत्रमा पनि स्वास्थ्य सेवा पुर्याउने हाम्रो अठोट छ।”
कर्णालीमा कहिल्यै औषधि अभावको कथा नसुनिएको होइन। ८० कटेका चन्दननाथ -१० का बुदे कामी मानिस अझै सम्झन्छन्, कुनै समय सिटामोल किन्न नेपालगन्ज जाउ भन्थे।
“सिटामोल पाएनौं, सुत्केरी महिलाका दु:ख कति हुन कति, घरैमा ज्यान जान्थ्यो,” उनले भने, “अहिले हामीलाई बाहिर जानुपर्ने झण्झट छैन।”
उनले भनेजस्तो कर्णालीका पहाडहरू, जसले हिजो दुःख देखेका थिए, ती आज उपचारको उज्यालो देख्न थालेका छन्।
जब सरकारको निर्णय मन्त्रीपरिषद्बाट आयो, तब यो केवल एउटा निर्णय नभई कर्णालीको पहिचान बदल्ने संकल्प बनेको प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले बताए।
“राकमको अस्पताल अब केवल इँटाले बनेको भवन मात्र रहने छैन,” उनले भने, “यो कर्णालीको स्वास्थ्य सेवाको मेरुदण्ड बन्नेछ।”
उनका अनुसार एकजना गर्भवती आमाले सुरक्षित सुत्केरी हुने आशा गर्न सक्नेछिन्। एउटा बिरामीलाई अब गाउँबाट घण्टौं हिँडेर उपचार खोज्नुपर्ने छैन।
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतका अनुसार मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्रालयको सिफारिसमा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेल, स्वास्थ्य मन्त्री प्रदीप पौडेलसम्म, सबैको संलग्नता छ।
“आठबिस नगरपालिकाका मेयर तर्क बहादुर बढुवाल, उपमेयर कल्पना थापा चन्द, स्वास्थ्य संयोजक देवराज तिमिल्सिना र सम्पूर्ण कार्यपालिका परिवारको महत्वपूर्ण योगदानले यो सम्भव भयो,” उनले भनु, “नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नीति योजना प्रमुख डा. कृष्ण पौडेल, सहसचिव विनोद कुँवरलगायत धेरैको भूमिका रह्यो।”
राकमको अस्पताल स्वास्थ्य सेवाको विस्तारका साथै कर्णाली आत्मनिर्भरताको संकेत भएको उपकुलपति डा. रावलले बताए।
उनले भने, “जब एकजना स्थानीयले अस्पतालको ढोका उघार्नेछ, त्यो केवल उपचारका लागि होइन, आत्मनिर्भरताको अनुभूति पनि हुनेछ।”
उनका अनुसार कर्णालीको इतिहास फेरिँदै छ। हिजोका पीडाहरू केवल सम्झनामा सीमित रहनेछन्। त्यसैले राकम अस्पताल भविष्यको प्रतीक पनि हो।