बुधबार, ४ असार, २०८२

म स्कुलको करार शिक्षक

सरकार, तिमीले खुब लखेट्यौ
म तिमीबाट लखेटिन राजी भएँ
विद्यालय, तिमीले निकै खेद्यौ
म तिमीबाट खेदिन तयार भएँ
अभिभावक, तिमीले सारै चेप्यौ
म तिमीबाट चेपिन तयार भएँ
समाज, तिमीले ह्वात्तै हेप्यौ
म तिमीबाट नि हेपिन तयार भएँ
किनकि, म स्कुलको करार शिक्षक हुँ ।

महिनौं बितेछन् हात रित्ता भएका
आफ्नै मान्छेहरु भित्ता भएका
न कसैले सोध्यो न मैले भन्न सकेँ,
म हिजोआज हरेक अभावमा छु,
चारैतिरबाट चर्को दवावमा छु।
चुलोमा खरानीको धूलो नउडेपछि
सानी छोरीको रिमोट कार नगुडेपछि
हेर्दाहेर्दै आफ्नैले मेरो साथ छोडे
पलभरमै प्रियजनले पाइला मोडे
किनकि म स्कुलको करार शिक्षक हुँ।

एक दिन प्रधानाध्यापकले मायाले भने,
सर, बहु कक्षा चलाउनु पर्‍यो
यही गरेर भए नि चुलो जलाउनपर्‍यो ।
नाई भन्ने आँट गर्नै सकिनँ मैले
तर मन भारी भो मोबाइल सम्झेर!
सापटी गरेर ल्यापटप नै किन्नु पर्‍यो
नेट जोडे हातमुख जोडिएला भनेर।
तर, बहु कक्षा नि बन्द गरियो
र भनियो– अब बेतलवी बिदा!
हातमुख होइन ऋण जोडियो
अविश्वास गर्नेहरुको भिड जोडियो
किनकि म स्कुलको करार शिक्षक हुँ।

हिजो बाको फोन आयो गाउँबाट
खुसी होइन प्रशस्त पीडा बोकेर
बाले खोक्दै सानो स्वरमा भन्नुभो–
कान्छा, औषधी सकियो पठाउँछस् कि ?
अहिले म सक्दिनँ बा! भन्न सकिनँ।
मडारिएको मनमा यस्तो लाग्यो कि,
बाको औषधी र मेरा आशा एकैचोटी सकिए।
बाको फोन लगत्तै अर्को फोनवालाले भन्यो,
सर, बाइकको किस्ता दुई दिनमा बुझाउनुहोला।
किस्ता होइन आफ्नै मन बुझाउन सकिनँ।
अचानकको यावत उल्झन सुल्झाउन सकिनँ।
किनकि म स्कुलको करार शिक्षक हुँ।

सोचिरहेको बेला संकेत आयो ढोकामा
ढोका खोल्दा घरबेटी उभिएका रहेछन्
घरभाडाको टिपोट रुपी निष्ठुर दिल हातमा बोकेर
म अवाक् भएँ र उभिरहेँ खम्बा बनेर,
केही बोलिनँ ठूलो घरको सानो दिलसंग!
त्यही नै बेला छोरोले भन्यो,
बाबा, नेटको पनि बिल आको छ।
बिलवालालाई दिल दिएर नहुँदो रैछ,
सबैलाई एउटै जवाफ दिन्छु आजकल,
कृपया केही दिन नआत्तिनु होला।
तर म अत्तालिएको छु तीन महिनादेखि
तलब नपाउँदा तनावको तरवारले काटेर
किनकि म स्कुलको करार शिक्षक हुँ।

नङ–मासुको सम्बन्ध थियो हिजो
म शिक्षक र मेरा विद्यार्थी बीचमा,
आज मासु बाँचिरहेछ नङ छुट्टिँदा पनि
रक्ताम्य छैनन् अभिभावकीय औलाहरु,
नङ र मासु अचानक टाढा सर्दा पनि।
ओत दिने रुख जस्तो लाग्थ्यो मलाई
शिक्षक संघ–संगठनका छाताहरु
के थाहा मलाई उनीहरु नै रैछन्
मालिकहरुका गाउने गौरव गाथाहरु।
आफ्नै प्रधानाध्यापकले पीडा बुझेनन्
आफ्नै सरकारले त साथ दिएन
आफन्त कहलाएकाहरुले नै लात हाने
अब कहाँ जाऊँ र कसलाई बताउँ पीडा?
किनकि म स्कुलको करार शिक्षक हुँ ।

नागरिकता भए नि अनागरिक भएँ
उज्यालो छरेर नि म अध्याँरो रहेँ
रोगलाई जित्दा भोकसँग म हारिरहेछु
आफन्तसँगका आशाहरु म मारिरहेछु
विभेदको पर्खाल धेरै अग्लो रै’छ
चित खाने गरी चेतना पाइरहेछु।
सुन्छु– सरकारले अर्को सन्तान जन्माउने रे
भएका सबै सन्तान मारेर!
सरकार सधैैं मलाई सौतेनी देख्छ
सधैं मलाई एकनाशले खेद्छ
किनकी म स्कुलको करार शिक्षक हुँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार