माथिल्लो कर्णाली (हुम्ला, मुगु, डोल्पा) का बस्तीहरूको जीवनशैली मुख्यतया व्यापार, पशुपालन, र उच्च हिमाली कृषिमा आधारित थियो। हुम्लाको लिमी, मुगुको नाक्चेलाग्ना र डोल्पाको च्यार्का भोट जस्ता नाकाहरूले तिब्बतसँग नुन, ऊन, जौ र भेडाको च्याङ्ग्रा को व्यापार गर्ने ऐतिहासिक मार्गहरू सञ्चालित गरेका थिए।
आधुनिक नेपालको शुरु भएदेखि आजका दिनसम्म पनि कर्णालीका बस्तीहरूलाई भोक, रोग, शोक, अभाव, गरिबी र दुर्गमताको पर्यायका रूपमा चर्चा गरिँदै आएको छ। तर त्यो अर्ध सत्य हो। बरु, पुरातत्त्वविद् गुड्रन कोर्भिनसको अनुसन्धानले प्रागैतिहासिक कालमा पनि यस क्षेत्रमा मानव बस्तीहरू रहेको र यो तत्कालीन गान्धियन मैदानको खतरनाक जंगलहरूलाई छल्दै दक्षिण-पूर्वी एसिया जाने मानवहरूको एउटा प्रमुख मार्ग रहेको तथ्य प्रमाणित गर्छ। यसले कर्णालीको ऐतिहासिक महत्त्वलाई उजागर गर्दछ।
संवत् १८४६ (सन् १७८९) मा तत्कालीन गोर्खा राज्यमा विलीन हुनुभन्दा पहिले कर्णाली क्षेत्रको राजनैतिक तथा सांस्कृतिक अन्तर्क्रिया सदियौंदेखि यस भू-भागको पश्चिममा पर्ने हालको भारतको कुमाउ-गढवाल र उत्तरमा चीनको तिब्बतसँग रहिआएको थियो। बाह्रौं शताब्दीमा गढवालका खस राजा नागदेवले जुम्लालाई अधीनस्थ पारेको इतिहासले पनि यसको बृहत् भू-राजनीतिक महत्त्वलाई दर्शाउँछ। १२औँ–१४औँ शताब्दीमा शक्तिशाली र समृद्ध खस मल्ल राज्यको केन्द्रको रूपमा रहेको यो क्षेत्र नेपालको एकीकरणसँगै केन्द्रिकृत राज्यको नजरमा जहिले पनि किनारीकृत गरिएर सौतेनी व्यवहार भोगिरह्यो।
एकीकरण पछि एकातिर विगतको वैभवशाली इतिहास र शासन व्यवस्था भताभुङ भयो भने अर्कोतिर नयाँ व्यवस्थाको आँखामा ओझेलमा परेपछि कर्णाली क्षेत्र ओरालो लाग्नु अवश्यम्भावी थियो। खैर, यसका बारेमा धेरै लेखकहरूले चर्चा गरिसकेका छन्। आज भने म यो क्षेत्रमा बस्तीहरू कसरी रूपान्तरण भइरहेका छन् भन्ने विषयमा मुख्यतया इतिहासदेखि वर्तमानसम्मको विश्लेषण गर्ने प्रयासमा छु।
कर्णालीका बस्तीहरू केवल भौगोलिक अवस्थितिमा सीमित छैनन्। तिनीहरू ऐतिहासिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, जातीय तथा धार्मिक रूपान्तरणका साक्षी हुन्। अब त झन् बाहिरी संसारसँगको सम्पर्क-समन्वय अनि सूचना प्रविधिको बेजोड पहुँचले सामाजिक चेतना मात्र होइन, माथिका सबै क्षेत्रमा बहुआयामिक परिवर्तन ल्याएको छ, भलै ती सबै परिवर्तन असल भने छैनन्। ती परिवर्तनले उत्तिकै चुनौती, जोखिम, र विनाश पनि निम्त्याएका छन्। धार्मिक रूपमा प्रकृति पुजक अनि मस्टो परम्पराको प्राचीन जगदेखि खस-आर्य (जसमा बाहुन, क्षेत्री, ठकुरी), दलित, राउटे, बोन्बो, तामाङ, शिल्पी, लोपा/लोवा, राल्पचा, गुरुङ र तिब्बती परम्पराको सम्मिलन देखिन्छ। लिमी, यारी, छार्का–फो, हाल्चे, धो जस्ता हिमाली बस्तीहरू केवल सिमाना थिएनन्। तिनीहरू तिब्बती–बौद्ध र व्यापारिक मार्गहरूका केन्द्र र ऐतिहासिक आत्मनिर्भर प्रणालीका उदाहरण थिए। दुल्लु र सिंजा त उतिबेलाको खस सभ्यताको राजधानी नै थिए। त्यो बाहेक जाजरकोट, सल्यान र रुकुम तिरको पनि आफ्नै छुट्टै तर समृद्ध इतिहास छ।
कर्णाली प्रदेशका बस्तीहरूले हजारौं वर्षको अनुकूलनको एक उल्लेखनीय कथा प्रकट गर्दछन्। प्रारम्भिक शिकारी-संग्राहक समाजदेखि मध्यकालीन राज्यहरू र आधुनिक संघीय शासनसम्म। यद्यपि, यो क्षेत्र खडेरी, बाढीपहिरो, आगलागी, महामारी र भोकमरी जस्ता अनगिन्ती साना तर नियमित प्राकृतिक तथा मानवीय प्रकोपहरूको सामना गर्दै आएको छ। पुरातात्विक र ऐतिहासिक अभिलेखहरू खस राज्यकालसम्मका मात्रै त्यो पनि अपूर्ण र सीमित भएपनि समग्र हिमाली क्षेत्रको मानव बसोबास र बसाइसराइको ऐतिहासिक तथ्यहरुले यस क्षेत्रको बसोबासको अवस्था बुझ्न मद्दत गर्छ। यो आलेख ऐतिहासिक उत्खननका तिथिमितिजस्ता आयाममा भन्दा तत्कालीन बसोबास र बस्तीहरूका आयाममा बढी केन्द्रित छ। यसले ऐतिहासिक अवस्था बुझ्नका लागि उपलब्ध तथ्य र प्रमाणहरूको आधारमा एउटा मोडल तयार गरी केही अनुमानहरू समेत गरेको छ।
१. कर्णालीको सभ्यता: कस्तो थियो होला कर्णालीको पहिलो बस्ती?
१.१. प्रारम्भिक बस्तीको स्वरूप र विकास
कर्णालीका प्रारम्भिक बस्तीहरू मानव सभ्यताको सपना र संघर्षका प्रतिक थिए। जुन हजारौं वर्षअघि यस क्षेत्रको कठोर भू-बनोट र हिमाली हावापानीले आकार दिएका थिए। विभिन्न मानवशास्त्रीहरूले हिमाली क्षेत्रहरूमा कम्तिमा १२००० वर्षअगाडि बस्ती बसिसकेको भनेर मानेका छन्। नेपाली हिमाली क्षेत्रतिर भने उत्तर र दक्षिण दुबैतिरबाट बसाइ सराइ गर्दै आएर मिश्रित बसोबास भएको भन्ने मान्यता पनि छ। जुम्लाको चन्दननाथ लगायतका मन्दिरमा भेटिएका मूर्तिहरू सातौं शताब्दीतिरका रहेछन्। कसैले ती मूर्तिहरू अन्यत्रबाट ल्याएर त्यहाँ स्थापना गरिएका भनेर मानेका छन्। जे होस्, हामीले बुझ्नु पर्ने कुरो भने खस सभ्यता भन्दा पनि पहिले कर्णालीमा बस्तीहरू थिए। भलै तिनिहरूको इतिहास नलेखिएको होस्।
खस राज्यभन्दा पहिलेका यी बस्तीहरूको स्वरूप बुझ्न ‘वस्तीहरुको उद्भव तथा विकास विश्लेषण मोडेल (SEAM)’ को प्रयोग गरिएको छ। SEAM कर्णाली लगायतका पश्चिमी हिमाली क्षेत्रका बस्तीहरूको स्थान, अवस्थिति, आकार, वास्तुकला, हावापानी, वातावरण, अर्थराजनीति, समाज र संस्कृति लगायतका विभिन्न आयामहरूको विश्लेषण गर्न तयार पारिएको तर अन्तिम रूप आइनसकेको प्रक्रियामा रहेको एक मोडल हो। यद्यपि यसको वैज्ञानिक प्रमाणिकरण भइसकेको छैन। यसका बारेमा भविष्यमा पर्याप्त बहस, छलफल चल्दै जाला, अझ थप समृद्ध पनि बन्ला वा अस्वीकार पनि हुन सक्ला। तर पनि यसले कर्णालीको उहिलेको वस्ती कस्तो थियो होला भन्ने जिज्ञासाको जवाफ दिन एक वैज्ञानिक अनुमानको आधार तयार गर्छ। हुनत ऐतिहासिक प्रमाण र पुरातात्विक उत्खनन् नगरी यस्ता कुरामा ठोकुवा गर्न सकिन्न तरपनि यसले एक समस्टिगत अनुमान गर्न भने मद्दत गर्छ।
यस मोडल अनुसार कर्णालीका प्रारम्भिक बस्तीहरू साना, छरिएका र प्रायः अस्थायी प्रकृतिका थिए। यसले शिकार, सङ्कलन र आधारभूत कृषिमा आधारित घुमन्ते वा अर्ध-घुमन्ते जीवनशैलीलाई प्रतिबिम्बित गर्दथ्यो। यस अनुमानलाई बल पुर्याउन, दाङ-देउखुरी उपत्यकामा भेटिएका Acheulean शैलीका औजारहरूले दक्षिणबाट मानव उपस्थितिको संकेत गर्छन् (Corvinus 1984), जबकि मुस्ताङका पुरातात्त्विक स्थलहरूमा भेटिएका जौ र बकाइनो खेतीको प्रमाणले १,००० ईसा पूर्वदेखि उत्तरबाट कृषिमा आधारित बस्तीहरूको विकास भएको देखाउँछ (Knörzer 2000)। डीएनए विश्लेषणहरूले पनि मुस्ताङका मानव अवशेषहरूको वर्तमान शेर्पा र तिब्बती समुदायसँगको सम्बन्ध स्थापित गरेका छन् (Jeong et al. 2016)।
उच्च हिमाली भेगहरू (जस्तै: माथिल्लो हुम्ला र डोल्पा) मा तिब्बती शैलीका, सुख्खा ढुङ्गाका गाह्रो भएका र ससाना घरहरू हुन्थे, जसको मुख्य जोड कठोर हावापानीबाट बच्नु थियो। यी बस्तीहरू मुस्ताङ र तिब्बतका बस्तीहरूसँग मिल्दोजुल्दो थिए र यिनीहरूको जीवनशैली घुमन्ते पशुपालन तथा पार-हिमालयन व्यापारमा आधारित थियो। यसको समानान्तर, तल्लो कर्णाली क्षेत्र (जस्तै: जुम्ला, दैलेख, सुर्खेत र तल्लो हुम्ला, मुगु तथा डोल्पाका बस्तीहरू) मा फरक वास्तुकला र जीवनशैलीको विकास भएको हुन सक्छ। यी बस्तीहरू घना, काठ र माटोको प्रयोगले बनेका तथा कृषिमा बढी केन्द्रित थिए। यस्ता बस्तीहरूमा थाडा (छत) र बाडा (सार्वजनिक स्थान) जस्ता सामुदायिक संरचनाहरूले सामाजिक एकतालाई बलियो बनाउँथे। हुम्लाको लिमी, हिल्सा र डोल्पाको च्यार्का भोटजस्ता व्यापारिक नाकाहरूले यी बस्तीहरूलाई तिब्बतसँग जोड्ने जीवनरेखाको काम गर्थे, जबकि जुम्ला, दैलेख र सुर्खेतका मार्गहरूले मध्य पहाडी तथा तराई क्षेत्रसँगको सम्बन्ध स्थापित गर्थे।
यी विषयमा यहाँकै पुरातात्विक उत्खनन, प्रमाण र अध्ययन सीमित भए पनि, SEAM मोडल, भारत र भुटान लगायतका अन्य हिमाली क्षेत्रहरूसँगको तुलनाले पनि माथिका अनुमानहरु नकार्न सकिन्न।
अब शुरु गरौं कर्णालीका बस्तीहरुको ऐतिहासिक विकासक्रमको विवेचना।
२. कर्णाली क्षेत्रको सभ्यता: ऐतिहासिक विकासक्रम
२.१. ईसापूर्व १०औँ शताब्दीभन्दा पहिले
प्रारम्भिक मानव उपस्थिति र जीवनशैली: कर्णाली, भेरी र तिला नदी र तीनका सहायक खोलाहरु यस क्षेत्रको जीवनरेखा मानिन्छ। जहाँ उर्वर दोमट माटो, पर्याप्त जलस्रोत र पारिस्थितिक विविधताले यहाँ पनि मानव बस्ती विकासमा आधार तयार पारेको हुनुपर्छ। जसले घुमन्ते, शिकारी-संग्राहक जीवनशैलीबाट कृषिमूलक समाजतर्फको संक्रमणको लागि आधार तयार पारेको अनुमान गर्न सकिन्छ। यद्यपि, यी नदी उपत्यकाहरूमा प्रारम्भिक कृषि अभ्यास वा संगठित बस्तीहरूको प्रत्यक्ष पुरातात्त्विक प्रमाणहरू हालसम्म पर्याप्त रूपमा फेला परेका छैनन्। जसले यस क्षेत्रमा थप गहिरो अनुसन्धानको आवश्यकतालाई दर्शाउँछ।
यस अभावका बाबजुद, पश्चिमी नेपालको समग्र प्रागैतिहासिक जगलाई बलियो बनाउने महत्त्वपूर्ण प्रमाणहरू उपलब्ध छन्। जर्मन पुरातत्त्वविद् Gudrun Corvinus ले सन् १९८३–८५ मा दाङ–देउखुरी उपत्यकामा Acheulean शैलीका औजारहरू खोज गरेकी थिइन्। जसले नेपालको पश्चिमी तराई क्षेत्रमा पुरातन मानव उपस्थितिको संकेत गर्छ (Corvinus, 1984)। Corvinus को यो खोजले कर्णालीका नदी उपत्यकाहरूमा पनि यस्तै प्राचीन मानव बसोबासका थप अवशेषहरू भेटिने सम्भावनालाई उजागर गर्छ। यद्यपि सुर्खेत र दैलेखका गुफाहरूमा यस्ता प्रमाणबारे दाबी गरिएको भए तापनि, औपचारिक उत्खनन वा वैज्ञानिक प्रकाशनमा आधारित पुष्टि भएको छैन।
उच्च हिमाली अनुकूलन र सभ्यताको विकास: नेटिक र पुरातात्त्विक अनुसन्धानले तिब्बती-बर्मेली मूलका समूहहरू झन्डै ५,००० वर्षअघि उच्च हिमाली क्षेत्रतर्फ फैलिएको सम्भावनालाई संकेत गर्छ। मुस्ताङ क्षेत्रका सेम्जोङ र चुसाङ जस्ता पुरातात्त्विक स्थलहरूबाट प्राप्त अवशेषहरूले उच्च हिमाली क्षेत्रमा स्थायी मानव बसोबास र कृषि अभ्यासको प्रामाणिक साक्ष्य दिन्छन्। अनुसन्धानले मुस्ताङमा करिब १,००० ईसा पूर्व देखि जौ र फापर खेती भइरहेको पुष्टि गरेको छ, भने गहुँ र कोदो र मटर ४०० ईसा पूर्व तिर देखा परेको पाइन्छ (Knörzer 2000)। यस उच्च हिमाली क्षेत्रमा रहेका बालीनालीका, रितिथिति र चाडपर्वका समानता अनि संस्कृति जस्तैः मरेको मानवको मासु काटेर गिद्धलाइ चढाउने (Aldenderfer and Eng, 2016)) जस्ता अभ्यासहरुले यिनीहरु बीचको सम्पर्क सम्पर्क समन्वय र प्रभावलाई दर्शाउछ।
बस्ती संरचना, व्यापार, जीवनशैली र धार्मिक अभ्यास: यी प्रारम्भिक बस्तीहरू सामान्यतः १०–२० घरधुरीका साना, छरिएका समूहहरू थिए, जुन अल्पाइन उपत्यकाहरूको संगममा अवस्थित थिए। मुस्ताङ र हुम्ला क्षेत्रका ढुंगा-पर्खाल, अन्न भण्डारणका गुफाहरू र चर्तेन-गुम्बाहरूले प्रारम्भिक धार्मिक अभ्यासको विकास देखाउँछन्। हुम्लाको लिमी उपत्यकामा पाइने प्राचीन गुम्बाहरू र Zhangzhung परम्परासँग सम्बन्धित शिलालेखहरूले बोन धर्म र प्रारम्भिक बौद्ध संस्कृतिको समिश्रण देखाउँछन् (Pandey 2017; Hein 2018)।
यसको ज्वलन्त उदाहरण जुम्लाको चन्दननाथ दत्तात्रेय मन्दिर हो। सातौँ शताब्दीतिरका मूर्तिहरू भेटिएको यो मन्दिर खस सभ्यताभन्दा पनि पहिलेको हो। यसको नाम १०औँ शताब्दीतिर भारतको कश्मीरबाट आएका चन्दननाथ नामक महात्माको नामबाट राखिएको हो, जसले मन्दिरमा दत्तात्रेयको पूजा सुरु गरेका थिए। यो मन्दिरले हिन्दु र बौद्ध दुवै परम्परालाई समेट्छ र यहाँको सांस्कृतिक तानाबाना कति पुरानो छ भन्ने देखाउँछ। यहाँ मस्टो र दुर्गा भवानीको पूजा गर्ने परम्पराले यस क्षेत्रको विशिष्ट धार्मिक पहिचानलाई झल्काउँछ।
माथिल्लो मुस्ताङ र दाङ जस्ता क्षेत्रमा भेटिएका पुरातात्त्विक प्रमाणहरूले कर्णाली प्रदेशको समग्र प्राचीन सभ्यताको सम्भावनालाई बलियोसँग संकेत गर्छ। यस क्षेत्रका उत्तरी भेगहरू (जस्तै: हुम्ला, डोल्पा) को परम्परागत सम्बन्ध तिब्बत र मुस्ताङसँग रहेको र दक्षिणी क्षेत्रहरू (जस्तै: जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, रुकुम, सल्यान) को दाङसँग सामिप्य रहेको हुँदा, यी क्षेत्रहरूमा पनि त्यस्तै मानव बस्ती र क्रियाकलापहरू रहेको अनुमान गर्न सकिन्छ। यद्यपि, हालसम्म कर्णाली प्रदेशको जम्मा दुई प्रतिशत भू-भागमा मात्र औपचारिक पुरातात्त्विक उत्खनन भएको छ। मुस्ताङ, सम्जोङ र लिमीका उत्खननहरूले उत्तर कर्णाली क्षेत्रमा अझै धेरै पुरातात्त्विक सम्भावना रहेको संकेत गर्छन्, जसका लागि रणनीतिक सर्वेक्षण र संरक्षण आवश्यक छ (Hein 2018; Pandey 2017)।
यद्यपि अर्कोतिरबाट हेर्दा घुमन्ते राउटे जस्ता आदिबासी समूहहरू वर्तमानमा पनि भेटिनुले स्थायी बसोबासको चलन निकै पछि शुरु भएको पनि हुन सक्छ भन्ने पनि बुझ्न सकिन्छ पुरातात्विक उत्खनन र अनुसन्धानको अभावमा अरु सबै अनुमान मात्रै हुन जान्छन्।
२.२. मध्यकालीन राज्य गठन (१०औँ – १४औँ शताब्दी)
मध्यकालीन अवधिमा कर्णाली क्षेत्र खस मल्ल राज्यको केन्द्रका रूपमा विकसित भयो, जसले यस क्षेत्रको भौगोलिक विविधतालाई शासन, अर्थतन्त्र र संस्कृतिमा एकीकृत गर्यो। राज्यको राजधानी जुम्लाको सिंजा उपत्यका थियो, जुन समुद्र सतहबाट २,५०० मिटर उचाइमा रहेको इन्जिनियरिङको उत्कृष्ट उदाहरण थियो। यहाँको उत्खननबाट पुराना दरबारहरू, मन्दिरहरू र ढुंगाका विशाल स्तम्भहरूले घेरिएको पुरानो बस्तीका अवशेषहरू फेला परेका छन्। माटाका पाइपसहितको जल आपूर्ति प्रणालीले यहाँको परिष्कृत इन्जिनियरिङको प्रमाण दिन्छ। खस मल्ल राज्यको राजनीतिक प्रभाव तिब्बत, कुमाउँ, गढवाल र मुस्ताङसम्म फैलिएको थियो (डी.आर. रेग्मी, १९६५), जसले गर्दा कर्णालीको सभ्यतामा क्षेत्रीय विविधताको स्पष्ट छाप देख्न सकिन्छ।
बस्ती संरचना, जीवनशैली र वास्तुकला: क्षेत्रीय बस्ती, व्यापार र संस्कृति: माथिल्लो कर्णाली (हुम्ला, मुगु, डोल्पा) का बस्तीहरूको जीवनशैली मुख्यतया व्यापार, पशुपालन, र उच्च हिमाली कृषिमा आधारित थियो। हुम्लाको लिमी, मुगुको नाक्चेलाग्ना र डोल्पाको च्यार्का भोट जस्ता नाकाहरूले तिब्बतसँग नुन, ऊन, जौ र भेडाको च्याङ्ग्रा को व्यापार गर्ने ऐतिहासिक मार्गहरू सञ्चालित गरेका थिए। यहाँका बस्तीहरूमा तिब्बती शैलीका झुरुप्प घरहरू हुन्थे, जसका १ मिटरसम्म मोटा ढुंगाका पर्खालहरू कठोर हिमाली हावापानी र भूकम्पबाट सुरक्षाका लागि बनाइएका थिए। यस क्षेत्रको सांस्कृतिक र धार्मिक जीवनमा बौद्ध धर्मको गहिरो प्रभाव थियो। लिमी उपत्यकामा १०औँ–१३औँ शताब्दीमा द्रिकुङ काग्यु परम्पराका गुम्बाहरू स्थापित भएका थिए। भलै कर्णाली क्षेत्रका यी उच्चहिमाली बस्तीहरु बारे खासै अध्ययन र अननुसन्धान भएको छैन। यस्ता बस्तीहरु बरु खस शाषकका लागि श्रमदाता, सिमा सुरक्षाका लागि निश्चित रणनितिक स्थानहरु छनोट गरेर विकास गरिएका पनि हुन सक्छन ।
सिंजा उपत्यका (जुम्ला): खस राज्यको राजधानीका रूपमा, यी दुई क्षेत्रलाई जोड्ने केन्द्रीय बिन्दु थियो। समुद्र सतहबाट २,५०० मिटर उचाइमा रहेको यो बस्ती इन्जिनियरिङ र राजनीतिक शक्तिको केन्द्र थियो। यहाँको उत्खननबाट पुराना दरबारहरू, कनकसुनसरी र त्रिपुरासुन्दरीजस्ता मन्दिरहरू, ढुंगाका विशाल स्तम्भहरू र माटाका पाइपसहितको परिष्कृत जल आपूर्ति प्रणालीका अवशेषहरू फेला परेका छन्। यहाँको भू-भागले माथिल्लो र तल्लो कर्णाली दुवैका लागि प्रशासनिक र इन्जिनियरिङ केन्द्रको काम गर्थ्यो, जसले राज्यको समग्र संरचनालाई बलियो बनाएको थियो।
तल्लो कर्णाली (सुर्खेत, दैलेख, कालिकोट) र पश्चिमी क्षेत्र (जाजरकोट, सल्यान, रुकुम) को अर्थतन्त्र भने कृषि र मध्य पहाडी व्यापारमा केन्द्रित थियो। दैलेखको दुल्लुमा तामाका सिक्का ढाल्ने गरिएको (नेपाल राष्ट्र बैंक संग्रहालय) र ‘जौ कर’ सम्बन्धी शिलालेख भेटिनुले यस क्षेत्रमा आर्थिक एकीकरण भएको देखाउँछ (योगी नरहरिनाथ, १९५२)। सुर्खेतको कक्रेबिहार जस्ता स्थलहरूमा हिन्दू र बौद्ध धर्मको अद्भुत समन्वय पाइन्थ्यो, जसलाई खस राजा अशोक चल्लले १२६८ ई. मा निर्माण गराएका थिए।
बस्ती संरचना, जीवनशैली र वास्तुकला: जसो भएपनि यस अवधिका घरहरूको वास्तुकला साधारण, तर कठोर हिमाली हावापानी र भूकम्पीय सुरक्षाका लागि विशेष रूपमा डिजाइन गरिएको थियो। स्थानीय ढुंगा, माटो, सल्लाजस्ता काठ र रातो माटो प्रयोग गरी १८ इन्च (०.४५ मिटर) मोटा भित्ताहरू बनाइन्थे। घरहरू चौकुने र होचा बनाइन्थे, जसको तल्लो तलामा गोठ र माथिल्लो तलामा बसोबास हुन्थ्यो।
उच्च हिमाली भेगमा तिब्बती शैलीका झुरुप्प घरहरू थिए भने तल्लो पहाडी भेगमा घना बस्तीहरू हुन्थे। ‘थाडा’ (सामुदायिक छत) र ‘बाडा’ (सार्वजनिक चौतारी) जस्ता संरचनाहरूले सामाजिक एकतालाई दर्शाउँथ्यो। बस्तीहरू प्रायः कर्णाली नदी र यसका सहायक नदीहरूको किनारमा, उपत्यका वा डाँडाहरूमा पानीको उपलब्धता, उर्वर जमिन र सुरक्षालाई ध्यानमा राखेर स्थापित हुन्थे, जहाँ खेतीयोग्य जग्गामा घर नबनाउने (‘खेत वा सिमालो जमिनमा घर बनाउन नमिल्ने’) र ‘माटो हेराउने’ जस्ता प्राचीन प्रथाद्वारा निर्देशित थिए।
व्यापारिक मार्ग: सडक सञ्जालको अभावमा पनि प्राचीन व्यापारिक मार्गहरू कर्णालीका बस्तीहरूको जीवनरेखा थिए। हुम्लाको लिमी, हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको च्यार्का भोट जस्ता उच्च हिमाली नाकाहरूबाट तिब्बतसँग नुन, ऊन र च्याङ्ग्रा को व्यापार फस्टाएको थियो, भने नेपालबाट खाद्यान्न (चामल, गहुँ), कपडा र दैनिक उपभोग्य वस्तुहरू तिब्बत निर्यात हुन्थे। यी मार्गहरूमा चौँरी र भेडाको प्रयोग गरिन्थ्यो। तल्लो कर्णालीमा भने व्यापारिक मार्ग जुम्लाबाट कालिकोटको मान्मा हुँदै दैलेख, सुर्खेत र नेपालगन्जसम्म पुग्थ्यो भने जुम्ला, जाजरकोट हुँदै रुकुम र दाङसम्म पनि सम्बन्ध स्थापित गर्थ्यो।
२.३. आन्तरिक अर्ध-औपनिवेशिक शासन, अवरोध र स्थिरता (१४औँ–२०औँ शताब्दी)
खस साम्राज्यको पतन (१३८० ईस्वी) पछि कर्णालीमा सुरु भएको राजनीतिक खण्डीकरण (बाइसे राज्यहरू) र त्यसपछिका बाह्य शक्तिहरूको प्रभावले यस क्षेत्रका बस्तीहरूको स्वरूप र जीवनशैलीमा गहिरो असर पार्यो। यो अवधि आन्तरिक शक्तिहरूको उदय, केन्द्रिकृत गोर्खाली शासनको विस्तार र राणाकालीन अवहेलनाको जटिल मिश्रण थियो। यस कालखण्डमा कर्णालीलाई राज्यको ‘आन्तरिक उपनिवेश’ का रूपमा व्यवहार गरियो, जसले गर्दा यस क्षेत्रका बस्तीहरूले एकातर्फ विकासका अवसरहरूबाट वञ्चित हुनुपर्यो भने अर्कोतर्फ आफ्नो भौगोलिक अलगावका कारण परम्परागत वास्तुकला, कृषि प्रणाली र सामाजिक संरचनालाई एक किसिमको विरोधाभासी स्थिरताका साथ जोगाइराख्न सफल भए।
१) राणा पूर्वकाल: खस राज्यदेखि बाइसे–चौबिसे युग (१३८०–१८४६)
खस राज्यपछिको खण्डीकरण: खस साम्राज्य पतनपछि कर्णाली क्षेत्रमा २२ वटा बाइसे राज्यहरू उदाए (जस्तै: जुम्ला, दैलेख, कालिकोट, जाजरकोट), जसले पहाडी किल्ला, व्यापारिक चौकी र खेतिपातीमा आधारित स्वावलम्बी बस्तीसँग शासन गर्थे। दैलेख, डोल्पा, रुकुम, सल्यानमा, जाजरकोट अवस्थित किल्लाहरू वरपर बस्तीहरू विकसित भए। शासकीय, सुरक्षात्मक र व्यापारिक तीनै दृष्टिले। उच्च हिमाली व्यापारिक बस्तीहरू जस्तै लिमी (हुम्ला), मुगु, डोल्पा (धो) आदिले सिमाना नाकाहरूमा नुन, च्याङ्ग्रा र ऊनको व्यापार गर्न मौसमी रूपमा ढुङ्गा निर्मित अस्थायि घरहरु वा हावा, पानी र हिमपात छेकिने स्थान लगायत ओडारमा अस्थायी बस्ती निर्माण गर्थे, जसलाई चौँरी र भेडाको आश्रयस्थलस्वरूप प्रयोग हुन्थ्यो। पछि समयसँगै निर्माण सामाग्रीको उपलब्धताले यस्ता स्थानहरु अस्थाई नै भएपनि व्यवस्थित वस्तीकै रुपमा (पाटनका गोठ, धर्मशाला) बस्न शुरु गरेका हुन सक्छ।
२) राणा शासनकाल (१८४६–१९५१): आन्तरिक शोषण र आत्मनिर्भरता
केन्द्रिकृत सत्ता र कर्णालीको बहिष्करण: राणा शासनले नेपालको समग्र विकासलाई काठमाडौँ-तराई केन्द्रित बनायो, जसले कर्णालीलाई अन्तरिक अर्ध-औपनिवेशिक क्षेत्रको रूपमा व्यवहार गर्यो। यहाँ राज्य सेवाहरूको पहुँच सीमित थियो र रणनीतिक दृष्टिले “करदातामात्र” को भूमिकामा राखियो। यद्यपि देशका अन्य भागहरूमा रेलवे, स्कूल, अदालत, सडक जस्ता पूर्वाधार विस्तार हुँदै थिए। कर्णाली भने अझै पनि परम्परागत बास्तुकला, गोठे खेती र आत्मनिर्भर खाद्य प्रणालीमा सीमित रह्यो।
बाइसे चौबिसे राज्य अन्तर्गतको जुम्ला राज्यलाई एकिकरण गर्न धेरै पापड पेल्नुपरेको थियो किनकि जुम्ला उतिबेला अति नै शक्तिशाली थियो। त्यसैले एकिकरण पछि जुम्लालाई देशका अन्य भू-भाग भन्दा फरक तर अत्यन्त कठिन व्यवस्था लाद्न थालियो, जसले गर्दा उतिबेलाको समग्र कर्णाली नै पछि पर्नु अवश्यम्भावि थियो।
‘ठेग-ठिटी’ (Thek-Thiti) प्रणाली: राणाहरूले शासन गर्ने सबैभन्दा उपयुक्त तरिकाका रूपमा ‘ठेग-ठिटी’ प्रणालीलाई अपनाए। यस प्रणालीको मुख्य उद्देश्य राजस्व सङ्कलन गर्नु थियो र जुम्लालाई यस प्रणालीको ‘फलामे पिँजडा’ भित्र राखियो, जसबाट जुम्लीहरू उम्किन सकेनन् (अधिकारी २००८)।
जबरजस्ती कर प्रणाली र श्रम अभाव: राणा शासनले जुम्लीहरूमाथि विभिन्न बोझ थपे । १८५४ को तिब्बतसँगको युद्धमा जुम्ला नेपाली सेनाका लागि एक महत्त्वपूर्ण रणनीतिक स्थान बन्यो, जसले गर्दा जुम्लीहरूले सेनालाई खुवाउने, हतियार ढुवानी गर्ने र नि:शुल्क श्रम दान गर्ने जस्ता धेरै जिम्मेवारीहरू बहन गर्नुपर्यो। राणाहरूले कर्णालीबाट संकलन गरिएको सबै राजस्व काठमाडौँ लैजान्थे, जहाँ यसले शहरी अभिजात वर्गको उपभोगमा मात्र खर्च हुन्थ्यो । यो शोषणकारी प्रणालीले किसानहरूका लागि दुःख निम्त्यायो (अधिकारी २००८)।
३) पञ्चायतकालीन युग (१९५१–१९९०): बस्तीमा स्थायित्व तर सीमित विकास
२००७ सालको प्रजातान्त्रिक आन्दोलनले नयाँ आशा जगाए तापनि, कर्णालीमा बस्ती विकास पूर्वाधारविहीन नै रह्यो। सरकारको ध्यान अझै तराई र मधेस केन्द्रित रह्यो। पार्टीविहीन पञ्चायत प्रणालीले स्थानीय तहमा योजना निर्माण सशक्त बनाउनेभन्दा केन्द्रदृष्टि र नियन्त्रण झनै कडा बनायो। कर्णालीका अधिकांश बस्तीहरूमा न विद्यालय, न स्वास्थ्य चौकी, न बाटो सकसपूर्ण जीवन निरन्तर जारी रह्यो। तर, यो कालखण्डमा केही महत्त्वपूर्ण पूर्वाधार विकासको थालनी पनि भयो। चन्दननाथ स्कुल (१९६३) जस्ता शैक्षिक संस्थाहरूको स्थापनाले दूरदराजका क्षेत्रमा शिक्षाको जग बसाल्यो। यसै गरी, जुम्ला विमानस्थल (१९७२), वीरेन्द्रनगर (१९७६) र रत्न राजमार्ग (१९८८) जस्ता योजनाबद्ध संरचनाहरूले भविष्यमा कर्णालीको विकासका लागि आधार तयार गरे। यद्यपि, यी प्रयासहरू अपर्याप्त थिए र ठूला परियोजनाहरू (जस्तै: कर्णाली राजमार्ग) को प्रगति सुस्त रह्यो।
रत्नराजमार्गको संचालन पछि सुर्खेत उपत्यकामा भवनहरु विस्तारै राजमार्गको आसपास विस्तारित हुँदै गए, सुर्खेत पन्चायतको निर्माण पछि भवनहरु उपत्यकामा भरिन शुरु गरे पनि अधिकाङ्स घरहरु खर र टायलले नै छाएका थिए। उता उतिबेलाको कर्णाली अञ्चलको केन्द्र जुम्लामा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको कृषि अनुसन्धान केन्द्र (१९७१) र स्याउ अनुसन्धान केन्द्र वागबानी (१९७५) मा स्थापना गरिए। जसले यो क्षेत्रको कृषि बालीनालीमा अनुसन्धान र रुपान्तरण गर्यो तर समग्र कर्णाली क्षेत्रमा भवनहरुहरुमा र बस्तीमा भने कुनै तात्विक भिन्नता आएन।
समग्रमा यो अवधीमा बस्ती विकास र जनजीवनमा प्रभाव पार्ने कुनै प्राविधिक नवप्रवर्तन भएन, जसले समुदायहरूलाई आत्मनिर्भरताको बाटो समाउन बाध्य त बनायो तर त्यसले स्थिर विपन्नता र जोखिम चक्रमा फसायो।
३. २१औं शताब्दीमा कर्णालीका बस्तीहरू: रूपान्तरण र चुनौतीहरू
कर्णालीका बस्तीहरूले २१औं शताब्दीमा तीव्र र बहुआयामिक रूपान्तरण अनुभव गरिरहेका छन्। यी परिवर्तनका प्रमुख चालक शक्तिहरू आधुनिक राजनीतिक परिवर्तनहरू २०४७ सालको बहुदलिय प्रजातन्त्रको पुनर्स्थापना अनि २०७२ साल पछिको संघीयताको कार्यान्वयन, सडक पूर्वाधारको विस्तार र सूचना प्रविधिमा बढ्दो पहुँच हुन्। यसका साथै, नेपालको एकीकरणपछि केन्द्रिकृत राज्यबाट भोगेको ऐतिहासिक सौतेनी व्यवहार, हजारौं वर्षको निरन्तर अनुकूलनको कथा, यहाँको अद्वितीय सांस्कृतिक र जातीय बहुलता, तथा खडेरी, पहिरो, बाढी, आगलागी, महामारी र भोकमरी जस्ता प्राकृतिक तथा मानवीय प्रकोपहरूसँगको निरन्तर संघर्ष पनि यी रूपान्तरणका महत्वपूर्ण आयाम र चालक हुन्। यी अन्तरसम्बन्धित पक्षहरूले बस्तीहरूको भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिदृश्यलाई गहिरो रूपमा प्रभावित पारेका छन्।
कर्णालीका बस्तीहरुमा भैरहेको परिवर्तनका लागि साना-ठुला, शहर, गाउँ, हिमाल पहाड तराई अनि जातजाती, दुर्गम सुगम सबै समेट्ने गरी पांच स्थान छनोट गरिए। यसका लागि सुर्खेतको वीरेन्द्रनगर, जुम्लाको चन्दननाथ, हुम्लाको सिमीकोट र हाल्चे, अनि डोल्पाको धो छानी सन् २००४ देखि २०२४ सम्मका गुगल अर्थको स्याटलाइट तस्वीर/नक्सा पार्फत भवनहरुको विस्तार लगायतका आयामहरु विश्लेषण गरि तलको तालिकामा प्रस्तुत गरिएको छ। यी बस्तीहरुको विश्लेषणले बस्तीको भौगोलिक विस्तार मात्र होइन, भवन संरचनाको परिमाण, सडक सञ्जाल, जलस्रोतसँगको दूरी र सम्भावित जोखिमका संकेतहरू समेत स्पष्ट पार्छ।

३.१ तीव्र शहरीकरण, भौतिक रूपान्तरण र वातावरणीय प्रभाव
कर्णालीमा शहरीकरणको गति तीव्र छ, विशेष गरी सुर्खेत उपत्यका र यसको प्रमुख सहरी केन्द्र वीरेन्द्रनगरमा। यस अध्ययनको सिमाक्षेत्रभित्र, वीरेन्द्रनगरमा सन् २००७ सम्म ३२६६ भवन (गुलाबी रङमा) रहेछन् भने सन् २००७ देखि २०२४ सम्ममा ८९६२ नयाँ भवनहरू (पहेंलो रङमा) थपिएका छन्, जसले भवन विस्तारको असाधारण गतिलाई दर्शाउँछ। जुम्लाको चन्दननाथमा पनि सन् २००६ पछि १,०२३ नयाँ भवन थपिएका छन् (सन् २००६ सम्म १११४ भवन थिए), जसले शहरीकरणको गति तीव्र भएको पुष्टि गर्छ।
सिमीकोट जस्तो दुर्गम हिमाली क्षेत्रमा पनि सन् २००६ देखि २०२२ सम्ममा ७२३ नयाँ भवनहरू (पहेंलो रङमा) थपिएका छन् (सन् २००६ सम्म ४०२ भवन थिए)। यसले हवाईमार्गको पहुँच र पर्यटन जस्ता कारणले गर्दा यहाँको विकासको गति सुस्त नभई तीव्र रहेको देखाउँछ। हुम्लाको हाल्चे र डोल्पाको धो जस्ता अति दुर्गम स्थानहरूमा पनि भवन विस्तारको गति उल्लेखनीय छ। धोमा सन् २००४ सम्म ७४ भवन रहेछन् भने २०२३ सम्ममा १७१ नयाँ भवन थपिएका छन्, जसले भौगोलिक कठिनाइका बाबजुद पनि त्यहाँ भौतिक विकासको तीव्र आकांक्षा रहेको संकेत गर्छ।
एक अध्ययनअनुसार, सुर्खेत उपत्यकामा १९८९ देखि २०१९ सम्ममा खेती गरिने जग्गाको क्षेत्रफल ४२ वर्ग किलोमिटरबाट घटेर २८.२३ वर्ग किलोमिटरमा झरेको छ, जबकि निर्माण र बसोबासको क्षेत्र १.१६ वर्ग किलोमिटरबाट बढेर १५.४१ वर्ग किलोमिटरमा पुगेको छ (बुढा, २०२२)। यसले खाद्य सुरक्षामा गम्भीर असर पारेको छ।
निर्माण र बसोबासको यो विस्तार प्रायः अनियोजित देखिएको छ। भवनहरू खोल्साको किनार, नदी आसपास र डुबान सम्भावित क्षेत्रहरूमा समेत फैलिएका छन्। सुर्खेतका इत्राम, खोर्के, जुगाड खोला र भेरी नदीका किनारमा भएका अनधिकृत निर्माणले बाढी, पहिरो र भू-क्षय जस्ता प्राकृतिक प्रकोपहरूको जोखिम उल्लेखनीय रूपमा बढाएको छ। सन् २०२० को बाढीले १०० भन्दा बढी घरहरू विस्थापित गरेको घटना यसको ज्वलन्त उदाहरण हो। हरियाली क्षेत्रको कमी र जल–पुनर्भरणमा आएको ह्रासले पानीका मुहानहरू सुक्ने र भूमिगत जलस्तर घट्ने समस्या निम्त्याएको छ, जसले खानेपानीको संकटलाई झनै गहिरो बनाएको छ।
बाटोघाटोको पहुँच र नवनिर्माण प्रविधि तथा सामग्रीको उपलब्धतासँगै परम्परागत ढुङ्गा-माटोले बनेका संरचनाहरूलाई सिमेन्ट, ईट्टा र कङ्क्रीटले ढलान गरेका आधुनिक भवनहरूले तीव्र रूपमा प्रतिस्थापन गरिरहेका छन्। शहरी विकास, विपद् जोखिम न्यूनीकरणलगायतका अवधारणा र आधारभूत पूर्वाधारको मापदण्ड तथा योजना बिना नै च्याउ उम्रेसरी बनेका कङ्क्रीटका भवनहरूले भूकम्पीय जोखिम झनै बढाएका छन्। परम्परागत वास्तुकलालाई आधुनिक, तर भूकम्प प्रतिरोधी नभएका भवनहरूले विस्थापित गर्दा समग्र बस्तीको विपद् जोखिम क्षमतामा ह्रास आएको छ।
३.२ सामाजिक-सांस्कृतिक जीवन र प्रविधिको प्रभाव
आधुनिकता र सडक पहुँचले कर्णालीको परम्परागत सामाजिक-सांस्कृतिक तानाबानामा गहिरो प्रभाव पारेको छ। युवा पलायन (गाउँहरूबाट शहर वा विदेशतिर) ले जनसांख्यिकीय असन्तुलन ल्याएको छ, जसले परम्परागत कृषि प्रणाली र सामुदायिक श्रममा आधारित जीवनशैलीलाई कमजोर बनाएको छ। परम्परागत सीप र ज्ञान (जस्तै ढुङ्गा र काठको प्रशोधन) को ह्रास भई मौलिक सांस्कृतिक मूल्यमान्यतामा क्षयको जोखिम बढेको छ। सिमेन्ट, ईट्टा र जस्तापाताले बनेका घरहरूले ‘बाडा’ (छतमा जोडिएको सार्वजनिक स्थान) र ‘थाडा’ (समतल माटोको छत) जस्ता परम्परागत सामुदायिक ठाउँहरूलाई प्रतिस्थापन गरिरहेका छन्, जसले सामूहिक जीवनशैलीबाट व्यक्तिगत जीवनशैलीतर्फको परिवर्तनलाई संकेत गर्छ।
डिजिटलाइजेसनको सन्दर्भमा, सन् २०२१ मा ९८% घरपरिवारमा मोबाइल फोनको पहुँच पुगेको छ र इन्टरनेटको प्रयोग पनि बढेको छ। यसले शिक्षा, स्वास्थ्य र बैंकिङ जस्ता सेवाहरूमा पहुँच विस्तार गरेको छ (सन् २०२१ सम्ममा ८५% भन्दा बढी घरपरिवारमा शौचालयको पहुँच पुगेको छ)। यद्यपि, यी सेवाहरूको पहुँच र वितरणमा गहिरो असमानता छ; वीरेन्द्रनगर जस्ता सहरी र सडक सञ्जालले जोडिएका क्षेत्रहरूमा यी सेवाहरू बढी केन्द्रित छन्। जबकि हाल्चे (लिमी), धो (डोल्पा) र सिमीकोट (हुम्ला) जस्ता दुर्गम हिमाली बस्तीहरूमा आधारभूत सेवाहरू अझै अपर्याप्त छन्, जसले डिजिटल साक्षरता र उपयोगमा समेत ठूलो खाडल सिर्जना गरेको छ।
३.३ सडक पूर्वाधार, आर्थिक अवसर र असमानता
सडक सञ्जालको विकास कर्णालीको रूपान्तरणको प्रमुख चालक बनेको छ। कर्णाली राजमार्ग (२००७ मा सम्पन्न), कर्णाली करिडोर, भेरी करिडोर जस्ता परियोजनाहरूले कृषि उत्पादन (जस्तै जुम्लाको स्याउ) को बजारीकरण, स्वास्थ्य सेवामा पहुँच र समग्र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। कालिकोट कर्णाली राजमार्गले प्रदेश राजधानीसँग जोडेपछि व्यापार र यातायातमा क्रान्ति आएको छ, जबकि दैलेख र सुर्खेतमा सडक सञ्जालको तुलनात्मक रूपमा राम्रो विकासले शहरीकरण र आर्थिक गतिविधिहरूलाई बढावा दिएको छ।
यद्यपि, सडक सञ्जालको विकासले गर्दा विकासका लाभहरू असमान रूपमा वितरण भएका छन्। वीरेन्द्रनगर, दैलेख र कालिकोट जस्ता सडक सञ्जालले राम्रोसँग जोडिएका क्षेत्रहरूले तीव्र आर्थिक वृद्धि अनुभव गरिरहेका छन्, जबकि मुगु, हुम्ला (सिमीकोट सहित) र डोल्पा जस्ता उच्च हिमाली जिल्लाहरूमा सडक सञ्जालको पहुँच कमजोर रहेको छ। यसले ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक असमानतालाई फराकिलो बनाएको छ। सङ्घीयता पछि बनेका स्थानीय सरकारहरूले हचुवाका भरमा भिरालो पाखोमा डोजरले बाटो खनेका बाटोहरुले भने बस्तीहरुलाई जोखिममा पारेका छन्। यसले योजनाबद्ध विकासमा बाधा पुर्याएको छ र विकासका परियोजनाहरूको दिगोपनमा प्रश्न चिह्न खडा गरेको छ।
३.४ शासन, योजना र विकासका चुनौतीहरू
कर्णालीमा भइरहेको तीव्र रूपान्तरणले शासन र योजना प्रक्रियामा पनि गम्भीर चुनौतीहरू खडा गरेको छ। अनियोजित शहरीकरण अनि अनौपचारिक निर्माणलाई औपचारिकता दिने (आवश्यक पूर्वाधार बिना नै सहरी क्षेत्र घोषित) को अवधारणाले योजनाबद्ध विकासमा बाधा पुर्याएको छ। नक्सामा देखिएअनुसार, भवन विस्तारको अनुपातमा पूर्वाधार विस्तार नहुनुले योजनाको अभाव स्पष्ट पार्छ। विकासका लागि विनियोजित बजेटको उचित सदुपयोगमा पारदर्शीता र जवाफदेहीताको कमीले लक्षित समुदायले अपेक्षित लाभ पाउन सकेका छैनन्। विकास परियोजनाहरू प्रायः केन्द्र वा प्रदेशस्तरबाट निर्देशित हुने र स्थानीय समुदायको वास्तविक आवश्यकता तथा सहभागितालाई कम प्राथमिकता दिइने प्रवृत्तिले परियोजनाहरूको दिगोपनमा प्रश्न चिह्न खडा गरेको छ। यसले गर्दा विकासका प्रयासहरू प्रभावकारी हुन सकेका छैनन् र कर्णालीको समग्र विकासमा अवरोध सिर्जना भएको छ।
समग्रमा, माथिका परिवर्तनलाइ तलको तालिकामा यसरी हेर्न सकिन्छ।

४. निष्कर्ष
कर्णालीका बस्तीहरूले हजारौं वर्षको अनुकूलन, प्राचीन खस साम्राज्यको उत्थान, पतन र आधुनिक नेपालको केन्द्रिकृत राज्यको सौतेनी व्यवहारको लामो यात्रा तय गरेका छन्। २१औं शताब्दीमा आइपुग्दा, सडक पूर्वाधारको विस्तार, राजनीतिक परिवर्तन र प्रविधिको विकासले यस क्षेत्रमा तीव्र भौतिक, सामाजिक र आर्थिक रूपान्तरण ल्याएको छ। वीरेन्द्रनगर र चन्दननाथ जस्ता क्षेत्रहरूमा अनियोजित शहरीकरणले वातावरणीय जोखिम र कृषि जमिनको क्षय निम्त्याएको छ भने, सिमीकोट, हाल्चे र धो जस्ता दुर्गम हिमाली बस्तीहरूमा पनि परम्परागत जीवनशैली र भौतिक संरचनामा असाधारण तीव्र परिवर्तन देखिँदैछ।
यी रूपान्तरणहरूले अवसरहरूका साथसाथै गम्भीर चुनौतीहरू पनि सिर्जना गरेका छन्। जस्तै बढ्दो विपद् जोखिम, सांस्कृतिक पहिचानको क्षय र विकासका लाभहरूमा असमानता। कर्णालीका बस्तीहरूको दिगो भविष्य सुनिश्चित गर्न, अब योजनाबद्ध विकास, वातावरणमैत्री पूर्वाधार निर्माण, स्थानीय संस्कृति र सम्पदाको संरक्षण, आधारभूत सेवामा समान पहुँच र सुशासनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ। परम्परागत ज्ञान र आधुनिक प्रविधिको सही संयोजन, स्थानीय समुदायको सक्रिय सहभागिता र स्पष्ट नीतिगत मार्गचित्रले मात्र कर्णालीका बस्तीहरूले आफ्नो मौलिकता कायम राख्दै समृद्धिको पथमा अघि बढ्न सक्नेछन्।