आकाशे पुलमा हिँड्दाहिँड्दै मानिस वा बच्चा चिप्लिएर सिधै माथिबाट लडेर तल गाडीले हान्ने जोखिम छ। योसँगै काठमाडौंका अधिकांश आकाशे पुलमा माग्ने मानिस र पसल थाप्नेहरू यत्तिकै हुन्छन्।
आकाशे पुल सडक तथा बाटो पार गर्नका लागि बनाइएको हो। जेब्राक्रसबाट सडक पार गर्दा दुर्घटना धेरै भएकाले आकाशे पुल निर्माण गरिएको हो। तर, पछिल्लो समय आकाशे पुल प्रचारप्रसार गर्ने औजार बनेको छ। सडक पार गर्नभन्दा पनि राजनीतिक दलका नेता, स्थानीय तह, मेला, महोत्सव वा विभिन्न कम्पनीहरूको विज्ञापन गर्ने थलो बनेको छ।
काठमाडौं उपत्यकाभित्र होस् वा बाहिरी जिल्लाका सबैजसो आकाशे पुलमा केही न केही पोस्टर टाँसिएको देखिन्छ। प्रधानमन्त्री, मन्त्री कतै जान वा आउन लागेमा, मेला, महोत्सव हुन लागेमा, कम्पनीले कुनै कार्यक्रम गर्न लागेमा ठूलो र लामो पोस्टर बनाएर सम्बन्धित व्यक्ति वा कम्पनीको फोटो राखी आकाशे पुल ढाकिने गरी राखिन्छ।
यसरी आकाशे पुलमा पोस्टरमाथि पोस्टर टाँस्दा त्यसले शहरलाई नै कुरूप बनाएको छ। आफ्नो प्रचारप्रसार गर्नका लागि नेता, तिनका कार्यकर्ता वा विभिन्न व्यक्ति तथा संघसंस्थाले आकाशे पुलको दुरुपयोग गरिरहेका छन्। यद्यपि, यसविरुद्ध स्थानीय तह वा सम्बन्धित निकायले कदम चालेको पाइँदैन।
आकाशे पुलमा पोस्टर त टाँसियो नै, सँगै व्यापार व्यवसाय गर्ने थलोसमेत बनाइएको छ। आकाशे पुलमा हिँड्नै नसक्ने गरी मानिसहरू व्यापार गर्छन्। माग्ने मानिसहरू पनि त्यत्तिकै हुन्छन् भने आकाशे पुलमा बसेर टिकटक बनाउने पनि थुप्रै भेटिन्छन्। आकाशे पुल नै अवरोध हुने गरी यस्ता गतिविधि गरिँदा आम सर्वसाधारणलाई निकै सास्ती भएको छ।
आकाशे पुलमा हिँड्डुल गर्नु उनीहरूका लागि कुनै महाभारतभन्दा कम छैन। काठमाडौं महानगरपालिकाले रामशाहपथ र नयाँ बानेश्वरमा फलामको पुल राखेको छ। महानगरले यो पुल राखेको धेरै वर्ष भएको छैन। तर, पुलको पाता खियेर चिप्लिने भएको छ भने डण्डी पनि पातलो छ। अर्कोतर्फ, भर्याङसमेत साना छन्।
जसले गर्दा केही गर्दा त्यो आकाशे पुलमा हिँड्दाहिँड्दै मानिस वा बच्चा चिप्लिएर सिधै माथिबाट लडेर तल गाडीले हान्ने जोखिम छ। योसँगै काठमाडौंका अधिकांश आकाशे पुलमा माग्ने मानिस र पसल थाप्नेहरू यत्तिकै हुन्छन्। तर, नगर प्रहरीले न आकाशे पुलमा पसल थाप्ने, टिकटक बनाउनेलाई कारबाही गर्छ न त माग्ने मानिसलाई हटाउँछ।
यता, भक्तपुरको सल्लाघारी, सिर्जनानगर, सूर्यविनायक, गठ्ठाघर, थिमीलगायत अधिकांश स्थानका आकाशे पुलमा पैदल यात्री हिँड्नै नसक्ने गरी पसल थापिएको पाइन्छ। यहाँ पुल चढ्नु संघर्षभन्दा कम छैन। यसैले, पैदल यात्रीहरू जोखिम मोलेर भए पनि जेब्राक्रसबाट बाटो काट्न बाध्य छन्। भक्तपुरमा तीन वटा स्थानीय तह छन्। एउटै स्थानीय तहले समेत आफ्नो क्षेत्राधिकारभित्रका आकाशे पुललाई व्यवस्थित बनाउन काम गरेको पाइँदैन।
सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरू त नेताजस्तै छन्। बिहान मोटरसाइकल, स्कूटरमा कार्यालय आइपुग्छन्। मेयर, उपमेयरलाई सलाम ठोकेर हाजिर गर्छन् अनि दिनभर व्यापारीहरूसँग गफ गरेर बस्छन्। यहाँका नगर प्रहरीले कहिल्यै पनि काम गरेको देखिँदैन। काम नगर्ने र दिनभर गफ गर्ने नगर प्रहरीहरूको दिनचर्या बनेको छ।
सूर्यविनायक नगरपालिकाअगाडि सञ्चालित एउटै पसल दर्ता भएको छैन। यतिमात्र होइन, नगरपालिकाभित्र सञ्चालित एउटै व्यापार व्यवसाय दर्ता भएको पाइँदैन। तर, नगरका कर्मचारी र प्रहरीहरूले अनुगमन गरेर त्यस्ता व्यापार व्यवसायीमाथि कारबाही गर्दैनन्। हुन त यहाँका कर्मचारी र नगर प्रहरीसँग काम गर्ने क्षमता नै छैन।
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतको आँडमा उनीहरूले जागिर पाएका हुन्। सल्लाघारी चौरभित्र ड्राइभिङ सेन्टरदेखि कराते सिकाउने, विभिन्न व्यापार व्यवसाय सञ्चालित छन्। त्यो जग्गा नेपाल ट्रस्टको हो। तर, भक्तपुर नगरपालिकाका नगर प्रहरीले ती व्यापार व्यवसायीलाई कारबाही गर्दैनन्।
हुन त नगरका जनप्रतिनिधि र कर्मचारी नै सरकारी सम्पत्तिमाथि आँखा लगाएर बसेका छन्। उता, काठमाडौं महानगरपालिकाका प्रहरीहरू पनि कामभन्दा बढी गफमा व्यस्त देखिन्छन्। नगर प्रमुख राजु पाण्डे मात्र खटिएको देखिन्छन् भने अन्य नगर प्रहरीहरू मापदण्डविपरीत सञ्चालित पसलमै बसेर गफ गरिरहेको भेटिन्छन्।
ललितपुर महानगरका प्रहरीहरू चाहिँ कामभन्दा विज्ञापनमा व्यस्त देखिन्छन्। महानगरभित्र थुप्रै मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालित छन्। व्यापारीहरूले आकाशे पुल कब्जा गरेका छन्। तर, नगर प्रहरीले केही गरेको देखिँदैन। ललितपुरको मेयर र नगर प्रहरीको एउटै मात्र काम छ, त्यो हो काम नगर्ने तर ठूलोठूलो प्रचारप्रसार गर्ने।
उपत्यकाभित्र जेब्राक्रस पर्याप्त छैन। भएका जेब्राक्रस पनि टाढाटाढा छन् भने तिनको रंग मेटिसकेको छ। जेब्राक्रस देखिँदैन। आकाशे पुलमा हिँड्न सक्ने अवस्था छैन। जसले सडक पार गर्न आम सर्वसाधारणलाई निकै संघर्ष हुने गरेको छ। भाटभटेनी, बिग मार्टहरूमा किनमेल गर्न मानिसहरू त्यहाँ जान्छन्।
तर, भाटभटेनीअगाडिका जेब्राक्रसको रंग मेटिसकेको छ। भक्तपुरको राधेराधेमा चारैतिरबाट सवारीसाधन आउँछन्। राधेराधेमा भाटभटेनी छ। त्यहाँ किनमेल गर्न मानिसहरू जान्छन्। उनीहरूलाई भाटभटेनी पुग्न सडक पार गर्न धेरै गाह्रो हुने गरेको छ। त्यसमाथि त्यहाँ भएको जेब्राक्रसको रंगसमेत मेटिसकेको छ। यसले भाटभटेनीमा किनमेल गर्न जाँदा ज्यानै गुमाउनुपर्ने जोखिम छ।
मानिसहरू पनि त्यस्तै भए। आफ्नो घरअगाडि रहेका पसलमा सामान किन्दैनन्। इज्जत जान्छ भनेर। अनि जोखिम मोलेर भाटभटेनीमा सामान किन्न जान्छन्। फेरि भाटभटेनीले उनीहरूलाई नराम्ररी ठग्ने गरेको छ। एक सयको सामानलाई पाँच सय रुपियाँमा बेचिरहेको छ। यसरी जनता जोखिम मोलेर आफैं भाटभटेनीमा ठगिन गइरहेका छन्।
भाटभटेनीले जनता त ठग्यो तर आफ्ना ग्राहकको सुरक्षाका लागि केही पनि गर्दैन। यदि सडक विभाग वा सरकारले जेब्राक्रसमा रंग लगाउँदैन भने भाटभटेनी आफैंले आफ्नो अगाडिका जेब्राक्रसमा रंग लगाउनुपर्ने हो। यसले उसले जनता ठगे पनि राम्रो काम त गर्यौं नि भनेर भन्न पाइन्थ्यो। तर, भाटभटेनीलाई आफ्ना ग्राहकको सुरक्षाबारे कुनै चासो नै छैन।
जनता ठग्न पाए पुगिहाल्यो। यता, भक्तपुरको सूर्यविनायक नगरपालिकाअगाडि महालेखा परीक्षक र सडक डिभिजन सञ्चालित छन्। नगरपालिका, महालेखा र सडक डिभिजनमा दिनहुँ हजारौं सेवाग्राही आउँछन्। स्थानीयहरू पनि उत्तिकै यो बाटो हिँड्छन्। विडम्बना, सडक डिभिजन जान पार गर्नुपर्ने बाटोमै जेब्राक्रस छैन।
अनि आफ्नै कार्यालयअगाडि जेब्राक्रससमेत बनाउन नसक्ने सडक डिभिजनले अन्य ठाउँमा आकाशे पुल र जेब्राक्रस बनाउँछ भनेर सोच्नु आफैंमा लज्जास्पद छ। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू अल्छी भए। कामभन्दा पनि गफ गर्न पाए पुग्यो। त्यसैले, अहिले जनतालाई आफ्नै स्थानीय तह प्रमुखको समेत नाम थाहा हुँदैन।
किनकि उनीहरू काम नै गर्दैनन्। काम गरे त चर्चामा आइन्छ। देश–विदेशमा पछिल्लो समय काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र नगर प्रहरी प्रमुख राजु पाण्डेको चर्चा छ। जनता उनीहरूको गुनगान गाउँछन्। किनकि उनीहरूको काम जनताले देखिरहेका छन्, महसुस गरिरहेका छन्।
त्यसैले, अब बालेन र पाण्डेले आकाशे पुललाई पनि व्यवस्थित बनाउनुपर्छ। आकाशे पुललाई व्यापार व्यवसाय, विज्ञापन वा मनोरञ्जन गर्ने औजार होइन, जनता सुरक्षित रूपमा बाटो काट्न सक्ने बनाइनुपर्छ। अहिले त बिहान घरबाट निस्किएमा बेलुका फर्किन्छ कि फर्किंदैन? भन्ने डर छ। किनकि हिँड्ने बाटो र पुललाई व्यापार व्यवसाय गर्ने थलो बनाइएको छ।