मंगलवार, ३ भाद्र, २०८२

हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

एक मनले भन्यो, “म किन आएँ यो ठाउँमा काम गर्न? के अब जिउँदै फर्कन सम्भव छ?” तर हिम्मतले डर जित्यो। चार हात–खुट्टा टेकेर भए पनि तल हिल्साको चौरमा पुगियो। तल पुगेपछि थाहा भयो, “अब लगभग दुई महिना यही उकालो–ओरालो हिँड्नुपर्ने रहेछ!”

हालसालै हुम्लाको सदरमुकाम सिमिकोट मोटरबाटोले जोडिएको समाचार सुनेपछि मैले पहिले काम गरेको हिल्सा–सिमिकोट मोटरबाटोको सम्झना झल्झली आयो! हुन त अहिले हुम्ला तिब्बतसँग होइन, बरु समग्र नेपालसँग जोडिएको छ! तर त्यतिबेला कालिकोट, जुम्ला र मुगु पनि नजोडिएको समयमा हिल्साबाट बाटो खनेर तिब्बतसँग जोड्ने सपना देख्नु अनौठो थिएन। यो लेख त्यतिबेला हिल्सा–सिमिकोट मोटरबाटोमा काम गर्दाको अनुभवमा आधारित छ।

हिल्सा, नेपालको सुदूर उत्तरपश्चिमी सीमाना, जहाँ भौगोलिक उचाइ मात्र होइन, मानवीय अनुभवको गहिराइ पनि परीक्षण हुन्छ। यो ठाउँ मेरो लागि केवल भौगोलिक गन्तव्य थिएन। यो एउटा मनस्थितिको नाम थियो: जहाँ न त धड्कन नियमित हुन्छ, न त श्वास सामान्य। यो ठाउँ नेपालकै भए पनि धेरैजसो नेपालीका लागि नदेखिएको भूगोल थियो, र मेरो लागि त झन् टाढाको, तर अवश्य पुग्नैपर्ने गन्तव्य। कर्णालीको मुहान नजिकको सिमिकोट, जहाँबाट मानसरोवर जाने नाकाको अन्तिम नेपाली बस्ती सुरु हुन्छ। त्यही ठाउँमा म ‘हिल्सा–सिमिकोट सडक चौडाइ विस्तार कार्यक्रम’अन्तर्गत प्राविधिकको रूपमा खटिएको थिएँ। उद्देश्य थियो: खाद्य असुरक्षा घटाउने र सुदूर हिमाली भेगहरूमा पहुँच विस्तार गर्ने। तर व्यवहारमा, यो केवल बाटो निर्माण थिएन। यो साहस, मानवीय सहनशीलता र नेपालीपनको जीवन्त प्रदर्शन थियो।

पहिल्यै त्यहाँ पुगेका इन्जिनियर साथीहरूले सुनाएका थिए। यो यात्रा रोमाञ्चक मात्र होइन, निकै कठिन पनि थियो। चार हजार मिटरभन्दा माथिको उचाइ, वस्ती नभएका उजाड डाँडाहरू, झारपातसमेत नउम्रेका नाङ्गा पहाडका ताँतीहरू, अनि वर्षमा जम्मा दुई–तीन महिना मात्र काम गर्न मिल्ने सिजन! बाँकी समय वर्षात, हिमपात र प्रतिकूल मौसमले हिल्सा कहिले पुग्ने, कहिले फर्कने भन्ने अनिश्चित नै थियो। यस्ता कुरा सुन्दा डर पनि लाग्थ्यो, तर मनभित्र कतै रोमाञ्च झन् बलियो हुँदैथियो।

जब अन्ततः मलाई नै जानुपर्ने निश्चित भयो, तब तयारी सुरु भयो। हिल्सा जानका लागि बिर्सन नहुने—तातो लुगा (ज्याकेट, पञ्जा, बाक्लो मोजा), ट्रेकिङ बुट, बोक्न मिल्ने टेन्ट र केही खानेकुरा—यी सबै किनेँ। किनभने यो कुनै सामान्य फिल्ड ट्रिप थिएन। यो भौगोलिक र आत्मिक यात्राको अभियान थियो।

यात्राको सुरुवात नेपालगञ्ज–सिमिकोटको चुनौतीपूर्ण हवाई यात्राबाट भयो। करिब ९,००० फिट उचाइमा रहेको सिमिकोट विमानस्थल तिब्बततर्फ खुल्ने मुख्य नाका हिल्सातर्फ जाने प्रवेशद्वार पनि हो। सिमिकोटको उडान सधैं बिहानै हुने, त्यो दिनको उडान पनि झिसमिसेमै थियो। बिहान ६ बजे विमानस्थल पुगे पनि जहाज ७ बजे मात्र उड्यो। आकाश खुला थियो, मौसम शान्त। जहाज बाजुरा हुँदै अघि बढ्दा डरले मन हल्का–हल्का भारी भयो। उडानमा सँगै बसेका एक स्थानीयले सोधे, “पहिलो पटक हो तपाईंको?” मैले मुस्कुराउँदै ‘हो’ भनेँ। उनले फेरि भने, “त्यसो भए, अब कर्णालीले तपाईंलाई छोड्दैन।”

जुम्ला र हुम्ला जानु दुई फरक अनुभव रहेछ। जुम्लाको बाटो खुला आकाश र समथर पहाडबीच सजिलो उडानजस्तो लाग्थ्यो भने हुम्लाको बाटो साँघुरो खोँच र बिहानै भए पनि हावाले हल्लाउने विमान। हामी नदीको धारमाथि उडिरहेका थियौं। एकछिन त लाग्यो, ‘यात्रा यत्ति हो कि!’ तर जति उचाइ बढ्यो, त्यति रोमाञ्च थपिँदै गयो। डरभन्दा धेरै अद्भुत ऊर्जा जाग्यो। नयाँ स्थान र नयाँ यात्राको रोमाञ्चकताले डर कता हरायो कता।

अन्ततः, जहाजले सिमिकोटको सानो धावनमार्गमा अवतरण गर्‍यो। त्यो क्षण, जब मैले पहिलो पटक हुम्लाको जमिनमा पाइला राखेँ। त्यो मेरो लागि यात्राको सुरुवात मात्र होइन, गहिरो आध्यात्मिक अनुभूति पनि थियो। सिमिकोट अवतरणपछि नेपालगञ्जको तातो भुङ्ग्रोबाट उम्केर चिसो पानीमा पसेको माछाको जस्तो अनुभव भयो। यो त प्राकृतिक वातानुकूलित हावापानीमा बस्ने अवसर थियो। सिमिकोट पुगेकै दिन कार्यालयको हल्का तयारी सिध्याएर साँझ जुम्लाबाट आएका साथीहरूसँग जमघट भयो। जयचन्द्र आचार्य, कर्ण तिमिल्सिना लगायतका जुम्लाका मित्रहरू त्यतिबेला हुम्लामै खटिएका थिए। आफ्नै जुम्ली भेटेपछि सिमिकोटको चिसो हावामा पनि आत्मीयता र न्यानोपनको अनुभव भयो।

त्यो साँझ सिमिकोटको सानो कोठामा हामीले योजना बनायौं। हातमा चिया थियो, मनमा उत्साह र डर पनि। हिल्सातर्फको यात्रा कस्तो होला? सबै ठीक होला? तर मनमा अठोट पनि थियो। अब फर्कने ठाउँ छैन, अघि बढ्ने बाटो मात्र छ। सिमिकोटको साँझदेखि नै मलाई लाग्न थाल्यो। यो यात्रा केवल प्राविधिक जिम्मेवारी होइन, यो त ‘नागरिक परीक्षा’ हो। जहाँ मेरो इमान, समर्पण र नेपालीपनको साँचो नापिनेछ।

सिमिकोटमा रात बिताएपछि भोलिपल्ट बिहानै बाक्लो झोलामा कपडा, चिउरा, चकलेट, टर्च, औषधि र आवश्यक सामग्री राखेर हाम्रो पदयात्रा सुरु भयो। हिल्सा भन्ने नाम सुन्दा मात्रै रोमाञ्च हुन्थ्यो, तर त्यहाँ पुग्ने यात्रा तीन दिनको कठोर परीक्षण थियो, शारीरिक र मानसिक दुवै।

भोलिपल्ट सिमिकोटको चिसो बिहान। आकाश खुला थियो, हल्का सिरेटो चलिरहेको थियो, सूर्य उदाएको थिएन। हामी बिहानै नास्ता गरेर यात्रा सुरु गर्न तयार भयौं। सिमिकोटबाट उकालो हिँडेर डाँडा काटेर ओरालो झरेपछि नदीको किनारै–किनार यात्रा गर्नुपर्ने विवरण साथीहरूले सुनाए। लक्ष्य थियो। नारापास पार गर्दै हिल्सासम्म पुग्ने तीन दिनको पैदल यात्रा। यो केवल भौगोलिक दूरी पार गर्नु मात्र थिएन, यो हाम्रो सामर्थ्य, धैर्य र सामूहिक प्रतिबद्धताको परीक्षा थियो।

सिमिकोटबाट हिँड्ने बित्तिकै थाहा भयो, यात्रा कागजमा जस्तो सजिलो हुने वाला छैन। पहिलो उकालोमै सास टुक्रिन थाल्यो। मनले भन्यो, “अहिले नै यस्तो?” तर आत्माले भन्यो, “सकिन्छ!” बाटो रमाइलो थियो किनभने सिमिकोटबाट माथिल्लो हुम्ला र हिल्सा जाने सबै यात्रुहरू यही एकमात्र बाटो हिँड्थे। बीच–बीचमा मानसरोवर जाने हिन्दु तीर्थयात्री, बौद्ध तीर्थयात्री र विदेशी पर्यटकहरूले हिँडेका पदमार्गहरू सजिला देखिन्थे। बाटोमा चौंरी, खच्चर र घोडाका पदचिह्नहरू पनि देखिन्थे। नदीको किनारै–किनार भए पनि बाटोमा हामीले पहिलोपटक वास्तविक ‘विकास’को अभाव महसुस गर्‍यौं।

तर खुला आकाश, हावाको सिरसिराहट र टाढा–टाढा देखिने हरिया डाँडाहरूले ऊर्जा थपिरहन्थे। त्यसमाथि बाटोमा भेटिने काँक्रो चपाउँदै, स्याउ–आरु खाँदै हामी अघि बढ्यौं। मध्य बर्खाको मौसममा न धूलो थियो, न तिर्खा। मानौं कर्णाली आफैंले स्वागत गरिरहेको थियो।

तुमकोट पुग्दा साँझ परिसकेको थियो। त्यहाँ एउटा पुरानो गुम्बा, केही छरिएका घरहरू र सानो व्यापार गर्ने स्थानीय बासिन्दाहरू भेटिए। उनीहरूको मुस्कानमा थकान, आशंका, तर गहिरो आत्मीयता थियो। बासको ठाउँ सामान्य थियो। न त अचम्म अप्ठ्यारो, न त असजिलो। तर भिडभाड र बाटोमा भेटिएका यात्रुहरूसँगको गफगाफ रमाइलो थियो। हिल्सा–सिमिकोट मोटरबाटोमा काम गर्न जाने भनेपछि सबैमा उत्साह जाग्थ्यो। उनीहरूको एकमात्र प्राथमिकता बाटो नै थियो। बाटो बनेपछि जीवन पूर्ण रूपमा परिवर्तन होला भन्ने आशा थियो, तर कामको गतिले हिल्साको बाटो सिमिकोट पुग्ला त? भन्ने आशंका पनि उत्तिकै थियो। कुराकानीकै क्रममा मैले महसुस गरें। उनीहरू बाटो चाहन्छन्, तर साथसाथै सम्मान पनि।

तुमकोटको चिसो साँझ र सादा रात्रीभोजपछि थकित शरीरले निद्राको काख समात्यो।

बिहान तुमकोटमा चिया–नास्ता गरेर हामी यारीतर्फ उकालो लाग्यौं। बाटो साँघुरो, कहिले भीरको छेउ, कहिले कर्कलो उकालो। झोलाले काँध पोल्न थालेको थियो। बिस्तारै वनजंगल छोड्दै उकालो डाँडा चढ्दा एकाएक भूगोल फेरिएको जस्तो लाग्यो। मुन्तिर गहिरो खोँच, वरिपरि उजाड डाँडाकाँडा र माथिबाट हेर्दा पाँजुलो तर उपत्यकाजस्तो फैलिएको यारी। जति माथि उक्लियौं, त्यति खुला भूगोलले फरक अनुभूति दिइरह्यो।

यारी पुग्दा ज्यान थकित, तर मन उत्साहित थियो। यारी सानो बस्ती हो, तर यहाँ धेरै कुरा जोडिएका छन्। इतिहास, भूगोल र सीमावर्ती व्यापार। यहाँ नुन–चामलको साटासाट कहिल्यै रोकिएको छैन। पानीको स्रोत कम, हावा तिब्बतबाट सर्सर चल्थ्यो। यारी नाङ्गा डाँडाहरूको बीचमा समथर र हरियो चौरजस्तो रहेछ। हरियो तरकारीसमेत पाइने यो स्थानमा दिउँसोको खाना खाएर नाराको उकालो काट्न तयार भयौं। बाटोमा मुगु, बाजुरा लगायतका जिल्लाबाट काम खोज्न आएका टोलीहरूसँग जम्काभेट हुन्थ्यो। उकालोमा म दौडिँदै हिँड्दा उनीहरू अचम्म मान्थे। उनीहरू दंग परेको देखेर मलाई झन् रमाइलो लाग्थ्यो। यारी पार गरेपछि उकालो झन् कठिन र खतरनाक बन्दै गयो। थकानले शरीर चिच्याउँदै थियो, तर लक्ष्य नजिकिएको थाहा पाउँदा मनमा अलौकिक ऊर्जा आउँथ्यो।

अन्ततः नारापासको देउरालीमा पुग्यौं। मैले देउरालीमा ढुंगा चढाएर वरिपरि हेरें, र त्यो क्षणको दृश्य म जीवनभर बिर्सन सक्दिनँ। चारैतिर नाङ्गा डाँडाकाँडा, कुनै हरियाली छैन, कुनै रूख–बिरुवा छैन। तर त्यो उराठ वातावरणमा पनि नीलो आकाश र चिटिक्क परेका हिमाली लहरहरू हेर्दा मानौं प्रकृतिको चित्रकारले अदृश्य ब्रसले रंग भरेको दृश्य देखिन्थ्यो।

त्यो क्षण, थकान, आनन्द, आशंका र विजयको संगम थियो। हामीले केहीबेर विश्राम गर्‍यौं। बाटोको फोटो खिच्यौं। साथीहरूले तल देखाउँदै भने, “त्यो हो हिल्सा। त्यो सानो चौरजस्तो घाटीको बीचमा।” हेर्दा त नजिकै देखिन्थ्यो, तर अब बाटो निकै ओरालो थियो। यो भाग मेरो लागि यात्राको सबैभन्दा कठिन हिस्सा बन्यो।

म यस्तो बाटोमा ओरालो हिँड्न त्यति सिपालु थिइनँ। हुन त म उकालो–ओरालो हिँडेरै हुर्किएको मान्छे, तर यस्ता नाङ्गा डाँडाकाँडामा ओरालो हिँड्नु नौलो थियो। म चार हात–खुट्टा टेकेर जनावरझैं ओरालो झर्नुपर्‍यो। तल हेर्दा कहालीलाग्दो भीर, माथि हेर्न नसकिने खोँच। स–साना गिर्खाहरूले भुइँमा पाइला अडिँदैन, खुट्टा चिप्लिन सक्ने खतरा। मन ढुकढुक गर्थ्यो, जिउ थरथर।

एक मनले भन्यो, “म किन आएँ यो ठाउँमा काम गर्न? के अब जिउँदै फर्कन सम्भव छ?” तर हिम्मतले डर जित्यो। चार हात–खुट्टा टेकेर भए पनि तल हिल्साको चौरमा पुगियो। तल पुगेपछि थाहा भयो, “अब लगभग दुई महिना यही उकालो–ओरालो हिँड्नुपर्ने रहेछ!”

हिल्सामा हामीले बसेको बस्ती बुका–बान्ना लगाएका ढुंगाका घरहरू थिए। माटोको गाह्रो थिएन, त्यसैले कहिलेकाहीं चिसो हावा घरभित्रै छिर्थ्यो। यो बस्ती अस्थायी थियो—सिजन खुलेको बेला मात्र बास हुने, बाँकी समय सुनसान।

हिल्सा नेपाल र चीन (तिब्बत) को सीमामा अवस्थित रहेछ। बस्तीको छेउबाट हुम्ला कर्णाली बगेको, वारि नेपाली बस्ती, पारि चिनियाँ बस्ती, बीचमा झोलुंगे पुलले दुई देश जोड्थ्यो। नेपालतर्फ कुनै चेकपोस्ट पनि थिएन। तर सिजनमा मानिसको चहलपहल हुने, स–साना होटलहरूमा कामको चटारो हुने रहेछ। हिल्सा—त्यो सानो, तर महत्वपूर्ण बिन्दु रहेछ, जहाँ सिमिकोटबाट हेलिकप्टरमा आएर पर्यटकहरू मानसरोवर जान्थे।

त्यो दिन खाना खाएर बित्यो। तर त्यो रात मलाई लाग्यो, अब जीवनकै फरक पाठशाला सुरु हुँदैछ।

भोलिपल्ट बिहानै चिया खाएर हामी काम सुरु गर्न उकालो लाग्यौं। हाम्रो मुख्य जिम्मेवारी थियो। पहिल्यै आधा खनिएको बाटोको नापजाँच गरी मोटर सवारी चल्ने गरी लगभग १० किलोमिटर सडक चौडा पार्ने। सडक चौडाइका लागि कामदारहरूलाई समूहमा बाँडियो। प्रत्येक १५–२० मिटरमा १५–२० जनाको समूह बनाएर खन्ने काम दिइयो। कामको आधारमा चामल वितरण गरिन्थ्यो, र खाद्यान्न बोक्न फेरि चामल, तर दक्ष मिस्त्रीलाई ज्याला दिने व्यवस्था थियो।

वास्तवमा भोकमरी वा खाद्य असुरक्षा भएको स्थानमा काम पनि हुने र खाद्यान्न पनि पाइने हिसाबले डिजाइन गरिएको यो कार्यक्रम यहाँ राजमार्ग बनाउन प्रयोग गरिएको थियो। त्यो पनि बस्ती नभएको स्थानमा। कामदारहरू हुम्लाका मात्र नभएर छिमेकी जिल्ला बाजुरा र मुगुबाट पनि आउँथे। तर लगभग ५० प्रतिशत कामदार माथिल्लो हुम्लाकै हुने रहेछन्।

कामको विवाद मात्र होइन, पछि नापजाँच सजिलो होस् भनेर प्रत्येक समूहलाई काम दिनुअघिको अवस्थाको चित्र बनाएर, नापजाँच गरेर हस्ताक्षर गराउने र काम सम्पन्न भएपछि फेरि चित्र बनाएर हस्ताक्षर गराउने काम गरियो। सबै समूहलाई काम दिएर सक्न लगभग पूरा दिन लाग्यो। दुई–दुईवटा रजिस्टरको बहिखाता भरियो। काम सहजीकरण गर्न ६ जना सुपरभाइजर राखियो, जसले आफ्नो–आफ्नो जिम्मेवारीको समूहको काम हेर्ने, हाजिरी राख्ने, र काम दिएको लाइन र क्षेत्रको डिजाइनअनुसार काम भएको/नभएको अनुगमन गर्ने जिम्मा लिए।

तत्काल काम सुरु भयो, खन्नेहरूले खनिहाले। कतिपयले बाटैमा खाना पकाएर खाएर काम सुरु गरे। दाउरा नभेटिने भएकाले एकजनाको काम दाउरा खोज्ने र खाना–नास्ता बनाउने हुन्थ्यो। काम सुरु भएपछि १०–१२ किलोमिटर बाटोमा चहलपहल, जताततै भिडभाड, धूलो र काम नै काम। मलाई त तल–माथि गर्दागर्दै दिन नै सकिन्थ्यो। बिहान निस्कियो, बेलुका फर्कियो। बेलुका खाना खाएपछि भुसुक्क सुतिन्थ्यो।

बिहान काममा निस्कने, दिनभरि उकालो–ओरालो, साँझ हिल्साको बास। कामदारका अनेक माग/गुनासा भए पनि एक महिना बितेको पत्तै भएन। दिनदिनै चिसो बढ्दै, कामको रफ्तार पनि बढ्दै, मौसम खुल्दै, दसैं आउने झल्को दिने गरी बदलिएको थियो। हरेक दिन हरेक समूहको कामको प्रगति र बाँकी कामबारे सुपरभाइजरहरूसँग छलफल भइरहन्थ्यो। खासै समस्या देखिएको थिएन।

बाटो खन्न निकै गाह्रो थियो। ठाडो पहरामा गिर्खाले बनेको पहाड, कतै माटो भए पो, कतै बोट–बिरुवा भए पो, जताततै नाङ्गा खैरा र पहेंला डाँडा। कामको उत्तरार्धतिर एक साँझ म अनुगमनका लागि माथि पुगेको थिएँ। साँझ ढलिसकेको थियो, बाटो चिप्लो र पहाडीले थप चुनौतीपूर्ण। तल झरेर हिल्सा बस्न नसकिने अवस्था थियो। ओरालो भए पनि समय लगभग २ घण्टा लाग्ने र काम भइरहेको बेला बाटो झन् अप्ठ्यारो हुने भएकाले माथि नै बस्ने निर्णय गरियो।

पाल त माथि भेटियो, तर स्लिपिङ ब्याग र म्याट्रेस थिएन। हाम्रो सुत्ने सामान सबै तल हिल्सामै छोडिएको थियो। आफूले लगाएको बाक्लो कपडा (ज्याकेट र प्यान्ट) कै भरमा माथि डाँडाको टुप्पोमा सुत्ने साहसिक निर्णय गरियो। कामदारहरू सक्ने, हामी किन नसक्ने? भनेर फुर्तीका साथ बस्ने निधो भयो। कामदारहरूसँगै पकाएको खाना खाइयो, अनि टेन्टमा लम्पसार पसेर हातका पाखुराले अनुहार छोपियो।

अनुहार छोपेर चिसो भुल्न खोज्दै थिएँ, तर त्यो रात म झन् जीवन र संघर्षको अनुभवमा डुबें। सुन्ने, बुझ्ने र महसुस गर्ने धेरै कुरा थिए। उनीहरूको निरन्तर तनाव, ठूलो मनोबल, र कहिलेकाहीं आशंका। एउटा रुमालले ओढेर निदाएजस्तो गरियो। ओछ्यानजस्तो होस्, समय आएपछि निद्रा लागिहाल्छ। ढुंगामै भए पनि सुतिदिन्छु भन्दै भुसुक्क निदाएँ।

जब एक प्रहर गहिरो सुतेर हल्का ब्यूँझिएँ, तब चिसो लाग्न थाल्यो। त्यो नाङ्गो डाँडामा चिसो हावा हुरहुर चलिरहेको थियो। ओढ्ने–ओछ्याउने केही थिएन। आँखा खुल्ने बित्तिकै शौचालय जानुपर्ने बानी, तर कता के गर्ने? सबै अन्धकारमै भ्याइयो। झिसमिसे भएपछि तल झर्नुपर्छ, तातो चिया पिउन भनेर हिँड्न थाल्दा एक। अर्काको अनुहार देखेर सबै तर्सियौं। हाम्रो अनुहार पूरै सुन्निएको रहेछ। यो फोटो त्यहाँबाट हिँड्नुअघिको हो।

समय बित्दै गयो। काम गर्ने तोकिएको समय सकिएपछि काम बन्द गर्ने दिन आयो। भोलिदेखि नापजाँच बन्द गर्ने सूचना टाँसियो।

भोलिपल्ट बिहानै नापजाँच हिल्सातर्फबाट सुरु भयो। अचम्मको कुरा, हिजोसम्म आफ्नै आँखाले देखेका कामदारहरूले भोलिपल्ट नापजाँच गर्दा माथि–माथि पहाड उक्लेर फिता नाप्न थाले। कुरा के रहेछ भने, नापजाँचको सूचना आउने बित्तिकै सडक र भित्ताको बाहिरी पत्र कोतरेर कामको घनमिटर बढी देखाउने चलन रहेछ। तर हामीले काम सुरु हुनुअघिको र काम दिएको बेलाको नापजाँच गरेको हुनाले कति काम गर्न दिएको हो, त्यत्ति नै नाप्न सजिलो भयो। कतै–कतै बीचमा थप काम गर्न अनुमति लिइएको भए, त्यो सबै हिसाब गरियो।

नापजाँच सुरु हुने बित्तिकै कामदारहरूबीच खासखुस सुरु भयो। किन–कसरी यस्तो नापजाँच हुँदैछ भन्ने हल्का धम्की पनि आउन थाल्यो। तर हामीले त्यस्ता धम्कीको वास्ता नगरी मापदण्डअनुसार नापजाँच सम्पन्न गर्‍यौं। २–३ दिन लगाएर नापजाँच सकियो। त्यसपछि कामको मूल्यांकन र हिसाबकिताब सुरु भयो। कुन समूहलाई कति चामल पर्यो भनेर चिट बनाएर बाँड्ने काम भयो। चामल बाँड्न अर्को छुट्टै समूह थियो, जसले हाम्रो चिटको आधारमा कामदारहरूलाई चामल भुक्तानी दिन्थ्यो। हिल्सामा चामल बाँडियो भने सेरा र ताक्लाखार गएर बिक्री हुन्छ भन्ने भएकाले नाराको डाँडापारि यारीमा चामल बाँड्ने व्यवस्था गरियो।

सबै नापजाँच र हिसाबकिताब सकिएपछि कामदारहरूलाई अघिल्लो वर्षको तुलनामा चामल कम पर्यो। ओभरसियर र सुपरभाइजरहरूको अनुहार मलिन देखिन थाल्यो। उनीहरू अलिकति अप्ठ्यारो मान्न थाले। हामीले २–३ पटक भेरिफाइ गरे पनि चामलको परिमाण उही आयो। त्यसपछि त्यसैअनुसार चिट बनाएर बाँड्ने निर्णय भयो। त्यो रात सबै आनन्दले सुते। भोलिपल्ट बिहानदेखि चामलको चिट वा कुपन बाँड्ने सूचना राति नै जारी भइसकेको थियो।

बिहान उठेर चिया–नास्ता खाएर चिट बाँड्न सुरु भयो। समूह नम्बरअनुसार नाइकेको नाम बोलाउँदै चिट दिँदै। चिट देख्ने बित्तिकै नाइकेहरूको अनुहारमा हामीले खोजेको खुसी देखिएन। किन यस्तो भयो होला? कतै थकानले हो कि? कतै सोचेजति चामल नपाएको खिन्नता हो कि? भन्ने मेरो मनमा खेलिरह्यो। एक, दुई, तीन, चार, पाँच गर्दै समूहहरू आउँदै गए, चामल लिँदै गए। ढोकामा सुरक्षा व्यवस्था हेर्न सुपरभाइजरहरू तैनाथ थिए, जसले अनावश्यक मानिसहरूलाई भित्र छिर्न रोक्ने र कर्मचारीहरूको सुरक्षा गर्ने जिम्मा लिएका थिए।

बिस्तारै बाहिर हो–हल्ला सुरु भयो। पोहोर–परारभन्दा चामल कम परेको गुनासो आयो। तर भित्र आधिकारिक रूपमा कसैले केही भनेन। साथीहरूले बाहिरबाट सूचना ल्याइरहन्थे। केहीले उपद्रो गर्ने तयारी गरेको सूचना पनि थियो। हामीले सुरक्षा व्यवस्था कडा गर्‍यौं।

जब त्यतिबेलाका जनसरकारका (वडा–वडाका) सदस्य भनाउनेहरूको पालो आयो, असन्तोष मात्र होइन, उपद्रो नै गर्न थाले। चामलको चिट बाँड्न रोक्नुपर्ने माग आयो। हामीले रोकेनौं। अब त पिसाब गर्न बाहिर जान पनि दायाँ–बायाँ सुपरभाइजर राखेर जानुपर्ने अवस्था आयो। उनीहरूले जनसरकारमा मुद्दा दर्ता गरिसकेका रहेछन्। हामीलाई जनसरकारसँग भेट्न बोलावट आयो।

हामी सबै छलफलका लागि गयौं। हिल्सानजिकैको एउटा घरमा बैठक बस्यो। छिरिङ भन्ने व्यक्ति वार्ता टोलीमा थिए, जो पहिले बहुदलमा दलको तर्फबाट इलाका प्रमुख पनि भएका रहेछन्। उनले हिल्सा–सिमिकोट मोटरबाटो, चामलको खपत र विकासको प्रभावकारिताबारे जानकार थिए। उनले प्रसंग उठाएर मलाई के भएको हो, किन भएको हो प्रष्ट पार्न भने। मैले प्राविधिक कुरा गरें—काम हुनुअघिको नापजाँच, काम दिएको नापजाँच, काम सकिएपछिको नापजाँच र मूल्यांकनको नर्म्स देखाएर यसै आधारमा काम गरेको बताएँ। तपाईं यो लिएर जहाँ गएर मूल्यांकन गर्नुस्, यदि धेरै चामल आयो भने अर्कै कुरा गर्छु, सजाय दिने भए दिनुहोस् भनें।

गुनासोअनुसार अघिल्ला वर्षहरूमा एकजनाले एक दिन काम गरेको २५–३० किलो चामल पाउने रहेछ, तर यो वर्ष १०–२० किलो मात्र परेको थियो। सबै रिसाएर हैरान। मैले आजसम्म आएको चामलको हिसाब, भएको काम, र बाँकी समयको हिसाबकिताब गरेर प्रश्न गरें। हुम्लाका जनताले साँच्चै काम गर्न खोजेका हुन् कि कामको नाममा चामल खान खोजेका हुन्? कहिलेसम्म यस्तै चलिरहने? कमाण्डरले मेरो विचार समेटेर लामो भाषण दिए। जे भएको छ, ठीक छ, चित्त नबुझ्नेले पुनः मूल्यांकन वा नापजाँच गराउनुपर्ने भने।

हाम्रो टोलीले भन्यो, पुनः नापजाँचमा पहिलेभन्दा कडा हुन्छ। यदि चामल घट्यो भने पुरानो दिनुपर्छ भन्न पाइँदैन। घट्यो भने घटेकै, बढ्यो भने बढेकै लिने सहमति भयो। तर पहिले बनिसकेका चिट बाँड्ने र गुनासो भए पुनः नापजाँचको निवेदन दिने निर्णय भयो। हामीले समितिसहित सूचना निकाल्यौं। त्यो दिन सबै कुपन बाँडेर सकियो।

भोलिपल्ट पुनः नापजाँचका लागि निवेदनहरू आउन थाले। बिहानैदेखि हल्का पानी पर्न थालेको थियो। निवेदनहरूमा कारबाही गरेर नापजाँचका लागि टोली साइटतिर लाग्यो। एउटा हातमा छाता, कसैको जिउमा रेनकोट, अर्को हातमा फिता, रजिस्टर, क्याल्कुलेटर बोकेर चिसोमा भिज्दै उकालो लागियो। पहिलो निवेदनमा नापजाँच भयो, हिसाब निकालियो। हाम्रो सौभाग्य, कामदारको दुर्भाग्य, चट्टानको हिसाबले चामल पहिलेभन्दा स्वाट्टै घट्यो। हामीले त्यही चिट बनायौं। दोस्रोमा पनि त्यही दोहोरियो। चामल घटेपछि बाँकी सबैले निवेदन फिर्ता लिए। त्यसपछि हामीलाई सजिलो भयो। सबैले कुपन बुझिसकेकाले चामल बाँड्ने क्रम जारी रह्यो। हामी भने फुर्सदमा।

यसैबीच साथीहरूले भने, “यहाँसम्म आइसकेको मान्छे, एकपटक मानसरोवर पुग्नुपर्छ।” तर मसँग नागरिकता त थियो, तर हुम्लाभन्दा बाहिरकालाई पास चाहिने रहेछ र त्यो पास सिमिकोटबाट ल्याउनुपर्ने। पास नल्याएकोले जान नपाइने हो कि भन्ने चिन्ता थियो। त्यसपछि मेसो मिलाउने प्रक्रिया सुरु भयो। हुम्लाको माथिल्लो बेल्ट र तिब्बतीहरूबीच विहेवारी चल्ने रहेछ। संयोगवश, हामी बसेको घरकी मालिकनी तिब्बती मूलकी, हुम्लामा विहे गरेकी नेपाली नागरिक रहिछन्। उनले र स्थानीय साथीहरूले कोसिस गरेर सीमा पार गर्ने बन्दोबस्त मिलाए। जान पाइने भयो भन्ने छुट्टै खुसी। पवित्र तीर्थस्थल जान नपाइएला भन्ने पीरले गाँजेको बेला यस्तो खबरले यति उफ्रियो कि बयान गर्न सकिँदैन। फेरि त्यहाँ फर्कने मेसो मिल्ने सम्भावना दुर्लभ थियो। जे होस्, पास मिल्यो।

हिल्सा र सेराको सीमानाको झोलुंगे पुल तरेर पारिपट्टि पुग्दा समाज, भूगोल र विकासका संरचना सबै फरक। चौडा कंक्रिटका सडक, व्यवस्थित घर, तातो–चिसो पानी, घरघरमा बत्ती। सरर चल्ने बाटोमा मज्जाले यात्रा गरियो। पहिलो दिन हिल्साबाट सेराको चौकी पास गरेर ताक्लाखार पुगेर बसियो। नुहाइ–धुवाइ गरियो। यता चिसोमा अस्थायी बसोबास गरेका हामीलाई ताक्लाखार पुग्दा झिलिमिली शहरमा पुगेको अनुभूति भयो। ठाउँ–ठाउँमा रेस्टुरेन्ट, हजाम, तातो–चिसो पानी, रक्सी र बियर छ्यालब्याल भएका डान्सबार, फराकिला कंक्रिट सडक र अग्ला भवनहरू। त्यस्तो अनकन्टार ठाउँमा यति व्यवस्थित शहर देखेर आश्चर्य लाग्यो।

ताक्लाखारको मुख्य व्यापार नेपालकै लागि हुने रहेछ। हुम्लाको माथिल्लो भेग मात्र होइन, सिमिकोटसम्म ताक्लाखारबाट सामान जाने रहेछ। सिमिकोटमा सुनेको त हो, तर यहाँ आएपछि वास्तविकता देखियो। नेपालबाट चौंरी, झोवा र खच्चरमा काठ ओसार्ने, उताबाट खाने–पिउने, लत्ताकपडा सबै सामान ओसार्ने। ताक्लाखार नेपालीले चलाएको बजार रहेछ (नेपालगञ्जको रुपैडियाजस्तै)। अर्को अचम्म, त्यहाँ हिन्दी फिल्मका गीत चर्चित रहेछन्। अनौपचारिक रूपमा नेपाली पैसा पनि चल्ने, १० चिनियाँ युआन बराबर १ नेपाली रुपियाँ।

लगभग दुई महिनापछि दाह्री–कपाल काटेर, नुहाएर चिटिक्क परेर बजार घुमियो। जताततै जाँड–रक्सी, नाचगान, र शरीर बेच्नेहरूको बिगबिगी रहेछ। काम गर्ने, रमाउने, तर राजनीतिक छलफल र बहस गर्न नपाइने। प्रहरी र सरकारी कर्मचारी मात्र होइन, ठूला कम्पनीमा काम गर्ने सबै चिनियाँ, बाँकी तिब्बती। तिब्बतीहरू पनि नेपालीलाई हेप्ने रहेछन्। यो त कर्मको फल होला भनेर चित्त बुझाइयो।

ताक्लाखारबाट गाडी रिजर्भ गरेर मानसरोवर गइयो। जति माथि गयो, उति पाँजुलो भेग। न ठूला पहाड, न चट्टान, खुला चौरजस्ता पाटन। बिहानै हिँडेकोले चिसो उत्तिकै थियो। पहिले राक्षस ताल आयो। नीलो–नीलो ताल काटेर मानसरोवर पुगियो। बिहानको चिसोले कसैले नुहाउन सकेन। सिरसिर हावाले छाला आउने रहेछ। पानी चढाएर हिमालको दर्शन गरियो, वरिपरि घुमियो, र १२ बजे फर्कियौं।

बाटोमा फर्कँदा अर्को आश्चर्य देखियो। बिहान आधा बन्दै गरेको पुल, साँझ पुग्दा लगभग सकिएको। सानो काम गर्न महिनौं लागेको अनुभव भएको हामीलाई कंक्रिटको पुल एकै दिनमा यति भएको देखेर चकित। चिसोले मेरो डिजिटल क्यामेराको ब्याट्री सखाप भएर मानसरोवरको फोटो खिच्न सकिएन। खिचिएका पनि काम नलाग्ने भए। साँझ ताक्लाखार पुगियो।

बिहानदेखि केही नखाएकोले भोक लागेपछि खाजा खाने सल्लाह भयो। रेस्टुरेन्टको मेनु हेर्दा केही बुझिएन। न हामीले सोध्न जान्ने, न उनीहरूले भन्न सक्ने। नेपालीले चलाएको बजार भए पनि नेपाली भाषा त्यति बुझ्ने रहेछन्। मेनु हेरेर अन्दाजी खानेकुरा अर्डर गरियो। साथीहरूको मासु मिसिएको चाउमिन आयो, मैले भेज मगाउन खोजे, भेटिएन। मेनुको कुनै आइटम देखाएर अर्डर गरें।

खानेकुरा आयो, थुक्पाजस्तो चाउमिन, सुप, र मासुको चोक्टोसहितको हड्डी। मनले खान हिच्किचायो। सुप र चाउमिन खाएँ, तर मासु खान सकिनँ। टेस्ट गरेर छोड्छु भन्दै नाक नजिक लगाएर सुंघें, अर्कै गन्ध आयो। स्वादले झन् घिन लाग्यो। कुखुरा वा खसीको होइन, घोडा वा खच्चरको पनि हुन सक्थ्यो। हड्डीको साइज सम्झिएर खान सकिनँ।

त्यो दिन रेस्टुरेन्टमा बस्ने सल्लाह भयो। त्यहाँ पुग्दा अर्को चकित अवस्था देखियो। कामदारहरूले भरिभराउ रेस्टुरेन्ट र डान्सबार। काम गरेको चामल बेचेर कसैले किनमेल, कसैले खानपिनमा खर्चने रहेछन्। कुरा खुल्दै गयो—हिल्सा–सिमिकोट मोटरबाटोको काम पर्यटकीय कामजस्तै रहेछ। दुई महिनाको प्याकेज लिएर काम गर्न जाने, घुम्ने, रमाउने, तर चामल तिब्बतीलाई। केहीले परिवारका लागि लत्ताकपडा किनेको देखियो। सिजनको चहलपहल बेग्लै लाग्यो। मैले एउटा ठूलो ब्ल्यांकेट र सुन्दर डिजाइनको थर्मस/कप किनें।

भोलिपल्ट बिहानै हिल्सा फर्कियौं। त्यो ब्ल्यांकेट र थर्मस अहिलेसम्म उस्तै छन्। पर्यटकीय सिजन भएकाले हेलिकप्टरमा धेरैजसो भारतीय र केही विदेशी पर्यटक मानसरोवर जाने रहेछन्। त्यही बेला नेपालगञ्जबाट अनुगमन टोली पनि हेलिकप्टरमा आयो। त्यो टोलीमा प्राविधिक सल्लाहकार पद्मराज न्यौपाने पनि हुनुहुन्थ्यो। नाताले काका (हजुरबा) भए पनि व्यवहार मित्रवत। त्यो रात हिल्सामा ठूलो पानी पर्यो, स्थानीयका अनुसार त्यस्तो पानी पहिले कहिल्यै परेको थिएन।

वरिपरिबाट भल आएर हामी बसेका घरभित्र छिर्‍यो। सुत्ने ठाउँ नभएपछि सबैले नाचगान गरेर रात बितायौं। पद्मराज काकाको रसिलो रूप देखियो। नाच्ने, गाउने, पिउने सबै उस्तै। खानेकुरा सकिएकाले जुस पिएर रात बितायौं। भोलिपल्ट टोली हेलिकप्टर चढेर उड्यो, हामी स्थानीयसँगै हिँडेर सिमिकोट फर्कने निर्णय गर्‍यौं।

चौंरीको पिठ्युमा भारी बोकाएर हिल्साबाट उकालो लागियो। जति माथि गयो, महिनादिन लगाएर गरेको कामको याद आयो। एक–दुई ठाउँबाहेक झरीले सबै पुरानै अवस्थामा फर्काइदिएको थियो। गिर्खाले बनेको पहाड भएकाले खन्न गाह्रो, र पानी पर्दा सलल बग्ने रहेछ।

त्यहाँ भोगेपछि लाग्यो, यहाँ बायो–इन्जिनियरिङ वा यस्तै उपाय नअपनाए बाटो प्रयोग लायक नहोला। तिब्बततिरजस्तै चौडा बाटो बनाए भत्के पनि आधा बाटो मात्र छेकिन्थ्यो। तर नेपालका लागि हिल्सामा गैँटी, बेल्चा र कोदालोले गिर्खाको पहाड फोरेर चौडा बाटो बनाउन अकल्पनीय थियो।

दुई दिन लगाएर सिमिकोट पुगियो। धेरैजसो साथीहरू सिमिकोटबाट नेपालगञ्ज वा सुर्खेत झरिसकेका थिए। प्लेन पाउन कठिन, सबै पर्यटकका लागि रिजर्भ गरिदिने चलन रहेछ। म जुम्ला जान मुगु हुँदै हिँडेरै भए पनि जान्छु भन्ने झोकमा थिएँ। धन्न एकजना ठेकेदार मित्रले टिकट मिलाइदिए। नेपालगञ्ज पुगियो। चिसोले सेकेर तल झरेको मान्छेलाई गर्मीले अत्यायो। केही समयको काम सक्काएर प्रतिवेदन बुझाएपछि दसैं छुट्टीमा जुम्ला लागियो।

अन्त्यमा
हिल्सा–सिमिकोट मोटरबाटोको निर्माण केवल भौतिक पूर्वाधारको परियोजना थिएन; यो एक जीवन अनुभव, साहसिक यात्रा र मानव जिजीविषाको दस्तावेज थियो। यस यात्राले हिमाली भूगोलको कठोरता मात्र होइन, त्यहाँ बाँच्ने र काम गर्ने मानिसहरूको सहनशीलता, सीप र संकल्प पनि उजागर गर्‍यो। टेन्टमा सुत्ने रातहरू, नुन र चामलको साटासाट, कामको नापजाँच, सुपरभाइजरहरूको दौडधुप, र चट्टान फोडेर बाटो खन्ने श्रमिकहरूको पसिनाले यस बाटोको रेखा कोरियो। यही पसिनामा नेपालको भूभाग विस्तार, नागरिकको पहुँच र राज्यको छायाँ टाँसिएको छ।

खाद्य कार्यक्रमले मात्र यो बाटो सफल बन्न सक्थेन, त्यसैले विस्तारै महत्वपूर्ण परियोजना बनाएर सुरु गरियो। यो बाटोले भूगोल मात्र जोडेन, नियतिलाई पनि पुनर्लेखन गर्‍यो। जहाँ राज्यको उपस्थिति कमजोर थियो, त्यहाँ योजना, मेहनत र इच्छाशक्तिले नयाँ सम्भावनाहरूको ढोका खोलियो। यस सीमावर्ती यात्राले मलाई मात्र होइन, हामी सबैलाई सम्झाइदियो। सपना देख्न सहर चाहिँदैन, र विकासको आधार नक्सा मात्र होइन, मान्छेको पीडा र प्रयास पनि हो।

यही बाटोले मलाई एक फरक संसार देखायो, जहाँ विकास ‘प्रोजेक्ट’ होइन, साझा संघर्ष र सपनाको परिणाम थियो। यही कारण यो बाटो केवल गन्तव्य पुग्ने साधन होइन, स्वयं गन्तव्य बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार