पहिले लुकेर खान्थे, अहिले खुलेआम। नेता भनेका छन्, भ्रष्टाचार गरेका छन्। यदि भ्रष्टाचार नगरेको भए सम्पत्ति लुकाउँथे? जनताले प्रश्न उठाउने भएपछि सम्पत्ति विवरण लुकाइएको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार गठन भएको ठ्याक्क दश महिना भयो। गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनीले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेका छैनन्। मन्त्री हुनुभन्दा अघि सम्पत्ति कति थियो? जनतालाई थाहा छैन। उनीहरूले जाँदा कति कुम्ल्याउँछन्? यो पनि जनताले थाहा पाउने छैनन्।
एमाले सरकारमा रहेको एउटा प्रमुख पार्टी हो। तर, एमाले नै मोटरसाइकल र्याली निकालेर सरकारलाई खबरदारी गर्छ। केही दिनअघि भएको मोटरसाइकल र्यालीका लागि एक ट्याङ्की तेल र प्रति व्यक्ति हजार रुपैयाँ बाँडेको आन्दोलनमा आएकाहरू बताउँथे।
यो पैसा कहाँबाट आयो? एक ट्याङ्की तेल र र्यालीमा आएका हजारौँलाई हजारका दरले दिने पैसा कहाँबाट ल्याइएको हो? सरकार देश र जनताका लागि काम गर्न नसक्ने, भ्रष्टाचार गर्ने अनि त्यो पैसा बाँडेर खबरदारीको नाममा र्याली निकाल्ने! सरकारमा बसेको पार्टी आफैं आन्दोलनमा उत्रिनुभन्दा ‘नालायक’ काम के होला?
सार्वजनिक पदमा बसेका व्यक्तिहरूले आफ्नो सम्पत्ति छानबिन गर्नैपर्ने कानुनी व्यवस्था छ। एमाले र कांग्रेसको सरकारले कानुनकै उल्लंघन गरेको छ। एमाले मात्र होइन, अन्य पार्टीले पनि आन्दोलनमा मान्छे उतार्नका लागि पैसा नै दिने गरेको छ।
गत चैत १५ गते समाजवादी मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्यो। एक जनालाई दुई हजार रुपैयाँ दिएर कार्यक्रममा ल्याइएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक प्रधानमन्त्री भए। तर, उनको सम्पत्ति कति छ? जनतालाई थाहा छैन।
ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत पनि प्रधानमन्त्री बने। तर, सबैले पदमा पुगेपछि गर्ने भनेको ‘भ्रष्टाचार’ हो। अनि सिधासाधा जनतालाई पैसा बाँडेर सडकमा उतार्छन्। पैसा देखेपछि अहिलेसम्म जनता सडकमा आउँछन्। जनताको सोझोपन, बेरोजगारीको फाइदा देशका नेतृत्वहरूले विगतमा उठाए र अहिले पनि उठाउँदै छन्।
प्रहरीले स्रोत नखुलेको रकम समात्छ। त्यो रकम राष्ट्रियकरण हुन्छ। तर, प्रहरीले नेताहरूको स्रोत नखुलेको सम्पत्ति किन समात्दैन? राष्ट्रियकरण गर्दैन? नेताहरूको व्यापार व्यवसाय के छ? केही न केही। राजनीति गरेर दशौँ रोपनीमा महल बनाउन सकिन्छ?
यो सबै भ्रष्टाचार भएको प्रस्टै छ। तर, मुलुकमा सानालाई ऐन लाग्छ, ठूलालाई जे गर्न पनि छुट छ। जनताले चुरोट फाल्यो भने लगेर कोच्ने प्रहरी नेताहरूले भ्रष्टाचार गरेको देख्दादेख्दै हात बाँधेर बसेको छ। नेता देश र जनताको नाम लिएर भ्रष्टाचार गर्ने, जनता मासु-भात र हजार रुपैयाँ पैसामा बिक्छन्। अनि यो देशको कसरी सुधार हुन्छ?
दश महिनासम्म त आफ्नो र मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गर्न नसक्ने ओलीले देश र जनताका लागि के काम गर्छन्? यिनीबाट जनताले के अपेक्षा गर्ने? जुनसुकै पार्टी होस्, लुट्ने, भ्रष्टाचार गर्ने, थर्काउने, तर्साउने खाने। यिनीहरू नेता होइनन्, ‘लुटेरा’ हुन्। पञ्चायतकालदेखि भूमिगत होस् या लोकतन्त्र गणतन्त्र, यिनीहरूले लुटेरै खाएका छन्।
पहिले लुकेर खान्थे, अहिले खुलेआम। नेता भनेका छन्, भ्रष्टाचार गरेका छन्। यदि भ्रष्टाचार नगरेको भए सम्पत्ति लुकाउँथे? जनताले प्रश्न उठाउने भएपछि सम्पत्ति विवरण लुकाइएको हो।
जाने बेलामा मन्त्रीहरूले भएको सम्पत्तिको दोब्बर लिएर जान्छन्। नेताहरू नसुध्रिँदा आज देश भ्रष्टाचारको दलदलमा फसेको छ। व्यापारीहरू राजश्व छल्ने, जनता कर नतिर्ने लगायतका प्रवृत्ति मौलाएको छ।
देश वास्तवमै राम्रो र भ्रष्टाचारमुक्त बनाउने हो भने नेताबाट शुरुवात गर्नुपर्छ। उनीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेर स्रोत नखुलेको राष्ट्रियकरण गर्नुपर्छ। तर, यिनीहरूमा कहाँ त्यति नैतिकता छ र?
देशका नेताहरूमा नेतृत्व गर्ने क्षमता छैन। आफू सरकारमा हुँदा टन भ्रष्टाचार गर्छन् अनि निस्किएपछि जनताको आवाज सुन्ने भन्दै टोल-बस्तीमा पुग्छन्। तर, आफूले सरकारमा हुँदा के गरे? हेर्दैनन्। सरकारमा उनीहरू पनि गएकै थिए। जनताले मौका दिएकै थिए।
यहाँ नेताहरू छेपारोले रंग फेरेकोभन्दा छिटो रंग फेर्छन्। ओली सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा जनप्रतिनिधिहरू चुइक्क बोल्न सकेका छैनन्। स्रोतभन्दा बढी रकम भएरै सम्पत्ति सार्वजनिक नगरिएको हो। स्रोत देखाउने ठाउँ नभएरै त यिनीहरू तर्सिएका हुन्। स्रोत देखाउनका लागि कमाएको पनि हुनुपर्यो नि। सबै भ्रष्टाचार गरेको पैसा हो।
बजारमा दुईवटा कुराको एकदमै चर्चा छ। त्यो हो, केपी र प्रचण्डको हातको घडी। केपीको हातमा तीन करोडको र प्रचण्डको हातमा ८८ लाखको घडी छ। मिडियामा समेत त्यो कुरा आइसकेको छ। उनीहरूले लगाउने लुगाको मूल्य पनि लाखौँ छ। तर, दुवैले जनतालाई स्पष्टीकरण दिएका छैनन्। त्यसको मतलब त्यो कुरा सत्य हो भन्ने हो।
तर, करोडौँको घडी बाँध्ने यिनीहरूको हैसियत के? केपीले ७० हजार पर्ने पानी खान्छन्। यत्रो महँगो पानी खाने पैसा कहाँबाट आयो? जनताले तिरेको कर, वैदेशिक ऋण २७ खर्ब, रेमिट्यान्स, सरकारी गुठीको जग्गा—सबैले यिनीहरूले खाए। अनि त्यसको केही पैसा जनतालाई र्यालीमा निकाल्न प्रयोग गर्छन्।
विडम्बना, जनताले यो कुरा बुझेनन्। यो देश न केपीको हो न देउवाको। यो सबै नेपालीको साझा हो। तर, जनता बोल्दैनन्। उल्टै पैसाका लागि यिनीहरूको कार्यक्रममा दौडिन्छन्। जनताकै कारण देश सकिएको र नेताहरूमा भ्रष्टाचार गर्ने मनोबल बढेको प्रस्टै छ।
हुन त यहाँ बेरोजगारी धेरै छ। त्यसैको फाइदा नेताहरूले उठाइरहेका छन्। एक हजार रुपैयाँ पायो भने दुई छाक खान पुग्छ भन्ने उनीहरूलाई लाग्छ। तर, के कारणले आफू बेरोजगार भए? उनीहरूले मूल्यांकन गरेका छैनन्। नेताहरूको कारणले होइन?
नेताहरू गतिलो भइदिएको भए जनताले देशभित्रै रोजगारी पाउँथे होला। सुविधा पाउँथे होला। दुःखलाग्दो कुरा के भने, सबै नेताहरू खत्तम भए। व्यक्तिगत स्वार्थका लागि देश बेच्न पनि नछोड्ने खालका भए।
एउटै व्यक्ति दर्जनौँ पटक मन्त्री भएका छन्। त्यसको सूचीमा शरतसिंह भण्डारी छन्। उनको काण्डहरू बाहिर आइरहेका छन्। एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री हुने, मन्त्री हुने तर उखाल्ने केही होइन। भ्रष्टाचार गर्छन्, स्वास्नीको संख्या थप्छन्।
देउवा पाँच, ओली तीनपटक प्रधानमन्त्री भए। तर, सिन्को भाँचेनन्। माधव नेपाल, झलनाथ खनाल एक-एक पटक भए। प्रधानमन्त्री हुँदा यिनीहरूले कुम्ल्याउनु कुम्ल्याएका छन्। तर, अझै पनि जनता यिनीहरूले काम गर्छन् भनेर यिनीहरूको पछाडि लाग्नु मुर्खता होइन?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रले यिनीहरूको सम्पत्तिको स्रोत खोज्ने कि नखोज्ने? कानुन सबैलाई बराबर हो।
रवि लामिछाने सहकारी ठगीमा जेल पुगे, देश बेचेर खाने ओली, देउवा, प्रचण्डलगायतलाई किन जेल नहाल्ने? सानालाई ऐन र ठूलालाई चैनको व्यवहार नगरौं। जनता अब यिनीहरूको कार्यक्रममा होइन्, यिनीहरूलाई कानुनको कठघरामा उभ्याउन लाग्नुपर्छ। त्यसो गरेनौं भने अब नेपाल नै नरहला। त्यसैले जनता सचेत बनौं।