मंगलवार, ३ असार, २०८२

शून्य विद्यार्थी, सुनसान विद्यालय

नयाँ शैक्षिक सत्र सुरु हुने क्रममा छ। यस्तो अवस्थामा नयाँ विद्यार्थी भर्ना गरि विद्यालयलाई पुनः सञ्चालनमा ल्याउने समय आएको छ। दरबन्दी मिलानको निर्णय भइसकेको भए पनि, यदि गाउँलेहरूको चाहना छ भने विद्यालय पुनः सञ्चालन सम्भव छ।

जुम्ला बजारबाट करिब १० किलोमिटर टाढा, चन्दननाथ नगरपालिका–७ स्थित मिचा गाउँको बीचमा रहेको एक विद्यालय हाल विद्यार्थीविहीन अवस्थामा पुगेको छ। चालू शैक्षिक सत्र २०८१ देखि विद्यालयमा एकजना पनि विद्यार्थी नाम दर्ता छैन। हरियाली वातावरणमा रहेको, सानो तर चिटिक्क परेको यो विद्यालयमा पक्की भवन नभए पनि अन्य भौतिक संरचना प्रायः सम्पन्न छन्।

विद्यालयको नाम सरस्वती आधारभूत विद्यालय भए पनि, सरस्वतीको निवास झैं शान्त र सुनसान छ अहिले यो स्थान। साविक महत गाविस–७, ८ र ९ नम्बर वडाको साझा विद्यालय मानिने यस विद्यालयमा हाल तीन वटा दरबन्दी कायम छन्। विद्यालय स्थापनामा धेरै व्यक्तिको योगदान रहेको छ।

तर, चालू शैक्षिक सत्रदेखि विद्यार्थी संख्या शून्य हुनु एक अचम्मको विषय बनेको छ। कक्षा १ देखि ५ सम्म र ई.सि.डि. कक्षा समेत सञ्चालनमा रहेको यो विद्यालयमा कसरी विद्यार्थी एक्कासी हराए?

सुनसानता र प्रश्नहरू
मिचा गाउँमा करिब ४०० भन्दा बढी घरधुरी छन्। तर यति ठूलो संख्यामा बालबालिका भए पनि विद्यालयमा एकजना पनि विद्यार्थी नहुनु निकै चिन्ताको विषय हो। कुनै समय चन्दननाथ नगरपालिकाका आधारभूत विद्यालयमध्ये उत्कृष्ट मानिने यो विद्यालयले थुप्रै सक्षम विद्यार्थी उत्पादन गरेको थियो। यहीं अध्ययन गरेका धेरै जना आज सरकारी सेवा र व्यवसायमा सफल छन्।

नगरपालिकाको शिक्षा शाखाले समेत केही वर्षअघि यस विद्यालयको प्रशंसा गरेको पाइन्थ्यो। तर अहिले विद्यालय पूरै शून्यमा पुगेको छ।

के कारणले यस्तो भयो?
गाउँलेहरू अहिले पनि अचम्ममा छन्—यत्रो राम्रो विद्यालय अचानक किन सुनसान भयो? यस अवस्थामा पुर्याउने कारणहरूमा राजनीति, अभिभावकहरूको बेवास्ता, शिक्षण कार्यमा नवीनता नहुनु, अंग्रेजी माध्यमप्रतिको मोह, र प्रधानाध्यापकको बारम्बार परिवर्तन जस्ता कुराहरू मुख्य देखिन्छन्।

केही वर्षअघि विद्यालय व्यवस्थापन समितिको चयनमा राजनीतिक हस्तक्षेप भएपछि विद्यालयमा अभिभावक नभएका व्यक्तिलाई अध्यक्ष बनाइएको थियो। त्यस यता विद्यार्थीको संख्या घट्दै गयो। प्रधानाध्यापक फेरबदल पनि विद्यालयको स्थायित्वमा असर गर्ने अर्को कारण बन्यो।

अभिभावकहरूले विद्यालयको शिक्षण गुणस्तरप्रति चासो नदेखाई आफ्ना सन्तानलाई अन्य विद्यालयमा सार्न थाले। “मिचाको विद्यालयमा पढाइ हुदैन” भन्ने हल्लाले स्थिति झनै जटिल बनायो। तर विद्यालय प्रशासनले आत्मसमीक्षा गर्ने, सुधारका उपाय अपनाउने र अभिभावकहरूलाई पुनः विद्यालयतर्फ आकर्षित गर्ने प्रयास भने गरेन।

दरबन्दी मिलानको निर्णय
हालै उप–मेयरको एक अन्तर्वार्तामा मिचा विद्यालयको दरबन्दी मिलान गरिएको जानकारी दिइएको छ। उहाँका अनुसार, यदि आगामी तीन महिनाभित्र पनि विद्यार्थी संख्या शून्य रह्यो भने दरबन्दी अन्यत्र सारिनेछ।

तर गाउँलेहरू यस निर्णयप्रति असन्तुष्ट छन्। किन विद्यार्थी हराए भन्ने खोजबिन नगरी दरबन्दी मिलान गरिनु, शिक्षकहरूको तलब कसरी जारी रह्यो भन्ने जस्ता प्रश्नहरू उठिरहेका छन्। विद्यालयका संरचनाको सुरक्षा कसले गर्ने भन्ने विषयमा पनि चिन्ता छ।

अब के गर्ने?
नयाँ शैक्षिक सत्र सुरु हुने क्रममा छ। यस्तो अवस्थामा नयाँ विद्यार्थी भर्ना गरि विद्यालयलाई पुनः सञ्चालनमा ल्याउने समय आएको छ। दरबन्दी मिलानको निर्णय भइसकेको भए पनि, यदि गाउँलेहरूको चाहना छ भने विद्यालय पुनः सञ्चालन सम्भव छ।

आफ्नै गाउँको विद्यालयलाई बचाउने जिम्मा सबैको हो। बिना रिसराग, बिना विभेद—बालबालिकालाई यहीँ भर्ना गरौं। शून्यबाट सुरुवात गरेर सयसम्म पुर्याऔं। आफ्नै विद्यालयमा रमाऔं, यहीँ पढाऔं।

विद्यालयका समस्यामाथि छलफल गरौं, सुधार गरौं, र रमिता हेर्ने होइन, समाधानमा लाग्ने बन्नौं। मिचा गाउँको यो विद्यालय जोगाउनु हाम्रो साझा कर्तव्य हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार