बुधबार, ४ असार, २०८२

चाडपर्वको नाममा बेतिथि, साता अगावैदेखि मनाइन्छ शिवरात्री र होली!

शिवरात्री मनाउने नाममा गाँजा, भाँङ, धतुरो खाएर झगडा गरेको र ज्यान गएको घटनाहरु धेरै छन्। यी पदार्थको सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएर ज्यान गुमाएका उदाहरणहरु पनि नभएका होइनन्।

विद्यालय विद्यार्थीका लागि ज्ञानको मन्दिर हो। तर, महाशिवरात्रीको नाममा मिठाईमा भाङ हालेर विद्यालयले विद्यार्थीलाई खुवाउँछन्। स्कुल, कलेजको ड्रेसमा हुन्छन्, तर दिउँसै झ्याप भएर हिँडेको देखिन्छ। यता, फागू पूर्णिमा नआउँदै होली खेल्ने। ड्रेसमा कोर्ने, रंगमा लत्पतिएर हिँड्नेलगायतका दृश्य पनि अहिले नै देखिन थालेको छ।

अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पढ्न पठाएका हुन्। उनीहरुलाई चाडपर्वको विषयमा ज्ञान पनि चाहिन्छ। तर, चाडपर्व आउनु दुई साता अगावैदेखि यस्ता गतिविधि गर्नु भने ठीक होइन्। रमाइलोको नाममा स्कुलको नपढाउने बहाना हो। बाबुआमाको छोराछोरीको पढाइका लागि मोटो रकम खर्च गरेका हुन्छन्।

तर, यस्ता क्रियाकलापले विद्यार्थीको पढाइमा ठूलो असर पर्छ। रमाइलो गर्नुपर्छ, तर ठीक समयमा। दुई साता अघिदेखि होली मनाउनुको औचित्य के? विद्यालयमा आफ्ना सन्तानले के गरिरहेका छन्? अभिभावकलाई चासो छैन्। पैसा तिरेपछि सकियो। जसले गर्दा विद्यार्थीहरु गलत ट्रयाकमा जान सक्छन्।

रमाइलो गर्ने नाममा विद्यार्थी गलत बाटोमा गइरहेका छन्। रमाइलो गर्दा कुनै दुर्घटना भयो भने कसले जिम्मेवारी लिन्छ? शिवरात्री मनाउने नाममा गाँजा, भाँङ, धतुरो खाएर झगडा गरेको र ज्यान गएको घटनाहरु धेरै छन्। यी पदार्थको सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएर ज्यान गुमाएका उदाहरणहरु पनि नभएका होइनन्।

शिवरात्रीमा आगो बाल्ने चलन छ। त्यही आगो घरभरि सल्किएकोलगायतका अप्रिय घटना पनि घटेका छन्। शिवरात्री र होलीको दोस्रो नाम नै मादक पदार्थ र लागूपदार्थ सेवन बनेको छ। मादक पदार्थ र लागूपदार्थ सेवन गर्ने, होहल्ला गर्ने कार्यले पछिल्लो समय प्राथमिकता पाएको छ।

मादक पदार्थ र लागू पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी चलाउँछन्। उनीहरुको ज्यान जान्छ। अर्कोतर्फ, झैझगडा एउटाको मृत्यु हुन्छ, अर्को जेल जान्छ। यस्तो अप्रिय घटना भएको देख्दादेख्दै विद्यालयले दुई साता अघिदेखि होली मनाउने अनुमति दिने हो? विद्यार्थीले त रमाइलो गर्न खोजिहाल्छन्।

तर, विद्यालय पनि पढाउन छोडेर त्यस्तो क्रियाकलाप गर्नमा आबद्ध भएको छ। नेपालीहरु रमाइलो गर्दा हजारौं रुपैयाँ खर्च गर्छन्। चाडबाड मनाउने भन्दै फजुलको खर्च गरिन्छ। यद्यपि, सामाजिक काममा भने नेपालीको ध्यान नै छैन्। भन्ने गरिन्छ,‘थोपाथोपा गरेर समून्द्र बन्छ।’

यसरी खर्च गर्ने पैसाले कतै पुल बनाउन सकिएला। भोकोलाई खाना खुवाउन सकिन्छ। विडम्बना, नेपालीहरु यस्तो सोच्दैनन्। रमाइलो गर्दा पैसा पानीझैं बगाएको उनीहरुलाई थाहा हुँदैन्, तर कसैलाई सहयोग गर्नुपर्यो भने दाँतबाट पसिना छुट्छ। विद्यालय विद्यार्थीको दोस्रो घर हो।

घरपछि सबैभन्दा बढी समय विद्यार्थीले विद्यालयमा बिताउँछन्। तर, प्रिन्सिपल र शिक्षक नै विद्यार्थीको सामुन्ने चुरोट पिउँछन्। खैनी खाएर पढाउन आउँछन्। टिचरहरु मदिरापान गरेर कक्षामा आएको पनि बेलाबखत सुन्नमा आइरहेको हुन्छ। यता, शिक्षिकाहरुको कपाल पुरै रंगाएको हुन्छ।

शरीरमा ट्याटु हानेका हुन्छन्। यस्ता शिक्षक शिक्षिकाले विद्यार्थीलाई के पढाउलान्? विद्यार्थीले उनीहरुबाट के सिक्छन्? विद्यार्थी भनेको भोलिका कर्णधार हुन्। विद्यालयमा जस्तो शिक्षा हासिल गर्‍यो, उनीहरु त्यस्तै बन्छन्। घरमा बुवाआमाभन्दा उनीहरु आफ्ना टिचरबाट बढी इन्स्पायर हुन्छन्।

अहिलेका शिक्षक शिक्षिकाबाट विद्यार्थी चुरोट खैनी खान, कपाल रंग्याउन, ट्याटु हान्न इन्स्पायर भएका छन्। भोलि अधिकांश दर्शनका लागि पशुपतिनाथ मन्दिर पुग्छन्। त्यहाँ भएका नागा बाबाबाट आर्शिर्वाद लिन उनीहरु त्यहाँ गएका हुन्छन्। भेटी चढाउँछन्। सबैभन्दा ठूलो धर्म आफ्नो अभिभावकको सेवा गर्नु हो।

घरमा बुढा भएका बुवाआमालाई चाँहि अपहेलना गर्छन्। खान दिँदैनन्, नुहाईधुहाई गर्दिदैनन् अनि आर्शिर्वाद माग्न पुग्छन्। नेपालीहरु ढोंग रच्न निकै जान्ने भए। देखाउनेका लागि मात्रै काम गर्छन्। एउटा उखान छ, चपाउने दाँत एउटा, देखाउने दाँत अर्को। यस्तै छ नेपालीको व्यवहार।

नेपालीहरु न ऐनकानुन टेर्छन् न आफ्नो जिम्मेवारी बुझ्छन्। होली आफ्नो परिवारबीच मनाउने पर्व हो। तर, छतमा बसेर अर्कालाई पानी छ्यापिन्छ। छतबाट चिप्लिएर हरेक वर्ष एकाधले ज्यान गुमाइरहेका हुन्छन्। तैपनि पाठ सिक्दैनन्। योभन्दा विडम्बनापूर्ण कुरा के होला? राज्यको काम समाजलाई सही दिशामा लैजानु हो।

तर, सरकारले आफ्ना जनतालाई केही सिकाउन सकेन्। जनतालाई टिकटक चलाएर भ्याइनभ्याइ छ। टिकटकबाट नकारात्मकता फैलाएको छ। जनता त्यहाँ अल्मलेका छन्। सरकारलाई त यसले फाइदा नै भएको होला। काम नगर्ने सरकारले आफ्नो विरोध हुन्छ भनेरै टिकटक खोलेको हो।

जनताले आफ्नो सबैभन्दा बढी समय त्यहाँ बिताउँछन्। पछिल्लो समय हरेक आकाशे पुलमा मान्छेहरु नाँचिरहेको देखिन्छ। काम नगर्ने, टिकटक बनाउने। जनता गलत बाटोमा गइरहेका छन्। उनीहरुले आफ्नो समय खेर फालिरहेका छन्। तर, सरकारलाई मतलब छैन। उल्टै त्यस्तो काम गर्न उक्साइरहेको छ।

सरकारले जनतालाई शिक्षित बनाउनै चाहेको छैन। देशको ऐनकानुनबारे जानकारी नगराउने, अनि उनीहरुले गल्ती गरेपछि जेल कोच्ने। जनता सरकारका लागि भोट र नोटको माध्यम मात्र बनेको छ। जनतालाई कानुनको विषयमा जानकारी छैन। सरकारले विद्यालयमा पनि सिकाएन्।

जनता आफ्नै धुनमा छन्। हत्कडी लागेपछि संविधान र कानुन पढाएर के काम? सरकार आफैं जाल थाप्छ अनि जनतालाई फसाउँछ। जनता पनि रमाइलोको नाममा फस्छन्। सरकार भन्छ, घरेलु मदिरा बेच्न पाइँदैन्। सार्वजनिक ठाउँमा धुम्रपान गर्न पाइँदैन्। गाँजा, धतुरो बेच्न पाइन्छ।

शरीरलाई असर पुर्‍याउने केमिकल भएको रंग, कालो मोबिलहरु बेच्न पाइँदैन्। तर, यहाँ त कानुनले बन्देज लगाएको सामानहरु खुलेआम रुपमा बिक्री भइरहेको छ। सरकारले जहिले पनि जनताको सुरक्षा गर्छौं भन्छ। तर, जनता मारेर सरकारले कर उठाउँछ। सरकार नौटंकी भएपछि जनताले त्यो सिक्नु स्वाभाविकै हो।

जो मान्छे गरिब परिवारमा जन्मियो, ऊ त पढाइबाट बञ्चित हुन्छ। उसलाई कानुनबारे थाहा हुँदैन्। तर, धनी बाउका छोराछोरीलाई पनि देशको ऐनकानुनको विषयमा रत्तिभर पनि जानकारी छैन। बेतिथि आफै निम्तिँदैन्, व्यक्तिले निम्त्याउने हो। बेतिथि निम्तिएपछि राज्यले त्यसलाई नियन्त्रण गर्ने नाममा कानुन लगाउँछ।

बिग्रिसकेपछि कानुन कार्यान्वयन गरेर के फाइदा? मरेपछि आँखाबाट आँशु झारेर के गर्ने? बिग्रिसकेपछि जेलमा लगेर थुनेर केही हुन्छ? राज्य र अभिभावक चनाखो हुने हो भने सायद त्यो अवस्था देख्नै पर्दैन्थ्यो। चाडबाड मनाउने नाममा केही अप्रिय घटना नघटोस्। होली खेल्ने नाममा कसैको ज्यान नजाओस्।

सरकारले यसका लागि आवश्यक तयारी गरोस्। सचेतना फैलाउने हो कि अन्य विधि अप्नाउने हो, राज्यको हातमा छ। अभिभावक पनि यसमा जिम्मेवार बनिदिनुपर्‍यो। सरकारले ऐनकानुन बनाउन सक्छ तर जनता जन्माउन सक्छ। एक जनतालाई केही भयो भने राज्य र अभिभावकलाई ठूलो क्षति हुन्छ। त्यसैले सचेत बनौं।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार