आज दोबाटोमा के कसैले धर्का खिचेर को पहिले पुग्ने कसैले भनेको थियो? नाई। अनि म ढिलो पुग्दा कसैले ढिलो पुगेर हारीस् भन्यो? भनेन। भनेपछि अलि अघिसम्म मेरो मस्तिष्कमा घुमेको प्रतिस्पर्धाको चर्खा घुमायो कसले? अस्तित्वमै नभएको प्रतिस्पर्धालाई मेरो सोचाईमा एकाएक जन्मायो कसले?
साँझ झमक्कै पर्न थालिसक्यो। ज्याकेटको गोजीबाट मोबाइल झिकेर हेरेँ, ओहो ६:१७ पो भैसकेछ। पढाउँदा पढाउँदै संवैधानिक कानून पढाउने सरले ढिलोसम्मै पढाउनु भएछ, आज। हुनत १७ मिनेट त ढिलो होनी तर साँझ परिसकेको पिर अनि कोठा गएर बिहानका जुठा भाडा माझेर फेरी बेलुकाको खाना बनाउने चटारो सम्झिदाँ मात्र पनि त्यसै अत्यास लागेर आउँछ।
‘सफल लोक सेवा तयारी इन्स्टिच्युट’को भवनबाट फटाफट तल झरेँ। हाइवेमा बाटो काट्न कुर्दा पो थाहा भयो हतार त सबैलाई रहेछ। २ पाङ्ग्रे देखि ४ पाङ्ग्रे सबैलाई हतार, ठेलामा चाट बेच्नेदेखि सडक छेउमै उभिएर फुस्फुस्ती उडेको धुलोको प्रवाह नगरि चाट खानेसम्म हतारमै देखिन्थे।
यस्सो मौका छोपेर जेब्रा क्रसिङबाटै बाटो काटेँ। हाइवेबाट अलि भित्र छिरेपछि मैले अलि परमै बस्ने घरमा बस्ने स्तुतीलाई कोठा तिर जाँदै गरेको देखेँ, तर बोलाइनँ। बोलाउनलाई मज्जाले चिन्नु पर्छ र चिन्नलाई अलि दिन संगत गरेको हुनुपर्छ। ऊ डेरामा बस्न आएकी जम्मा ६ दिन भयो, ६ दिनमा ६ पटक पनि देखभेट नभएको मान्छे सित यसै बाटोमा बोलाई बोलाई बोल्न अलि अप्ठ्यारो पर्यो, मलाई। त्यसैले बोलाइनँ। ऊ हिँडिरही, म पनि हिँडिरहेँ, आफ्नै सुरमा, आफ्नै सोचाइमा मग्न भएर।
हाइवेबाट अलि बेर पूर्व पट्टी हिँडेपछि मेरो कोठा पुग्ने दुईवटा बाटा छन्। म सधैँ सिधा हिँडिरहेको बाटोबाटै जान्छु। आज पनि उतैबाट हिँडे। तर म भन्दा ३ कदम अघि हिँडिरहेकी स्तुती भने अर्को बाटोबाट कोठा तर्फ लागि। सोचेँ उसलाई उतै सहज लाग्यो उतै गई। मलाई यता सजिलो लाग्छ। त्यसैले म यताबाट हिँड्दैछु।
अल्लि अघि पुगेपछि हेमन्त दाईको डेरीबाट आधा लिटर दुध किनेँ। दुधको प्लास्टिक हातमा झुन्ड्याउँदै आज कक्षामा भएको छलफल सम्झिँदै हिँड्दै थिएँ, ठ्याक्कै एक जना गाउँकै आफन्ती भेटिनु भयो। छोरी बिरामी भएर औषधि गर्न आउनुभएको रहेछ। छोरीको स्वास्थ्यबारे बुझेर उहाँलाई सान्त्वनाका केही शब्द भनेर भोली भेट्ने बाचा सहित म कोठा तिर लागेँ।
म बस्ने घरको आँगनमा पुग्दा पो झस्याङ्ग भएँ। अघि भर्खरै मेरो दुई पाइलो अघि हिँडिरहेकी स्तुती, कपडा फेरेर पनि धारामा तरकारी पखाल्दै थिई। मनमनै सोचेँ, “हैन के सारो छिटो पुगेकी होली यो केटी।” अनि आफैलाई ढिलो पुगेकोमा लज्जा बोध भयो। ऊ कहाँबाट आएकी, म कहाँबाट आएको तर किन किन प्रतिस्पर्धामा हारेको महसुस भयो। झन् ऊ घरबेटी भाउजुसँग हाँसेर बोलेको देख्दा म ढिलो आएकोमा मलाई खिस्सी उडाएको भान भयो।
म केही नबोली हतार हतार आफ्नो कोठामा छिरेँ। झोला बिस्तारामा फालेर आफू पनि छेउमा टुस्स बसेँ। लाग्यो सँगै एकै दुरीबाट कोठाको यात्रा थालेको हामी, ऊ छिटो अनि म ढिलो कसरी पुग्यौँ? मलाई म आफू परिक्षामा अनुत्तिर्ण भएको जस्तै महसुस भयो। सोचेँ सायद ऊ आएको बाटो अलि छोटो रहेछ। तर फेरी आफै सित रिस उठ्यो। त्यो बाटो छोटो छ भन्ने मलाई किन महसुस भएन। मैले डेरीमा पनि एक मिनेट लगाएँ अनि ति भेटिएकी आफन्त सित बढीमा दुई मिनेट बोलेँ हुँला। तर यति बीच उसले कोठा पुगेर त्यति काम सक्न कसरी सकी। मलाई आफू ढिलो कोठा पुगेकोमा खिन्नता भयो।
यस्तै अनेक सोच्दै कपडा फेर्ने तरखरमा के थिएँ बाहिरबाट घरबेटी भाउजु कराउनु भयो,”ए कविता नानी तपाईंलाई चाँही बहुला कुकुरले लखेटेन बाटामा?” मैले भित्रैबाट जवाफ दिए नाई किन र भाउजु? “ए! अर्को बाटो आउनुभयो होला, नत्र माथि बस्ने नानीलाई त कुदाउनु कुदाएछ एउटा भुस्याहा कुकुरले अघि,” यति भन्दै भाउजु माथि लाग्नुभयो क्यारे बोली मधुरो हुँदै सुनिन नै छोड्यो।
“छ्या मैले यो किन सोच्न नसकेको होला। उसलाई छिटो कोठा पुर्याउने कारक त्यस्तो पो रहेछ।” ऊ छिटो पुगी किनकी उसलाई छिटो हिँड्नु पर्छ नत्र मलाई कुकुरले टोक्छ भन्ने दबाब भयो। म ढिलो पुगेँ किनकी मैले आउँदै गर्दा गर्नु पर्ने काम अरु पनि थियो। उसको पो कोठामा आमा बाबा हुनुहुन्थ्याे र उसलाई घर खर्चको किनमेल गर्नुपरेन तर मैले त्यो गरेँ। किनकी अहिलेलाई मेरो अभिभावक मै हुँ। मैले एक आफन्तीको पीडा सुनेँ किनकी उनले मलाई सुनाएर मबाट केही साथको अपेक्षा थियो।
पुग्ने स्थान उही भएपनि को कसरी कहिले पुग्छ या पुग्दैन त्यो कुराले एउटा व्यक्ति सफल या असफल कसरी हुन सक्छ। हरेक व्यक्ति फरक-फरक कुरा प्राप्तिका निम्ति संघर्षमा निस्किएको हुन्छ। एउटा मानिस जो माटोको घरमा जन्मियो हुर्कियो, जसले माटोको घर बर्खामा चुहिँदा घरभित्र ठाउँठाउँमा कतै बाटा त कतै थाल थापेको छ, उसको सपना एउटा घर ठडाउने हुन्छ। उसलाई नाम त कमाउनु हुन्छ तर त्योसँगै आर्थिक पाटोले पनि धकेली रहन्छ संघर्षमा। तर जोसँग पहिल्यैबाट गज्जबको पक्की घर हुन्छ उसको संघर्षको प्रेरणा कहिल्यै घर हुँदैन, ऊ सायद नाम कमाउन दौडिन्छ या घरभन्दा महंगो अरू केही। भलै प्रतिस्पर्धाको मैदान एकै हुन्छ, प्रतिस्पर्धाले पुर्याउने ठाउँ पनि एउटै हुन सक्ला तर त्यो ठाउँको महत्त्व व्यक्ति अनुसार फरक पर्छ। तर यतिमै सबैथोक सकिन्न।
त्यसरी वर्षौंको सफलता पछि कमाएको बिरासत कोही कोही मानिस एकै सोचमा छोडि पनि दिन्छन्। कारण सन्तुष्टी। घर बनाउने सोचमा, समाजको अघि आफूलाई प्रमाणित गर्न, नाम कमाउन, बिएमडब्लु किन्न उसले यत्रो संघर्ष गरेको हुन्छ तर यो बीच जब उसलाई मनको कतै कुनामा सुन्तुष्टि मिल्दैन ऊ छोडिदिन सक्छ सबथोक अनि फेरी शुरुबाट शुरू गर्छ। तर सबै त्यति साहसी कहाँ हुन्छन्।
कसैलाई उही घर व्यवहारले त कसैलाई आर्थिक संकटले कहिल्यै छान्न दिँदैन, सन्तुष्टीको काम। हामीले देख्ने कसैको सफलता र व्यक्ति स्वयमले महसुस गर्ने उसको सफलता बीच टाढा टाढासम्म पनि सम्बन्ध नहुन सक्छ मेची र कालीको जस्तै।
सानै देखि तुलनाको सिकार बनाइन्छ मानिसलाई। केही नगरे पनि फलानो जस्तो गर केही गरेपछि फलानो जत्तिकै गर। त्यति बेला भन्न मन लाग्थ्यो, म त्यति गर्छु जति म सक्छु, म त्यही गर्छु जसमा मन चङ्गा हुन्छ।
लाग्थ्यो कोही डाक्टर नभइदिएनी हुने नी, मलाई कत्ति डाक्टर बन्न रहर लाग्थेन। लाग्थ्यो कोही बच्चा नपढेर खेली मात्र रहे हुने नी। अनि म पनि खेल्न मात्र पाउँथे की। अरूले गरेकै गरे मात्र सफल सोच्ने हामी। अरूले काम गरेको भन्दा बढी गरे मात्र महान बनाउने हामी। अरूको छोराछोरीको नाम दिएर आफूलाई तुलना गर्दा रिसाउने म कहिलेबाट आफै अरू सित आफैलाई दाँज्न थालेछु पत्तै भएन।
अरूसित अनायसै प्रतिस्पर्धा गराउनु रोग हो भने म रोगी भएको रहेछु। प्राय मानिस सफलतालाई सापेक्ष रूपमा हेर्छन्। तर म सोच्छु सफलता निरपेक्ष हुनुपर्छ। भलै कहिले काहीँ प्राप्त गर्नु पर्ने कुरा एउटै हुन्छ तर उसको संघर्षको मापन, बाधा अवरोध, मिहिनेतले हरेक व्यक्तिको सफलता फरक हुन्छ।
पढ्ने बेला निदाउने विद्यार्थी रातभर बसेर पढ्न सक्ने हुनु आफैंमा निरपेक्ष सफलता हो। तर हामी अघिल्लो परिक्षा या अघिल्ला विद्यार्थीहरुसँग उसको तुलना गरेर उसको सफलतालाई सापेक्ष बनाउन खोज्छौँ।
भारतका महानायक अमिताभ बच्चनलाई उनको सफलतामा ताली बजाउँछौं। तर उनको छोरालाई सापेक्षताको तराजुमा राखेर असफल करार गर्छौँ। स्वास्थ्य प्रतिस्पर्धाले मानिसको वृद्धि गर्छ तर सफलताको सापेक्ष मापनले व्यक्तिको व्यक्तिगत योग्दान, मौलिकतालाई छायामा पारिदिन्छ।
मदन पुरस्कारको लागि छानिने पुस्तकहरू यदि फरकफरक विषयवस्तु अनुसार पुरस्कृत हुने भए सबै पुरस्कृत हुन्थे। किनकी ती सबै पुस्तक आफैमा सफल हुन्छन्।
म आज कोठै नगएर बिरामी कुर्न अस्पताल गएको भए के हुन्थ्यो? भलै म कोठा पुग्ने दौड हार्थेँ तर जीवनमा जित्थेँ। वरिपरिकाले सँगै हिँडेको मान्छे पुगिसक्यो त किन नपुगेको भने पनि म सन्तुष्टिले हाँस्थे।
आज दोबाटोमा के कसैले धर्का खिचेर को पहिले पुग्ने कसैले भनेको थियो? नाई। अनि म ढिलो पुग्दा कसैले ढिलो पुगेर हारीस् भन्यो? भनेन। भनेपछि अलि अघिसम्म मेरो मस्तिष्कमा घुमेको प्रतिस्पर्धाको चर्खा घुमायो कसले? अस्तित्वमै नभएको प्रतिस्पर्धालाई मेरो सोचाईमा एकाएक जन्मायो कसले?
पुस्तकमा तर्क र विज्ञान खोज्ने मैले, विचार सुन्दा कारण पनि सोध्ने मेरो बानी बीच अकारण उब्जिएको प्रतिस्पर्धी भावना फगत असन्तुष्टिको कारण मात्रै रहेछ। मैले मेरा स्नातकसँगै गरेका साथी सम्झिएँ जसका बिछट्टै राम्रा तस्बिरहरू सामाजिक सञ्जालमा देखेर थाहै नपाइ तुलना जन्मिन्थ्यो मेरो मनमा।
म आजसम्म भ्रममा रहेछु। खुरूखुरू कर्म गरेरै आनन्द लिने समयमा अरुको जीवनशैलीसँग आफ्नो तुलना गरेर यस्सै जटिल बनाएछु, आफ्नो पानी झैँ सरल जीवन। उनीहरू फूली रहेछन् आफ्नै मौसममा। के थाहा उनीहरू पनि मनमनै चाहान्छन् की म हुन! के थाहा उनीहरूलाई मेरो जीवन लोभलाग्दो लाग्छ की जसको मलाई कत्ति पनि लोभ लाग्दैन। के थाहा उनीहरू पनि मनमनै म जस्तै खुशी हुन चाहन्छन् कि तर उनीहरुलाई के थाहा यसरी बाहिर खुशी हुन भरका आँसु रातभरि सिरानीलाई सापट दिनुपर्छ भनेर। के थाहा उनीहरू म जस्तै पो बन्न चाहान्छन् की जबकी म आफूलाई नै थाहा छैन म के बन्न चाहान्छु भनेर।
ओहो! आहा देखिएका मानिस भित्र कत्रो भयंकर रहस्य लुकेको होला? उनीहरूको मनभित्र कति रिस, उथलपुथल होला? मलाई आफ्नो जीवन धेरै सरल लाग्यो। कमसेकम म आफ्नो दु:ख व्यस्थापन गर्न सक्छु। मलाई अरूको मनभित्र लुकाइएका रहस्य सम्झेरै उनीहरू जस्तो हुन मन लागेन। मलाई डर लाग्यो अरूको झिलिमिली बाटोमा हिँड्न तर आफ्नै अँध्यारो गल्लीमा मधुरो मैनबत्ती बालेर हिँड्न मलाई किनकी साहस आइरहेछ।
यो मैनबत्ती केही समयपछि सकिनेछ र निभ्नेछ। तर यो सकिन्जेल म घामको उज्यालोमा हुनेछु भन्ने सोचेर मात्रै पनि मन फुरुङ्ग भएर आयो। प्रतिस्पर्धाको बतासले उडाएको मेरो निन्द्रा एकाएक म नजिकै आएछ। मानौं उसलाई पनि अस्वस्थ प्रतिस्पर्धा मनपर्दैन, मलाई शान्तिले अंगालो हालेपछि कति बेला निदाएछु यसै भन्न सक्दिनँ। तर बिहान उठेर यो लेखिरहँदा मसँग केवल शब्द छन्, गुनासा छैनन्।