आफ्नो अध्ययन, रोजगार त्यही माथि पारिवारिक जिम्मेवारी थपिँदा दैनिकीमा फेरबदल हुनु, सन्तुलन मिलाउन अफ्ठ्यारो हुनु स्वाभाविक हो। तर यसलाई हामीले बाधकको रूपमा लिनु हुँदैन। जिम्मेवारी उसैलाई बढी दिइन्छ जसले त्यो जिम्मेवारी उठाउन सक्छ।
बुढेसकाल लागेछ क्यारे! अब त यस्सो केही काम गर्यो कि ढाड दुखि हाल्ने। हाम्रा आमा, काकीहरु ८० वर्षको हुँदासम्म पनि कति टाँठी हुनुहुन्थ्यो। मलाई अझै याद छ, हाम्रै गाउँकी एक जना बजै त ८४ गरेको ३ वर्ष पछि पनि मेरो बिहेमा छमछम्ति नाच्नु पो भथ्यो। अहिले मलाई ५९ मै काम गर्न कति गाह्रो हुँदै गएको हो छ्या! हिजो मात्र माइलो छोरोले बजारको राम्रो अस्पतालमा जचाउन लग्दा पो था भयो सुगर, प्रेसर सबै बढेको रैछ। अब मुख बार्नुको विकल्प छैन मसँग। बुहारीले बनाएको मिठो चिनी हालेको हलुवा खाने दिन गएछन् मेरा। ए प्रभु रक्षा गर!
“डाक्टरले अलि अलि बिहान साँझ हिँड्नु भनेको छ, बुहारी म यस्सो तल स्कुल सम्म हिँडेर आउँछु तिमी धन्दा भ्याउ है”, यत्ति भनेर म निस्किएँ।
अब त अलि अलि चिसो पनि बढ्न थालेछ, सबैका खेतमा धान पाकिपो सकेछन्। अफिसमा जागिरेहरु त छठ मानेर काममा दौडिहाल्छन्। तर इन्डियाबाट दशैँ तिहार मान्न घर आएका किसानका छोरा, बुहारी, छोरी, ज्वाँईहरु भने धन काटी वरी घरमा नभित्र्याएसम्म गाउँमै भेटिन्छन्। जागिरेहरु त जागिरको नाममा घरधन्दाबाट उम्कन्छन् तर ज्यालामा काम गर्नेहरू, सरकारको वैदेशिक कामदारको लेखाजोखामा नपर्नेहरू जो छिमेकी मुलुक भारत जान्छन्। उनीहरु घर धन्दा पनि भ्याउँछन्, खेतीपाती लगाउँछन् कमाउन जान्छन्, खेतीपाती भित्र्याउने समयामा आउँछन् भित्र्याउँछन् र फेरी फर्कन्छन् रेल चढेर गुजरात, आसाम अनि कालापहाड। यस्तै अनेक थोक मनमा खेलाउँदै, आफ्ना जागिरका दिनहरू, त्यो व्यस्तता सम्झिँदै म कुन बेला स्कुल नजिकै पुगेछु पत्तै पाइन। स्कुललाई नियाले, स्कुलको झ्यालबाट आफूले कुनै बखत चकले लेख्ने कालो पार्टीलाई लुकेर हेरेँ, मन कता पुग्यो कता।
त्यहाँबाट फर्कनै लाग्दा मेरो आँखा दुबो माथिको खाममा पर्यो। भर्खरै दशैँ सकिएकाले खाली खाम होला सोचेँ तर अलि नजिक गएर हेर्दा त्यो खाममा केही लेखेको जस्तो लाग्यो। एक मनले सोच्यो यही स्कुलमा पढ्ने कोही छात्र वा छात्राको काम हुनुपर्छ या हुनुपर्छ प्रेम प्रस्ताव। कि कुनै शिक्षकको बिदा बारे निवेदन हो? होइन होइन यो त नितान्त चिठ्ठी जस्तो छ। उठाएँ, खोलमा लेखिएको थियो, पठाउने जुनु पाउने जुनुको आमा। त्यो ढाँचा देख्दा चिठ्ठी एकदम अनौपचारिक रुपमा लेखिए जस्तो देखिन्थ्यो न पुरा नाम, न पठाउनेको ठेगाना न पाउनेको! लाग्थ्यो कोही कसैलाई केही भन्न चाहान्छ। कोही कसैलाई पेटभरि मनका कुरा सुनाउन चाहान्छ नत्र यत्रो मोबाइफोन, इमेल-इन्टरनेटको समयमा कागजका पानामा यसरी केही लेख्ने दुःख कसले गरोस्।
चिठ्ठी लेखकको गोपनियताको ख्याल थुप्रै पटक मनमा आइरह्यो र चिठ्ठी खोल्नै सकिनँ। हातमा समातेर एकोहोरो पल्टाइपुल्टुई हेरिरहेँ। तर सोचेँ मैले यो चिठ्ठी खोले भने मात्र ठेगाना था हुनेछ र सायद पुग्नुपर्ने ठाउँमा यो पुग्ने छ।
मन दरो बनाएँ। सही नियतले चिठ्ठी खोल्दैछु भनेर मनलाई स्थिर पारेँ। करिब दुई पानामा चिठ्ठी टुङ्गिएको रहेछ। मन थाम्न सकिनँ र पहिलो पानाको टुप्पोमा हेरिहालेँ।
“प्रिय आमा!
धेरै माया,
बिहान फोनमा कुरा भएअनुसार तिमी आराम छौ भन्ने आशा गरेकी छु। आमा अचम्म मान्यौ होला है चिठ्ठी किन लेखेकी होली भनेर। म आफैं पनि अचम्म मानिरहेकी छु। जे पनि आमालाई भन्नुपर्ने मैले केही कुरा भने व्यक्त गर्नै सक्दिनँ। आमा आत्तिनु पर्दैन, म कुशल मंगल छु। दु:ख पाएकी पनि छैन तर खुसी पनि छैन आमा। घरपरिवारबाट दु:खी भएकी होइन, श्रीमानबाट दु:ख पाएकी पनि छैन। म त यो समयसँग रुष्ट छु जसले अवसरको नाममा महिला माथि ज्यादती गरेको छ। आमा तिमीलाई याद छ, म सानो हुँदा फुरुक फुरुक दाजुको हात समाएर स्कुल जाँदा तिमी मलाई त साह्रै भाग्यमानी रैछेस् जुनु भन्थ्यौँ है। अनि म खुसी हुँदै किन आमा भन्थेँ अनि तिमी थप्थेउ, दाजु जत्तिकै माया पाएकी छेस्, स्कुल जान पाएकी छेस्, दुईचार अक्षर सिक्न पाएकी छेस्, पछि ठूलो मान्छे हुन्छेस्। हाम्रा पालामा त हामीले पढ्न पनि पाएनौँ न अहिले आफ्नै दुई-चार पैसा खेलाउन पाएका छौँ। जे खान मन, लाउन मन लागे पनि तेरो बुबासँग डराई डराई माग्नु पर्छ। तर आमा आज मलाई कराई कराई भन्न मन लागेको छ, तिमी साह्रै भाग्यमानी हौं आमा। हो मैले धेरै पढ्न पाएँ, भने जस्तै जागिर खाएँ अरुका अगाडि त खै तर तिम्रा अघि पक्कै सफल मान्छे भएँ तर म कसरी झुठ बोलौं आमा, जहिलेबाट विवाह भयो मलाई लाग्दैछ म संसारकै असफल महिला हुँ। म हरेक दिन हरेक वर्ष झन् हार्दै छु। वर्किङ वाइफ भन्दा बढी म वर्किङ बुहारी हुँदा हारेँ। अझ आमा त्यो भन्दा पनि बढी म वर्किङ मदर भएका कारण हारे, हार्दैछु।
आमा कमसेकम तिमी एक असल बुहारी भएकी थियौ। विवाह पछि आफ्न सासु ससुराको राम्रो ख्याल राखेकी थियौ, तिमीले। घरधन्दा सबै समयमै सक्थेउ। आमा तिमी साह्रै भाग्यमानी थियौ। कमसेकम तिमीले घरधन्दा भ्याएर बाहिर काममा जानु परेन। तिमीले पुर्ण रुपमा बुहारी हुने सौभाग्य पायौ। बुबा काममा जाँदा बुबालाई मन पर्ने खाना बनाउन भ्याउँथेउ। अझ हामी जन्मिसके पछि हामीलाई कहिले आमा खै भनेर रुनु परेन। हामी तिम्रै काखमा हुर्कियौं। तिम्रो माया ममता पर्याप्त पायौं। न त गर्भावस्थामा पनि अफिस जान पर्यो तिमीलाई, न सुत्केरी अवस्थामा बिदाको लागि हार गुहार नै गर्नू पर्यो तिमीलाई। तिमी साह्रै भाग्यमानी थियौ, आमा।
अर्कोतिर म छु, आत्मनिर्भर त भएँ। तर आत्मसन्तुष्ट हुन सकिरहेकि छैन। बिहानै उठ्न सक्दिनँ। किनकी घरधन्दा भ्याएर सुत्दा ११ बजिसकेको हुन्छ। बिहान एक थरि खाना मात्रै बनाउन भ्याउँछु। न सासुलाई के खान मन छ सोध्न भ्याउँछु न श्रीमानलाई। दिन भरि अफिस सकेर घर फर्कँदा झमक्कै भइसक्छ। अफिसबाट आउने बित्तिकै भान्सा पस्यो खाजा, बेलुकाको खाना बनाएर सक्दा रात छिप्पिसक्छ। आमा तिम्री नातिनी जन्मे पछि त मलाई झन् आफू असफल हुँदै आएको महसुस हुँदैछ। ४ महिना पनि नपुगेको दुधे बालखालाई दिन भरि डब्बाको दुधको भरमा छोड्नु कम पिडादायी हुँदैन। आफ्नो दुधे बालखालाई दिन भरि रुवाउँदै घरमा छोडेर पाएको तलबले कुन आमालाई आत्मनिर्भर महसुस गराउला र! आफ्नै सन्तानलाई समय दिन नसक्नु भाग्यमानी कसरी हुन्छ आमा?
मेरो डिग्री गर्ने सपना त अझ विश्वविद्यालय भर्ना सम्ममै सिमित भएको छ आमा। कक्षा कस्तो छ, सहपाठी को हुन, सम्म चिन्न भ्याएकी छैन। कसरी चिन्नु चिन्नलाई नियमित कक्षा जान भ्याउनु पनि पर्यो! आमा आफूसँगैका पुरुष साथीहरु, अविवाहित महिला साथीहरु, टाढाटाढा वनभोज जाँदा, शैक्षिक भ्रमण जाँदा, जानेहरुको नामलिस्टमा तिम्री छोरीको नाम अचेल पर्दैन। घुम्ने रहर मलाई पनि लाग्छ। तर पहिले घरधन्दाले मिलेन अहिले काखे बालखाले! साथीहरुसित मनका वात गर्नसम्म पाएकी छैन। यो थपिएको जिम्मेवारीले मेरा रहरहरुलाई कतै कुण्ठित त बनाएको छैन आमा? केही गरि सन्तानलाई समय दिउँ, जागिरबाट केही समय विश्राम लिउँ भने आफ्नो करियर नै वर्षौं पछाडि धकेलिने डरले मुटु पोलेर आउँछ।
आमा यो पत्र पाएर तिमी अलमलमा पर्ने छेउ। छोरीले घर गरेर खान गाह्रो मानी भन्ने सोच्नेछेउ। तर आमा मैले न राम्रो सित घरगर्न पाएकीछु न आफूलाई समय दिन। मेरो दिन जीम्मेवारी पुरा गर्दै सुरु हुन्छ र जिम्मेवारी पुरा गर्दागर्दै सकिन्छ। आत्मनिर्भर भनेर कहलिएकी म एकाइसौं सदीकी नारी यो लाजमर्दो चिठ्ठी तिमीलाई पठाएर कमजोर देखिन चाहादिनँ। र फेरी यो हास्यास्पद लाग्ने तर गहन कुराको थुप्रो यो चिठ्ठी यत्तिकै च्यातेर फाल्न पनि सक्दिनँ। त्यसैले यसै छोड्दैछु उडेर कोही कसैको हातमा पुगोस् अनि मलाई मेरो कुरा कसैलाई त सुनाएँ भन्ने ढुक्क होस्।
उही तिम्री
अभागी छोरी!”
चिठ्ठी लामो थिएन तर यसले मलाई आफैं भित्र पुर्याएछ। कहिले नदेखेकी जुनुको एक आकृति मेरो मस्तिष्कमा बनिसकेछ। जुनुले प्रश्न तेर्साएकी छिन्, एउटा नपठाइएको पत्र मार्फत। यसको प्रापकको नाताले मनमनै जुनुको चिठ्ठीको जवाफ दिँदै घर तिर लागें।
प्रिय जुनु,
मलाई तिम्रो चिठ्ठी पढ्दा कत्ति पनि अचम्म लागेन। न त तिमी घर गरेर खान नसकेझैं लाग्यो। किनभने तिमीले अहिले बाँचिरहेको जीवन मैले आज भन्दा ३० वर्ष पहिले देखि ४ वर्ष अघिसम्म बाँच्दै थिएँ। म एक श्रीमती, बुहारी, आमा अनि कर्मचारी भएका हिसाबले तिम्रो वेदना राम्रोसँग बुझ्छु। तर मलाई यो सबै कुराले कमजोर कहिल्यै बनाएन। प्रिय जुनु जति समानताको कुरा गरे पनि केही केही मानेमा पुरुष र महिला बीच प्राकृतिक सुन्दर असमानताहरु छन्। केही यस्ता जिम्मेवारी र सौभाग्य छन्, जुन महिलाले मात्र प्राप्त गर्छिन्। ती सौभाग्यको सुख पनि महिला एक्लैले भोग्छिन्, अनि जिम्मेवारी पनि एक्लै उठाउँछिन्। एउटा बच्चालाई ९ महिना गर्भमा राख्ने अनि यो धर्तिमा जन्मदिने जस्तो सौभाग्य महिलालाई मात्र प्राप्त छ र यो प्रक्रियाको पीडा पनि महिला एक्लैले उठाउनु पर्छ। विवाह पछि पनि महिलाको सौभाग्य थपिन्छ परिवार पाउँछिन्। तर दुबै परिवार प्रतिको जिम्मेवार पनि महिलालाई नै थपिन्छ। आफ्नो अध्ययन, रोजगार त्यही माथि पारिवारिक जिम्मेवारी थपिँदा दैनिकीमा फेरबदल हुनु। सन्तुलन मिलाउन अफ्ठ्यारो हुनु स्वाभाविक हो। तर यसलाई हामीले बाधकको रूपमा लिनु चाहीँ हुँदैन। जिम्मेवारी उसैलाई बढी दिइन्छ जसले त्यो जिम्मेवारी उठाउन सक्छ। त्यसैले केही जिम्मेवारी हामीलाई कुनै पितृसत्ताले नभई प्रकृतिले नै दिएको हुन्छ। अनि तिमीलाई थाहा छ जुनु यो नयाँ थपिएको आधुनिक जिम्मेवारी छ नी, अध्ययन, काम पेशा व्यवसाय, यसले हाम्रो घरमा बृद्धा सासु ससुरा वा हजुरबुबा हजुरआमाको महत्व बढाइदिन्छ। बुबाआमा नै दिनभर काममा जाने भएपछि बालबालिका आफ्ना हजुरबुबा हजुरआमाको काखमा हुर्किन पाउँछन्, अनुशासन सिक्छन्, आफूभन्दा ठूलालाई सम्मान गर्छन्।
तर यो सबै प्रक्रियामा श्रीमानको महत्व अति नै हुने गर्छ। गर्भधारण महिलाले मात्र गर्न सक्छिन् तर उनी गर्भावस्थामा हुँदा उनलाई सहज महसुस उनको श्रीमानले उनको परिवारले मात्र गराउन सक्छन्। महिलाले एक्लै उठाउनु पर्ने जिम्मेवारीमा पनि पुरुष ठूलो साहास बनिदिन सक्छन्। आफ्नो श्रीमती, छोराछोरीको ख्याल गर्नु भनेको सहयोग गर्नु होइन, आफ्नो जीम्मेवारी पुरा गर्नु हो। जति सन्तान प्रति आमाको जिम्मेवारी छ त्यति नै बुबाको पनि हुन्छ। पुरुष भनेको त ब्रेड अर्नर हो उसले आर्थिक पक्ष हेर्छ, आवश्यकता पुर्ति गरिदिन्छ भनेर एस्क्यूज लिन बन्द गर्नु पर्छ। आर्थिक बाहेक पनि जिम्मेवारी हुन्छन्। बुबाको सन्तान प्रति अनि एउटा श्रीमानको श्रीमती प्रतिको। घर दुबैको परिवार दुबैको सन्तान पनि दुबैको अनि जिम्मेवारी श्रीमतीको एक्लै कसरी हुनसक्छ? जिम्मेवारी पनि दुबैको हुन्छ।
त्यसैले जुनु तिमी कमजोर होइनौ झन् साहासिक हौ। दिन भरि अफिस सकेर थाकेको शरिर बोकेर बेलुका परिवारका निम्ति मिठो खाना बनाइदिने देवी हौ । तर सबै बीच तिमी आफूलाई समय दिन भने नबिर्सनु है जुनु। बेलाबेला कफी खान निस्किनु। आफूलाई मनपर्ने पुस्तक पढ्नु। छोरीलाई १० जोड नयाँ लुगा किन्दै गर्दा एक जोड आफूलाई पनि किन्न नबिर्सिनु। तिमी आत्मनिर्भर हुने चक्करमा आफ्नै स्वास्थ्यको लागि घातक नहुनु। तिमी सबैभन्दा शुरुमा जुनु हुनु, आफ्नो हुनु।”
“आज कति ढिलो गर्नु भएको मम्मी! म त खाना हजुरलाई राख्दिएर अफिस निस्किएको। छिटो खाना खाएर नबिर्सि औषधि खानुस् है म गएँ।” बुहारीले यत्ति भन्दै गर्दा म भने बुहारीमा जुनु देख्दै थिएँ। म अचेल हरेक बुहारीमा जुनु देख्छु। लगन देख्छु। बेग्लै साहास देख्छु। जो तमाम घर व्यवहारसँगै आफ्नो करियर पनि राम्रो बनाइरहेका छन्। वास्तवमै आधुनिक बुहारीहरु साहासिक छन्।