सोमबार, ८ पुष, २०८१

विद्यालय स्वास्थ्य कार्यक्रम : सामुदायिक स्वास्थ्यको आधार

विद्यालय नर्सलाई विद्यार्थीले असल साथी र स्वास्थ्य समस्या समाधानको केन्द्रविन्दुको रुपमा लिन्छन्। विद्यालय नर्सले उमेर र अवस्था अनुसार स्वास्थ्य परामर्श दिने हुँदा विद्यार्थी आफ्नो मनको कुरा तथा कौतुहलता पूरा गर्ने व्यक्तिको रुपमा चिन्दछन्। साना बालबालिकादेखि किशोरकिशोरी सम्मले आफ्न्नो पारिवारिक समस्या, स्वास्थ्य समस्या किशोरावस्थामा आउने परिवर्तन सम्बन्धी कौतुहलता र आफ्नो मनमा लागेका हरेक कुराहरु खुलेर भन्ने व्यक्तिका रुपमा विद्यालय नर्स स्थापित भएका छन्।

विद्यालय स्वास्थ्य कार्यक्रम विद्यार्थीहरूको शारीरिक, भावनात्मक, सामाजिक र शैक्षिक विकासलाई प्रवर्द्धन गर्न बनाइएको योजनाबद्ध, क्रमिक, विद्यालय-सम्बद्ध रणनीतिहरू, गतिविधिहरू र सेवाहरूको एकीकृत रुप हो। यो कार्यक्रम परिवारलाई सहयोग गर्ने र समुदायको आवश्यकता, स्रोत, मापदण्ड तथा आवश्यकताहरूको आधारमा स्थानीय समुदायद्वारा निर्धारण गरिन्छ। यो बहु-अनुसन्धानात्मक टोलीद्वारा समन्वय गरिएको छ। यो कार्यक्रमको गुणस्तर र प्रभावकारिता समुदायप्रति उत्तरदायी छ।

विद्यालयमा बालबालिकाको शारीरिक, भावनात्मक, सामाजिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण हुनुपर्छ। विद्यालय स्वास्थ्य सामुदायिक स्वास्थ्यको महत्त्वपूर्ण शाखा हो। ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरू विद्यालय तहमा रहन्छन्। नेपालमा कुल जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु यही उमेर समूहका छन्।

सन् १९८० को दशकमा विद्यालय तहको तीन-घटक मोडेललाई आठ-कम्पोनेन्ट मोडेलमा विस्तार गरिएको थियो। यो परम्परागत रूपमा “व्यापक विद्यालय स्वास्थ्य कार्यक्रम” भनेर चिनिन्छ। रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसी एक व्यापक विद्यालय स्वास्थ्य कार्यक्रममा आठ-कम्पोनेन्ट मोडेलले अन्तरक्रियात्मक घटकहरू समावेश गरेको हुन्छ। जसमा स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, स्वस्थ विद्यालय वातावरण, शारीरिक शिक्षा, पोषण सेवाहरू, विद्यालयका कर्मचारीहरूको स्वास्थ्य प्रवर्द्धन, परामर्श, मनोवैज्ञानिक तथा सामाजिक सेवाहरू, अभिभावक र समुदायको संलग्नता रहने कुराहरु पर्दछन्।

विद्यालय स्वास्थ्य कार्यक्रमको इतिहास
विद्यालय स्वास्थ्यको इतिहास सन् १७०० को प्रारम्भिक रूपमा सुरु भएको भेटिन्छ। जतिबेला जोन लकले बालबालिकाहरूमा स्वास्थ्य नियमहरू सिकाउन जोड दिएका थिए। सन् १८३२ मा, होराक मानले स्वास्थ्य शिक्षामा शिक्षकहरूलाई तालिमको आवश्यकताको वकालत गरे। सन् १९५० को दशकमा विश्व स्वास्थ्य संगठनको विद्यालय स्वास्थ्य सेवासम्बन्धी विशेषज्ञ समितिले स्वास्थ्य र शिक्षाबीचको सम्बन्धलाई प्रकाश पार्‍यो। यसले प्रभावकारी रूपमा सिक्नका लागि बालबालिकालाई राम्रो स्वास्थ्य चाहिन्छ भनेको छ।

स्वास्थ्य प्रवर्द्धनका लागि ओटावा चार्टर (१९८६) ले विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमलाई सुदृढ गर्दै कार्यका लागि पाँच महत्वपूर्ण क्षेत्रहरूका निम्ति रणनीति बनाउन आह्वान गरेको छ। विद्यालय स्वास्थ्यका लागि सार्वजनिक नीतिहरू प्रवर्द्धन गर्न र स्वास्थ्य, शिक्षामा सुधार गर्नका लागि स्रोतहरू प्रदान गर्दछ।

यो विद्यालयको भौतिक र मनोवैज्ञानिक वातावरणको मूल्याङ्कन र सुधारको परिणाम हो। स्वास्थ्य प्रवर्द्धन प्रक्रिया, विद्यालय र अन्य सान्दर्भिक संस्थाहरू बीचको सम्बन्धलाई समर्थन गर्ने सामुदायिक कार्यलाई प्रोत्साहित गर्न, व्यक्तिगत सीप विकासलाई प्रवर्द्धन गर्न पाठ्यक्रम र शिक्षण र सिकाइ प्रक्रिया दुबै मार्फत विशिष्ट स्वास्थ्य सेवा बारे जोड दिन्छ। साथै जीवनभर स्वस्थ रहन विद्यालय र सामुदायिक स्वास्थ्य सेवाहरू पुनर्स्थापित गर्न मद्दत गर्छ।

डब्ल्यूएचओले सन् १९९७ मा स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयको परिभाषा अगाडि बढायो। जसमा विद्यालयलाई विद्यार्थी, विद्यालयका कर्मचारी, परिवार र समुदायहरू बीचको स्वास्थ्य सुधार गर्न आफ्नो सम्पूर्ण संगठनात्मक क्षमता निर्माण गर्न र प्रयोग गर्न मद्दत गर्ने रणनीतिको अख्तियार गरियो।

सन् २००० मा आयोजित विश्व शिक्षा फोरमको सबैका लागि शिक्षा लक्ष्यमा स्वास्थ्य र शिक्षा बीचको अन्तरसम्बन्ध प्रतिबिम्बित भएको थियो। नेपालले बालअधिकार महासन्धि (१९८९) को हस्ताक्षरकर्ताका रूपमा बालबालिकाको अधिकारको सम्मान गर्ने प्रतिवद्धता जनाएको छ। यसमा स्वास्थ्य, पोषण र स्वच्छ खानेपानीको अधिकार, (धारा २४), प्राथमिक शिक्षाको हक (धारा २८) र शारीरिक र मानसिक विकास लगायत व्यक्तित्व विकासको अधिकार (धारा २९) समेटिएको छ। यी अधिकारका आधारमा नेपालले श्रम ऐन र बालबालिका ऐन जस्ता विभिन्न नियम र ऐनहरू तर्जुमा गरी लागू गरेको छ।

प्रभावकारी विद्यालय स्वास्थ्यमा विद्यालय स्वास्थ्य, स्वच्छता र पोषण कार्यक्रम पर्दछन्। यो युनिसेफको “बालमैत्री विद्यालय” र विश्व स्वास्थ संगठनको “स्वास्थ्य प्रवर्द्धन विद्यालय”को अवधारणा भित्र पर्छ। सन् २०१५ सम्ममा सबै वा केही सहस्राब्दी विकास लक्ष्यहरू हासिल गर्नका लागि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहयोग एजेन्सीहरूले विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमको आवश्यकतालाई विश्व समुदायले प्रशंसा गरिरहेको स्थिति छ।

नेपालमा विद्यालय स्वास्थ्य र पोषणको इतिहास
सन् १९६० मा मिसनरी टोली(चीनबाट तिब्बत हुँदै नेपाल आएको डाक्टरहरुको टोलीले नेलालमा एलोपेथिक उपचार पद्धतिको सुरुवात गरेको थियोे।) स्वास्थ्य सेवा, विद्यालय शिक्षा र शिक्षा र प्रचार जस्ता ईसाई धार्मिक गतिविधिहरू सुरु गरे। नेपालमा विद्यालयमा खाना खुवाउने कार्यक्रम राणाहरुले पहिलो पटक ल्याएका थिए। सन् १९५० को दशकमा काठमाडौं उपत्यकाका सरकारी विद्यालयमा विद्यार्थीहरूलाई नि:शुल्क दिवा खाजा उपलब्ध गराइएको थियो। संस्कृत विद्यालयहरूले हालसम्म सिमित संख्यामा विद्यार्थीका लागि आवास र खानासहित निःशुल्क शिक्षा जारी राखेका छन्।

विद्यालयमा प्रकाश र भेन्टिलेसन, कक्षाकोठाको आवश्यकता अनुसारको फर्निचर, विद्यालयको बगैँचा, खेल मैदान र खेलकुद मैदान जस्ता भौतिक सुविधाहरूको व्यवस्था राष्ट्रिय शिक्षा प्रणाली योजनाले स्पष्ट रूपमा उल्लेख गरेको छ। उक्त योजनाले विद्यालयमा भौतिक पूर्वाधार निर्माणको सुपरिवेक्षणमा जोड दिएको छ। (आधारभूत र प्राथमिक शिक्षा कार्यक्रम कार्यान्वयन योजना BPEP II, १९९९-२००४)

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रशिक्षक र स्वास्थ्य संस्थाका लागि विद्यालय स्वास्थ्य कार्यक्रम सम्बन्धी छुट्टाछुट्टै शिक्षक तालिम निर्देशिका तयार गरेको छ। तालिमका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको छ। दोस्रो दीर्घकालीन स्वास्थ्य योजना (SLTHP १९९७ देखि २०१७) ले विद्यालय स्वास्थ्य सेवा, झाडापखाला रोग, हेल्मिन्थेस, मुख स्वास्थ्य, एचआईभी, एसटीआई, मलेरिया, आँखा र श्रवण समस्या, मादक पदार्थको दुरुपयोग र आधारभूत हेरचाहलाई स्वास्थ्यका लागि प्रमुख क्षेत्रहरूको रूपमा उल्लेख गरेको छ।

विद्यालय स्वास्थ्य, पोषण र सरसफाई कार्यक्रममा सरकार, आईएनजीओ संयुक्त राष्ट्र संघ, बहुपक्षीय तथा द्विपक्षीय एजेन्सीहरू र अन्य संस्थाहरूले गरेको योगदान उल्लेखनीय छ। जुका, खानेपानी सरसफाइ र स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम नेपालमा छिटपुट रूपमा लागू हुन्छन्।

‘राष्ट्रिय शिक्षा नीति–२०१९’ ले “शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धि” लाई प्राथमिकतामा राखेको छ। यसमा सबैका लागि अनिवार्य र निःशुल्क आधारभूत शिक्षा। सबैका लागि प्राविधिक शिक्षा। जस्तो कुरा प्राथमिकताका साथ राखिएका छन्।

किन महत्त्वपूर्ण छ विद्यालय स्वास्थ्य कार्यक्रम?
नेपाल बाल्यकालका रोगहरूको उच्च सामना गरिरहेको देश हो। जसमा झाडापखाला, श्वासप्रश्वासको संक्रमण, किराको संक्रमण, कुपोषण र मुखको रोगहरू पर्दछन्। विद्यालय स्वास्थ्य र पोषण सेवा तथा सरसफाइ नहुँदा यी समस्या देखा पर्दछन्। यसले विद्यालय उमेरका बालबालिकालाई प्रभाव पार्छ।

नेपालको जनसङ्ख्याको करिब ३०.९३ प्रतिशत १४ वर्षभन्दा कम उमेरका छन्। यी युवाहरू प्रायः दुर्गम गाउँहरूमा बस्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पूर्व विद्यालय उमेरका बालबालिकाहरूमा ४७.४ प्रतिशत र स्कूल जाने उमेरका बालबालिकाहरूमा २५.४ प्रतिशत रक्तअल्पता हुन्छ। रक्तअल्पता ४८ प्रतिशत भन्दा बढी बालबालिकाहरूलाई बिरामी पार्ने र मृत्युको मुखमा पुर्‍याउने प्रमुख कारणहरू मध्ये एक हो।

नेपालमा विद्यार्थीहरूले वर्षमा करिब २०० दिन विद्यालयमा बिताउँछन्। उनीहरु विद्यालयमा दिनको छ देखि सात घण्टा बिताउँछन्। उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य विद्यालयको वातावरणमा उनीहरूको अन्तरक्रियाबाट धेरै प्रभावित हुन्छ। विद्यालय यस्तो ठाउँ हो, जसले युवा र विद्यालयका कर्मचारीहरूको स्वास्थ्य प्रवर्द्धन गर्न अन्य संस्थाहरू भन्दा बढी योगदान गर्न सक्छ। विद्यालय स्वास्थ्य, आत्म-सम्मान, जीवन उपयोगी सीपहरू, सञ्चार, भावनाहरू बुझ्ने, आलोचनात्मक सोच, तनावको सामना गर्ने आदिसँग सम्बन्धित क्षमताहरू र व्यवहार बढाउने उपयुक्त स्थान हो। विद्यालयमा बालबालिकाले जीवन शैलीगत सन्देशहरू मात्र प्राप्त गर्दैनन्, मनोवृत्ति र सीपहरू विकास गर्छन्ने।

नेपालमा बाल मृत्यदरको अवस्था

पालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुनुका पाँवटा मुख्य कारण छन्। ती तीव्र संक्रमण, झाडापखाला, दादुरा, औलो र कुपोषण हुन। नेपालमा सबैभन्दा बढी देखिने जनस्वास्थ्य समस्या कुपोषण हो। नेपाल विश्वमा सबैभन्दा बढी कुपोषणको दर भएको देशमा पर्छ। यहाँका झण्डै आधा बालबालिका कम तौलका छन्। १ देखि ५९ महिना उमेरका बालबालिकामा हुने मृत्युको तेस्रो प्रमुख कारण पखाला हो। यसको रोकथाम र उपचार दुबै छ। प्रत्येक वर्ष झाडापखालाले ५ वर्ष मुनिका ४ लाख ४३ हजार ८३२ बालबालिका र ५ देखि ९ वर्ष उमेरका थप ५० हजार ८५१ बालबालिकाको ज्यान लिन्छ। सुरक्षित पिउने पानी र पर्याप्त सरसफाइ र सरसफाइको माध्यमबाट झाडापखाला रोगको ठूलो मात्रालाई रोक्न सकिन्छ।

विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक कार्यसम्पादनमा सुधार ल्याउन सस्तो र सजिलो तरिका हो। विद्यार्थी र विद्यालयका कर्मचारीहरू मात्र होइन परिवार, समुदाय र राष्ट्रका लागि पनि विद्यालयको माध्यमबाट स्वास्थ्य प्रवर्द्धन आर्थिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा वाञ्छनीय छ। विद्यालय स्वास्थ्यमा गरिएको लगानीले धेरै राम्रो नतिजा दिएको छ र विद्यालयहरूले स्वास्थ्य प्रवर्द्धनका लागि प्रवेश विन्दुको रूपमा काम गर्न सक्छन्। तसर्थ, “सबैका लागि शिक्षा” र “सबैका लागि स्वास्थ्य” दुईवटा लक्ष्यहरू प्राप्त गर्न विद्यालय स्वास्थ्य पोषण कार्यक्रम झन् प्रभावकारी हुनुपर्छ।

विद्यालय स्वास्थ्य कार्यक्रमका रणनीतिक उद्देश्यहरू
वबालबालिकालाई विद्यालय स्वास्थ्य पोषण सेवाहरूको प्रयोगमा सुधार गर्ने, स्वस्थ विद्यालय वातावरण सुधार गर्ने, बानी सुधार गर्ने, विद्यालयमा आधारित स्वास्थ्य र पोषण सेवाहरूको सुधारिएको प्रयोग गर्ने, सुरक्षित खानेपानी र सरसफाइमा सुधार गर्ने, स्वास्थ्य शिक्षा, सामुदायिक सहयोग मुख्य तत्वहरू हुन्।

विद्यालय स्वास्थ्य पोषण कार्यक्रमको न्यूनतम प्याकेज, वार्षिक स्वास्थ्य परीक्षण, विद्यालयका बालबालिकालाई जुकाको औषधि वितरण, प्राथमिक उपचार किट बक्स र सामाजिक अगुवा व्यक्तित्व तथा पारिवारिक सहभागितामा विद्यालय स्वास्थ्य कार्यक्रमलाई सफल बनाउने अर्को महत्त्वपूर्ण रणनीति हो। साथै किशोरीहरूलाई आइरन-फोलेट पूरक (ग्रेड ६-१०) दिनु, साबुन पानीले हात धुने सुविधाको व्यवस्था गरिदिनु, शौचालयको उचित व्यवस्था गर्नु विद्यालय स्वास्थ्य पोषण सम्बन्धी गतिविधिहरूको लागि विद्यालय व्यवस्थापन समितिलाई सुदृढ गर्ने र बाल क्लब परिचालन गर्ने रणनीति रहेको छ।

विद्यालय नर्स र विद्यालय स्वास्थ्य कार्यक्रम
विद्यालय नर्सको इतिहास सन् १८३७ मा फ्रान्सबाट शुरु भएको हो। १८९२ तिर लन्डनमा पहिलो पटक विद्यालय नर्स एमी हग्सले विद्यार्थीहरुको पोषण स्थिति जाँच गर्थिन्। १९०२ मा संयुक्त राज्य अमेरिकामा विद्यालय नर्सको सुरुवात भएको हो। त्यहाँ नर्सलाई विद्यार्थीहरुको अनुपस्थिति न्युनिकरण गर्ने, विद्यार्थी र परिवारलाई उनीहरुको स्वास्थ्य आवश्यकता खासगरी सरुवा रोगहरु सम्बन्धि नर्सिङ्ग सेवा दिन नियुक्ति गरिएको थियोे। हाल त्यहाँ ४५ हजार भन्दा धेरै विद्यालय नर्सहरु छन्।

१९५० को दशकमा विद्यालय नर्सहरुको भूमिका प्रतिकरात्मक सेवामा पनि विस्तार भयो। सन् १९६८ मा नेसनल एसोसिएसनले अफ स्कुल हेल्थ नर्स सुरु गर्‍यो। सन् १९८० देखि १९९०सम्म विद्यालय स्वास्थ्य कार्यक्रम जापान, भारत, भुटान आदिमा देशहरुमा पनि शुरुवात भयो। राष्ट्रिय स्वास्थ्य नीति, २०७१ को दफा ६.६ ले विद्यलाय स्वास्थ्य कार्यक्रमलाई शिक्षा मन्त्रालयको समन्वयमा लागु गर्ने र विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय स्वास्थ्य नीति, २०७६ को ६.५.२ मा विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा क्षेत्रसँगको समन्वयमा क्रमश विस्तार गर्दै उच्च माध्यामिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्यूनतम १ जना स्वास्थ्य जनशक्ति उपलब्ध हुने गरी विद्यालयमा स्वास्थ्यका कार्यक्रम तथा जनचेतनाका कार्यक्रम संचालन गरिने भनिएको छ। यस बीचमा प्याब्सन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीच विद्यालय नर्स राख्ने सम्झौता समेत भयो। २०७६ साल देखि विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमको शुरुवात भएको हो।

विद्यालय स्तरबाटै बालबालिकाहरुलाई स्वास्थ्य जीवन शैली अपनाउन प्रेरित गर्ने, विद्यार्थीहरुलाई पोषिलो खाना तथा सरसफाईबारे सचेत गराउने र पत्रु खाना निरुत्साहित गर्ने यो कार्यक्रमको उदेश्य हो। त्यस्तै किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धनका साथै महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवा प्रदान गर्ने, स्वास्थ, सफा र सिकाई मैत्री वातावरण तयार गर्ने, व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा प्रदान गर्ने, स्वास्थ्यसँग सम्बन्धित विद्यालय कार्यक्रमहरु कार्यान्वयन गर्ने, विद्यालय उमेरका बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन गर्ने र प्राथमिक उपचार सेवा प्रदान गर्ने, समयमा नै स्वास्थ्य समस्याको पहिचान तथा रोकथाम गरी जटिलता देखिएमा समयमा नै सम्बन्धित अस्पतालमा प्रेषण गर्ने, विद्यार्थीहरुको विद्यालय छोड्ने दर घटाउने उदेश्य रहेका छन्।

विद्यालय नर्स कार्यक्रमप्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक र अविभावकको सकारात्मक सोच विकास गराउने अर्को उदेश्य रहेको छ। विद्यालय नर्सलाई आवश्यकता अनुसार तालिमको व्यवस्था गर्ने, प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरण उपलब्ध गराउने, विद्यालय नर्सले सेवा दिने, परामर्श गर्ने कक्षको व्यवस्था गर्ने रहेका छन्।

विद्यालय नर्स, रेफरल अस्पताल र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी गर्ने, सम्बन्धित निकायबाट नियमित अनुगमन र सुपरिवेक्षण गर्ने, पर्याप्त जनचेतना मूलक सामग्रीको व्यवस्था गरिदिने, अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय नर्सबीच आवधिक बैठक तथा छलफल गराउने काम विद्यालय नर्सले गर्छन्। विद्यालय र विद्यार्थीको लागि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न स्थानीय सरकारबाट पनि आवश्यक सहयोग र बजेट बिनियोजन गर्नु पर्ने हुन्छ। यसले विद्यालय नर्सको भूमिका अझ प्रभावकारी हुनेछ। यति काम विद्यालय नर्समार्फत हुन सके विद्यालय स्वास्थ्य कार्यक्रम अझ प्रभावकारी हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार