सोमबार, ८ पुष, २०८१

नसर्ने रोगहरूको वर्तमान अवस्थामा गम्भीरताको खाँचो

तस्बिर : कुटीरो ग्राफिक्स

५३.६ प्रतिशत मानिसहरु सिफारिस अनुसार गनुपर्ने शारीरिक व्यायाम गर्दैनन्। लगभग २४.३ प्रतिशत मानिसहरु शारिरीक तौल बढी भएका छन् भने ४.३ प्रतिशत मानिसहरुमा मोटोपना छ। यी विभिन्न कारणले नसर्ने रोगहरु अवस्था गम्भीर बन्दै गइरहेको छ।

नेपालमा नसर्ने रोग ठूलो स्वास्थ्य समस्याको रुपमा बढ्दै गएको छ। एक-डेढ दशक अघिसम्म सर्ने रोग समस्याको रुपमा रहेकोमा पछिल्लो समय नसर्ने रोग जनस्वास्थ्य समस्याको रुपमा देखा परेको हो। अहिले नसर्ने रोग नै मुख्य स्वास्थ्य चुनौती बनेको स्थिति छ। नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय बनेको छ।

नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै रोकथामको साटो उपचारमा केन्द्रित हुने सरकारी नीति जिम्मेवार छन्। धेरै नसर्ने रोगहरूलाई सामान्य–जस्तै सुर्तीजन्य पदार्थको प्रयोग, हानिकारक रक्सीको प्रयोग, शारीरिक निष्क्रियता र अस्वस्थ आहार कम गरेर रोक्न सकिन्छ।

नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हर्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्दछन्। यस्ता रोगहरू कहिलेकाहीँ वंशाणुगत कारणले पनि सर्ने गर्दछन्।

नसर्ने रोगहरू प्रायः दीर्घ प्रकारका हुन्छन्। जस्तैः क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन्।

स्वास्थ्य चेतना अभिवृद्धि, स्वास्थ्य संस्थाको पहुँच, सरसफाई र खानेपानीको गुणस्तर वृद्धिलगायतका कारणले नेपालमा सर्ने रोगका बिरामी घट्दै गएका हुन्। यस्तै धुम्रपान, मद्यपान, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताको कारण नसर्ने रोगबाट प्रभावित हुनेहरुको संख्या बढ्दै गएको छ।

विश्वमा अहिले ठूलो स्वास्थ्य समस्याको रूपमा नसर्ने रोगको समस्या देखापरिरहेको छ। मानिसले विभिन्न विज्ञान र प्रविधिको क्षेत्रमा सफलता हासिल गरेको छ र भौतिक सेवा-सुविधाले भरिपूर्ण भइरहेको छ।

सवारीसाधनको उपलब्धताले मानिसलाई कम हिँडे पुग्ने भएको छ। आधुनिक उपकरणका कारण कृषि कार्यमा श्रम कम हुँदै गएको छ। घरायसी कामका लागि पनि आधुनिक उपकरणहरु प्रयोग हुन थालेका छन्। आधुनिकताले मानिसलाई कम कामकाजी बनाउँदै गर्दा नुन, चिनी र चिल्लो पदार्थको सेवन बढेकाले नसर्ने रोगको जोखिम पनि बढेको छ।

तस्बिर : विश्वमा नसर्ने रोगको अवस्था

सरकारले नसर्ने रोग न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू चलाइरहेको छ। अहिले कोभिड महामारीका कारण नसर्ने रोगबारेको सचेतनामूलक कार्यक्रम केही “ओझेलमा परेको” जस्तो देखिएको छ। सरकारले कैयौँ नसर्ने रोगका लागि नि:शुल्क औषधि वितरण गर्दै आएको जनाएको छ। तर कैयौँले सहजै औषधि नपाएको गुनासो गरिरहेका छन्।

क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्ने र मधुमेह बढाउने प्रमुख कारक तत्व चुरोट, बिँडी, गुट्खा, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन रहेको छ। अरुले गरेको धुम्रपानको धुवाँमा धुम्रपान नगर्ने व्यक्ति बस्दा त्यति नै असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा अरु मानिसको भन्दा लगभग ३ गुणा बढी हुन्छ। धूमपान तथा सूर्तीसेवन त्यागेकै दिनदेखि हृदयघातको सम्भावना घट्दै जान्छ।

युवावस्थादेखि नै धूमपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा धेरै हुने र एउटै मात्र चुरोट, बिँडी वा थोरै मात्र सुर्तीजन्य पदार्थको सेवनले पनि हानि गर्न सक्छ। नसर्ने रोगबाट बच्ने एउटा प्रभावकारी उपाय हो, शारीरिक रुपमा सक्रिय रहने। मधुमेह र मुटुरोगजस्ता नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य, शिक्षा, विकास, गरिबी र समानताबीचको सम्बन्ध बुझ्न जरुरी छ।

विश्वव्यापी स्वास्थ्यमा अवधारणाहरू निर्माण गर्दै मुख्य स्वास्थ्य समस्याहरूले विश्वका विभिन्न भागहरू र समग्र रूपमा विश्वलाई कसरी असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ। यसमा वातावरणीय स्वास्थ्य, पोषण, प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, संक्रामक रोगहरू, नसर्ने रोगहरू र चोटपटक आदि समावेश छन्।

नसर्ने रोगहरुकै कारण प्रत्येक वर्ष ४१ मिलियन मानिसहरुको ज्यान जान्छ। जुन विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। नेपालमा भने ६६ प्रतिशत मानिसहरुको ज्यान नसर्ने रोगकै कारणले जान्छ। हृदय रोगले सबैभन्दा बढी मृत्यु हुने गरेको तथ्यांक छ। यसकै कारण वार्षिक १७.९ मिलियन मानिसहरूको ज्यान जान्छ। त्यसपछि क्यान्सर प्रमुख छ। जसले ९.३ मिलियन, दीर्घकालीन श्वासप्रश्वास जन्य रोगहरुका कारण ४.१ मिलियन र मधुमेहका २ मिलियन मानिसहरुको ज्यान गइरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार २०१९ मा मृत्युका शीर्ष १० विश्वव्यापी कारणहहरुमा इस्केमिक हृदय रोग, स्ट्रोक, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, तल्लो श्वासप्रश्वासको संक्रमण, नवजात शिशु अवस्था, ट्रेकिआ, ब्रोन्कस, फोक्सोको क्यान्सर, अल्जाइमर र अन्य डिमेन्सिया, पखाला रोग, मधुमेह र मृगौला रोगहरु प्रमुख छन्।

प्रमुख चार नसर्ने रोगहरू जस्तै हृदय रोग; (हृदय रोग र स्ट्रोक), मधुमेह, दीर्घकालीन श्वासप्रश्वास रोग (सीओपीडी र दम) र क्यान्सर (गर्भाशय र स्तन क्यान्सर)। नसर्ने रोगहरुका जोखिम कारकहरुमा तंबाकू उत्पादन (धूम्रपान), अस्वस्थ आहार, शारीरिक निष्क्रियता र रक्सी हुन।

तस्बिर : नेपालमा नसर्ने रोगको अवस्था

हाल जनसंख्याको लगभग २८.९ प्रतिशत मानिसहरु सुर्तिजन्य पदार्थ सेवन गर्छन्। जसमा पुरुषहरुको हिस्सा ४८.३ प्रतिशत छ। लगभग १७.१५ प्रतिशत मानिसहरु अहिले धूम्रपान गरिरहेका छन् भने दैनिक धुम्रपान गर्नेको संख्या १४.५ प्रतिशत रहेको छ। त्यस मध्ये ५.९ प्रतिशत महिलाहरु धूम्रपान गर्छन्। लगभग एक तिहाई भन्दा बढी अर्थात ३६.१५ प्रतिशत जनसंख्या दोस्रो तहको धुम्रपानसँग नजिक हुन्छन्। अर्थात् कसैले धुम्रपान गरिरहेको छ र धुम्रपान नगर्ने मानिस उसको नजिकै छ भने पनि त्यसले असर गर्छ।

लगभग ९६.७ प्रतिशत मानिसहरु सिफारिस अनुसार सागसब्जी र फलफूलको सेबन गर्दैनन्। यसै कारण सोचेअनुसार शारीरिक विकास हुँदैन। जवान व्यक्तिहरुमा फास्ट फूडको प्रयोग गम्भीर रूपमा बढ्दै गएको छ। नुनको मात्रा प्रयोग गर्नुपर्ने भन्दा दुई गुना बढी गरेको पाइएको छ। डब्लूएचओका अनुसार एक जना मानिसलाई दैनिक ५ ग्राम भन्दा कम नुनको आवश्यकता पर्छ। तर ९.१ ग्राम प्रति व्यक्ति दैनिक रुपमा प्रयोग हुँदै आइरहेको छ।

३.५ प्रतिशत जनसंख्या शारीरिक रुपमा पूर्ण निष्क्रिय रहेको देखिन्छ। ५३.६ प्रतिशत मानिसहरु सिफारिस अनुसार गनुपर्ने शारीरिक व्यायाम गर्दैनन्। शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा बढी निष्क्रियता रहेको तथ्यांक छ। लगभग २४.३ प्रतिशत मानिसहरु शारिरीक तौल बढी भएका छन् भने ४.३ प्रतिशत मानिसहरुमा मोटोपना छ। यी विभिन्न कारणले नसर्ने रोगहरु अवस्था गम्भीर बन्दै गइरहेको छ।

नेपाल सरकारले अनुमोदन गरेको नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहूक्षेत्रीय कार्य योजना २०२१-२०२५ अनुसार सन् २०२५ सम्म हासिल गर्नुपर्ने १० लक्ष्यहरूमा मधुमेह, मुटुरोग, क्यान्सर तथा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोगहरूबाट हुन सक्ने मृत्युलाई २५ प्रतिशतले कम गर्ने भन्ने छ।

मद्यपानको हानिकारक सेवनलाई २५ प्रतिशतले कम गर्ने। १५ वर्ष भन्दा माथिका व्यक्तिहरूमा सुर्तिजन्य पर्दाथको प्रयोगमा ३० प्रतिशतले कम गर्ने। खाना पकाउन प्रयोग हुने प्रमुख रुपमा ठोस इन्धनको (Solid fuel) प्रयोग दरलाई ५० प्रतिशतले कम गर्ने लगायत छन्।

कुल जनसंख्यामा नुनको औषत प्रयोगदरलाई ३० प्रतिशतले कम गर्ने, उच्च रक्तचापको समस्यालाई २५ प्रतिशतले कम गर्ने, मधुमेह र मोटोपनाको बढ्दै गइरहेको समस्यालाई रोक्ने, अपर्याप्त शारीरिक क्रियाकलापको समस्यालाई १० प्रतिशतले कम गर्ने रहेको छ।

हृदयघात, मस्तिकघात तथा रगतमा चिनीको मात्रा नियन्त्रणका निम्ति औषधि र परामर्श आवश्यक मध्ये कम्तिमा ५० प्रतिशतलाई औषधी उपचार तथा परामर्श दिने। नसर्ने रोगको उपचारका निम्ति आवश्यक प्रविधिलाई सरकारी तथा निजी अस्पताल गरी कम्तीमा ८० प्रतिशत पुर्‍याउने रहेको छ।

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि सार्वजनिक स्वास्थ्य समाधानहरू जस्तै छ महिलाको लागि विशेष स्तनपान, पोषणको रूपमा पर्याप्त र सुरक्षित, पूरक आहार ६ महिनाको उमेरदेखि सुरु हुने गरी दुई वर्ष वा सोभन्दा बढी उमेरसम्म निरन्तर स्तनपान। जीवन कौशल शिक्षा सुधार, विद्यालय र समाजमा शारीरिक गतिविधि बढावा, विद्यालयहरूमा सुरक्षित र स्वस्थ खाना, नुन, चिनी, अस्वास्थ्यकर बोसोको मात्रा बढी भएको खाद्यान्न उत्पादन, बजारीकरण र पहुँचमा प्रतिबन्ध लगाउने, तंबाकू र रक्सी नियन्त्रण गर्ने रहेका छन्।

तस्बिर : नसर्ने रोगबाट बच्ने उपाय

त्यस्तै मातृ पोषण सुधार, धुम्रपान रोकथाम तथा निरुत्साहन कार्यक्रमहरू लागू गर्ने, खाद्यान्नको उपलब्धता र किफायती सुधार, शारीरिक गतिविधिलाई प्रोत्साहित गर्ने(कार्यस्थल, शहरी डिजाइन), जोखिम र रोगहरूको प्रभावकारी रोकथाम र हेरचाहमा पहुँच प्रदान गर्ने, हृदय रोग, क्यान्सर, मधुमेह, दीर्घकालीन श्वासप्रश्वास रोग, चोटपटक, हिंसा र मानसिक स्वास्थ्य विकार र रक्सी, सुर्ती, लगायत सम्बद्ध जोखिम कारकहरू जस्ता नसर्ने रोग र अवस्थाहरूलाई सम्बोधन गर्न लागू हुने, रोकथाम, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यक्रमहरूको विकास वा सुदृढीकरण गर्ने। अस्वस्थ आहार र शारीरिक गतिविधिको कमी गर्ने रहेका छन्।

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारका निम्ति नीतिहरु छन्, जस्तै राष्ट्रिय स्वास्थ्य नीति २०७६, राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ र राष्ट्रिय मौखिक स्वास्थ्य नीति २०७१ आदि। साथै विभिन्न रणनीतिहरू जस्तै राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनीति -२०२२-२०३०, एनसीडीको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना (२०२१-२०२५) रहेका छन्। प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आवश्यक नन कम्युनिकेबल डिजिज हस्तक्षेपको प्याकेज(WHO PEN Package) र मानसिक स्वास्थ्यको लागि मानसिक स्वास्थ्य अन्तर कार्य कार्यक्रम रहेका छन्। दिगो विकासको लक्ष्य २०३० सम्ममा रोकथाम र उपचारको माध्यमबाट नसर्ने रोगबाट हुने अकाल मृत्युदरलाई एक तिहाइले घटाउने र मानसिक स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने रहेको छ। मापदण्डअनुसार जान नसकिएको अवस्थामा लक्ष्य भेटाउन मुस्किल छ।

नसर्ने रोगहरूको रोकथाम र त्यसप्रति सजग रहन आजैदेखि प्रयत्न नगर्ने हो भने भविष्यमा नसर्ने रोग भयावह र आक्रामक बनेर आउने अनुमान गरिएको छ, जसको चपेटामा जोकोही पर्ने निश्चित छ। आजैदेखि नसर्ने रोगबारे सचेत नहुने हो र जीवनशैलीमा सुधार नगर्ने हो भने शायद मानिसको विनाश नसर्ने रोगबाट हुने दिन नआउला भन्न सकिन्न।

सरसर्ती हेर्दा नसर्ने रोगको अवस्थामा विश्वभर भयावह बन्दै गएको छ। यो भयावह स्थितिको हिस्सा नेपाल जस्ता मुलुकको अझ बढी छ भने यसको असर विकट र अशिक्षा भएको क्षेत्रमा विकराल छ। त्यसैले पाइला पाइलामा ध्यान दिनु जरुरी छ। कृपया हामी सबेै जिम्मेवार छौं भन्ने सोच राखेर सजगता अपनाओैं।

(जनस्वास्थ्य विज्ञ लेखक काफ्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापकको रुपमा कार्यरत छन्।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार