मंगलवार, ३ असार, २०८२

एक दिन घुम्नलाई, विद्यार्थीसँग

हाम्रो यात्रा झन् कठिन बन्दै थियो। साँगुरो बाटो, चिप्लो माटो र तलतिरको भिरालो पाखाहरुले हमीलाई चुनौती दिए पनि सबै जनामा देखिएको उत्साह र उमंगले चुनौतीलाई सहजै स्वीकार गरि निरन्तर अगाडि बढिरहेको दृश्य बडो रोचक देखिन्थ्यो।

प्रत्यक्ष क्षेत्र भ्रमण गरि मनोरञ्जनका साथसाथै विद्यार्थीहरुको व्यवहारिक ज्ञान र प्रत्यक्ष अनुभवको क्षितिजलाई फराकिलो बनाउने उद्देश्य थियोे। यसैका निम्ति श्री रत्न चुडेश्वर माध्यमिक विद्यालय जुम्लाको कक्षा ११ को “सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा” अध्यापन गर्ने शिक्षकको भूमिकामा विद्यालयका अर्का शिक्षक ईश्वर खत्री पनि सँगै थियौं। जम्मा ८५ जना विद्यार्थीहरु सहित मिति २०७९ चैत्र १२ गते आइतबारका दिन एक दिने शैक्षिक भ्रमणका लागि प्रकृतिको सुन्दर भूमि पश्चिम नेपालको जुम्ला जिल्लास्थित चनदननाथ नगरपालिका -१० को दक्षिण पूर्वको करिव ३३ सय मिटरको उचाईमा अवस्थित प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण स्थान सिद्धगुफाको एक दिने शैक्षिक भ्रमण सम्पन्न गरियो।

पूर्वनिर्धारित योजना तथा कार्यक्रम अनुसार विद्यालय समयमा बिहानको प्रार्थना सकेर सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई कक्षामा पठाइसकेपछि भ्रमण क्षेत्रमा हामीले के गर्ने? के हेर्ने? के कस्ता आचारसंहिताको पालना गर्ने? जस्ता विषयमा प्रस्ट पारियो। १५, १५ जनाको छ्यासमिसे समूह बनाई समूहको नेतृत्व एकजना छात्र र छात्राले गर्ने भनि निर्देशन लागायतका पूर्व तयारीका सम्पूर्ण कार्य सम्पन्न गरियो। बिहानको ११ बजे सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई समूहअनुसार लाईन लगाई १० मिनेट जति भ्रमणका क्रममा आइपर्नसक्ने सम्भावित जोखिम र त्यसको समाधानका उपायहरुबारे छोटो ब्रिफिङ भयो। टोली नेताहरुको जिम्मेवारीबारे प्रकाश पारि ११ः१० मा विद्यालयबाट भ्रमण क्षेत्रतर्फ प्रस्थान गरेका थियौँ।

लामबद्ध विद्यार्थीहरुको अग्र भागको नेतृत्व ईश्वर सर र पछाडिको नेतृत्व आफू स्यंले गरेको थिएँ। कक्षाकोठाको बन्द परिधि र सैद्धान्तिक रटानबाट थकित विद्यार्थीहरु निकै उत्साहित देखिन्थे। विद्यालयबाट समुदाय हुँदै लामबद्ध विद्यार्थी र शिक्षक पैदल यात्रा गरिरहेको देख्दा समुदायका मानिसहरु घर र छतबाट हामीलाई उत्सुकतापूर्वक हेरिरहेका देखिन्थे। आफूलाई आवश्यक पर्ने खाजा पानी बोकेर आउन भनिए पनि समुदायका पसलहरुमा खाजा र केहि पूजा सामाग्रीहरु किन्नका लागि केहि विद्यार्थीले थोरै समय खर्चेका थिए। त्यसपछि करिव ११ः३० बजे हामी समुदायभन्दा अलि माथि साँइकुरा धारा भन्ने ठाँउमा जम्मा भई प्रत्येक समूहका टोली नेतालाई आफ्ना समूहमा आवद्ध साथीहरुको रुजु गरेरमात्र अगाडि बढ्न भनियो। सबै समूहका टोली नेताहरुले आफ्नो समूहका सबै सदस्यहरु पुरा रहेको निश्चित गरिसकेपछि हाम्रो उकालो यात्रा अगाडि बढ्यो। लाइनमा हिँड्न अससज भएपछि समूह समूह भई छलफल गर्दै आवश्यक तथ्यांक टिपोट गर्दैैै अगाडि बढ्ने निर्देशेन गरेपछि भ्रमण टोली अगाडि बढ्यो।

निकै उकालो बाटो लागेपछि आराम गर्दै आवश्यक छलफल र सुझाव दिदै करिव १ बजे हामी माथिल्लो सिग्डे भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ अलि फराकिलो ठाउँ भेटेपछि एकछिन् विश्राम गर्न र आफ्ना अनुभव आदान प्रदान गर्न भनियो। समूहगत रुपमा भोगाई, देखाई र परिकल्पना परिक्षण (Hypothesis Test) लगायत विषय समूहमा विचारको आदानप्रदान गर्न लगाइयो। त्यस स्थानबाट उत्तरतिर सुन्दर जुम्ला उपत्यकाको दृश्यपानसँगै वरिपरिको प्राकृतिक सन्दरता, हावापानी र वनस्पतिको विविधताको अवलोकनले हाम्रो थकान मेटिएको भान भएपछि, भ्रमण अगाडि बढ्छ। हाम्रो यात्रा झन् कठिन बन्दै थियो। साँगुरो बाटो, चिप्लो माटो र तलतिरको भिरालो पाखाहरुले हमीलाई चुनौती दिए पनि सबै जनामा देखिएको उत्साह र उमंगले चुनौतीलाई सहजै स्वीकार गरि निरन्तर अगाडि बढिरहेको दृश्य बडो रोचक देखिन्थ्यो।

दिउसोको ठिक २ बजे हामी पहिलो पहाडको फेद (माथिल्लो मुनारे) भन्ने ठाउँमा पुग्यौँ। अब यहाँबाट हाम्रो यात्राको दिशा बदल्नु पर्दथ्यो। हामीले अगाडिको ठाडो उकालो बाटोसँग विदाई गरि दाहिनेतर्फको डोरेटो बाटो तय गर्नुपर्दथ्यो। हामीले हाम्रो यात्राको करिब ५० प्रतिशत पार गरिसकेका थियौँ। बाँकी ५० प्रतिशत बाटो झन् कठिन प्रतित भैराखेको थियो। त्यसैले सबै विद्यार्थीहरुलाई समूहअनुसार लाइनमा १ मिटरको दुरी कायम गरि अगाडि बढ्न भन्यौं। ईश्वर सरलाई पछाडिको जिम्मा लगाई अग्रभागको नेतृत्व स्वयंले गरेँ।

करिव २० मिनेटजति तेस्रो सहज बाटो हिँडिसकेपछि अगाडिको बाटो अत्यन्तै कठिन र झन् चुनैतीपूर्ण बन्दै गएको सहजै देख्न सकिन्थ्यो। खोल्साभित्र पुरै हरियो बाक्लो निगालो र चुम्लायाको झाडिभित्रको बाटो वास्तवमा निकै कठिन थियो। हामी करिव तीन हजार मिटरभन्दा माथिको भूमिमा निकै उकालो र भिरालो यात्रा गर्दै थियौँ। यसको नेतृत्व स्वयं म आफैले गरिरहेको हुनाले पनि भ्रमणको सफल अवतरण गराउनका लागि जिम्मेवारीको जोखिमता उठाउन बाहेक मसँग कुनै अर्को विकल्प थिएन।

बेलाबेला विद्यार्थीलाई रौक्दै, सावधानी अपनाउन निर्देशन गर्दै, कहिले अग्र भागमा त कहिले पश्च भागमा आफ्नो ध्यान केद्रित गरेँ। कोणधारि सल्लाघारी छिचोल्दैै हामी पतझड वनस्पति भएको सघन जंगल क्षेत्रमा भित्र छिर्दै थियौँ। यतिबेलासम्म करिव ३३ सय मिटर भन्दा माथिको फरक भूगोल, हावापानी, माटो वनस्पति र तापक्रमको प्रत्यक्ष अनुभुति गरिरहेका थियौँ, हामीले। विद्यार्थीहरु स्वयंले पनि यस सम्बन्धि आफ्नो अनुभव सुनाउँदा मैले भ्रमण उद्देश्यको नजिक रहेको अनुभुति गरेँ। जताततै बाक्लो झाडि, त्यसभित्रको ओेसिलो जमिन अनि उकालो घुम्ती र मोड निगालो, चुम्लायो, ओखरका बोटहरुको सहारामा उकालो चढ्नुपर्ने। त्यसमा ठूलाठूला लडेका रुखहरुले पुरै बाटो छेकेका अनि ठाउँ ठाउँमा पहिरोले बाटो पहिल्याउन मुस्किल भएको थियो। पुरै योजनाबद्ध यात्रा भएकाले ठूलो समस्या भएन। यसरि करिब डेढ घन्टाको चुनौतीपूर्ण यात्रापछि हामी हाम्रो गन्तव्यमा पुग्छौँ।

पछाडि फर्केर हेर्दा, लामबद्ध विद्यार्थीहरु छरपस्ट भैसकेका थिए। सबैले उकालो एउटै गतिमा हिँड्न नसकेर होला, सायद। हामी गन्तव्य स्थलमा पुगेर नियाल्दा माथितिर कडा चट्टान त्यसको बीचमा गुफा (सिद्धगुफा) तलतिर पुरै बाक्लो बुट्यान, झाडी र ठाडा पाखाहरु समग्रमा त्यहाँको हावापानी र वनस्पतीले हामी सबैलाई मन्त्रमुग्ध बनाएको थियो। सँधै कोलाहलपूर्ण वातावरणमा विताएका दिनचर्या बिर्सेर एकछिन् शान्त एकान्त हरियाली जंगलको बीचमा सबै सहभागी निकै आनन्दित भएको सहजै अनुमान लगाउन सकिन्थ्यो।

एकैछिनमा पछाडि रहेको विद्यार्थीको पंङ्ति पनि आइपुग्यो। समूह समूहमा पालैपालो गुफाको अवलोकन र दर्शन गर्‍यौं। पुजाको सामाग्री लगेका छात्र छात्राहरुले पालैपालो सिद्ध बाबाको पुजा गरिसके पछि सामुहिक फोटो पनि खिच्यौँ। गुफाको दर्शन र अवलोकन गरिसकेपछि, सबैजना टोली नेताहरुले आ-आफ्नो समूह एकतृत गरे। सबैले झोलाबाट कापीकलम निकाल्न लगाएर त्यस ठाउँमा देखेका जडिबुटी, वनस्पतिका नामसहित आ-आफ्ना अनुभुतिहरु टिपोट गर्न लागे। यतिखेर घडिमा ३ बजिसकेको थियो। मौसमले च्यालेन्ज गर्न थालिसकेको थियो। सल्लाघारीमा सिमसिमे पानीले प्रकृति पनि संगितमय बनिरहेको थियो। सबैजना आनन्दित वातावरणमा रमाइरहेका बेलामा मलाई भने कसरी विद्यार्थीहरुलाई सकुशल तल अवतरण गराउने भन्ने चिन्ता थियो। किनभने त्यति धेरै विद्यार्थीहरु लिएर घना जंगलको बाटो भ्रमण गर्दैगर्दा मलाई साथ दिने शिक्षक भने एकजनामात्र हुनुहुन्थ्यो।

सबैलाई गोलबद्ध गराई एकछिनको छोटो ब्रिफिङपछि अघिल्लो भागमा ईश्वर सर र पछिल्लो भागमा म भई विद्यार्थीहरुलाई ओरालो झर्न भनियो। करिब एक घन्टाको ओरालो यात्रापछि हामी पहिला विश्राम गरेको स्थानमा आइपुग्यौँ जहाँ अलि फराकिलो चौर थियो। यतिखेरसम्म थकान र भोकप्यासले सबैजनाको अनुहारमा मलिनता छाएको स्पष्ट देख्न सकिन्थ्यो। सबैजनालाई समूहमा बस्न भन्यौँ। मौसमले पनि हामीलाई साथ दियो। पानी रोकियो। त्यसैले आफूले ल्याएर आएका खानेकुरा खाने र एकछिन विश्राम गर्ने निर्देशन अनुसार सबैले आ-आफ्नो झोलामा ल्याएका खानेकुरा खोलेर खान सुरु गरे। एकआपसमा बाँढेर खानुको मजा बेग्लै हुँदोरहेछ। कसैले रोटी अचार तरकारी, कसैले विस्कुट चिउरा लगेका रहेछन्। भोक र प्यास मेटेपछि सबैको थकित र मलिन अनुहारमा विस्तारै चमक बढ्दै गयो।

एकछिनपछि समूहहरुमा गीतहरु गुञ्जिन थाले। विद्यार्थीहरुले सामुहिक नाचगान गरि रमाइलो गरे। करिव १५ मिनेटजति रमाइलो गरिसकेपछि अब ओरालो झर्ने निधो गर्‍यौं। ओरालो फर्किने क्रममा एकजना छात्रा चिप्लेर लडिन भने अर्की एकजना छात्रा माथिबाट आएको ढुंगा लागेर सामान्य घाइते भइन्। दुबै जनाको सामान्य प्राथमिक उपचारपछि सबैजना विस्तारै विस्तारै निरन्तर ओरालो लाग्यौँ।

बिहान जाँदा जुन ठाउँमा हामीले पहिलो विश्राम गरेका थियौँ, त्यहि स्थान (साइकुरा धारा) मा सबै समूह अलग अलग भई टोली नेतालाई आफ्नो समूहका साथीहरु कोहि छुटेको वा कुनै समस्या भएको एकिन गरिसकेपछि पहिलेजस्तै सबैजना समूहमा लामबद्ध भई विद्यालयसम्म जाने निधो भयो। यसरी समूहलाई व्यवस्थित गरेर हिँडेको करिब १५ मिनेटमा हामी विद्यालयको गेटमा पुग्यौँ। यतिबेला घडीमा साढे ४ बजिसकेको रहेछ। प्राय सबै सर म्याडमहरु विद्यालयबाट बाहिरी सक्नुभएको थियो। गेट खुला भएकोले सबै विद्यार्थीहरुलाई स्कुलको फिल्डमा लाइन लगाएर आ-आफ्नो घरतर्फ लाग्न भन्यौँ र हामी पनि आफ्नो घरतर्फ लाग्यौँ।

यसरी एकदिने शैक्षिक भ्रमण सफलताका साथ हामीले पुरा गर्‍यौं। सारमा भन्नुपर्दा भ्रमण निकै उपलब्धिपूर्ण रह्यो। सम्पूर्ण कार्यहरु पूर्व निर्धारित योजना तथा कार्यक्रम अनुसार नै गरिए। समूह विभाजन गरि कार्य जिम्मेवारी दिँदा जिम्मेवारीको बोध हुने रहेछ। जसले नेतृत्वलाई कार्यबोझ कम हुने तथा योजना र उद्देश्यअनुसार भ्रमण गर्न सकिने रहेछ। यस्ता खालका शैक्षिक भ्रमणहरु विद्यार्थीहरुमा अनुभतिजन्य र व्यवहारिक ज्ञान (Empirical and Behavioral Knowledge) दिनका लागि धेरै महत्वपूर्ण हुन्छन्। तसर्थ हरेक कक्षाका विद्यार्थीहरुलाई तह र पाठ्क्रम अनुसारका विषयवस्तुमा एक शैक्षिक शत्रमा कम्तिमा एक चोटि आयोजना गराउने व्यवस्था विद्यालय प्रशासनले मिलाउनुपर्ने देखियो। विद्यालयले वार्षिक कार्यतालिकामा नै उल्लेख गरि कार्यन्वयन गर्दा भ्रमण अझ बढि उद्देश्यमुलक र व्यवस्थित हुने रहेछ। यो यात्रा मेरो मानसपटलको गहिरो खोचमा अमिट छाप बनेर बसिरहनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार