तर हिन्दू अतिवादी समूहहरू अत्यन्तै संकीर्ण सोचका साथ आफ्नो धार्मिक मान्यतालाई सार्वभौम सत्यका रूपमा प्रस्तुत गर्छन्। उनीहरू आफूले जनावर वध गर्दा धार्मिक अनुभूति प्राप्त गर्छन् तर अरूको धार्मिक संस्कारलाई अस्वीकार गर्छन्। यही मानसिकता नै नेपालमा आन्तरिक द्वन्द्वको सम्भावित खतरा हो।
नेपालमा गाईगोरुको मासुका विषयलाई लिएर समय समयमा देखिने हिंसात्मक र अराजक गतिविधिहरू कुनै आकस्मिक वा सीमित घटनामात्र होइनन्। पछिल्लो समय खगेन्द्र सुनारमाथि भएको आक्रमण होस् वा धरानलगायतका स्थानमा देखिएका घटनाहरू, यी सबैले एउटा गहिरो र दीर्घकालीन समस्यालाई सतहमा ल्याएका छन्।
त्यो समस्या हो, धर्मको नाममा फैलिएको अतिवाद, संकीर्ण सोच र संविधानले प्रत्याभूत गरेको धर्मनिरपेक्षताको अवमूल्यन। नेपाल औपचारिक रूपमा धर्मनिरपेक्ष राज्य घोषणा भइसकेको भए पनि व्यवहारिक तहमा अझै पनि केही कानुनी अस्पष्टता, सामाजिक भ्रम र अतिवादी मानसिकताले समाजलाई अस्थिर बनाइरहेको यथार्थ स्पष्ट देखिन्छ।
धर्मनिरपेक्ष राज्यको मूल मर्म भनेको सबै धर्म, संस्कृति, परम्परा र आस्थाप्रति राज्यको समान दृष्टि र समान सम्मान हो। यसको अर्थ धर्मविहीनता होइन, न त कुनै एक धर्मलाई विशेषाधिकार दिनु हो। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो।
यही विविधता नै नेपालको मौलिकता, शक्ति र पहिचान हो। तर जब यही विविधतालाई स्वीकार नगरी एउटा समुदायले आफ्नो धार्मिक मान्यता अरूमाथि जबर्जस्ती लाद्ने प्रयास गर्छ, त्यहीँबाट सामाजिक तनाव र द्वन्द्वको बीउ रोपिन्छ।
गाई गोरुको मासुको विषयलाई लिएर हिन्दू अतिवादी समूहहरूले हिंसाजनक गतिविधि गर्नु, सार्वजनिक व्यक्तिहरूमाथि आक्रमण गर्नु र सामाजिक सद्भाव बिथोल्ने काम गर्नु संविधानको मर्मविपरीत मात्र होइन, कानुनी अपराध पनि हो।
धर्म नितान्त व्यक्तिगत आस्था र सामाजिक परम्परामा आधारित हुन्छ। कसैले के खान्छ, कसरी पूजा गर्छ, कुन संस्कार मान्छ भन्ने कुरा व्यक्तिगत तथा सामुदायिक स्वतन्त्रताको दायराभित्र पर्छ। यही स्वतन्त्रतालाई संविधानले सुनिश्चित गरेको छ। तर जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ, तब धर्म स्वयं विभाजन र हिंसाको माध्यम बन्छ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने पनि मानिस न पूर्ण रूपमा शाकाहारी हो, न पूर्ण रूपमा मांसाहारी। मानिस सर्वाहारी प्राणी हो। मानव शरीरको संरचना, पाचन प्रणाली, दाँतको बनावट, आन्द्राको लम्बाइ र पेटको रसायन सबैले यही तथ्य प्रमाणित गर्छन्। शाकाहारी जनावरहरूको आन्द्रा शरीरको उचाइको अनुपातमा करिब दसदेखि बाह्र गुणासम्म लामो हुन्छ।
यसको कारण बोटबिरुवामा रहेको सेल्युलोज पचाउन लामो समय लाग्नु हो। मांसाहारी जनावरहरूको आन्द्रा शरीरको उचाइको अनुपातमा तीनदेखि चार गुणासम्म मात्र हुन्छ, किनकि मासु छिटो पच्ने तर छिटो कुहिने पदार्थ हो। मानिसको हकमा आन्द्राको लम्बाइ शरीरको उचाइको अनुपातमा चारदेखि छ गुणासम्म हुन्छ, जुन सर्वाहारी प्राणीको स्पष्ट जैविक लक्षण हो।
त्यसैगरी मानिसको पेटभित्र हुने ग्यास्ट्रिक एसिडको पीएच करिब एक दशमलव पाँचदेखि दुईको बीचमा हुन्छ। यो अत्यन्तै शक्तिशाली एसिड हो, जसले मासुमा हुन सक्ने ब्याक्टेरियाहरूलाई सजिलै निस्क्रिय पार्न सक्छ। यदि मानिस प्राकृतिक रूपमा मासु खान अयोग्य हुन्थ्यो भने यस्तो शक्तिशाली एसिडको आवश्यकता नै हुने थिएन। यसैले वैज्ञानिक रूपमा मानिसलाई केवल शाकाहारी वा केवल मांसाहारीको कोटिमा राख्नु तथ्यसंगत हुँदैन। मानिस सर्वाहारी हो र खानपानको छनोट संस्कृति, धर्म, स्वास्थ्य अवस्था र व्यक्तिगत निर्णयमा आधारित हुन्छ।
अब नेपालकै सन्दर्भमा कुरा गरौँ। नेपाल कुनै एकल जातीय, भाषिक वा सामुदायिक श्रेष्ठता भएको देश होइन, तर यहाँको सामाजिक बनावट अत्यन्तै जटिल र बहुआयामिक छ। हिमाल, पहाड र तराईमा बसोबास गर्ने समुदायहरूको भाषा, संस्कार, चालचलन र धार्मिक परम्परा एकअर्काभन्दा धेरै फरक छन्।
नेपालको सबैभन्दा पुरानो सभ्यतामध्ये किरात सभ्यता हो, जसले दशौँ हजार वर्षदेखि मुन्धुम परम्परा मान्दै आएको छ। मुन्धुम परम्परा मान्ने समुदायहरूले गाई र गोरुको मासु पूजाआजामा प्रयोग गर्दै आएका छन्। यो कुनै नयाँ अभ्यास होइन, न त आधुनिक बहसले जन्माएको कुरा हो। यो उनीहरूको सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको विषय हो।
त्यसैगरी नेपालमा हिन्दू वैदिक परम्परा मान्ने समुदायहरूको पनि बाक्लो बसोबास छ। उनीहरू खसी, बोका लगायतका जनावरलाई बलि दिएर धार्मिक पूजा गर्ने परम्परा पालना गर्छन्। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ—यदि एउटा समुदायले आफ्नो धार्मिक आस्थाअनुसार खसी–बोका बलि दिन सक्छ भने अर्को समुदायले आफ्नो परम्पराअनुसार गाई गोरुको मासु प्रयोग गर्दा किन आपत्ति हुनुपर्छ? यही असमान दृष्टिकोण नै सामाजिक विभेदको जड हो।
संविधानले सबै नागरिकलाई समान हक दिएको छ। एउटा समुदायले आफ्नो परम्परा पालन गर्दा अर्को समुदायको अस्तित्व, सुरक्षा र सम्मानमाथि आँच आउँदैन भने राज्य वा कुनै समूहले हस्तक्षेप गर्नु असंवैधानिक हुन्छ।
तर हिन्दू अतिवादी समूहहरू अत्यन्तै संकीर्ण सोचका साथ आफ्नो धार्मिक मान्यतालाई सार्वभौम सत्यका रूपमा प्रस्तुत गर्छन्। उनीहरू आफूले जनावर वध गर्दा धार्मिक अनुभूति प्राप्त गर्छन् तर अरूको धार्मिक संस्कारलाई अस्वीकार गर्छन्। यही मानसिकता नै नेपालमा आन्तरिक द्वन्द्वको सम्भावित खतरा हो।
अतिवादीहरूले प्रायः ‘गाई राष्ट्रिय जनावर हो, त्यसैले वध गर्न पाइँदैन’ भन्ने तर्क अघि सार्छन्। तर राष्ट्रिय जनावर हुनु मात्रैले त्यसको मासु प्रयोग पूर्ण रूपमा निषेध गर्नुपर्छ भन्ने कुनै अन्तर्राष्ट्रिय नियम छैन। यदि कुनै जनावर लोपोन्मुख अवस्थामा पुगेको छ भने संरक्षणका लागि राज्यले सिकार र उपभोगमा प्रतिबन्ध लगाउन सक्छ। तर नेपालमा गाई र गोरु लोपोन्मुख जनावर होइनन्। हिमाल, पहाड र तराई सबै क्षेत्रमा गाई गोरुको उत्पादन र पालन सम्भव छ र व्यापक रूपमा भइरहेको छ।
अन्तर्राष्ट्रिय उदाहरणहरू हेर्दा पनि यो तर्क कमजोर देखिन्छ। साउदी अरबमा उँट राष्ट्रिय जनावर हो। उँट त्यहाँको धार्मिक इतिहास, कला र संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ। तर त्यही साउदी अरबमा विवाह, चाडपर्व र पाहुनाको सत्कारमा उँटको मासु गर्वका साथ प्रयोग गरिन्छ।
त्यहाँ कुनै कानुनी जटिलता छैन। अस्ट्रेलियाको उदाहरण अझ सशक्त छ। कङ्गारु अस्ट्रेलियाको राष्ट्रिय जनावर र राष्ट्रिय प्रतीक हो। तर कङ्गारुको मासु कानुनी रूपमा खपत भइरहेको छ, रेस्टुरेन्टहरूमा सहजै पाइन्छ र विदेश निर्यातसमेत हुन्छ। राष्ट्रिय जनावर हुनु भनेको त्यसको मासु प्रयोग गर्न नपाइने भन्ने अर्थ लाग्दैन।
यदि धार्मिक आस्थाको कुरा हो भने प्रत्येक समुदायले आफ्नो परम्परा स्वतन्त्र रूपमा पालना गर्न पाउनुपर्छ। तर अरूको धार्मिक आस्थामाथि आघात पुर्याउने, डर धम्की दिने, आक्रमण गर्ने अधिकार कसैलाई छैन। आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु कानुनी अपराध हो। हामीले सामाजिक सद्भाव, समानता र स्वतन्त्रताको अभ्यास गर्नैपर्छ, नत्र धर्मनिरपेक्षताको घोषणा कागजमै सीमित हुन्छ।
छिमेकी राष्ट्र भारतको उदाहरण पनि यहाँ सान्दर्भिक छ। भारत औपचारिक रूपमा हिन्दू बहुल देश हो र कतिपय अवस्थामा हिन्दू राज्यको अवधारणा पनि उठाइन्छ। तर भारतले गाईगोरुको मासु अर्बौँ रुपैयाँ बराबरको मूल्यमा विदेश निर्यात गरेर आर्थिक लाभ उठाइरहेको छ। त्यहाँ धार्मिक आस्था र आर्थिक यथार्थबीच व्यावहारिक सन्तुलन कायम गरिएको देखिन्छ। तर नेपालमा केही अतिवादी संगठनहरूले देशलाई आन्तरिक द्वन्द्वतर्फ धकेल्ने खतरनाक प्रयास गरिरहेका छन्।
यी अतिवादीहरूको पाखण्ड व्यवहारिक उदाहरणबाट झन् स्पष्ट हुन्छ। नेपालमा हिन्दू राज्य र राजतन्त्रको वकालत गर्ने केही अतिवादी समूहहरू र पूर्वराजा ज्ञानेन्द्र सोल्टी होटलका ठूला सेयर होल्डर हुन्।
सोल्टी होटलमा विदेशी पर्यटकहरूलाई खुलेआम गाईको मासु अर्थात् बिफ बिक्री हुन्छ। यही अतिवादीहरू सार्वजनिक रूपमा गाईको मासुविरुद्ध चर्को आवाज उठाउँछन् तर निजी स्वार्थ र आर्थिक लाभको प्रश्नमा मौन बस्छन्। यसले उनीहरूको इमानदारिता र निष्ठाको राजनीति कति खोक्रो छ भन्ने स्पष्ट पार्छ।
यसबाट के देखिन्छ भने समस्या धर्म होइन। समस्या शक्ति, नियन्त्रण र वर्चस्वको हो। जब कुनै व्यक्ति वा समुदायले तर्कसंगत ढङ्गले आफ्नो विचार राख्छ, तब त्यसलाई दबाउन अतिवादीहरू हिंसाको सहारा लिन्छन्। यहीँबाट उनीहरूको विभेदकारी र दमनकारी चरित्र उजागर हुन्छ।
नेपालमा धर्मनिरपेक्ष राज्यको स्पष्ट घोषणा भइसकेको छ। अब आवश्यकता छ त्यसअनुसारका कानुनहरूलाई स्पष्ट, सुसंगत र संविधानको मर्मअनुकूल बनाउने। कानुनी अस्पष्टताले अतिवादीहरूलाई खेल्ने ठाउँ दिन्छ। राज्यले कुनै पनि धर्मको नाममा हुने हिंसा, धम्की र अराजक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ। अतिवादलाई सहिष्णुताको नाममा सहनु भनेको भविष्यमा अझ ठूलो द्वन्द्व निम्त्याउनु हो।
अन्ततः नेपाललाई अगाडि बढाउने बाटो भनेको सहअस्तित्व, आपसी सम्मान र वैज्ञानिक चेतनाको विकास हो। धर्म आस्थाको विषय हो र विज्ञान तथ्यको। दुवैलाई आ आफ्नो स्थानमा राखेर हेर्न सक्यौँ भने मात्रै समाज सन्तुलित र समुन्नत हुन्छ।
गाई गोरुको मासुको बहस कुनै जनावरको विषय मात्र होइन। यो नागरिक स्वतन्त्रता, संवैधानिक अधिकार र सामाजिक न्यायको प्रश्न हो। यही यथार्थलाई स्वीकार गर्दै अतिवादको विरुद्ध दृढ रूपमा उभिनु आजको नेपालको ऐतिहासिक आवश्यकता हो।
















