नारीहरू ललितकला, नृत्य र युद्धमा पनि भाग लिने गरेको देखिन्छ। सीता नृत्यमा निपुण रहेको पाइन्छ भने विराट राजाको दरबारमा अर्जुनले उत्तरालाई नृत्य सिकाउने गरेको पाइन्छ।
आज पश्चिमी जगतले महिलाको अधिकार आफूबाट प्रदान गरिएको र आफ्नो अनुसरण विश्व दुनियाँले गर्नुपर्ने भन्दै जोड दिएर लागू गर्दै आएको छ। भने आर्य समाजले आफ्ना रीतिरिवाज, परम्परा र धर्मको आधारमा निर्माण गरिएका विभिन्न नीति विधानहरू रूपान्तरण गराउँदै लगिएको छ। यसलाई महिला अधिकारको नाम दिइएको छ।
यसरी हेर्दा के आर्य सभ्यता महिला अनुकूल नभएको कारण हो ? के हाम्रा पुरातन नीति, विधि र विधान अपुग नै थिए ? जसको कारण पाश्चात्य नीति, पूर्वीय समाजका नीति र विचार स्वीकार गर्नुपर्ने परिस्थिति आयो ? यस विषयलाई लिएर वैदिक कालदेखि महिला अवस्था के थियो भनेर यो लेखबाट स्पष्ट पार्ने प्रयास गरेका छौँ।
वैदिक कालमा नारीको स्थान उच्च रहेको देखिन्छ। नारीको मानसम्मान उच्च रहेको पाइन्छ। विवाह, शिक्षा र सम्पत्तिमा पूर्ण अधिकार रहेको देखिन्छ। नारीप्रति निष्ठा रहनुको साथै नारीलाई घरकी साम्राज्ञीका रूपमा राखिएको देखिन्छ। स्त्रीले जन्माइदिएका सन्तानहरू पुरुषका हुने भएकाले नारीलाई अर्धाङ्गिनी नाम दिइयो भने नारीले लक्ष्मीका रूपमा सुख दिने भएकाले गृहलक्ष्मीको उपमा दिइयो।
पुरुषको व्यक्तित्व र सामाजिक विकासमा नारीको महान् योगदान हुन्छ। नारीले पारिवारिक र सामाजिक दायित्व निष्ठापूर्वक पूरा गरेकी हुन्छन्। त्यसैले वैदिक कालदेखि नारीविना पुरुषले गर्ने यज्ञ अपूरो हुने मान्यता रहेकाले नारी नभई पुरुषको यज्ञ गर्न नमिल्ने विधान थियो। त्यसैले सीताविना रामले यज्ञ गर्न नपाएकाले रामले सुनकी सीता बनाएर यज्ञमा राखेका थिए। यसरी के बुझ्न सकिन्छ भने नारीविना पुरुष अधूरो मानिन्छ।
नारीको शिक्षा विकास पनि कम थिएन। वैदिक कालमा केही नारीको जीवन स्वअध्ययनमा बित्ने गरेको पाइन्छ। जीवनभर स्वअध्ययन गर्ने नारीलाई ब्रह्मवादिनी भनिन्थ्यो। नारी यज्ञमा भाग लिने गर्थे। केही नारी ऋषि नै थिए।
यसमध्ये वेदमा विद्वान् नारीहरूमा अपाला, रोमशा, उर्वशी, विश्ववारा, सिकता, निवावरी, घोषा र लोपामुद्रा जस्ता नारीलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ। यी इतिहासमा उल्लेखित महिला हुन् भने इतिहासमा उल्लेख हुन नसकेका नारी कति थिए होला भन्न सकिन्न। कुरा के सम्म हो भने नारीप्रति आर्य समाजको सम्मान र स्थान कुन परम्परामा थियो भन्ने स्पष्ट पर्न जान्छ।
रामायण कालमा पनि नारीहरूले यज्ञ गरेका पाइन्छ। रामको युवराज पदको अभिषेकको समयमा कौशल्याले यज्ञ सञ्चालन गरेको इतिहास छ। महाभारत कालमा पाण्डव माता कुन्ती अथर्ववेदमा पारङ्गत रहेको पाइन्छ। आजकल मनुवादी भनेर जति विरोध गरे पनि कन्या उपनयन व्यवस्था मनुले गरेको देखिएकाले नारी पुरुषभन्दा अगाडि नै रहेको देखिन्छ।
नारीको विद्या आर्जन दुई तरिकाले गर्ने गरिएको पाइन्छ। पहिलो हो सध्योवधु र अर्को ब्रह्मवादिनी। ऋषि कुशध्वजकी पुत्री देववती ब्रह्मवादिनी थिइन्। नारीहरूले वेद, दर्शन, तर्कशास्त्र, साहित्य आदि विषयहरू अध्ययन गर्ने गरेको देखिन्छ। यसमध्ये काशकुतनीको नाम मीमांसामा पारङ्गत रहेको देखिन्छ। यसले के जनाउँछ भने नारीहरू कर्मकाण्ड पनि गर्ने गरेको पाइन्छ।
राजा जनकको सभामा याज्ञवल्क्य ऋषिसँग ज्ञानकाण्डमा ऋषि गार्गीले गरेको कडा टक्करबाट के देखिन्छ भने नारीहरू दर्शनशास्त्रमा पनि निकै अगाडि रहेको पाइन्छ।
अध्ययन गर्न नारी र पुरुषको समान अधिकार रहेको देखिन्छ। मैत्रेयीले ऋषि वाल्मीकि र अगस्त्य ऋषिको आश्रममा रहेर ज्ञान आर्जन गरेको पाइन्छ, जो पछि वेदान्त दर्शनमा दार्शनिक बन्न सकिन्। त्यसैले के अनुमान गर्न सकिन्छ भने नारीहरू बिना भेदभाव पुरुषसरह आश्रममा गएर विद्या आर्जन गर्ने गर्थे भन्ने यो नमुना हो।
नारीहरू राज्य सञ्चालनमा पनि भाग लिने गर्थे। अयोध्यामा कौशल्या र किष्किन्धामा ताराले मन्त्री बनेर राज्य सञ्चालनमा भाग लिएकी थिइन्।
नारीहरू ललितकला, नृत्य र युद्धमा पनि भाग लिने गरेको देखिन्छ। सीता नृत्यमा निपुण रहेको पाइन्छ भने विराट राजाको दरबारमा अर्जुनले उत्तरालाई नृत्य सिकाउने गरेको पाइन्छ। विश्ववल्ला, कैकेयी र चित्राङ्गदा जस्ता नारीहरूलाई युद्धमा निपुण मानिन्छ।
यसरी नारीलाई उच्च स्थानमा पुर्याउने आर्य समाजले कुनै कालखण्डमा कसैबाट गलत मार्गमा होमिएर आफ्ना अमूल्य परम्परा र संस्कृतिलाई बिर्सन गई आज पाश्चात्य नीति अङ्गीकार गर्नुपर्ने परिस्थिति भोग्नु दुर्भाग्य हो। त्यसैले इतिहास खोतल्नु छ, राम्रा कुरालाई लागू गरेर गलत कुराको संशोधन गर्नु पर्छ। जब विगत हेरिन्न भने भविष्य पनि अन्धकार हुन्छ।।














