प्रहरी सहायक निरीक्षक बिष्टले ट्राफिक नियम उल्लंघनमा कारबाही गर्नुको उद्देश्य राजस्व संकलन मात्र नभई दुर्घटना न्यूनीकरण गर्नु रहेको बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले पछिल्लो छ महिनाको अवधिमा ६ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। विभिन्न सवारी साधनहरूलाई नियम उल्लंघनका कारण कारबाही गर्दा यो राजस्व संकलन भएको हो।
कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरीक्षक नन्दबहादुर बिष्टका अनुसार, ट्रक र ट्याङ्करबाट ४ हजार २ सय रुपैयाँ, बस र मिनिबसबाट १ लाख १० हजार ५ सय, जिप, कार र भ्यानबाट १ लाख ४७ हजार, ट्र्याक्टरबाट ३७ हजार ५ सय, मोटरसाइकलबाट २ लाख ६२ हजार र अटो रिक्साबाट ७२ हजार रुपैयाँ राजस्व संकलन भएको हो।
प्रहरी सहायक निरीक्षक बिष्टले ट्राफिक नियम उल्लंघनमा कारबाही गर्नुको उद्देश्य राजस्व संकलन मात्र नभई दुर्घटना न्यूनीकरण गर्नु रहेको बताए।
“हामीले सडकमा ड्युटी गर्दा चालकहरूलाई नियम पालन गर्न आग्रह गर्दैछौं। तीव्र गतिमा गाडी नचलाउने, मोडहरूमा हर्न बजाउने, पैदल यात्रीलाई प्राथमिकता दिने र सवारी साधनको क्षमता अनुरूप मात्र यात्रु तथा सामान राख्न सचेत गराउँदै आएका छौं,” उनले भने।
तर, धेरै सवारी चालकले ट्राफिक प्रहरीलाई केवल कारबाही गर्नकै लागि सडकमा बसेको सोच्ने गरेको पनि बिषटको भनाई छ। “हाम्रो उद्देश्य दुर्घटना घटाउनु हो, तर यो कुरा सबैले बुझ्दैनन्,” उनले थपे।
चिसो मौसमका कारण पछिल्लो मंसिर र पुष महिनामा जुम्लाबाट धेरैजसो मानिस तराई झर्ने गरेका छन्। यस कारण सवारी साधनहरूको चापमा कमी आएको र राजस्व पनि अपेक्षाकृत कम संकलन भएको बिष्टले जानकारी दिए।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गर्दै दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्रयास जारी राख्ने बताएको छ।















