यो मेला केवल कृषि उत्पादनको प्रर्दशनी मात्र नभई स्थानीय समुदाय, विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा आधारित प्रयास थियो।
जुम्लाको पातरासी गाउँपालिकामा हालै सम्पन्न भएको कृषि प्रदर्शनी मेला स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम सावित भएको छ।
यो मेला केवल कृषि उत्पादनको प्रर्दशनी मात्र नभई स्थानीय समुदाय, विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा आधारित प्रयास थियो। जसले परम्परागत बाली, संस्कृति र आर्थिक समृद्धिको सम्भावनालाई उजागर गर्यो।
पातरासी गाउँपालिका, जो हिमाली क्षेत्रको विशिष्ट भौगोलिक अवस्था र जैविक विविधताका लागि प्रसिद्ध छ, त्यहाँका परम्परागत बालीहरू लोप हुने अवस्थामा पुगेका छन्।
यस अवस्थालाई सम्बोधन गर्न “कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा” को सहकार्यमा आयोजित यो मेला एक प्रेरणादायक प्रारम्भ थियो।
लोपोन्मुख रैथाने बालीको पुनरुत्थान
मेलामा प्रदर्शन गरिएका चीनाे, कागुनाे, गहत, काेदाे, फापर जस्ता बालीहरू हिमाली क्षेत्रको विशेषता हुन्।
यी बालीहरू पोषणका धनी, वातावरणसँग सामञ्जस्यपूर्ण र स्थानीय भोजन परम्पराको अभिन्न हिस्सा हभएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।
उनले भने, “आधुनिक कृषिमा केन्द्रीकृत उच्च उत्पादनमुखी बालीहरूको प्रयोगका कारण यी बालीहरूले आफ्नो स्थान गुमाइरहेका छन्।”
उनका अनुसार तरकारीतर्फ सीमी, आलु, फर्सी, सातपात जस्ता उत्पादनले पनि मेलामा विशेष स्थान पाए। यस्तै, लिउ, राडी, पाखीजस्ता स्थानीय हस्तकलाका सामग्रीहरूले यहाँको सांस्कृतिक विविधतालाई उजागर गर्यो।
महिलाको नेतृत्वदायी भूमिका
मेलामा स्थानीय कृषि समूहका महिलाहरूको सक्रिय सहभागिताले यसलाई थप विशेष बनाएको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन्।
“महिलाहरूले परम्परागत रैथाने बालीहरूको संरक्षणको महत्वलाई देउडा गीतमार्फत प्रस्तुत गरे,” उनले भनिन्।
उक्त प्रदर्शन थिएन उनीहरूको सांस्कृतिक ज्ञान र पहिचानको सार्वजनिक अभिव्यक्ति भएको उनको भनाई छ।
महिलाहरूको सक्रियता र उनीहरूको समर्पणले मेलालाई नारी सशक्तीकरणको प्रतीक बनाएको उनकबध बुझाई छ।
स्थानीय नेतृत्वको योजनाहरू
गाउँपालिका अध्यक्ष बोहोराले मेलाको उद्घाटन गर्दै पातरासी गाउँपालिकाको उत्पादनलाई “एक गाउँ, एक उत्पादन क्षेत्र” का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनको विचारमा पातरासीको स्थानीय उत्पादनले बजारमा मागलाई पूरा गर्न सक्ने मात्र होइन, यसले पालिकाको समग्र आर्थिक गतिविधिलाई पनि गति दिनेछ।
पातारासीको उत्पादनलाई बजारसम्म पुर्याउन यातायातको अभाव एक प्रमुख चुनौती भएको उपाध्यक्ष रोकायाले बताइन्।
उनले महिलाहरूको जीवनशैलीलाई सहज बनाउन यातायात सुधार र बजार पहुँचका लागि पहल गर्ने आश्वासन दिइन्।
प्रदर्शनीको व्यापक प्रभाव
मेलाले स्थानीय समुदायलाई आफ्ना परम्परागत ज्ञान र सीपको महत्त्व बोध गरायो। मेलामा विभिन्न कृषि सामग्री, हस्तकला र रैथाने बालीहरूको प्रदर्शनले न केवल स्थानीय उत्पादनको महत्त्वलाई उजागर गर्न सफल भएको स्थानीयले बताएका छन्।
मेलामा सहभागी सरोकारवाला निकायहरूले यस क्षेत्रका बाली र उत्पादनहरूको संरक्षण, विकास र प्रवर्द्धनका लागि दीर्घकालीन नीति र योजनाहरू आवश्यक रहेकोमा जोड दिए।
ग्रामीण जीवनमा परिवर्तनको सुरुवात
मेला पातरासी गाउँपालिकामा कृषि, संस्कृति र सामुदायिक समृद्धिको अभियानको सुरुवात भएको अध्यक्ष बोहोराको भनाइ छ।
यसले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने सम्भावना मात्र प्रस्तुत नगरि यसले परम्परागत ज्ञानलाई भविष्यका पुस्ताहरूका लागि सुरक्षित राख्न मद्दत पुर्याएको उनको भनाइ छ।
यस्ता पहलहरूलाई निरन्तरता दिने विषयमा निरन्तर छलफल भइरहेको उपाध्यक्ष रोकायाले बताइन्।
उनले थपिन्, “गाउँपालिकाले हिमाली क्षेत्रको जैविक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा भूमिका खेल्नेछ।”