गोविन्दनाथ उप्रेतीको नाम लिनेबित्तिकै जनता भन्छन्, ‘उहाँजस्तो जनप्रतिनिधि अब सायदै पाइएला।’ तीन पटक सांसद र मन्त्रीसमेत भइसकेका उनकाे जीवन साधारण छ। उनी एक्लै सार्वजनिक बसमा हिँड्छन्। उनको निजी गाडी छैन। गोविन्दनाथ पनि जनताबाट चुनिएर आएका जनप्रतिनिधि थिए।
जनताले तीन जनालाई अभिभावक मान्छन्। पहिलो बाबुआमा, दोस्रो शिक्षक र तेस्रो जनप्रतिनिधि। बाबुआमाले सन्तानलाई जन्माउँछन्, हुर्काउँछन्, बढाउँछन्। शिक्षकले उनीहरूको जिन्दगी अन्धकारबाट उज्यालोतर्फ ल्याइदिन्छन्। जनप्रतिनिधिले विकास गर्छन्, आफ्नो जनताको समस्यामा साथ दिन्छन्।
तर, पछिल्लो समय जनप्रतिनिधि सौखिन भएका छन्। चुनाव जितेपछि उनीहरू आफूलाई मतदान गरेर जिताउने जनतालाई फर्केरसमेत हेर्दैनन्। कुनै समय यस्ता पनि नेता थिए, जो जनताको समस्यालाई आफ्नो समस्या ठान्थे। उनी हुन्, काभ्रेपलाञ्चोकका नेता गोविन्दनाथ उप्रेती।
उनी काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट तीन पटक चुनाव जिते। एक पटक श्रम राज्यमन्त्रीसमेत भए। तर, उनीमा कहिल्यै घमण्ड आएन। उनी जनताको घर–घरमा जान्थे। उनीहरूको घरमा खानलाई अन्न छ कि छैन ? भनेर हेर्थे। छैन भने गाउँ–घरबाट मागेर हुन्छ कि के गरेर, अन्न खोजेर ल्याएर दिन्थे।
उनी गरिब जनताको घरमा जे पाकेको छ, त्यही खान्थे। कोशीपारीको बाटो उनकै पहलमा खनियो। उनी जनप्रतिनिधि हुँदा लामिडाँडाबाट पलाञ्चोक भगवती जानेसहित विभिन्न बाटो खनिएको छ। उनी घुस नखाने नेतामा पर्थे। जनताको समस्या बुझ्न उनी आफैं हिँड्थे।
आफू जनप्रतिनिधि हुँदा उनले सकेको विकास गरे। जिल्लामा भोकमरी लागेको समयमा उनले काठमाडौंबाट खाद्यान्नसहित सिन्धुपाल्चोक, दोलखा गएको गाडी दोलालघाटमा रोकेर स्थानीयलाई अन्न बाँडेका थिए। उनले त्यसबाट एक गेडा पनि अन्न लिएनन्।
सरकारले त्यतिबेला सांसदलाई गाडी दिएको थिएन। उनी सार्वजनिक यातायातमा यात्रा गर्थे। बसमा उनलाई चिनेर कसैले सिट छोडिदिन खोज्यो भने भन्थे, ‘पर्दैन, तिमीहरू बस, म उभिन्छु।’ २०५४ सालमा नेकपा एमाले फुटेपछि उनी मालेमा गए। मालेबाट श्रम राज्यमन्त्री हुँदा पाएको झण्डावाला गाडीमा उनी जनतालाई चढाउँथे।
जनतालाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुर्याउँथे। २०५६ सालको चुनावमा नेपाली कांग्रेसका राजेन्द्र खरेलसँग उनले थोरै भोटले चुनाव हारे। वामदेव गौतम, सानो प्रधान (सनाे प्रधान) पछि एमालेमा फर्किए तर उनी फर्किएनन्। बरु राजनीति नै छोडिदिए। उनले राजनीति छोडेपनि जनताले बिर्सन सकेका छैनन्।
गोविन्दनाथ उप्रेतीको नाम लिनेबित्तिकै जनता भन्छन्, ‘उहाँजस्तो जनप्रतिनिधि अब सायदै पाइएला।’ तीन पटक सांसद र मन्त्रीसमेत भइसकेका उनकाे जीवन साधारण छ। उनी एक्लै सार्वजनिक बसमा हिँड्छन्। उनको निजी गाडी छैन। गोविन्दनाथ पनि जनताबाट चुनिएर आएका जनप्रतिनिधि थिए।
उनी पनि राज्य सञ्चालनको ठाउँमा बसेर काम गरेका व्यक्ति हुन्। तर, उनी र अहिलेको जनप्रतिनिधिमा आकाश–पातालको फरक छ। राजनीति सेवा हो। राजनीति सामाजिक काममा पर्छ। तर, वर्तमान नेताहरूले राजनीतिलाई व्यापार बनाए। जनताको सेवक बन्नुपर्ने नेताहरू शासक बने।
नेताहरू जनताको समस्या बुझ्नुभन्दा पनि व्यक्तिगत सम्पत्ति जोड्नतर्फ र विलासी जीवन जिउनमा केन्द्रित भए। वडाध्यक्षदेखि सांसदसम्म राजाको सवारीजसरी हिँड्छन्। अगाडि–पछाडि सुरक्षाकर्मी, गुण्डा, पिए बोकेर हिँड्छन्। नेताहरूको यस्तै पाराले त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको छोटो समयमै संकटमा परेको हो।
जनप्रतिनिधि त सिधै जनताको घरदैलोमा गएर उनीहरूको समस्या बुझ्नुपर्छ। तर, हामीकहाँ त नेतालाई भेट्न तीन महिना अगाडिदेखि अपोइन्टमेन्ट लिनुपर्छ। आफूले मत दिएर पठाएको जनप्रतिनिधिसँग सिधै बोल्ने अधिकार जनतालाई छैन। पहिले उनीहरूको पिएलाई फोन गरेर सबै सुनाउनुपर्छ।
त्यो पिएले नेतासम्म पुर्याउँछ कि त्यत्तिकै छोडिदिन्छ ? थाहा हुँदैन। कुनै नेतालाई भेट्नुपर्यो भने तीन ठाउँमा सुरक्षा जाँच गर्नुपर्छ। अनि यस्ता पनि जनताको प्रतिनिधि हुन सक्छन् ? जो जनता भेट्दैन, उसले जनताको समस्या बुझ्छ ? नेताहरुलाई सुरक्षाकर्मी र गुण्डाको आवश्यक किन छ ?
यदि राम्रो काम गरेको छ भने जनताले केही गर्दैनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा तीन करोडको घडी छ। नेकपा माओवादी छोडेर नेकपाको संयोजक बनेका पुष्पकमल दाहाल ७८ लाखको घडी बाँध्छन्। जनतालाई दुई छाक खान धौधौ परिरहँदा नेताहरू हातमै लाखौँको घडी बाँधेर हिँड्नुहुन्छ ?
त्यस्ता नेतालाई जनताले पूजा गर्छन् ? केपी ओलीले राम्रो काम गरेको भए, सायदै आज जनताबाट लखेटिनुपर्थ्यो। गुण्डुमा गएर चौबिसै घण्टा गुण्डाको घेराबन्दीमा बस्नुपर्थ्यो। जनयुद्धका कमाण्डर प्रचण्डलाई वाइसिएलको घेराभित्र लुकेर सायदै हिँड्नुपर्थ्यो। नेताहरूले देश बनाउने नाममा देश सिद्ध्याए।
जनताको जीवनस्तर उकास्ने भन्दै जनतालाई दुई छाक खान पनि धौधौ पर्ने स्थितिमा पुर्याए। हिजो चप्पल लगाउने हैसियत नभएर नेताहरू आज ब्रान्डेड लुगा लगाउँछन्। पहिले राजा बस्नेभन्दा भव्य महलमा बस्छन्। जनताको छोराछोरीलाई खाडीमा बेचेर आफ्ना सन्तानलाई अमेरिका, अष्ट्रेलिया, बेलायत पुर्याएका छन्।
विलासी जीवन बिताइरहेका छन्। जनताले देख्छन्, हामीले यसो गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि नेताहरू आफ्नो लोभ–लालचलाई नियन्त्रण गर्न सकेनन्। उनीहरू देश र जनता लुटेर कमाउनतर्फ लागे। आज देश पनि रित्तो छ, जनता पनि। अझै पनि नेताहरू गुण्डाको बीचमा हिँडेर ठूल्ठूला भाषण गरिरहेका छन्।
यिनीहरूलाई अझै लाज लागेको छैन। राजनीति गर्ने मान्छेहरू त्यागी हुनुपर्छ। तर, हामीकहाँ त नेताहरू लोभी भए। त्यस्तै, इमान्दारिता राजनीतिको महत्वपूर्ण अङ्ग हो। यहाँ त कुनै नेतामा इमान्दारिताको ‘इ’ पनि छैन। जसरी हुन्छ, जनता झुक्याउने, आफू पदमा पुग्ने।
अहिलेका नेतासँग कुनै मुद्दा छैन। तैपनि, यिनीहरू अझै पनि देश लुट्न तम्सिरहेका छन्। विभिन्न संगठन बनाएर ‘हामी देश बनाउँछु’ भन्दै अगाडि आएका छन्। यिनीहरू जबसम्म राजनीतिमा रहन्छन्, तबसम्म यो देशले फड्को लिन सक्दैन। किनकि, यिनीहरू देशका लागि ‘साप’ हुन्।
यिनीहरूसँग त गोविन्दनाथजस्तै पनि नैतिकता रहनेछ। चुनावमा हारेपछि उनले राजनीति छोडिदिए। केपी, प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणमान बिजुक्छे लगायत जनताबाट लखेटिसक्दा पनि राजनीति छोड्ने नाम लिँदैनन्। पार्टीको नाम फेरेर र एकता गरेर भाषण दिइरहेका छन्।
अब भनौँ– यिनीहरूलाई कहिल्यै देश र जनता लुटेर पुग्ने रहेछ त ? जससम्म बल छ, तत्तिकै यिनीहरूले देश लुट्न अगाडि आइरहन्छन्। यिनीहरूले अति नै गरेपछि भदौ २३ र २४ गते जेने (Gene) जी युवाहरू सडकमा आए। उनीहरूले देशको लागि आफ्नो ज्यानको बलिदान दिए, हजारौँ घाइते भए।
तैपनि, नेताहरूलाई अलिकति लाज लागेको छैन। उनीहरू अझै पनि गुण्डाको घेरामा बसेर ‘यो र त्यो’ भनिरहेका छन्। यस्ताle देश बनाउँछन् भनेर जनताले नसोच्दा पनि हुन्छ। जनताले यिनीहरूलाई अबको चुनावबाट बढार्नुपर्छ। राजनीतिलाई व्यापार बनाउनेहरूलाई बढार्ने मौका यहीँ हो।
अब बेच्नेलाई होइन, बनाउनेलाई चुनौँ। यी नेता फर्किए भने अहिलेको वैदेशिक ऋण बढेर दोब्बर हुन्छ। जनताको छोराछोरी काम खोज्दै विदेश जानुपर्ने बाध्यताको कहिल्यै अन्त्य हुँदैन। दुई छाक खान र आधारभूत अधिकारका लागि पनि जनताले सधैं लडिरहनुपर्नेछ। त्यसैले अब जे छ, जनताको हातमा छ।
देशले धेरै भोगिसक्यो, अब भोग्न सक्दैन। दलालहरूले राज्य सञ्चालन गर्ने ठाउँमा पुग्दा देश सकियो। यो कुरा जनताले नबिर्सौँ।
अनुसा थापा
भक्तपुर
















