शुक्रबार, २९ चैत्र, २०८१

मेरो संघर्ष अनि प्राप्त सफलता

कोरोनाले कलेज बन्द भयो। म घर गएँ। सबै साथीहरुले अनलाइन क्लास लगिरहेका थिए। ईन्टरनेटको पहुँचबाट टाढा रहेको म पढ्ने अवसरबाट बञ्चित थिएँ। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै अनलाइन क्लास लिन नपाए पनि मेरा आफ्ना किताबलाई भने बुझी नबुझी पढ्न सुरु गरेँ।

हिमा -३ मोफ्लामा जन्मिएकी मलाई मेरो परिवारले अध्यनको लागि हाम्रै राहदेव माध्यमिक स्कुलमा कक्षा १ मा भर्ना गरिदुनु भयो। मैले मेरो पढाइलाई लगनशील र कडा मेहनतका साथ अगाडि बढाएँ। मेरो पढाइले लगनशीलता र मेहनतको उच्च कदर गर्दै मैले कक्षा १ देखि ३ सम्म प्रथम श्रेणी हासिल गर्न सफलता भएँ।

घरको जेठो सन्तान त्यसैमा पनि म छोरी भएकोले मेरो घरको सबै जिम्मेवारी एक तिर त थियो नै, त्यसका बाबजुत पनि हाम्रो परिवारमा त्यो बेलासम्म कोहि कसैले माध्यमिक तहको अध्यायन पनि गर्नु भएको थिएन।

परिवार सबै कृषि र पशु पालनमा आवद्ध भए पनि मेरो पढाइलाई निरन्तरता दिने विषयमा सबै जनाको एक मत थियो। २०६८ साल मङ्सिरमा कक्षा ३ को वार्षिक परिक्षा भएपछि म स्कुल प्रथम भएँ। त्यो बेलामा हाम्रो स्कुलमा हरेक वर्ष वार्षिक कार्यक्रम हुन्थ्यो त्यो कार्यक्रममा प्रथम हुनेलाई पुरस्कर स्वरुप सम्मान गरिन्थ्यो।

त्यो सम्मान, माया शिक्षकको हौसला अनि परिवारको दु:ख, प्रेरणाले मेरो जिम्मेवारीमा अझै थपिएको थियो। त्यस्तै फेरि पनि ४ कक्षा बाट ५ जाँदा पनि स्कुल प्रथम भएँ। मेरो अध्ययन यात्रामा प्रथम हुने बाटो कहिले तल भएन। मेरो मिजासिको स्वभाव र कमै बोल्ने बानी भएर होला स्कुलसँग र पढाइसँग जति नजिक थिएँ समाज र साथी भाइसँग उतिनै टाढा लाग्थेँ म।

त्यति बेला पढाइ मेरो लागि लत जस्तै भइसकेको थियो। खाना एक छिन् नखाई बस्न सक्थेँ तर मैले पढ्नु पर्ने कुरालाई एकछिन पनि रोक्न सक्थिनँ। हरेक वर्ष मेरो उमेर बढ्दै थियो। कक्षा पनि चढ्दै थियो। प्रत्येक कक्षामा प्रथम हुनेमा त्यस्तै ८ को जिल्ला स्तरीय परिक्षामा पनि राम्रै अंक ल्याएर प्रथम भएकी थिएँ।

पढाइलाई सबथोक मान्ने मेरो दैनिकी बिहान ५ बजे उठेर ट्युसन अनि १० बजे स्कुल र बेलुका स्कुल बिदा भए पछि फेरि राति ९ बजे सम्म ट्युसन पढ्ने मेरो दैनिक कार्य तालिका थियो। पढेर जागिर मात्र खानु पर्छ भन्ने होइन, राम्रो अनि बाठो मान्छे हुन्छ। नपढेर हामीले जस्तै दु:ख भोक्नु पर्छ भन्ने अठोट राखेको मेरो परिवारले हर हमेसा पढ्नलाई साथ र हौसलाको कमी कहिले हुन दिएन।

कक्षा ९ मा पनि पुन : प्रथम भए पछि अब मेरो घर बाट एसईई दिने पहिलो सन्तान म बनेकी थिएँ। एसईईमा राम्रो अंक ल्याउनु पर्छ भन्ने सोच राखेकी म केहि नयाँ सिक्न र जान्न म एसईईको तयारी कक्षाको लागि म कोहलपुर पुगेँ।

उमेरले अपरिपक्व भए पनि पढाइले परिपक्वता आउँदै थियोे। विभिन्न ठाउँ बाट एसईई तयारी कक्षा लिन आएका हजारौं विद्यार्थीहरु माझ ट्युसनमा क्लास टेस्ट हुँदा पनि मैले राम्रो अंक ल्याएर आफ्नो क्षमता प्रदर्शन गर्न सफल भएँ। २०७५ साल चैतमा मैले एसईईको परिक्षा दिएँ। परिक्षा राम्रोसँगै सम्पन्न भयो।

२०७६ असारको पहिलो सात तिर होला हाम्रो एसईईको नतिजा प्रकाशित भयो। नतिजाले मलाई छुट्टै खुशी दिएको थियो। सायद उक्त नतिजा हाम्रो स्कुल स्थापना भए देखिकै त्यो बेला सम्मको सबैभन्दा राम्रो थियो। अनि सबैभन्दा बढी ग्रेड ल्याउने म नै थिएँ।

त्यो नतिजा मेरो लागि मात्र नभएर मैले पढेको स्कुल, परिवार, अनि मेरा आदरणीय गुरुहरुको पनि गौरवको विषय बनेको थियो। उक्त नतिजा पछि भविष्यलाई कता तिर लैजाने भन्नेसम्म पत्तो नपाएकी म र अहिले सम्म उच्च शिक्षा हासिल नगरेको मेरो परिवारले अबको पढाई के गर्ने? कुन विषय पढ्ने भन्ने कुरामा हामी अन्योल थियौं।

एसईई पछि केहि तयारी गर्छु भनेर म हाम्रो जिल्लाको सदरमुकाम खलंगामा बृज्ड कोर्सको तयारी गर्दै थिएँ। बृज्ड कोर्सको ट्युसनमा हप्ता दिन पुग्ने बित्तिकै टेस्ट परिक्षा हुने गर्थ्यो। जहिले जसो प्रथम हुने म छोटो समय अवधीमा सबैको प्यारो अनि सबैले चिन्ने भइसकेकी थिएँ।

साउन, भदौको समय थियो। मैले उच्च शिक्षा अध्ययन गर्नको लागि काठमाडौं जाने निर्णय गरे। उक्त निर्णयमा परिवारको सहमति पछि म काठमाडौं लागेँ।

काठमाडौं पुगे पछि म पवन मामाको कोठामा बस्ने भएँ। त्यति बेला विभिन्न कलेजमा नर्सिङको लागि पेइमेन्ट र छात्रवृत्तिको लागि भर्ना खुलेको थियो। सबैको सल्लाह बमोजिम फुल पेइमेन्टको लागि सीटीइभिटी अन्तर्गतको कलेज र काठमाडौं विश्वविद्यालयमा एप्लाई गरेँ। अनि पूर्ण छात्रवृत्तिको लागि सीटीईभीटीमा पनि फारम भरेँ।

केहि दिन पछि सबै ठाउँमा प्रवेश परीक्षा दिएँ। परीक्षा भएको केहि महिना दिनमा रिजल्ट आयो। फूल पेइमेन्टको लागि सीटीईभीटीको श्रीध इनिष्टिच्युड अफ हेल्थ साइन्समा टप टुमा नाम निस्किएको थियोे भने काठमाडौं विश्वविद्यालयमा कर्णाली प्रदेशबाट एक नम्बरमा नाम निस्केको थियो।

केहि रकम पैसा कम तिर्नु पर्ने भएकोले मैले काठमाडौं विश्वविद्यालयमा नर्सिङ पढ्ने निर्णय गरेँ। रिजल्ट प्रकाशित भएको केहि हप्ता दिनमा भर्ना गर्नु पर्ने भएकोले घरमा भर्नाको लागि सल्लाह हुँदै थियो। भर्नाको कुरा अघि बढ्दै गर्दा सीटीईभीटीको पूर्ण शुल्कीय छात्रवृत्ति रिजल्ट प्रकाशित भयो।

भनिन्छ नी मेहनत र परिश्रमको परिणाम राम्रो नै आउँछ। उक्त प्रकाशित नतिजामा जब मैले मेरो नाम देखेँ उक्त दिन सायद म जत्तिकै खुसी कोहि थिएन होला! गाउँ, घर, स्कुल, ट्युसन जताततै मेरो प्रसंशा थियो। धन्यवाद दिनेको लर्को लागेको थियो।

सायद, त्यो बेला सम्म मैले पढेको स्कुलमा नि:शुल्क नर्सिङ पढ्न पाउने म एक जना थिएँ होला। काठमाडौं विश्वविद्यालयमा भर्नाको निर्णयलाई रद्ध गर्दै मलाई सीटीईभीटीले सिफारिस गरेको श्री फुलचोकी नर्सिङ क्याम्पस काभ्रे बनेपामा आफ्नो नर्सिङ पढाइलाई निरन्तरता दिन भर्ना भएँ। मैले सरकारी मध्यमको स्कुलबाट पढेकोले मलाई सुरुका केही दिन अलि गाह्रो भएता पनि निरन्तर मेहनत गर्दै गएँ।

सधै साथीसँग रुमलिएको म केहि दिन यता नयाँ ठाउँ नयाँ साथीहरु अनि होस्टेलको बसाइँले मलाई कता कता एक्लो महसुस गराउँथ्यो। हरेक दु:ख बाधा र परिवारको यादलाई केहि टाढा राखी पढाइलाई निरन्तरता दिएँ। पहिलो वर्षको अन्तिम परिक्षा पनि सक्कियो। परिक्षा राम्रो नै भएको थियो।

सबै जना दोस्रो वर्षमा प्रवेश भयौं। केहि फरक हुन खोज्ने म अरुसँग कमै बोल्थेँ। केहि महिना पछि पहिलो वर्षको रिजल्ट आयो। रिजल्टले निराशा त लाएको थिएन। जहिले प्रथम हुने म त्यो पाली टप पाचमा परेकी थिएँ। अब दोस्रो वर्षको परिक्षामा प्रथम हुनु पर्छ भन्ने मनोवृत्तिका साथ मैले सैद्धान्तिक र प्रयोगात्मक दुबै विषयलाई उत्तिकै महत्त्व दिँदै परिक्षाको पूर्ण तयारीमा लागेँ।

तयारीलाई पूर्णता दिन नपाइ कोरोनाले कलेज बन्द भयो। म घर गएँ। सबै साथीहरुले अनलाइन क्लास लगिरहेका थिए। ईन्टरनेटको पहुँचबाट टाढा रहेको म पढ्ने अवसरबाट बञ्चित थिएँ। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै अनलाइन क्लास लिन नपाए पनि मेरा आफ्ना किताबलाई भने बुझी नबुझी पढ्न सुरु गरेँ।

लक डाउन खुल्यो। केहि दिनमा दोस्रो वर्षको बोर्ड परिक्षा हुने भयो। सुस्त तयारीको बाबजुत पनि परिक्षा दिन बाध्य भएँ। परिक्षा पनि सक्कियो तर सोचेको जस्तो भने भएको थिएन।

पुन: हामी तेस्रो वर्षमा प्रवेश भयौं। पढाई निरन्तर बढ्दै थियो। कहिले समुदायमा त कहिले अस्पतालको ड्युटीले गर्दा पढाइलाई त्यति निरन्तरता दिन सकिएको थिएन। त्यस्तै दिनहरु बित्दै थिए। त्यति बेला सबै साथीहरु होस्टल बसिरहँदा मैले भने होस्टल छोडिसकेकि थिएँ।

दोस्रो वर्षको रिजल्ट आयो। सोही दिन रिजल्ट हेर्न नमिल्ने भएकोले पछिल्लो दिन सबैको लेजर हेर्न सुरु गरे। सबै साथीहरुले आफ्नो रिजल्ट हाम्रो म्यासेन्जर ग्रुपमा पठाए। मैले भने आफ्नो रिजल्ट पठाएकी थिइनँ। सबैको अंक चेक गरियो। अनि मैले पनि मेरो रिजल्ट पठाएँ। लक डाउन नराम्रो तयारी, सरकारी स्कुलको पढाईको बावजुत पनि मैले त्यो पाली कलेज टप गर्न सफल भएँ।

आमा, बुबा, साथीभाइको बधाई थाप्दै म मेरो लक्ष्य तिर लम्किएँ। तेस्रो वर्षको फाइनल परिक्षाको रुटिन प्रकाशित भयो। केहि दिनमा परिक्षा भयो परिक्षा राम्रोसँग नै सक्कियो। परिक्षा सकिए सँगै हाम्रो पीसीएल नर्सिङको यात्रा पनि करिब सक्किसकेको थियो।

सबै साथी पढाई सकेसँगै विदेशको तयारी गर्दै थिए। आफूलाई भने के गर्ने अत्तोपत्तो थिएन। नर्सिङ पढेकालाई विदेशमा राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मध्यम वर्गीय परिवार अनि आफू भन्दा अगाडिको कोहि पनि विदेश नगएकोले मैले त्यो बाटो रोज्न चाहिनँ। तेस्रो वर्षको रिजल्ट आयो। रिजल्ट पछि एनएनसीको लाइसेन्सको तयारी गर्न लागेँ।

नेपालमै केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ लाइसेन्स कक्षा र लोक सेवा सँगै तयारी गर्न थालेँ। एनएनसीको परिक्षा भयो। रिजल्ट आयो। रिजल्टमा पास भए लगत्तै रजिस्ट्रार नर्स भएँ।

एनएनसीमा रजिस्ट्रार भए मात्र नेपालमा सरकारी र निजी अस्पतालमा काम गर्न पाउने प्रावधान छ। २०८० माघ १ गते मेरो जन्मदिनसँगै मैले नेपालको गैर सरकारी अस्पताल धुलिखेल काम गर्न सुरुवात गरेँ। तलब, ड्युटी र सुबिधा राम्रो नै थियो। इमानदारीता र कामलाई सबैभन्दा प्राथमिकता दिने भएर होला हाम्रो विभागको सबैबाट छोटो समयमा धरै माया पाउन सफल भएँ।

अस्पतालको कामले लोकसेवा कक्षा तयारी गर्न नपाए पनि प्रत्येक प्रदेश र संघका लोकसेवाका परिक्षा दिन भने छुटाइनँ। पछि गण्डकी प्रदेश लोकेसेवा आयोगले केहि दिनको फरकमा नर्सिङको र अनमीको रिजल्ट प्रकाशित गर्‍यो। मैले लोकसेवाका सबै चरण पास गररे अनि नाम पनि निस्कियो। धुलिखेल अस्पतालमा काम गरेको ६ महिना पुग्दै थियो। जनरल नर्सिङ र अनमी मध्य मैले पाँचौ तहको नर्सिङ नै रोजेँ।

गण्डकी प्रदेश लोकसेवा आयोगले मलाई गोर्खा जिल्लाको पालुङ्टार नगरपालिकाको आँपपिपल अस्पतालमा स्थाइ नियुक्ति गर्‍यो। छोटो समयमा धेरै माया हौसला अनि दिदिहरु र डाक्टरहरुको नयाँ नयाँ कामबाट प्रेरित भएकी म धुलिखेल अस्पतालबाट सबैको साथ छोड्दै ६ महिने कार्यकाल पश्चात म गोर्खा लागेँ।

राजधानीबाट नजिक र नगर अस्पताल भएता पनि अलि दुर्गम ठाउँमा अवस्थित भएकोले खानेकुरा र कपडाको लागि अलि दु:ख गर्नु पर्थ्यो। बसाई क्वाटरको अनि ड्युटी सहज र सजिलो भएपनि सबै नयाँ साथी, सुनसान ठाउँ भएर होला घरको याद भने निकै आउने गर्थ्यो। काम गरेको ६ महिना जति पुग्दै थियो।

संघीय लोकसेवा आयोग काठमाडौंले जनरल नर्सिङ पाचौं तहको नतिजा प्रकाशित गर्‍यो। नतिजामा मेरो नाम निस्केको थियो। केहि दिन पछि अन्तर्वार्ता थियो। त्यहाँको बिदा मिलाएर अन्तर्वार्ता दिन गएँ। केहि दिनमा लोकसेवाका सम्पूर्ण चरण पास गर्दै खुल्ला र महिला कोठामा नाम निकाल्न सफलत भएँ। त्यो दिन म र मेरो परिवारको लागि खास दिन बन्यो। गोर्खाको पनि ६ महिनाको कार्यकासँगै त्यहाँको स्थाइ नियुक्तिलाई राजीनामा दिदै म पुन: काठमाडौं प्रवेश गरेँ।

जग बलियो भए घर बलियो हुन्छ भन्ने धारणाले पढेर होला मेरो स्कुल कलेजको पढाइले मैले बिना तयारी लोकसेवा आयोगका सबै तहका परिक्षामा सफलता पुर्वक नाम निकल्न सफल हुन्थेँ। साथै बागमती प्रदेश लोकसेवाको रिजल्ट आउन अझै बाँकी छ। आशा छ रिजल्ट राम्रो आउने छ। काठमाडौं प्रवेश गरेको केहि दिनमा संघीय लोकसेवा आयोग काठमाडौंबाट मलाई श्री स्वास्थ तथा जनसंख्यमन्त्रालय सिंहदरबारमा नियुक्त गरियो। केहि दिनमा मन्त्रालयको सबै काम सकेर पुन: मलाई नेपालको सबै भन्दा पुरानो अस्पताल वीर अस्पताल काठमाडौंमा सिफारिस गरियो। हाल हजारौं बिरामीको सेवामा अहोरात्र निरन्तर खटिएर काम गरिरहेकी छु।

आफूले नपढेता पनि मलाई पढाई र मेरो जीवनमा केहि कुराको पनि कमी हुन नदिने मेरो परिवारलाई हृदय देखि धन्यवाद व्यक्त गर्छु। आफू कृषि र पशु पालनमा आवद्ध भएता पनि मेरो पेशा नै परिवर्तन गरिदिन भएको ले म मेरो परिवार प्रति गर्व गर्दछु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार