‘म डाक्टर होइन। मलाई सुइ लगाउन आउँदैन। तर, घरमा सुइ लगाउने मान्छे होस् भनेर कर्णाली आएको हुँ,” हुम बहादुर डाँगीले भनेका यी शब्दहरू धेरै अभिभावकको सपनाको प्रतिनिधित्व थिए।
धेरैले जुम्लालाई नेपालको एउटा विकट र दुर्गम जिल्ला मात्र सम्झन्छन्। तर, यही जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले देशभरका विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बन्दै गएको छ। यो ठाउँ जहाँ शिक्षा, सेवा र समर्पणका कथाहरू लेखिँदै छन्।
बिहीबार सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै दाङका हुम बहादुर डाँगीले भनेका शब्दहरूले हलमा उपस्थित सबैको मन छोयो। “म डाक्टर होइन। मलाई सुइ लगाउन आउँदैन। तर, घरमा सुइ लगाउने मान्छे होस् भनेर कर्णाली आएको हुँ,” उनले भनेका यी शब्दहरू धेरै अभिभावकको सपनाको प्रतिनिधित्व थिए।

हुम बहादुरकी छोरी वर्षा डाँगी, जुम्लामा बीएस्सी नर्सिङ पढ्न आएकी छिन्। उनले मात्र आफ्नो सपना बोकेर होइन, आफ्नो परिवारको विश्वास र आशा पनि लिएर आएकी छन्।
यस्तै कथा छ, सुरज उपाध्यायको। जुम्लाका सुरज पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीएच पढ्न आएका छन्। उनले भने, “म पहिले कुम्लो बोकेर जुम्लाबाट उच्च शिक्षा पढ्न काठमाडौं गएको थिएँ। अहिले काठमाडौंबाट उच्च शिक्षा पढ्न कुम्लो बोकेर जुम्ला आएको छु।” उनको यो भनाइमा एउटा परिवर्तनशील जुम्लाको झलक थियो।
कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकका आँखामा आशा र आत्मविश्वास झल्किन्थ्यो। प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले विद्यार्थीहरूलाई उदेश्य पूरा गर्न दृढ रहन प्रेरित गर्दै भने, “जुन उदेश्यले आउनुभएको छ, सोही अनुसार आनन्दले पढ्नुस्। उदेश्य पूरा गर्नुस्।”
विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलिरहेको भूमिकाबारे प्राध्यापक क्षितिज उपाध्यायले भने, “यहाँको एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ। पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ।” उनको यो भनाइले प्रतिष्ठानको शैक्षिक गुणस्तर र विद्यार्थीप्रतिको समर्पणलाई स्पष्ट पार्थ्यो।

प्रतिष्ठान पछिल्लो समय पठनपाठनमा देशमै उत्कृष्टता हासिल गरिरहेको प्रतिष्ठानका रेक्टर डबल बहादुर धामीले बताए। उनले भने, “विकटतामा रहेको यो संस्थान अहिले देशभरका विद्यार्थीका लागि भरोसाको केन्द्र बनेको छ।”
विद्यार्थीहरूको कथा यस कार्यक्रमको मुख्य आकर्षण थियो। रौतहटकी कृति यादव र झापाकी सृष्टि थापा मगर एमबीबीएस पढ्न जुम्ला आउँदा निकै उत्साहित देखिन्थे। “काठमाडौँ वा पोखरामा पढ्न चाहन्थेँ। तर, यहाँ आएकोमा कुनै पछुतो छैन। म अब यहाँबाट डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु,” कृतिले आफ्नो अनुभव सुनाइन्।
त्यस्तै, नवलपरासीका सागर विश्वकर्मा पनि देशको सेवा गर्ने दृढ इच्छासहित यहाँ पढ्न आएका छन्। उनले भने, “म प्रतिष्ठानबाट डाक्टर बनेर विकट ठाउँमा सेवा गर्न चाहन्छु। यहाँको वातावरणले मलाई आत्मविश्वास दिएको छ।”
लमजुङकी कोसिका रानाभाट पनि बीएस्सी नर्सिङ पढ्न आएकोमा खुशी देखिइन्। पोखराकी झरना गुरुङले भनिन्, “पोखरा जस्तो सुन्दर सहरबाट जुम्ला आउँदा कुनै न्यास्रो लागेन। यहाँको प्रकृति र साथीहरूको साथले मलाई नयाँ ऊर्जा दिने विश्वास छ।”

यी कथाहरूले जुम्लाको एउटा नयाँ रूप प्रस्तुत गर्छन्। जहाँ पहिले शिक्षा र सेवाका लागि काठमाडौं र पोखरा जस्ता सहर मात्र विकल्प मानिन्थ्यो, अहिले जुम्ला पनि उच्च शिक्षाका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो यात्रा सजिलो बनाएको छ। विकटको धरातलमा बसेर उत्कृष्ट शिक्षा दिनसक्ने यो प्रयासले कर्णालीलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई प्रगतिपथमा लैजाने मार्गचित्र तयार गरेको छ।
यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थी र अभिभावकलाई उत्साहित त बनायो नै, बरु देशभरबाट आएका नयाँ पुस्ताको अठोट, मेहनत र सेवाभावको प्रतिबिम्ब देखायो। कुम्लो बोकेर सपनाको खोजीमा आएका यी विद्यार्थीहरूको कथा जुम्लामा मात्र सीमित छैन। यो कथा हो, वास्तविकता हो, नयाँ नेपालको।
बिहिबार भएको अभिमुखिकरण कार्यक्रममा एमबीबीएस पढ्ने ४३ जना, बीपीएचका १५ जना, बी फार्मका १४ जना, बीएचसी नर्सिङका १७ जना र बीएनएसका १५ जनाले सहभागिता जनाएको स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।
