आईतवार, ७ पुष, २०८१

अपाङ्गता भएका मुकेन्द्रलाई घरमै शिक्षिका राखेर पढाइँदै

सावित्रीको समर्पण र मुकेन्द्रको जिज्ञासु स्वभावले शिक्षा मात्र नभई समानताको नयाँ ढोका खोल्ने काम गरेको छ। मुकेन्द्रका बुबा भद्रविर सार्कीले आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको बताए।

जुम्लाको तातोपानी–४ नियापानीका मुकेन्द्र सार्की, जो शारीरिक अपाङ्गताको कारण विद्यालयसम्म जान सक्दैनन्। तथापी उनको शिक्षा आर्जन गर्ने ढोका बन्द भएको छैन। उनी आफ्नो घरमै शिक्षाको ज्योति पाउँदैछन्।

शारीरिक र बोली सम्बन्धी समस्या भएका मुकेन्द्रको शिक्षा हासिल गर्ने इच्छाशक्ति देखेर सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले उनलाई घरमै शिक्षिका उपलब्ध गराएको छ।

यस अभियानअन्तर्गत सोही गाउँकी सावित्री नेपालीलाई मुकेन्द्रको व्यक्तिगत शिक्षिका नियुक्त गरिएको छ। सावित्रीले मुकेन्द्रलाई पढाउन पाउँदा आफूलाई खुसी लागेको बताउँछिन्।

अपाङ्गता भएका विद्यार्थीहरूले शिक्षामा संलग्न हुन पाउँदा आफ्नो पेशालाई सामाजिक रूपान्तरणको माध्यम बनाउन पाएको उनको अनुभव छ।

सावित्रीको समर्पण र मुकेन्द्रको जिज्ञासु स्वभावले शिक्षा मात्र नभई समानताको नयाँ ढोका खोल्ने काम गरेको छ। मुकेन्द्रका बुबा भद्रविर सार्कीले आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको बताए।

उनले भने, “पहिले छोराको शिक्षा त परै जाओस्, दैनिक क्रियाकलापमै समस्या थियो। तर, अहिले शिक्षिका र पालिकाको सहयोगले छोराको जीवनमा परिवर्तन आएको छ।”

उनका आँखामा देखिएको खुसीका आँसुले गाउँपालिकाको यो प्रयासको महत्त्व झल्काएको छ। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले मुकेन्द्रको जस्तो अपाङ्गता भएका बालबालिकाका लागि सेवा र सुविधाको ग्यारेन्टी गर्न आफूहरू कटिबद्ध रहेको बताए।

सहयात्रा परियोजनाले यस प्रक्रियालाई सहज बनाएको भन्दै उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा प्राथमिकता दिनु सामाजिक न्यायको अभिन्न हिस्सा भएको उल्लेख गरे।

“यस परियोजनाले मुकेन्द्र मात्र होइन, अपाङ्गता भएका अन्य व्यक्तिहरूको जीवनमा पनि परिवर्तन ल्याउने प्रयास गरेको छ,” अध्यक्ष चौलागाईंले भने, “शिक्षिकाको माध्यमबाट आधारभूत शिक्षा दिनुका साथै फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।”

मुकेन्द्रको घरमै शिक्षाका लागि गरिएको यो व्यवस्था शिक्षाको पहुँचको दृष्टान्त मात्र होइन, समान अवसर र सम्मानका लागि गरिनुपर्ने प्रयासको प्रतिक हो।

यस्तो खालको कामले केवल शारीरिक रुपमा असक्षम व्यक्तिहरूको जीवनमा सुधार ल्याउँद‌ैन। बरु समाजमा परिवर्तनको उदाहरण पेश गर्दछ।

समाजमा जातीय भेदभाव, गरिबी, र अपाङ्गता भएका व्यक्तिहरूप्रति हुने दयाभावलाई पराजित गर्दै उनीहरूको सम्मानजनक जीवन र अधिकार सुनिश्चित गर्न प्रयास गरिएको छ।

पालिकाले आगामी दिनमा यस्ता कामहरूलाई थप विस्तार गर्दै मुकेन्द्रजस्ता विद्यार्थीहरूलाई माथिल्लो कक्षामा पढ्नका लागि अवसर प्रदान गर्ने योजना बनाएको अध्यक्ष चौलागाईंले बताए।

उनका अनुसार शिक्षा कुनै वर्ग, जात वा अवस्थाले सीमित गर्न सकिने अधिकार होइन। मुकेन्द्रको कथा यस सत्यको पुष्टि हो। उनको दृढ इच्छाशक्ति र शिक्षिकाको निष्ठाको यो मिलन, गाउँको कुनामा शिक्षा र समताको झिल्को फैलाउँदैछ।

यो प्रयासले देखाएको छ, अपाङ्गता भएका व्यक्तिहरूलाई दयाभावले नभई उनीहरूको अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ। यसले समतामूलक समाजको निर्माणमा महत्वपूर्ण योगदान दिन्छ।

यसैले मुकेन्द्रजस्ता बालबालिकाको जीवनको यात्रालाई “सहयात्रा परियोजना”ले दिएको साथले समाजलाई प्रेरणा र नयाँ दृष्टिकोण दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार