सोमबार, ८ पुष, २०८१

चिलगाडीमा नेपालगन्ज टु हुम्ला

हुम्ला डायरी -२

सानो छँदा बुबा आमाहरु प्लेनलाई चील गाडी भन्थे। चील अर्थात् आकासमा उड्ने पंछि, गाडी अर्थात सामान र मान्छे दुबै बोक्ने सवारी साधन। हामी चील गाडी भित्र थियौं। त्यो आकासमा उडी रहेको थियोे। हामी अनि हाम्रो सामान बोकिरहेको पनि थियोे।

नेपालगन्जबाट हुम्ला यात्रा, गर्दा एक फरक र अनौठो अनुभव लिदै थियौं। जसले जीवनभरको स्मृतिमा गहिरो छाप छोड्छ भन्ने हामीलाई लागेको थियोे। यात्राले नेपालको हिमाली जीवन र कर्णालीका पवित्र हिमालहरूको बीचमा रहेको इतिहासको गहिराइलाई उजागर गर्नेछ भन्ने हाम्रो मत हो।

यसका हरेक घडिहरू, हरेक स्थान र त्यहाँका प्रत्येक व्यक्ति जोसँग हामी भेट्ने थियौं, त्यसले हामीले नयाँ ज्ञानसँग परिचित गराउनेवाला थियो। त्यसैले एक नयाँ कसिमको अर्थ र आशा बोक्दै अघि बढेका थियौं।

कार्तिक १२ गते जुम्लाबाट गएको रात बसेको गणपति होटलमा राती मच्छरले खुब सताए। १३ गते बिहान अलि कम भएपछि निदाएछौं। अबेरसम्म सुत्यौं। उठेर एयरपोर्ट जानू थियोे। हतारहतार तयार भयौं। एयरपोर्ट गयौं। टिकट पाइएन।

नेपालगन्जको गर्मीबाट बच्नको लागि हामी केही समय एयरपोर्टको छायाँमा बितायौं, तर त्यो समय पनि कठिन थियो। हिँड्न थालेका थियौं, पसिनाले शरीर भरि तराइको न्यानो महसुस गराउँदै थियो।

केही समयपछि हामी एयरपोर्ट चोकमा विश्राम गरिरहेका थियौं, अचानक हाम्रो भेट जुम्ला कुम्डी गाउँका क्षेत्र बहादुर भण्डारीसँग भयो। उहाँले नेपालगन्जबाट कर्णालीका विभिन्न जिल्लामा जाने टिकट मिलाउनु हुन्छ।

उहाँले देखाउनु भएको सहृदयीताले हामीलाई हुम्ला जान पाइनेमा विश्वास बढ्यो। उहाँको चित्ताकर्षक आत्मीयता र सहयोगका कारण हाम्रो आशा बढ्दै थियोे।

उहाँले एक दुई ठाउँमा फोन गरेर टिकटको कुरा गर्नुभयो। टिकट मिल्यो। हामी हुम्ला जान पाउने भयौं। अब एक दुई दिन ढिला भएपनि समस्या हुने थिएन। किनभने हामी जसरी पनि जान पाउने भइहाल्यौं। हामीले टिकटको पैसा समेत तिरिसकेका थियौं।

भोलिपल्ट बिहान छ बजेको फ्लाइट थियोे। दिनभर हामी फुर्सद थियौं। त्यसैले एयरपोर्टमै बस्यौं। यत्तिकैमा प्रदेश सभा सदस्य देवेन्द्र शाही बाइकमा आउनु भयो। उहाँसँग भेट भएपछि हामी राजनीति र समसामयिक विषयमा गफिन थाल्यौं।

उहाँका तर्क गम्भीर र विचारशील थिए। “हरेक विकास कार्यमा चाहे त्यो सानो होस् या ठुलो, सबैको योगदान महत्त्वपूर्ण हुन्छ। विकासका कार्यहरू व्यक्तिगत हैसियतका आधारमा माप्नु भनेको संकुचन हो। हामी सबैको सामूहिक प्रयासले राष्ट्रको विकासलाई गति दिन्छ,” उहाँले भन्नुभयो। यो जुम्लाका केही राजनीतिक नेताहरुप्रति लक्षित थियोे। जो हरेक काममा आफै जस लिन खोज्छन्।

मस्तै गफिएपछि हामी देवेन्द्र शाहीको घर गयौं। चिया खायौं। त्यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख मकेन्द्र शाही हुनुहुन्थ्यो। उहाँ सांसद शाहीको छोरी ज्वाईं हुनुहुन्छ। एकछिनको चिया गफ पछि हामी निस्कियौं।

प्रतिष्ठानको गाडी र चालक मोती न्यौंपानेसँग हामी नेपालगन्ज गयौं। खाना सँगै खाने कुरा थियो। खाना नखाएर विरयानी खाने योजना बन्यो। हामी नेपालगन्जको मुबारक विरयानीमा विरयानी खाने भनेर अघि बढ्यौं। मुबारक विरयानी नेपालगन्जको एउटा प्रमुख आकर्षण हो जसको स्वादको चर्चा अनेक तवरबाट सुनिन्थ्यो।

अमेरिकन राजदूतसमेत त्यस स्थानमा पुगेर विरयानी चाखेका थिए। हामी पनि त्यहाँ पुगेका थियौं, तर अफसोस कि हामी त्यहाँ पुग्दा विरयानी सकिसकेको रहेछ। थकथक लाग्यो।

हामीले विश्वचर्चित विरयानीको स्वाद लिन पाएनौं। त्यसपछि त्रिभुवन चोक आएर विरयानी खायौं। फर्किएर पुन: राँझा चोक नै आयौं। बुटवल होटेलमा बास बस्ने भयौं।

त्यो दिन महिला साफ च्याम्पियनसिपको फुटबलको फाइनल हुँदै थियोे। नेपाल र बंगलादेश भिड्दै थिए। नेपालको समृद्धि र अन्तर्राष्ट्रिय फुटबलको प्रगतिको चर्चाले हामीलाई आशावादी बनायो। तर बंगलादेशको उत्कृष्ट प्रदर्शनका कारण नेपाल हार्‍यो।

यो हार, हाम्रा लागि एक झट्का थियो, तर यसको एक गहिरो अर्थ पनि थियो, राजनीति र खेलकुदका परिणामहरू जस्तै, जीवनमा कहिलेकाहीँ हार र जीतको सिकाइ महत्त्वपूर्ण हुन्छ।

बिहान सबेरै उठ्यौं। तयार भयौं। प्लेेन हुम्ला जाने निश्चित भयो। हामी हुम्ला जान पाउने भयौं। डिप्याचर हलमा बसिसकेपछि उत्साह ह्वात्तै बढेको थियो। उत्साहित प्रकाश जीले एउटा देउडा गीत सुनाउनु भयो।
हुम्ला बाइजाउँ हुम्ली होइजाउँ, उन डोरी बाटन।
हातको रुमाल दिउँला, सउँराडी काटन।

गहिरो अर्थ बोकेको यो गीतमा प्रेमीले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई रुमाल चिनो दिने कुरा गरेको छ। सउँराडी भनेको याद हो। सम्झना हो। सँगै असिम माया हो। याद आएपछि हातको रुमाल हेर्नु भन्ने भाव मर्मस्पर्षी छ।

मलाई पनि हुम्ला बारे याद भएको एउटा गीत सुनाउन मन लाग्यो।
तल्लो बाटो तल्छेडेको, माझ बाटो हुम्लीको।
ताउलाखार लडाइँ भयो, नास पड्यो जुम्लीको।

यो गीत जुम्ला राज्य र गोर्खालीको लडाइँको समयमा गाइएको थियोे। त्यसबेला जुम्लीहरु खुब मारिएका थिए भन्ने लिखतहरु पाइन्छन्।

सीता एयर हुम्लाका लागि उड्यो। हामी उड्यौं। बच्चामा बुबा आमाहरु प्लेनलाई चील गाडी भन्थे। चील अर्थात् आकासमा उड्ने पंछि, गाडी अर्थात सामान र मान्छे दुबै बोक्ने सवारी साधन। हामी चील गाडी भित्र थियौं। त्यो आकासमा उडी रहेको थियोे। हामी अनि हाम्रो सामान बोकिरहेको पनि थियोे।

दिमागमा हुम्लाको नक्सा थियोे। ताँजाकोट, अदानचुली, सर्केगाड, चंखेली, खार्पुनाथ, सिमकोट र नाम्खा गरि छ वटा गाउँपालिका भएको हुम्ला साविकको कर्णालीको र देशकै दोस्रो ठूलो जिल्ला हो। हाम्रो मुख्य काम देशकै ठूलो भूगोल भएको नाम्खा गाउँपालिकामा थियोे। तर चिलगाडीले हामीलाई सिमकोटसम्म मात्रै लगिदिने थियोे। त्यसैले नाम्खासँगको निकटताका लागि केही दिनु कुर्नु थियो।

मेरो हतामा गोप्रो क्यामेरा थियोे। बेलाबेला हुम्लाका दृश्यहरु खिच्थेँ। मोबाइल पनि प्रयोग गरिरहको थिएँ। ताँजाकोट, अदानचुली, सर्केगाड, खार्पुनाथका दृश्यहरु चिलगाडीबाट हेर्न पाइने रहेछ। त्यसबाहेक सुदूरपश्चिमको बझाङ जिल्लामा पर्ने साइपाल हिमालको दृश्य पनि नजिकैबाट देख्न सकिने रहेछ।

हुम्लाका डाँडाकाँडाहरु असाध्यै तिखा लाग्यो। हिमचुचुराहरु खुकुरीका धारण जस्ता देखिन्थे। अग्ला लेखबाट गहिरो खोचमा भएको हुम्ला कर्णाली नदीको दृश्यावलोक कम्ता आनन्ददायी थिएन।

कतिकति बेला प्लेनको छायाँ हुम्ला कर्णालीमा समेत मिसिन पुग्थ्यो। त्यो हेर्दा चील जस्तै देखिन्थ्यो। ३५ मिनेट चिलगाडी भित्र बसेका हामीले सयौं किलोमिटरको यात्रा पूरा गरेका थियौं। यो अवधिमा हामीले कयौं हिम चुचुरा र पहाड छिचोल्यौं। हाम्रो मन उत्साहले छचल्किरहेको थियोे।

चिलगाडी सिमकोट एरपोर्टमा ल्याण्ड गर्‍यो। हामी ओर्लियौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला गएका रहेछन्। उनी सहितको टोली त्यही प्लेनमा चढ्यो। प्लेन उड्यो नेपालगन्जका लागि।

कर्णालीका कुनै पनि जिल्लाबाट सुर्खेतका लागि जहाज उड्दैन। अर्थात् राजधानी जान आउन पनि नेपालगन्ज अर्थात् लुम्बिनी प्रदेश नगइ सुख छैन। हामीलाई थोरै आत्मग्लानी भयो। मुख्यमन्त्री, मन्त्रीहरुलाई त्यस्तै लाग्दैन होला त? उनीहरुलाई लाग्दैन भने हामीलाई के बाल!

एरपोर्टमा हाम्रो पहिलो भेट कर्णाली प्रदेशका पहिलो सामाजिक विकास मन्त्री दल रावलसँग भयो। उहाँले हामीलाई न्यानो स्वागत गर्नुभयो। उहाँको आत्मीयता र गर्मजोशीले हामीलाई निकै प्रभावित गर्‍यो। हामीले उहाँसँग तस्विर खिच्यौं र यसमा अरु साथीहरू पनि सामेल भए।

पछि, हामी कैलाश होटल पुग्यौं, जहाँ हामीले केहि समय विश्राम गर्‍यौं। हाम्रो तस्बिर फेसबुकमा राखेपछि, रामसिंह रावल दाइको म्यासेज आयो। उहाँले सोध्नुभयो, “छक्क लामासँग भेट भयो?” मैले भएन भनेर जवाफ दिएँ, तर उहाँले तुरुन्तै फोटो पठाउँदै छक्क लामासँगको तस्बिर देखाइदिनुभयो। उहाँ त हाम्रै छेउमा उभिनु भएको रहेछ।

त्यसपछि, थाहा भयो हामीले छक्क लामासँग भेट गरिसकेछौं। अनायासै भएको यस घटनाले हाम्रो हुम्ला बसाइँलाई अझ रोमाञ्चक बनाउनेवाला थियोे। मेरो मनमा यस्तै कुरा खेलिरहेका थिए।

हामीले यात्रा गर्ने क्रममा यस्ता धेरै अनौंठा संयोगहरूको सामना गर्नेछौं भन्ने लाग्यो। जसले हाम्रो यात्रा अझ समृद्ध बनाउने निश्चित थियोे।

मैले फोटो देखाउँदै हाम्रो छेउमा उभिएका छक्क लामासँग भेटेछौं भनेर प्रकाश जीलाई सुनाएँ। उहाँले छक्क लामाको ज्ञान राम्रो छ भेट्नुपर्छ है भन्नुभयो। दिउँसो दल रावल र उहाँलाई भेट्ने योजना सहित पहिलो पटक हुम्ला पुगेका हामीले हुम्लामा पहिलो छाक खाना खायौं।

हुम्लामा खानाको स्वाद र कर्णालीको दृश्यावलोकन हाम्रो मनमा एक अमिट छाप बनि बस्यो। हुम्लाको पहाड र घाटीको बीचमा बाँचिरहेको जनजीवन तथा त्यहाँका मानिसहरूको सभ्यता र संस्कृतिको सुगन्धले हामीलाई समीप लिन खोजिरहेको थियो।

यो यात्रा केवल भौतिक दूरी थिएन, बरु नयाँ सिकाइ र नयाँ अनुभूति हो। जसलाई अनुभूत गर्नु पाउनु पनि सुखद संगोग हो। जुन हामी दुईलाई प्राप्त भएको थियोे।

यो पनि पढ्नुस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार