हुम्ला डायरी -१
देशकै ठूलो भूगोल भएको नाम्खाको जनजीवन कठिनाइले भरिएको छ। आधारभूत स्वास्थ्य सेवा पाउन पनि धेरै मानिसहरूले हप्तौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यताहरु छन्।
कहिलेकाहीँ जीवनमा कुनै प्रस्ताव यस्ता आउँछन्, जसले हाम्रो दैनिकीलाई पूरै बदल्न सक्छ। त्यही भयो मेरो र सहकर्मी प्रकाश उपाध्यायजीको साथमा।
कार्तिक १२ गतेको साँझ, हामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले हुम्ला जाने प्रस्ताव गर्नुभयो। यस अघि मलाई उपकुलपति डा. मंगल रावलले अनुकुल मिल्छ भने हुम्ला जाउँ भन्नुभएको थियोे। तर यात्रा हुने नहुने अनिश्चित नै थियोे।
हुम्ला जाने प्रसंगले हामी अत्यन्त उत्साहित भयौं। हालसम्म सडक संजालले नजोडिएको देशको एकमात्र जिल्ला हुम्लामा यतिबेलै घुम्न पाउनु कयौं अनुभूतिहरु संग्रह गर्नु हो भन्ने प्रकाशजीको बुझाइ थियोे। त्यसमा सहमत थिएँ म।
यो यात्रा स्वास्थ्य शिविरको रिपोर्टिङको लागि तय गरिएको थियो। सँगसँगै हामी नयाँ अनुभूति संगाल्नेवाला थियौं। हुम्लाको नाम्खा गाउँपालिकाको आयोजनामा कर्णाली स्वास्थ्य प्रतिष्ठानले विशेषज्ञ चिकित्सकहरूको टोली पठाएर सर्जरी शिविर सञ्चालन गर्न लागेको थियो।
नाम्खा गाउँपालिकामा यस्तो शिविर आयोजना हुनु त्यहाँका जनताको स्वास्थ्य जीवनमा ठूलो परिवर्तन ल्याउने प्रयास थियो। यो प्रयासमा विगतका वर्षदेखि निरन्तर चलिरहेको छ।
तर, यस यात्राले हामीलाई व्यक्तिगत रूपमा भने चुनौनी नै दिएको थियोे। दुर्गम, समय अभाव र तयारीको हतारोबीच सुरु गर्नुपरेका यात्राका अनेक कठिनाइ थिए। यी सबैले यात्रा सुरु गर्नुअघि नै मेरो र प्रकाशजीको मनमा अनेक भावना ल्याइसकेको थियो।
हाम्रो पेसा पत्रकारिता हो। तर, देशको विकट र दुर्गम भूभागमा जाने मौका भने बारम्बार आउने कुरा होइन। जब प्रस्ताव आयो, हामीले बिना समय गुमाई यो अवसर स्वीकार गर्यौं। यसअघि कहिल्यै नदेखेको हुम्लामा जाने सोच मात्रले हामीलाई रोमाञ्चक र जिज्ञासु बनाएको थियोे।
हुम्ला, विशेष गरी नाम्खा गाउँपालिका देशको केन्द्रदेखि दुर्गम र विकट ठाउँ हो। देशकै ठूलो भूगोल भएको त्यहाँको जनजीवन कठिनाइले भरिएको छ। आधारभूत स्वास्थ्य सेवा पाउन पनि धेरै मानिसहरूले हप्तौँ लगाएर यात्रा गर्नुपर्ने बाध्यताहरु छन्।
यही कारणले त्यहाँ हुने स्वास्थ्य शिविरको महत्त्व झन् बढी थियो। यसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ टोली पठाएर महत्त्वपूर्ण भूमिका खेलिरहेको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयले हामीलाई यात्रा तय गर्ने हिम्मत मिल्यो। नाम्खाले हाम्रो बसाइको व्यवस्थापन गर्ने, हामीले शिविरको सबै जानकारी उपलब्ध गराउने र आवश्यक सहयोग पुर्याउने भएकाले हाम्रो जिम्मेवारी रिपोर्टिङमा केन्द्रित थियो।
जुम्लादेखि हुम्ला पुग्ने दुई विकल्प थिए। पहिलो विकल्प, गाडीबाट यात्रा गर्नु। तर यो विकल्प साह्रै कठिन थियो। बाटो साँघुरो र जोखिमपूर्ण थियो। गाडीको यात्रा गर्दा ठाउँठाउँका नदीमा पुल नभएको हुनाले पल्टी गरेर जानुपर्ने बाध्यता थियोे। अर्को समस्या, समयको अभाव थियोे। त्यसैले हामी गाडीको विकल्प रोज्न तयार भएनौं।
हामीले हवाई यात्रा रोज्यौं। छोटो अनि अपेक्षाकृत सुरक्षित यात्रामा हामीले समय बचाउने लक्ष्य राख्यौं। तर, जुम्ला एयरपोर्टमा पुगेपछि टिकट पाउने समस्या हाम्रो पहिलो चुनौती बन्यो।
जुम्ला एयरपोर्टमा यात्रुको उच्च चाप थियो। एयरपोर्ट यात्रुहरूको घुइँचोले भरिएको थियो। अधिकांश टिकटहरू पहिले नै बुक भइसकेका थिए। हामी बिहानै पुगेका थियौं, तर दिउँसोसम्म पनि टिकटको टुंगो लाग्न सकेको थिएन।
बिहानदेखि हामी एयरपोर्टमै थियौं। सुरुमा हामीलाई टिकट पाउने सम्भावना अत्यन्तै न्यून देखियो। समय बित्दै जाँदा हाम्रो धैर्यताको परीक्षा भइरह्यो।
मध्याह्नतिर सिरियस बिरामीको कुरुवाको रूपमा एकजना जाने कुरा भयो। ती बिरामीका आफन्त नेपालगन्जमा भएका हुनाले हामीले हवाइजहाज भित्रको रेखदेख गरे पुग्ने थियोे। बिरामीका आफन्तले बिरामी हाम्रो जिम्मा लगाएपछि उनीहरुको खर्च जोगियो। हामी एक जनाको टिकट भयो।
यो समाधानले हाम्रो समस्या पूर्ण रूपमा समाधान गरेन। म एक्लै जाने कुराले तनाव भइरहेको थियोे। तर, परिस्थितिले हामीलाई साथ दियो। ठीक त्यही बेला, एकजना विदेशी यात्रुले आफ्नो टिकट रद्द गरे। यो घटनाले हामी दुबैलाई हुम्ला जाने अवसर दियो। अर्थात् हामी नेपालगन्ज जान पाउने फिक्स भयो।
टिकट सुनिश्चित भएपछि सबै कुरा हतारहतारमै भयो। बिहानैदेखि यात्राको तयारी गर्ने समय नपाएका कारण सामान प्याक गर्न र आवश्यक सामग्री संकलन गर्न निकै दौडधुप गर्नुपर्यो।
मैले रामसिंह रावल दाइलाई फोन गरेँ। उहाँले आफ्नो बाईकमा मलाई बोहरागाउँ स्थित हाम्रो घरमा ल्याइदिनुभयो। मैले हतारमै भए पनि आफ्नो सामान प्याक गर्न सकेँ। उहाँले मलाई आफ्नो ट्रेकिङ झोला दिनुभयो। समान बोकेर हामी एयरपोर्ट गयौं।
यो सब गर्न खोज्दा खाना समेत खान पाइएको थिएन। यात्राको तयारीमा केन्द्रित हुँदा शरीर थाकिसकेको थियो। तर, मनभित्र रहेको उत्साहले कमजोर हुन दिएन।
यता, प्रकाशजी पनि त्यसरी नै तुफानी वेगमा तयारीमा जुट्नुभयो। हामी दुबै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध थियौं। जुम्लादेखि नेपालगन्जसम्मको हवाई यात्रा छोटो भए पनि अत्यन्तै रमाइलो भयो।
विमानभित्रबाट बाहिर देखिने दृश्यले हाम्रो थकान केही हदसम्म कम गर्यो। हामीले कालिकोट, दैलेख र सुर्खेतका विभिन्न भूभाग र डाँडाकाँडहरुको हवाइजहाजबाटै अवलोकन गर्यौं। त्यहाँका मनमोहक दृश्यहरूले मन चंगा बनायो।
नेपालगन्ज हाम्रो यात्राको दोस्रो खुट्किलो थियो। यो सहर हुम्ला लगायत कर्णालीका विकट क्षेत्रको प्रवेशद्वार हो। त्यहाँबाट कर्णालीको विभिन्न जिल्लामा हवाई यात्रा गर्न सकिन्छ। नेपालगन्ज पुग्दा हामी दुबै थकित थियौं।
नेपालगन्जमा झर्दा साँझ पर्न आँटेको थियो। हामीले कुनै नयाँ ठाउँ घुम्ने सोच गरेका थिएनौं। हाम्रो प्राथमिकता विश्राम र भोलिको यात्राको तयारी थियो। हामी न्युरोडस्थित गणपति होटलमा बस्यौं। होटल मध्यम खालको थियो।
तर किन किन बाहिर निस्कन मन लागिहाल्यो। केहीबेर नेपालगन्ज स्थित धम्बोजी चौक, सेतु विक चौक आदि ठाउँको अवलोकन गर्यौं। नेपालगन्जको ठेलामा पाइने माछा मेरा फेवरेट थिए। मैले त्यो स्वाद प्रकाशजीलाई पनि लिन अनुरोध गरेँ।
त्यसपछि हामी पुन: होटेलमै आयौं। होटलको कोठामा केहीबेर विश्राम लिएपछि खाना खायौं। लामो समयसम्म खानाबिनाको थकानले शारीरिक रूपमा हामीलाई कमजोर बनाइसकेको थियो।
नेपालगन्ज पुगेपछि मात्रै हामीले आफ्नो परिवार र साथीभाइलाई आफ्नो यात्राबारे जानकारी दिन समय निकाल्यौं। साथीभाइले समयमै खबर नगरेकोमा असन्तोष जनाए। उनीहरूलाई हाम्रो हुम्ला जाने उद्देश्य थाहा भएपछि रिस तुरुन्तै उत्साहमा बदलिएला सोचेका थियौं। त्यसो हुन सकेन।
यो यात्रा हाम्रा लागि साह्रै रोचक थियो। कर्णालीका विकट क्षेत्रको हाम्रो रिपोर्टिङले साथीहरुलाई नयाँ जानकारी दिउँला भन्ने लागेको थियोे। त्यो कुरा मनमै रह्यो।
त्यो रात, हामीले हुम्ला यात्राको विस्तृत योजना बनाउन सुरू गर्यौं। हामीले हाम्रो रिपोर्टिङको तरिका तय गर्यौं। मैले सकेसम्म धेरै लेख्ने र उहाँले भिडियो बनाउने भन्ने थियोे। प्रकाशजीले नाम्खा गाउँपालिकाको भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबारे मलाई थप जानकारी दिनुभयो।
होटलको शान्त वातावरणमा हामीले हुम्ला यात्रा कस्तो हुने हो भनेर सोच्यौं। नाम्खा गाउँपालिकाका जनताको जीवनशैली, त्यहाँको प्राकृतिक सुन्दरता र स्वास्थ्य शिविरको प्रभावबारे मनमा अनेक कुराहरु खेलिरहेका थिए।
यो यात्रा मेरो र प्रकाशजीको लागि पेशागत जिम्मेवारी पूरा गर्ने एउटा मौका थियो। तर यससँगै, यो व्यक्तिगत रूपमा हाम्रो लागि हुम्ला र त्यहाँका जनताको जीवन नजिकबाट बुझ्ने अवसर पनि थियो।
त्यो रात नेपालगन्जको होटलमा हामी दुबै निकै थकित थियौं। त्यसमाथि राती लामखुट्टेले खुब सताए। तर, हुम्ला जाने उत्साहले हामीलाई सबै कुरा फिक्का लागिरहेका थिए।
नेपालगन्जसम्मको यात्रा थकान र कठिनाइले भरिएको भए पनि हाम्रो मनभित्रको उत्साह अटल थियो। हुम्लाको त्यो अनछुँटो भूभागमा पाइला राख्ने सोच मात्रले हामीलाई प्रेरित गरिरहेको थियो।
अर्को दिन बिहान हामीलाई हुम्ला जाने हवाईजहाज बारे बुझ्नु थियो। हुम्लाले हामीलाई नयाँ अनुभव, चुनौती र प्रेरणा दिने विश्वास थियो। तर हाम्रो यात्रा अब सुरु भइसकेको थियो। यो यति छिटै सकिनेवाला छैन। बाँकी दिन स्मृतिमै छन्। कुर्दै गर्नुनुहोला है त।