सायणाचार्यको वेदभाष्यलाई पाश्चात्य विद्वान्हरूले समेत अत्यन्त प्रामाणिक मानेका छन्। प्रा. विल्सनले सायणाचार्यको वेदज्ञान युरोपेली विद्वान्हरूले बराबरी गर्न नसक्ने स्तरको भएको उल्लेख गरेका छन्। प्रा. म्याक्समूलरका अनुसार सायणाचार्यको भाष्य बिना वेदार्थको गहिराइमा प्रवेश सम्भव नै छैन।
वेद लौकिक तथा अलौकिक ज्ञानका आधारस्तम्भ हुन्। हिन्दू दर्शन र जीवनपद्धतिमा वेदलाई सर्वोच्च स्थान दिइएको छ। मनुस्मृति (२.६) मा भनिएको छ,
“वेदोऽखिलो धर्ममूलम्”
अर्थात् सम्पूर्ण धर्मकर्मको मूल वेद नै हुन्।
धर्मसम्बन्धी यथार्थ जिज्ञासा गर्ने व्यक्तिका लागि वेद नै सर्वोच्च प्रमाण भएको कुरा मनुस्मृति (२.१३) मा स्पष्ट उल्लेख गरिएको छ,
“धर्मजिज्ञासमानानां प्रमाणं परमं श्रुतिः।”
आर्य विद्यासुधाकरका अनुसार, धर्म, अर्थ, काम र मोक्ष, यी चार पुरुषार्थको सम्यक् ज्ञान प्रदान गर्ने र चतुर्वर्ग प्राप्तिको साधनरूप ग्रन्थ नै वेद हुन्। यसै सन्दर्भमा वेदका सुप्रसिद्ध भाष्यकार सायणाचार्य भन्नुहुन्छ,
“इष्टप्राप्त्यनिष्टपरिहारयोरलौकिकमुपायं यो ग्रन्थो वेदयति स वेदः।”
अर्थात् इच्छित फल प्राप्ति र अनिष्टको परिहारका लागि मानव बुद्धिभन्दा परको अलौकिक उपाय बताउने ग्रन्थ नै वेद हो।
निरुक्तमा वेदलाई सद्विद्या प्रदान गर्ने, ज्ञानको बोध गराउने र मानवलाई विद्वान् बनाउने स्रोतका रूपमा व्याख्या गरिएको छ। वेद अपौरुषेय, अनादि र ईश्वरीय ज्ञान हुन्, जसलाई सबै विद्याको मूल स्रोत मानिन्छ।
मनुस्मृति (१२.९७) अनुसार चार वर्ण, तीन लोक, चार आश्रम तथा भूत, वर्तमान, भविष्यसम्बन्धी सम्पूर्ण व्यवस्थाको आधार वेद नै हुन्। गीता (३.१५) मा भगवान् श्रीकृष्णले कर्म र यज्ञको उत्पत्ति वेदबाट भएको स्पष्ट पार्नुभएको छ।
ऋग्वेद (१०.११४.८) मा वेदवाणीलाई ब्रह्म र आकाशसरह व्यापक बताइएको छ। महर्षि दयानन्द सरस्वतीका अनुसार वेद ज्ञान, विज्ञानका भण्डार हुन्, जसबाट ईश्वर, जीव र प्रकृतिको यथार्थ बोध हुन्छ।
निरुक्तकार आचार्य यास्कले अर्थ नबुझी वेदपाठ गर्नु केवल भार बोक्नु सरह हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार अर्थसहितको वेदज्ञानले इहलौकिक र पारलौकिक दुवै कल्याण सुनिश्चित गर्दछ।
सायणाचार्यको वेदभाष्यलाई पाश्चात्य विद्वान्हरूले समेत अत्यन्त प्रामाणिक मानेका छन्। प्रा. विल्सनले सायणाचार्यको वेदज्ञान युरोपेली विद्वान्हरूले बराबरी गर्न नसक्ने स्तरको भएको उल्लेख गरेका छन्। प्रा. म्याक्समूलरका अनुसार सायणाचार्यको भाष्य बिना वेदार्थको गहिराइमा प्रवेश सम्भव नै छैन।
श्रीमद्भागवतमा वेदलाई प्रत्यक्ष नारायणस्वरूप मानिएको छ। वेदले निर्देश गरेका कर्म धर्म हुन् र त्यसको विपरीत अधर्म। वेद स्वयंलाई ‘ब्रह्म स्वयम्भू’ पनि भनिएको छ।
मनुस्मृति (२.६) अनुसार वेद, वेदज्ञ ऋषिहरूका स्मृति, शील, आचार र साधुजनको आत्मसन्तोष, यी सबै धर्मका मूल आधार हुन्। धर्मको अर्थ प्रजालाई धारण गर्ने शक्ति हो, जसबाट अभ्युदय र निःश्रेयस प्राप्त हुन्छ।
वेद आत्मज्ञानको स्रोत हुन्। “अनन्ता वै वेदाः” भनिएझैँ ज्ञान अनन्त भएकाले वेद पनि अनन्त छन्। कुनै एक शाखामा नै सम्पूर्ण वेदको सार समेटिएको हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले आफूलाई प्राप्त वेदशाखाको अध्ययन गर्नु आवश्यक मानिन्छ।
जसरी अन्धकार हटाउन प्रकाश आवश्यक हुन्छ, त्यसरी नै धर्म अधर्म र ज्ञानका विषयमा वेद स्वतः प्रमाण हुन्। आदि शंकराचार्यले वेदलाई धर्म र अधर्मका विषयमा सूर्यको प्रकाशसरह स्वतन्त्र प्रमाण मानेका छन्।
अतः वेदको नित्य अध्ययन, अध्यापन, स्वाध्याय र वेदनिर्दिष्ट कर्मको आचरण मानव जीवनका लागि श्रेयस्कर मार्ग हो। वेद ईश्वरीय आदेश हुन् र त्यसअनुसारको जीवनपद्धति नै मानवलाई सत्य, ज्ञान र मोक्षतर्फ उन्मुख गराउने आधार हो।














