चिताई र डोल्फुका ती चिसा साँझहरूमा मैले अनुभूति गरेँ, विकास भनेको मात्र योजना होइन, साझा सपना हो, जसमा सबैको हस्ताक्षर चाहिन्छ। सक्कली, नक्कली होइन। मुगु, चिताई र डोल्फुको यात्रा केवल प्राकृतिक सुन्दरता हेर्न वा कठिनाइ सहन मात्र थिएन।
यो डायरी केवल एक सामान्य यात्राको वर्णन मात्र होइन, यो राज्यबाट वञ्चित समुदायहरूको जीवन, आकांक्षा र सहजीकरणको साक्षी पनि हो। मैले विगत दुई दशकदेखि कर्णाली क्षेत्र र त्यस्ता बहिष्कृत तथा सामाजिक रूपमा पिछडिएका समुदायहरूलाई सशक्त बनाउँदै उनीहरूका मौलिक अधिकारहरू, विशेष गरी विकासको अधिकार दाबी र अभ्यास गर्न सहजीकरण र सहयोग गर्दै बिताएको अनुभवलाई यस डायरीमा समेटेको छु।
कर्णालीका यी दुर्गम भेगहरूमा काम गर्दा मैले त्यहाँका स्थानीय समुदायहरूको जीवनशैली, चुनौतीहरू र विकासका आकांक्षाहरूलाई नजिकबाट अनुभव गर्ने अवसर पाएँ। यी क्षेत्रहरू राष्ट्रिय विकासको मुख्यधाराबाट अलग्गिएका, स्रोत र अवसरको अभावले ग्रस्त, सामाजिक, भौगोलिक र आर्थिक हिसाबले अत्यन्तै दुर्गम छन्। यद्यपि, त्यहाँका मानिसहरूमा विकासप्रतिको सशक्त इच्छा र सपना झल्किन्छ। यो डायरी त्यही यात्रा र अनुभूतिहरूको प्रतिबिम्ब हो—जहाँ विकास मात्र नभई समानता, न्याय र समुदायको आत्मनिर्भरतामा पनि जोड छ। मेरो यो डायरीको पहिलो शृङ्खला मुगु, चिताई र डोल्फुको यात्राबाट सुरु गरेको छु।
शुरु गरौँ,
२०६२ सालको फागुन सुरु हुने बेलातिरको कुरा हो। करिब चौध दिनको लामो, रोमाञ्चक र कहिलेकाहीँ थकाइले भरिएको पदयात्रापछि हामी ढिलो साँझतिर मुगुको मुगु गाउँमा पुगेका थियौँ। दिनभरको कठोर यात्रा र जङ्गली बाटाहरू पार गर्दै, अन्ततः जब हामी गाउँ नजिक पुगेका थियौँ, सूर्य पश्चिमको क्षितिजमा अस्ताउन थालेको थियो। लखतरान शरीरले थकाइको सास फेर्दै थियो, तर त्यो दृश्यले हाम्रो मनलाई एक किसिमको अवर्णनीय रोमाञ्चले भरिदिएको थियो।
अग्ला–अग्ला हिमाली डाँडाकाँडा र भीरपर्वतहरूको काखमा अडिएको मुगु उपत्यका त्यो बेला स्वर्गको कुनै टुक्राजस्तो देखिएको थियो। मुगु–कर्णाली नदी—यस क्षेत्रको जीवनरेखा—नदीको स्वच्छ पानीमा झल्किएको सूर्यको सुनौलो झुल्को, अनि किराँती रङले रङ्गिएको आकाशको पृष्ठभूमिमा देखिएको त्यो प्रतिबिम्ब; शब्दले वर्णन गर्न नसक्ने सौन्दर्य थियो त्यो।
दिनभर हामी भयावह र साँघुरा खोँचहरू हुँदै बगेको कर्णालीको किनारैकिनार हिँडिरहेका थियौँ। शरीर जति थकित थियो, मन त्यति नै उत्साहित। साँझपख जब पाँजुलो भेगमा घुम्ती मोड्दै अगाडि बढ्यौँ, हाम्रो अगाडि मुगुको मुगु गाउँ शान्त रूपमा फैलिएको थियो—नदीको बगरसँगै लस्किएको गाउँ, केही धुप्प टिनका घरहरू, अनि सुस्ताउँदै बगिरहेको कर्णाली। त्यो क्षणमा मुगु गाउँ एक मिनी–जुम्लाजस्तो लाग्यो—परिचित तर अनौठो, टाढा तर आत्मीय।
फागुन महिना सुरु भइसकेको थियो। हिमाली चिसो अझै घटेको थिएन। चिसो हावाले हातका रौँहरू सुख्खा पातजस्तै कठोर बनाइसकेको थियो। तर त्यो शीतल बतासले हामीलाई हल्का टोक्दै भनिरहेजस्तो लाग्थ्यो—“लौ, जुम्लामा स्वागत छ!” त्यो क्षण निकै आत्मीय लाग्यो, लगभग भावुक। तर एकाएक झसङ्ग भएँ—यथार्थले सम्झायो, “ओहो! यो त जुम्ला होइन, मुगु पो रहेछ त!”
गाउँभित्र पाइला टेकेसँगै साँझको गह्रौँ सन्नाटा र चिसो हावाले स्वागत गरेझैँ लाग्यो। तामाङ, लामा र भोटे समुदायका घरहरूबाट फलामका चुल्हामा दाउरा सल्किएर निस्किरहेको बाक्लो धुवाँ बिस्तारै आकाशिएको थियो—उकालो लाग्दै आकाशलाई छोइहाल्ने हो कि जस्तो गरी। ती धुवाँका लहरहरू घरका छानाबाट झलक्क उक्लँदै जाँदा आकाशमा रहस्यमयी आकृतिहरू बनेका देखिन्थे—कहिले अजङ्गको सर्पजस्तो, कहिले उड्न तम्सिएको चराको पखेटाजस्तो।
गाउँको पुरानो लय र धुवाँको त्यो शान्त, लयबद्ध नृत्यले मनलाई एक किसिमको आत्मीयता र सौम्यता दिन्थ्यो। तर जति रमाइलो लागे पनि, बास बस्ने ठाउँको टुङ्गो नलाग्दासम्म मन एकप्रकारको छटपटीमा अल्झिएको हुन्थ्यो—थकाइ, थकान र अनिश्चयबीचको द्वन्द्वजस्तो।
सौभाग्यवश, गाउँको बीच भागमा अवस्थित एउटा घरमा हामीलाई रात बिताउने निम्तो मिल्यो। ढुङ्गा र माटोको मेलबाट बनेको त्यो घर, युगौँदेखि उभिएझैँ शान्त र मजबुत देखिन्थ्यो। भित्र पस्दा फलामको हिटरले बाक्लो चिसोलाई पराजित गर्न उद्यत भइसकेको थियो। त्यसले न केवल कोठालाई तताएको थियो, न केवल शरीरलाई, तर एकप्रकारको सुरक्षित अनुभूति पनि दिएको थियो—मानौँ त्यो हिटरको तापमा हामीले मुगुको आत्मीयता महसुस गरिरहेका थियौँ।
जति थाके पनि समयले भने कामको सम्झना गराइरहन्थ्यो। खानतिर ध्यान गइहाल्नुपर्ने बेला थियो, तर त्यसभन्दा पहिला गारो गर्यो ‘कर्तव्यबोध’ले। त्यसैले स–साना सास तान्दै, केही मन थाम्दै, हामी गाउँ समाजसँगको छलफलमा जुट्यौँ—जहाँ केवल शारीरिक उपस्थितिले पुग्दैनथ्यो, चाहिन्थ्यो संवाद, समझदारी र संवेदनशीलता।
कुरा सुन्दै जाँदा अचम्म लाग्यो—हामीले आँखा अगाडि देखिरहेको यो सुन्दर गाउँ त केवल ‘गाउँ’ रहनेछैन, स्मृतिको गाउँ पो बनिसकेको रहेछ! स्थानीयहरूसँग कुराकानी गर्दै जाँदा थाहा भयो, गाउँको आधाभन्दा बढी जनसङ्ख्या त अहिले काठमाडौँ वरपर समाहित भइसकेको रहेछ। फर्किने वा नफर्किने भन्ने विषय भविष्य र समयको हातमा राखेर।
यता गाउँमा बाँकी रहेका परिवारहरूले भने, थोरै जमिन, चौँरी र भेडापालन अनि सीमित व्यापारमार्फत जीवनको गाडी गुडाइरहेका छन्। जाडो महिनाको कठोर मौसम थाम्न नसकेर धेरैजसो परिवारहरू त यतिबेलै ताला लगाएर ‘तल्लो’ ठाउँतिर झरिसकेका रहेछन्। त्यसैले गाउँ एकप्रकारको मौनता ओढेर बसेको थियो—छरछिमेक सुनसान, बारी र पाटीहरू ओइलाएजस्ता, रित्तो जिन्दगीको सङ्केतजस्तै।
तर यो शून्यताभित्र गहिरो खोज र संवादको क्रम भने जारी रह्यो। हामीले गाउँमा रहेका विविध समस्या, ती समस्या समाधानका प्रयास, स्थानीय रीतिरिवाज, संस्कृति, अनि आधारभूत पूर्वाधारको अवस्थाबारे गहिरो रूपमा छलफल गर्यौँ। गाउँको विकास यात्राको पृष्ठभूमिमा अझै अघोषित अविश्वास र डरको छायाँ बाक्लिँदो देखिन्थ्यो।
यसको एउटा कारण थियो—त्यस बेलासम्म माओवादी द्वन्द्व त सकिएको थियो, तर त्यसको भय, अविश्वास र त्रासको अवशेष अझै मन–मस्तिष्कमा जीवित थियो। गाउँलेहरू बाहिरी मानिसहरूसँग खुल्दैनथे; बोले पनि निकै नापजोख गरेर, शब्दहरू छानेर मात्र। हरेक प्रश्नको उत्तर दिनुअघि उनीहरूको आँखामा सङ्शय, विगतका पीडा र वर्तमानको सन्त्रास झल्कन्थ्यो।
गाउँमा समस्या थिएन भन्नु त मानौँ आँखा चिम्लेर अन्धकार नदेखेझैँ हुन्थ्यो। सिँचाइ कुलोहरू पुराना र जीर्ण भइसकेका थिए, कतै माटोले पुरिएको त कतै पानी नै आउँदैनथ्यो। खानेपानीको अवस्था झन् जटिल—जसोतसो मेलापात गरेर ल्याइएको पानी पनि कहिलेकाहीँ मेल नखाने। बिजुली बत्तीको कुरा गर्दा, त्यहाँको माइक्रो हाइड्रो प्लान्ट बिग्रिएको अवस्थामा लामो समयदेखि थन्किएको थियो। विद्यालयको संरचना जस्ताको तस्तै थियो—कक्षाकोठा अपुग, शिक्षकहरू अस्थायी र स्रोतसाधन सीमित। अनि आयआर्जनका वैकल्पिक उपायहरू त कागजमै सीमितजस्ता लाग्थे।
यी सबै बहसहरूबीच, गाउँका अग्रजदेखि युवासम्मको साझा सहमतिमा पहिलो प्राथमिकताका रूपमा बिग्रिएको माइक्रो हाइड्रो मर्मत गर्ने निर्णय गरियो। गाउँको बुझाइ स्पष्ट थियो—बिजुली भएपछि एउटा त उज्यालो हुनेछ, जसले साँझपख बालबालिकालाई पढ्न सहज बनाउनेछ; अर्कोतिर अन्य साना उद्योग, सेवा र रोजगारीका सम्भावनाहरू पनि उज्यालोको किरणसँगै फक्रन थाल्नेछन्।
गाउँमा विद्यालय वा सिँचाइलाई तत्कालीन प्राथमिकतामा नपरे पनि, चौँरीपालनप्रतिको उत्साह भने उल्लेखनीय थियो। यो केवल परम्परागत जीविकाको आधार मात्र थिएन, बरु संस्कृति, परम्परा र पहिचानसँग पनि गहिरो गाँसिएको विषय थियो।
गाउँको आन्तरिक संरचना, स्थानीय राजनीति, र सामाजिक–सांस्कृतिक समझबिना बाहिरबाट गरिएको सल्लाह कतै अनौठो र असजिलो लाग्ने अवस्था थियो। त्यसैले, भोलिपल्ट प्राथमिकतामा परेका क्षेत्रमा स्थलगत अवलोकन गरेर मात्र अन्तिम निर्णय गरौँ भन्ने सहमति बनाइयो।
लगत्तै छलफलको केन्द्रविन्दु लगानीमा पुग्यो। “प्रोजेक्ट आउँछ रे” भन्ने सुनेर होला, तर स्थानीयस्तरमा लगानी गर्न सक्ने वा इच्छुक व्यक्तिको अभाव देखियो। सामुदायिक सहभागिताका कुरा गर्दा पनि, जोसजाँगरको खासै उत्साह देखिएन। सानो गाउँ भए पनि पूर्वाधार विकासमा लाग्ने खर्चप्रति समुदायको आर्थिक संलग्नता त्यति सम्भव र व्यवहारिक नदेखियो।
तर, सकारात्मक पक्ष के भने—भौतिक श्रम, जनशक्ति र स्थानीय स्रोतको प्रयोग गर्न समुदाय इच्छुक थियो। सबैले सर्वसम्मतिले भने—“पैसा नभए पनि, जति सकिन्छ, गारो बाँध्न, ढुङ्गा बोक्न, घाँसे थुन बुन गर्न हामी तयार छौँ!”
छलफल सकेर साँझपख बास बस्ने घर फर्किँदा भान्सामा धमाधम तयारी चलिरहेको रहेछ। घरबेटी सिस्नुको साग पकाउने तयारी गर्दै थिइन्। हामी पुग्नासाथ उनले पानी उमाल्न थालिसकेकी थिइन्—त्यो उम्लिरहेको पानीले भान्सामा एकप्रकारको प्राकृतिक सन्तुलन ल्याइरहेको थियो। मैले सिस्नु त पहिले पनि देखेको थिएँ—जुम्लाका गोरेटोमा पाइला चाल्दा चुकचुक लाग्ने गरी पोल्थ्यो। तर त्यो झारजस्तै लाग्ने सिस्नु कसरी स्वादिलो परिकारमा रूपान्तरण हुन्छ भन्ने कुरा आज प्रत्यक्ष हेर्ने मौका जुरेको थियो।
सिस्नु पकाउने तरिका पनि निकै फरक लाग्यो—उम्लिरहेको पानीमा पहिला पीठो हालेर बाक्लो बनाइन्छ, त्यसपछि चिम्टाले सिस्नुका पातहरू च्याप्दै विस्तारै राखेर पकाइन्छ। सागभन्दा पनि झोलिलो तरकारीजस्तै—सुपको स्वाद दिने त्यो सिस्नुको फाँडो पाक्दै गर्दा सिङ्गो घरमा प्राकृतिक गन्ध फैलिएको थियो।
म चौँरीको मासु नखाने भएकाले, आलुको तरकारी र सिस्नुको फाँडोसँगै तलको चामलको भात खाएँ। चामलको स्वाद अलिकति खालि लागे पनि सिस्नुको स्वाद भने अप्रत्याशित रूपमा स्वादिलो—फाँडो थप्ने लोभले थाल दुईपटक भरियो। दिनभर हिँडेको शरीर थाकेपछि ओछ्यानमा पस्ने बित्तिकै भुसुक्क निद्रा लाग्यो।
भोलिपल्ट बिहानै उठेर नित्यकर्म सकेपछि, चिया नपिई नहुने बानीले सतायो। घरबेटीलाई बिउँझाएर चिया बनाउन अनुरोध गरेँ। मुगुका कुनाकन्दरामा दुई हप्तासम्मको यात्रा गरिरहँदा मलाई भोटे चिया भनेको एकप्रकारको आत्मीयताजस्तो लाग्न थालेको थियो।
त्यो दिन पनि फुरु—काठमा कलात्मक रूपमा कुँदिएको, झट्ट हेर्दा सजावटी कलाकृतिजस्तो लाग्ने चिया खाने भाँडो—मा सातुसँग मिसिएको गाढा भोटे चिया आयो। तातो चियासँग सातु मिसाएर स्वादले मात्र होइन, ऊर्जाले भरिएको नास्ता भयो। त्यो चियाले आत्मालाई मात्र होइन, शरीरलाई पनि ताजगी दिइरहेको अनुभव भयो।
त्यसपछि गाउँको भौगोलिक र सामाजिक अवलोकन गर्न हिँडियो। प्राकृतिक रूपमा सुन्दर उपत्यकामा अवस्थित भए पनि सामाजिक संरचना भने केही छिन्नभिन्नजस्तो लाग्यो, मुगु गाउँ। गाउँमा गुम्बा मात्र एउटा यस्तो साझा संरचना थियो, जसले समुदायलाई एक सूत्रमा बाँधिरहेको थियो। गुम्बाको निर्माणमा स्थानीयले देखाएको प्रतिबद्धता अचम्मलाग्दो थियो—विदेश बसेका मुगालीहरूदेखि काठमाडौँका व्यवसायीहरूसम्मले खुलेर सहयोग गरेका रहेछन्।
गाउँमा गर्व गर्ने आधार बनेको थियो गुम्बा—त्यसको सौन्दर्य, त्यसको आत्मा र त्यसको साझा सम्पदा भावना। तर, शिक्षा, स्वास्थ्य, सिँचाइ वा हाइड्रोपावरजस्ता पूर्वाधारमा भने स्थानीय पहल देखिँदैनथ्यो। यस्तो लाग्थ्यो—यी क्षेत्रमा ‘प्रोजेक्ट’ आउने प्रतीक्षा नै प्रमुख रणनीति बनेको थियो। समुदायको आत्मबल, जसले गुम्बा बनायो, त्यही आत्मबल शिक्षा र विकासमा किन परिणत भएन भन्ने प्रश्न भने मनभित्र गडेर रह्यो।
हाइड्रोपावरको संरचना अवलोकन गर्ने बित्तिकै बुझ्न गाह्रो परेन—त्यो त अब मर्मतले होइन, पूर्ण पुनर्निर्माणले मात्र फेरि चलायमान बन्न सक्ने अवस्थामा पुगेको रहेछ। गाउँको टुप्पोमा रहेको छहरे खोलाको मुहानमा बनाइएको इन्टेक संरचना र त्यसमा जोडिएको सिँचाइ कुलो पूर्णतः भत्किएको थियो। पानी ल्याउने मूल प्रणाली नै काम नलाग्ने भएपछि पावर हाउस र जेनेरेटर हेर्दा त झन् भताभुङ्! फलामे संरचना चर्किएको, माटोको सतहमा भत्किएको ढुङ्गाको थुप्रो—सबै मिलाएर हेर्दा झट्ट हेर्दा कुनै बाढी वा पहिरोको प्रभावजस्तै लागे पनि त्यस्तो कुनै प्राकृतिक प्रकोपको प्रमाण भेटिएन। जति हेर्दै गयौँ, उति स्पष्ट हुन्थ्यो—उपयोग, संरक्षण र समयमै मर्मत नहुँदा यन्त्रले जीवन गुमाइसकेको थियो।
तसर्थ, यो केवल मर्मतको होइन, ‘रिडिजाइन’ र पुनर्निर्माणको माग रहेको थियो। समयसँगै उपेक्षित त्यो प्रणाली अब नयाँ सोच, योजना र लगानीबिना फेरि उठ्न सक्दैन भन्ने यथार्थ नजिकबाट देखियो।
त्यसपछि गाउँकै विद्यालय र सिँचाइ कुलोको निरीक्षण गरियो। यद्यपि यी संरचनाहरू पनि आधारभूत विकासका मेरुदण्ड हुन्, समुदायको तर्फबाट त्यसमा खास चासो देखिएन। विद्यालयको भवन समयले चिथोरेकोजस्तो, र सिँचाइ कुलो धुलोले भरिएको—त्यसको देखभाल र सुदृढीकरणबारे त्यति सक्रिय सोच वा पहल देखिएन। यस्तो लाग्थ्यो—गाउँको प्राथमिकताको केन्द्र कतै भिन्न दिशामा केन्द्रित थियो।
सबै संरचनात्मक निरीक्षण सकेर स्थानीय परिकारसँगै मध्याह्नको भोजन गरियो। आधा दिन यसरी बित्यो। नयाँ काम त्यस दिन त्यहीँ रहेन। अन्ततः, हामीले “अब फर्किनुपर्छ” भन्ने निर्णय गर्यौँ र पुनः उही ओरालो बाटो समातेर त्यो गाउँबाट बिदा भयौँ।
यात्रा लामो भए पनि, आफ्नो स्वभावअनुसार योजनाबद्ध र छिटो हिँड्ने बानीले कहिलेकाहीँ समूहमा असहजता ल्याउने रहेछ भन्ने कुरा फेरि महसुस भयो। त्यो साँझ हामी चिताई पुग्नुपर्ने योजना थियो, ताकि भोलिपल्टको कार्य पूरा गरेर डोल्फुमा बास बस्न सकियोस्। त्यसैले हाम्रा पाइला अनायासै तीव्र गतिमा अघि बढिरहेका थिए।
चिनेको बाटो, हल्का ओरालो र थकानको बाबजुद पनि म सधैँजस्तै अगाडि थिएँ। मेरो साथी, बाटो देखाउने रतन बुढा भने पछिपछि हिँडिरहेका थिए। “धेरै टाढा छैन,” भन्ने उनको बानी, अनि मेरो “समयमै पुगौँ, साँझमै गाउँ अवलोकन सकियोस्” भन्ने चिन्ता दुवैबीच एकप्रकारको मौन समन्वय चलिरहेको थियो।
त्यो साँझको यात्रा केवल भौगोलिक गन्तव्यतिर होइन, गाउँको विकासप्रतिको हाम्रो सोच र दृष्टिकोणमा समेत एक गहिरो झलक दिने अनुभव बनेको थियो।
नदीको किनारैकिनार हिँड्दा एउटा अनौठो अनुभूति हुन्थ्यो—सुनसान परिवेश, अनि त्यसै मौनतालाई चिरेर आइरहने नदीको सतत बगिरहेको स्वर। त्यो स्वरले एकप्रकारको मन्त्रमुग्धता ल्याउँथ्यो, जस्तो कुनै सुमधुर सङ्गीत एकान्तमा झन्झन् गहिरिँदै गइरहेको होस्। तर त्यो सौन्दर्यका बीच पनि मनभित्र कतै लुकेको डर पनि थियो—निरन्तरको यात्रा, पिठ्युँको भारी, र अनकन्टार बाटो। कोही अकस्मात् भेटिए भने? केही अप्रत्याशित भयो भने?
म मेरो बानीझैँ केही अगाडि दौडिँदै गइ कता–कता हेरेर बाटो कुर्थेँ, अनि रतनजी पछाडिबाट आएपछि सल्लाहसहित अघि बढ्ने। हाम्रो यात्रा यस्तो लयमा चलिरहेको थियो, जहाँ मौनता, समन्वय र सन्तुलन आपसमा जोडिएका थिए।
जब हामी चिताई गाउँको तलतिर आइपुग्यौँ, तब एक पुल देखापर्यो—त्यो पार गर्न अनिवार्य थियो। त्यो पार गरेपछि एक फरक खालको यात्रा सुरु हुन्थ्यो—उकालो। मेरो बाल्यकाल जुम्लाको चिसो, हिमाली हावापानीमा बितेकोले उकाली–ओरालीसँग डर त थिएन, तैपनि पछिल्लो दुई हप्ता मुगुको पहाड–पहाड उक्लेको शरीर थकित भइसकेको थियो, त्यसैले डरको सट्टा अल्छी लाग्न थालेको थियो।
पुल नजिकैको ढुङ्गामा बसेर हल्का खानपिन गर्यौँ—पानीको एक–दुई घूँट, बोकेका केही बिस्कुट–चाउचाउ र हल्का सास फेर्ने फुर्सद पाइयो। त्यसपछि पुनः उठ्यौँ—यसपटक उकालो यात्रा आरम्भ भयो। पुल पार गरेपछि बाटो नै फेरियो—अब हिँड्नुपर्ने बाटो कुनै साधारण चढाइ थिएन, त्यो त पहाडको काख समातेर चढ्नुपर्नेजस्तो, अडेस लागेर, सास फेर्दै अघि बढ्नुपर्ने।
साँच्चै भन्नुपर्दा, त्यो उकालो यस्तो थियो, जुन जति चढ्यो उति साँघुरिँदै जाने, र थिच्दै जाने। पिठ्युँमा बोकेको भारी—स्लिपिङ ब्याग, सामल, सर्भे सामग्री—ले काँध र मेरुदण्ड थिचेर थकानको भार बढाउँदै रह्यो। जति उक्लिँदै गयौँ, त्यति कठोर, उबडखाबड, चिप्लो ढुङ्गामाथि पाइला राख्नुपर्ने बाध्यता थियो—एकप्रकारको अप्रत्याशित सङ्घर्ष।
“स्वा–फ्वा!” सास फेर्ने आवाज मेरो भित्रको थकानको चित्कार बनिरहेको थियो। पसिना निधारबाट बग्दै ढाड हुँदै, खोल्साखोल्सा हुँदै खुट्टाको कुर्कुच्चासम्म झर्थ्यो—जहाँ त्यो चिसो पसिना पुनः स्पर्श भएर झट्किन्थ्यो। त्यही पसिनाले बगेको शरीरले पनि पाइला रोकेन। जति सकस लागे पनि, हाम्रा पाइला निरन्तर थिए—रोकिएनन्, ढलेनन्, पछि फर्किएनन्।

त्यो उकालो, केवल भौगोलिक चढाइ थिएन; त्यो आत्माको पनि एक सङ्घर्ष थियो—धैर्यता, प्रतिबद्धता र गन्तव्यप्रतिको समर्पणको।
नाकको डाँडीजस्तो तीव्र उकालोमा घण्टौँसम्म घुम्ती मोड्दै उक्लँदा शरीर मात्र होइन, आत्मा पनि थाकिरहेजस्तो लाग्थ्यो। साँझको कोमल उज्यालोले जब पश्चिमतर्फको आकाश रङ्ग्याउन थाल्यो, तब एकाएक चिताई गाउँ दृष्टिमा पर्न थाल्यो—पहाडको काखमा ओत लागेजस्तो बसेको।
तर त्यो दृश्य मनमोहकभन्दा पनि मनभित्र चिराचिरा पारेर आँखा रसाउने खालको थियो—चिताई गाउँको वास्तविकता हृदयविदारक देखिन्थ्यो। भौतिक दुर्गमता मात्र होइन, मानवीय गरिमाको समेत चरम सङ्कट झल्कन्थ्यो। साना, झुप्राझुप्रा घरहरू, जसको छानामुनि बसेका परिवारहरू गरिबीको घनघोर छायाँभित्र साँझ बिताइरहेका थिए। खानेकुरा टाट पल्टिएको अवस्था, पिउने पानीको अभाव, र त्यसकै बीच अस्तव्यस्त धुलाम्मे बाटाघाटा। त्यो सब हेर्दा मुगुको केही गाउँहरूको तुलनामा यो गाउँ झन् बढी उपेक्षित, झन् बढी असहाय लाग्थ्यो।
रातपख, थकाइले च्यापिए पनि पेटमा चारो राख्नुपर्ने थियो। जसोतसो साधारण खाना खाइयो—त्यो खानाभन्दा पनि गाउँलेहरूको आतिथ्य भावना मीठो लाग्यो। तर साँझको साँचो चुनौती त खानेकुरा होइन, सुत्ने व्यवस्था बन्न गयो। कसरी सुत्ने? कहाँ सुत्ने? यस्तै प्रश्नबीच घरबेटीले एउटा सानो कोठा देखाइन्—“लौ, हामी ओढ्ने–ओछ्याउने लिएर आउँछौँ,” भनेर उनी निस्किइन्। केही बेरपछि उनी फर्केर आइन्—हातमा पुरानो, खस्रो, ऊनबाट बुनेको फेरुवा बोकेर। न ओछ्याउने छुट्टै न ओढ्ने छुट्टै—त्यही एउटै फेरुवा, जुन धुलोले भरिएको थियो, जसले चिसोभन्दा पनि असहजता बढाउँथ्यो। त्यो देखेर म झसङ्ग भएँ। तर म भाग्यमानी थिएँ—मसँग स्लिपिङ ब्याग थियो, अनि त्यससँगै सानो म्याट्रेस पनि। फेरुवा ओढ्नु नपरेकोमा मनमनै राहतको सास फेरेँ। नत्र त्यो हिमाली चिसो, त्यो पुरानो धुलाम्मे फेरुवासँग रात बिताउनु कल्पनाभन्दा कठिन हुन्थ्यो। त्यो रात मेरो लागि शरीरभन्दा बढी मानसिक धैर्यको परीक्षा थियो।
म स्लिपिङ ब्यागभित्र छिरेँ—बाहिरी चिसोबाट जोगिएर एकप्रकारको सान्त्वनामा बाँधिएजस्तो। रातभर पहाडहरूले घेरिएको त्यो गाउँ, आकाशले छोपेको त्यो गहिरो न्यानोपनविहीन मौनता, अनि स्लिपिङ ब्यागभित्रको स–सानो सुरक्षा—ती सबै मिलेर एउटा अनौठो अनुभव बनाए। त्यो रात बित्यो, तर एकप्रकारको पीडादायी स्मृतिको चिह्न छोडेर।
भोलिपल्ट बिहानैबाट कामको थालनी गरियो। बिहानको शीतल हावामा गाउँको परिवेश नियाल्दै वरिपरि घुमघाम गर्यौँ—जहाँ बिहानको सूर्य पहाडी छायाँमाथि खेलिरहेको थियो। त्यसपछि सुरु भयो समुदायसँगको संवाद। उपस्थित सबैजना करिब–करिब आएका थिए, यद्यपि त्यो “सबै” भन्न सकिने सङ्ख्या नै अत्यन्त सानो थियो।
मेरो जिज्ञासामा गाउँलेहरूले एउटा यथार्थ उजागर गरे—“सर, हिउँदको तीन–चार महिना कामको खोजीमा गाउँ छाडेर बाहिर जाने परिपाटी हो यहाँ। अहिले पनि धेरैजना फर्किन भ्याएका छैनन्।” उनीहरूको जवाफले हाम्रो कामको दायरा र सन्दर्भ अझ स्पष्ट बनायो।
त्यस दिनको छलफलमा दुई कुरा प्राथमिकताका साथ उठाइयो—खानेपानीको अभाव र चौँरीपालनको प्रवर्द्धन। स्थानीय जीवनशैलीमा आधारित यिनै दुई आवश्यकता नै समुदायका लागि अति जरुरी योजनाका रूपमा स्थापित थिए। प्रक्रियाअनुसार खानेपानी योजनाको सम्भाव्यता अध्ययन (सर्भे) गर्नुपर्ने भयो, र हामीले त्यो काम सुरु गर्यौँ। सानो गाउँ भएकाले सर्भे कठिन भएन—समय त्यतिन्जेल लाग्यो, जतिन्जेल हामी हिँडेर पुग्ने र फिर्ता हुने।
दिउँसो, थकाइले हल्का छोएको शरीरलाई खाना खुवाएर विश्राम दिइयो। त्यसपछि बिहानको बैठकमा लेखिएको माइनुट हेर्न थालेँ—र म चकित परेँ! माइनुटको पानामा त उपस्थितभन्दा धेरै मानिसहरूको नाम र हस्ताक्षर थिए! मैले केही शङ्का राख्दै सोधेँ, “यी हस्ताक्षर त त्यहाँ थिएनन्, कसरी?”
गाउँका एक अग्रज हल्का मुस्काउँदै भने, “योजना त आउने नै हो सर, त्यसैले जो आएका छैनन्, तिनीहरूको सहमति पनि हामीले मानिदियौँ। उनीहरूको त हामीले खुट्टाले ल्याप्चे हानेर हस्ताक्षर गरेकै हो!” एकप्रकारको प्रचलन रहेछ—तर मलाई यो देखेर झस्किने अवस्था भयो।
मैले बिहानको उपस्थितिको फोटो खिचिसकेको थिएँ, त्यसैले तत्काल पुनःप्रमाणित गर्न नपरे पनि यो अनौठो ‘सहमति’ प्रवृत्तिबारे विस्तृत छलफल गरेँ। प्रक्रियाको महत्त्व र विश्वसनीयता सम्झाउँदै माइनुटमा आवश्यक संशोधन गरियो—र त्यसले हाम्रो झण्डै दुई घण्टा समय खायो।
ती कामहरू सक्दासम्म झण्डै दिउँसोको ३ बजिसकेको थियो। अब ढिलो गर्नुहुन्न—आज साँझ जसरी पनि डोल्फु पुग्नैपर्थ्यो, जहाँ बासको व्यवस्था थियो। मित्र रतनजीले भने, “छिनमै हिँडौँ, साँझ पर्नुअघि नै पुगिन्छ।” गाउँलेहरूले पनि साथ दिँदै आश्वस्त पार्ने लवजमा भने, “ढिला भए पनि ६–७ बजेसम्म त पुगिन्छ नि, सर! चिन्ता नगर्नुहोस्!”
हामीलाई सद्भावसहित विदाइ गरियो। अब हामी पुनः उकालो, ओरालो अनि अप्ठ्यारा बटौँटाहरू पार गर्दै यात्रा अघि बढाउन तयार थियौँ—शरीर थकित थियो, तर मनमा भने आजको दिनको अनुभूतिहरूले ऊर्जा थपिरहेका थिए।
हिँड्ने बेलामा मित्र रतनजीले मलाई ढाडस दिँदै बिस्तारै भने, “सर, उकालो चढेपछि थोरै ओरालो लाग्नासाथ डोल्फु पुगिहालिन्छ, खासै चिन्ता नगर्नुहोला।”
म मुस्कुराएँ—उकालोको त डर थिएन, तर साँझ पर्नुअघि डोल्फु पुग्न सकियो भने मात्र राहत हुन्थ्यो। थकाइको कुरा नहोस्, बरु समयमा गन्तव्य पुग्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। “थकाइ–सकाइ छैन, जति सकिन्छ छिटो हिँडौँ,” मैले पनि मन दह्रो पारेर भनेँ।
गाउँको किनारमा पुग्नासाथ उकालो सुरु भयो—पहिलो घण्टा त बाटो प्रस्ट देखिने भएकाले खासै समस्या आएन। तर त्यसपछि दृश्य फेरिन थाल्यो। बाटो झन् झन् अप्ठ्यारो हुँदै गयो, र घिस्रिँदै गरेको झाडीबीच लटपटिएको पाटोहरूले बाटो ओझेल पारे।
हिउँदको समय भएकोले त्यहाँबाट मानिसको आवतजावत अत्यन्त न्यून भइसकेको रहेछ। बाटो हराएजस्तो महसुस हुन थाल्यो—र हामी अन्दाधुन्द अघि बढ्यौँ।
झन्डै दुई घण्टासम्म हाम्रो टोली अनिश्चित दिशामा अघि बढ्यो—म त भन्नुपर्यो, प्रायः हराएको नै थियौँ। जब फेरि झन्डै रात पर्नै लाग्दा पुरानो गोरेटो भेट्यौँ र त्यो टाकुरोमाथि पुग्यौँ, मनले केही राहतको सास फेर्यो।
त्यस टाकुराबाट टाढा छायानाथको टाकुरो देखिन थाल्यो। रतनजीले औँलाले देखाउँदै उत्साहका साथ भने, “अब धेरै बाँकी छैन, सर! उकालो सकियो, अब थोरै ओरालो अनि तेर्सो बाटो—त्यसपछि डोल्फु गाउँ!”
त्यो क्षण मलाई रोमाञ्चक अनुभूति भयो। एकप्रकारको विजय प्राप्तिको भाव! म बिस्तारै ओरालो झर्न थालेँ।
पिठ्युँमा उही भारी थियो—खानेकुरा, कपडा, स्लिपिङ ब्याग, थर्मस, र सर्भे सामग्रीहरू। सुरुमा ओरालो सजिलो लागे पनि केही बेरमै चुनौतीपूर्ण हुन थाल्यो। ओरालोले खुट्टा सम्हाल्नै नसकिने गरी तान्न थाल्यो, रोकिनै नसकिने गरी तीव्र गतिमा हिँड्न बाध्य बनायो। शरीर थकित भइसकेको थियो, उकालोको असरले खुट्टाको शक्ति क्षीण भइसकेको रहेछ, पाइताला जलिरहेको थियो। बीचबीचमा विश्राम गर्न मन लागे पनि छिटो पुग्ने हतारले र थकाइले शरीरबाट आत्मा नै छुट्टिने जस्तो भइसकेको थियो। साँझ ढलिसकेको, रात गहिरिँदै थियो।
रातको ८ बजे हामी तलको फेदीमा आइपुग्यौँ—तर गन्तव्य गाउँ अझै आइपुगेन! मनमा आकुलता र असमञ्जस छाउन थाल्यो। “अब कति टाढा छ?” भनेर सोध्दा रतनजी पनि एकछिन मौन भए। त्यसपछि पनि उनले भने, “अब अलिक उकालो छ, अनि तेर्सो… डोल्फु त्यहीँ हो।”
मेरो सहनशीलताको सीमा सकिएको थियो—अब शरीरले साथ दिइरहेको थिएन। मैले एकतमासले भनेँ, “अब यो भारी लिएर जान सकिन्न! भोलि बिहान यहीँ फर्कनु नै छ, आउनु नै पर्छ! लौ, यी भारी यतै ओडारमा राखौँ।”
सर्भेका अत्यावश्यक सामग्री झिकेर बाँकी सबै सामान ओडारको सुरक्षित कुनामा राखियो। अनि फेरि उकालो चढ्ने आँट गरियो।
तर चुनौती त्यत्तिमा सीमित थिएन—मनमा दुईटा डर उभिइरहेका थिए: एकातर्फ जङ्गली जनावरहरूको डर—बाघ, भालु, अर्कोतर्फ माओवादी द्वन्द्वको कालो छायाँ—जहाँ राति जङ्गलमा हिँड्नु आफैँमा साहसिक मात्र होइन, जोखिमपूर्ण पनि थियो। ओडारहरू देखिए पनि हामी बसेनौँ—त्यहाँ बस्न सकिने कुनै सुरक्षित अवस्था थिएन। निर्णय गरियो—“जति सकिन्छ अघि बढौँ, जति सकिन्छ चाँडै पुगौँ।”
त्यो रात अँध्यारो, थकित शरीर, ओडारमा बाँकी सामानको चिन्ता र नपुगिसकेको गन्तव्य—सबै मिसिएर एक असाध्य साहसिक अनुभूति बन्यो।
मेरो मनभित्र रिसको आँधी चलेको थियो—शान्त अनुहारभित्रको भावनात्मक छाल भित्रभित्रै छचल्किरहेको थियो।
“यदि बाटो थाहा थिएन भने, थाहा नभएको भन्न के बिग्रिन्थ्यो र?” मैले मनमनै सोचेँ। “६–७ बजे पुगिन्छ भनेर आश्वासन दिने अनि ८ बज्दासम्म पनि आधा बाटोजस्तो लाग्ने! अझै पनि उकालो अनि तेर्सो बाँकी नै रे!” अनि त्यो पनि नयाँ बाटो, रातको अँध्यारोमा!
त्यतिबेला रिस गरेर पनि केही नलाग्ने—न त पछाडि फर्किने उपाय थियो, न त रुक्ने। चुनौतीबाट भाग्ने विकल्प त कल्पनाभित्र पनि थिएन।
“अब त हिँड्नु नै छ—आफ्नो खुट्टाको भरमा, अनुहारअघिको अँध्यारो चिर्दै,” मैले चुनौतिलाई स्वीकार गरेँ।
उकालो चढ्न थालियो—टर्चको उज्यालोले देखाएको खुट्टा राख्ने ठाउँबाहेक केही देखिँदैनथ्यो। वरिपरिका जङ्गल, ढुङ्गा र झाडीहरू मौन साक्षी बनेका थिए।
अँध्यारो यति बाक्लो थियो, जस्तो कालो ओढारमा हामी बिस्तारै रुँदै हिँडिरहेका थियौँ।
झन्डै दुई घण्टाको थकाइले थिचिएपछि रातको १० बजे डाँडाको टुप्पोमा पुग्यौँ। त्यहाँ पुगेर पहिलोपटक सास फेर्ने फुर्सद मिल्यो—तर अझै तेर्सो बाटो बाँकी नै रहेछ।
रतनजीले भने—“अब त नजिकै हो!”
तर मेरो मनले मानिरहेको थिएन। रतनजीका शब्दहरू मलाई सान्त्वनाभन्दा बढी भ्रम लागिरहेका थिए। “अब जे होस्, पुग्नै छ!” भन्दै म फेरि अघि बढेँ—टर्च बालेर, गन्तव्यको अपेक्षामा, जस्तै सपना पछ्याउँछु त।
झन्डै दुई घण्टाको त्यो तीतो, अनिश्चित, तर बाध्यताले भरिएको यात्रापछि बल्ल डोल्फु गाउँ देखापर्यो—रातको ठीक १२ बजेको थियो।
गाउँको छेउ पुग्दा उभिएर म केही बेर हेरिरहेँ—आँखा रसाएका थिए, तर खुसीका थोपा थिए। त्यतिबेला मलाई लागेको थियो, “अब केही छैन, केवल निदाउनु छ, केवल विश्राम चाहिएको छ।”
तर त्यो सानो खुसी क्षणभरमै चकनाचुर भयो, जब थाहा भयो—गाउँमा हाम्रो लागि बास छैन!
स्लिपिङ ब्याग, म्याट्रेस र न्यानो ओढ्ने सबै तलै ओडारमा छोडिएको थियो—अब त जेसुकै होस्, एउटा घरको ओत त पाइयोस् भन्ने कामना मनमनै गरिरहेथेँ। मनमा “हिजो रातिको फेरुवा ओढ्ने अवस्था फेरि नआओस्…” भन्ने प्रार्थना झन् तीव्र हुँदै गयो।
तर गाउँलेहरूको व्यवहार त्योभन्दा चिसो देखिन थाल्यो।
घरघर ढकढक्यायौँ—कतिले ढोका नै खोल्न मानेनन्। कतिले “हामी सुतिसकेका थियौँ” भन्ने बहाना गरे।
अझ अचम्मको कुरा—कतिपय घरले हामीलाई माओवादी हो कि भनेर डर मान्दै बास दिन चाहन्थे, तर हामी “हामी माओवादी होइनौँ” भनेर प्रस्ट पार्नासाथ, उनीहरूले तुरुन्त बास दिन अस्वीकार गर्थे!
कस्तो विरोधाभास! सत्य बोलेर पनि शङ्का!
तर म झुट बोलेर वा डर देखाएर बास माग्ने मान्छे थिइनँ। मेरो अन्तर्मनले त्यो स्वीकार्न सक्दैनथ्यो।
मनमनै भनेँ, “बरु रातभर बाहिरै बस्छु, झुट बोलेर त होइन!”
तर त्यो रात त बेग्लै थियो—ओडारमा सामान थिएन, शरीर थकित थियो, अनि खुला आकाशमुनि जाडोको रात झेल्न सक्ने शक्ति थिएन।
त्यसैले हामी फेरि अन्तिम आशमा घरघर चाहार्न थाल्यौँ। लगभग ३०–४० मिनेटको अथक प्रयासपछि बल्ल एउटा सानो गुम्बाको ढोका खुल्यो—त्यहाँ कम्तीमा टाउको ओढ्न सक्ने ठाउँ पाइयो।
भोक लागेर आन्द्रा पोलिरहेका थिए, तर खाना खाने त कुरै भएन।
त्यो रात गुम्बाको चिसो ओछ्यानमा पल्टिँदै जब म आँखाले अन्धकार नाप्दै थिएँ—मलाई लाग्यो, यात्रा केवल गन्तव्यको नाममा होइन, धैर्यता, सहनशीलता र भरोसाको अन्तिम परीक्षा हो।
बिहानै गाउँका कुखुरा र कुकुरको भुकाइले मेरो निद्रा टुट्यो—सहरको अलार्मभन्दा स्वाभाविक, ग्रामीण घडीको त्यो ताल सुनिन्थ्यो।
सिमसिम पानी परेझैँ लाग्ने बिहानको चिसोमा, भोटे चिया पिएपछि म खुला आकाशमुनि बसेको थिएँ—त्यो नुनिलो स्वाद र बिहानको हावा एकअर्कामा मिसिँदै मेरो ज्यानमा ताजगी भर्दै थियो।
गाउँमा पाहुनालाई खुवाउने परम्परा एकदम रोचक रहेछ—हरेक घरले पालैपालो बटुवा/पाहुनालाई खाना खुवाउने चलन! आज खुवाउने पालो परेको घरका मान्छे भने गाउँमै थिएनन्।
हामी छक्क पर्यौँ—“अब के होला?” किनभने हामीले बोकेका खानेकुरा सबै हिजो राति तलै ओडारमा छोडेर आएका थियौँ। क्षणभरमा लाग्यो, “शायद आज त भोको पेटै!”
तर गाउँमा विकल्प खोजिन्छ, समाधान जन्मिन्छ। अर्को घरका मान्छेले अग्रसरता लिए—हामीलाई खुवाइदिने सहर्ष जिम्मा लिए। पछि थाहा भयो—खाद्यान्नको अभाव हुँदा एकै घरले सबै पाहुना खुवाउन सक्दैनथे। त्यसैले नातेदार पाहुनाबाहेक बाँकी पाहुनाहरूलाई पालोअनुसार व्यवस्थापन गरिने रहेछ।
मेरो लागि त्यो नितान्त नयाँ र चाखलाग्दो अनुभव थियो—कसरी सामूहिकता र साधन अभावको समन्वयले परम्परा र व्यवहार निर्माण गर्छ भन्ने प्रत्यक्ष साक्षात्कार!
बिहानै सर्भे काम सकेपछि दिउँसो भोक मेटियो—त्यसपछिको त सास फेर्ने फुर्सद मात्र होइन, एउटा सन्तोषको गहिरो अनुभूति थियो।
डोल्फु—एक भिरालो पाखाको टुप्पोमा टाँसिएको, खोला नियालिरहेजस्तो सानो गाउँ।
यो सानो बस्ती डोल्पा, जुम्ला र मुगुको सिमानामा झुण्डिएकोजस्तो लाग्दथ्यो, यद्यपि प्रशासनिक सिमाना अझै टाढा थियो—तर अनुभवले भने यो गाउँलाई ‘अन्तिम’ बनाएको थियो।
हाम्रो योजना अनुसार डोल्फुमा आजको काम सकेर साँझ किम्री पुग्ने थियो, अनि त्यसपछि क्रमशः कार्ती, माङ्ग्री हुँदै गमगढी पुग्ने। त्यही भएर हिजो राति जसरी अन्धकारमा आँधीहुरीजस्तै हिँडेर आएका थियौँ, आज फेरि उज्यालोमा फर्कनुपर्ने भयो—हिजोका छोडिएका सामान लिन, अनि यात्रा अघि बढाउन।
मनमनै प्रार्थना गर्दै हिँड्यौँ—“हाम्रो सामान जस्तो थियो, उस्तै होस्!”
फर्किने बाटो उस्तै थियो, तर अनुभूति फरक।
म अघिअघि, रतनजी पछिपछि—हिजो रातिको अज्ञात उकालो, आजको परिचित ओरालोमा रूपान्तरित भयो। रातको भयावह अँध्यारोले लुकाएका दृश्यहरू आज भने प्रकृतिको रमणीय चित्रजस्तै उजागर भए।
मनले अनुभूति गर्यो—“यात्रा केवल गन्तव्य पुग्ने नाममा होइन, जीवनका अदृश्य आयाम चिन्न सक्ने कला पनि रहेछ।”
तल ओडार पुगेपछि हामीले सामान खोज्यौँ—अद्भुत आश्चर्य! हामीले छोडेजस्तै मिलाएर राखिएको थियो। खानेकुराको गन्धले जङ्गली जनावर आकर्षित होलान् कि भन्ने डर लागे पनि, केही बिग्रिएको रहेनछ।
त्यो क्षणमा लागेको थियो—विश्वास, भाग्य र गाउँको निष्कलङ्क आकाश मिलेर हाम्रो सामानको रक्षक बनेका रहेछन्।
हामी फेरि नयाँ ऊर्जा, नयाँ उत्साहका साथ ब्याग बोकेर किम्रीतिर लाग्यौँ—यात्रा अझ बाँकी थियो, तर मनभित्र गहिरो सन्तोषको उज्यालो फैलिसकेको थियो।
र अन्त्यमा,
चिताई र डोल्फुका ती चिसा साँझहरूमा मैले अनुभूति गरेँ, विकास भनेको मात्र योजना होइन, साझा सपना हो, जसमा सबैको हस्ताक्षर चाहिन्छ—सक्कली, नक्कली होइन। मुगु, चिताई र डोल्फुको यात्रा केवल प्राकृतिक सुन्दरता हेर्न वा कठिनाइ सहन मात्र थिएन। यो यात्राले कर्णालीका यी समुदायका सङ्घर्ष, आकांक्षा र माटोप्रतिको मायालाई बुझ्न मद्दत गर्यो।
उनीहरूको जीवनशैली, सामाजिक संरचना र भौगोलिक अवस्थाले मलाई यो अनुभूति दिलायो कि यस्ता क्षेत्रहरूको विकास केवल पूर्वाधार र परियोजनाबाट मात्र सम्भव छैन। यसमा सामुदायिक सशक्तीकरण, परम्परा र वातावरणीय संरक्षण पनि अति आवश्यक छ। मैले यहाँ सिकेको मुख्य पाठ यही थियो—सानोतिनो परिवर्तनहरूले ठूलो फरक पार्न सक्छ, यदि ती स्थानीय समुदायको सक्रिय सहभागितामा आधारित र टिकाउ हुने खालका छन्।
मैले जताततै सोधेँ—“तपाईंहरूको वास्तविक माग के हो? तपाईंलाई के गरिदिए सन्तोष मिल्थ्यो?”
सबैको जवाफ लगभग एउटै हुन्थ्यो—“हामीलाई अन्यत्र बसाइँ सारिदिए हुन्छ। आखिरमा अन्तै गएर पालिनुपर्छ भने यहाँ बस्नुको के अर्थ छ? यहाँ न त खाने अन्न पुग्छ, न पिउने पानी पाइन्छ, न बस्ने राम्रो घर छ, न त उज्यालो ल्याउने बत्ती नै। रातदिन उकाली–ओराली गरेर रगत र पसिना एक पारे पनि वर्षदिन खान, लाउन पुग्दैन।”
त्यो बेला म नाजवाफ हुन्थेँ—उनीहरूको पीडा र व्यथालाई महसुस गरेर पनि उत्तर दिन सक्दिनथेँ। फेरि म एक प्रश्न गर्थेँ—“अर्को ठाउँमा गए पनि त त्यहाँ पनि दुख हुन्छ होला नि? झन् यो जन्मे–हुर्किएको माटो छोडेर अनजान ठाउँमा अझ पीडा नहोला?”
त्यसपटक उनीहरू नाजवाफ हुन्थे—मौन हुन्थे, तर त्यो मौनताभित्र गहिरो बेदना र विडम्बना समाहित हुन्थ्यो।
मुगुको त्यो डाँडाको टुप्पोमा उभिएर म फेरि एकचोटि सोच्न बाध्य भएँ—विकासका चुनौतीहरू कति गहिरा छन्, र त्यसको समाधान कति सरल वा जटिल हुन सक्छ! तर, मानव इच्छाशक्ति र सामुदायिक सहकार्यले ती सबै चुनौतीहरू पार गर्न सक्ने सामर्थ्य राख्छ।
त्यसैले म यी अनुभवहरूलाई कागजमा उतार्दैछु—यी अक्षरहरू केवल स्मृतिका टुक्राहरू होइनन्, सुदूर मुगुको आवाज हुन्, जसले नेपालको योजनाका नक्सामा अझ जीवन्त र न्यायपूर्ण स्थान पाओस् भन्ने मेरो आशा हो।
