अन्ततः, सन् २०१५ मे महिनामा १८ घरपरिवारका ८६ जना बासिन्दाले आफ्नो पुर्ख्यौली गाउँ छोडेर ११ किलोमिटर टाढा नामासुङमा बसाइँ सर्नुपर्यो। यो केवल घर छोड्ने कुरा थिएन, यो त पुर्खाहरूको सम्झना र पहिचान छोड्ने बाध्यता थियो। यो विस्थापन केवल भौगोलिक स्थानान्तरण होइन, एउटा सांस्कृतिक, सामाजिक र भावनात्मक विच्छेदको कथा हो। एक वृद्धले भनेझैँ, “पुरानो घरले आत्मा बोकेको थियो, नयाँ घरले त्यसलाई तर्साएको छ।”
म विगतका केही दशकदेखि नेपालका जलवायु समस्याग्रस्त क्षेत्रहरू तराईदेखि हिमालका गाउँसम्म, जलवायु परिवर्तन, सामाजिक विकास, विपद् व्यवस्थापन, मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न काममा संलग्न छु। यी वर्षहरूमा मैले बदलिँदो मौसमले समाजमा पारेको आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रहारका विविध रूपहरू प्रत्यक्ष रूपमा देखेको छु। तर, ती सबै अनुभवहरूभन्दा गहिरो असर त्यसबेला पर्यो, जब मैले सम्जोङ गाउँको कथा बुझेँ। एउटा यस्तो गाउँ, जसले जलवायु अन्यायको मूल्यस्वरूप आफ्नो घर, पहिचान, संस्कृति र स्मृतिसहितको भूमि गुमाउनुपर्यो। यो केवल भौगोलिक विस्थापन थिएन; यो सपना, पहिचान, सांस्कृतिक विरासत र न्यायप्रतिको आस्था गुमाउने गहिरो क्षण थियो।
गत साल मुस्ताङ भ्रमणका क्रममा सम्जोङको नाम पहिलो पटक सुनेँ। लोमाङ्थाङबाट कोरला नाका जाने बेलामा मुस्ताङबाट प्रदेश सभामा निर्वाचित माननीय विकल शेरचनज्यूले बाटोमा भन्नुभयो, “उ त्यहाँ नै हो, सम्जोङ भन्ने गाउँ भएको, तर अब त्यहाँ गाउँ छैन। विस्थापित भएर अन्त्य भइसक्यो।” त्यतिबेला पारिवारिक भ्रमण मात्र भएकोले त्यो विषयमा तत्कालै खासै गहिरो चासो बसेन। तर यसपालि सगरमाथा संवादको तयारीमा हिमाली समुदायहरूको आवाज, समस्या र सहभागिताबारे केही लेख्ने सोचेँ। झल्यास्स सम्जोङकै याद आयो। सबैभन्दा पहिले मैले आफैँलाई सोधेँ। सम्जोङ गाउँको इतिहास कस्तो होला? कसरी एउटा गाउँले यो भोक–उत्सर्ग सामना गर्यो? यसको भूगोल, खेतीपाती, परम्परागत कला–संस्कृति के भयो होला? गाउँ नै नयाँ थलोमा गएर के समस्याबाट उन्मुक्ति मिल्यो होला? वा त्यो नयाँ स्थान पनि अर्को सङ्कटको थलो बन्यो?
आफ्नै जिज्ञासा मेटाउन पुनः माननीय विकल शेरचनज्यूसँग सम्पर्क गरेँ। त्यसपछि उक्त गाउँमा लामो समय काम गरेका स्थानीय छेवाङ नोर्बुसँग सम्पर्क भयो। साथै, इन्टरनेटमा उपलब्ध बीबीसीसहित विभिन्न आलेखहरू, अनुसन्धान प्रतिवेदनहरू, उक्त क्षेत्र भ्रमण गरेर आफ्नो डायरी लेखेका पर्यटकहरूका सम्झनाहरू र अनुभवहरू पढेँ। सम्जोङ गाउँलाई अन्यत्र सार्न विभिन्न विकल्प र आर्थिक सहयोग गर्ने स्विस नागरिकका आलेख र भिडियोहरू पनि हेरेँ—जति पढ्यो, उति रोचक; जति हेर्यो, उति मनमोहक तर दर्दनाक! यी अध्ययनले गाउँको कथा यथार्थ रूपमा खुल्दै गयो।
यो आलेख ‘सम्जोङ’लाई सम्झन मात्र होइन—बुझ्न, विश्लेषण गर्न र अन्यायको प्रतिकार गर्न आह्वान पनि हो। मैले सोधेका प्रश्नहरू तपाईं पनि सोध्नुहुनेछ: कसरी एउटा गाउँले आफ्नो हजारौँ वर्षको इतिहास एक दशकमै गुमायो? जलवायु सङ्कटजन्य अन्यायबाट हिमाली क्षेत्रका यस्ता बस्तीहरू कहिलेसम्म अन्यायमा विस्थापित भइरहने? सगरमाथा संवादजस्ता तामझामका कार्यक्रममा पनि किन आफ्नै सरकारबाट सम्जोङका बासिन्दाले भोगेको अन्यायको चित्कार संसारलाई सुनाइँदैन?
इतिहासका पानामा सम्जोङ
सम्जोङ गाउँको इतिहास उच्च हिमाली सभ्यताको जीवन्त प्रतिबिम्ब हो—जो निकै गहिरो र समृद्ध छ। Aldenderfer र Eng (2016) को अध्ययनअनुसार, यस क्षेत्रको ऐतिहासिक जरा करिब ४००–६५० ईस्वीसम्म फैलिएको छ, जब यहाँको शुष्क चट्टानी पहाडभित्र आकाशगुफा र शाफ्ट टुम्बहरू निर्माण गरिएका थिए। सन् २०१० मा शुरू भएको उत्खननमा सम्जोङमा १० वटा शाफ्ट टुम्ब फेला परेका छन्, जसको प्रारम्भिक प्रयोग करिब ४०० ईस्वीमै शुरू भएको र प्रमुख अन्त्येष्टि गतिविधि ६००–६५० ईस्वीसम्म चलिरहँदा कतिपय अवशेषहरू ८२५ ईस्वीसम्मका पनि देखिन्छन्। आकाशगुफाहरूमा फेला परेका १,६०० वर्ष पुराना मानव अवशेष, काँस्य आभूषण र बौद्ध चित्रकलाहरूले यी स्थललाई केवल सामूहिक चिहान मात्र होइन, बहुआयामिक सांस्कृतिक केन्द्र बनाएका छन्। यी गुफाहरू दाहसंस्कार, युद्धकालीन सुरक्षित आश्रय, ध्यान–साधना र सामुदायिक धार्मिक आयोजनाका लागि प्रयोग भएका थिए; भित्तामा अङ्कित जटिल मण्डलाहरूले तिब्बती र भारतीय कलाशैलीबीचको समन्वित सौन्दर्य उद्घाटित गर्छन्।
यो गाउँ ट्रान्स–हिमालयन सिल्क रोडको तिब्बती शाखामा अवस्थित थियो, जसले तिब्बत, नेपाल र मध्य एसियालाई जोड्ने महत्त्वपूर्ण व्यापारिक गाँठोको भूमिका निभायो। उत्तरबाट याकको ऊन, हिमाली जडीबुटी र तिब्बती नुन आयात गरिन्थ्यो भने दक्षिणबाट नेपाली चामल, भारतीय नुनतेल र कपास निर्यात हुन्थ्यो। यहाँका बासिन्दा केवल किसान वा पशुपालक मात्र थिएनन्। व्यापारी, साधु, चित्रकार र संस्कृतिका वाहक पनि थिए। उनीहरूले हिमालयको कठोर भूगोलमा “राजनीतिक इकोलोजी” (भूगोल, सत्ता र संसाधनको सन्तुलन) विकसित गरेर आत्मनिर्भर समाजको नमुना प्रस्तुत गरे।
सम्जोङका प्राचीन घरहरू, ढुङ्गाका पर्खालहरू, जरा टाँसिएका बगैँचाहरू, चुलो वरिपरिका प्रतीकात्मक चित्रहरू—यी सबै केवल भौतिक संरचना थिएनन्; तिनले जीवित संस्कृति बोकेका थिए। समाजको आर्थिक आधार रेशम मार्ग (सिल्क रोड) मा हुने व्यापार, जौ, फापर र तोरी खेतीमा टिकेको थियो, जुन शुष्क हावापानीमा पनि उर्वर थियो। याक र भेडापालनले मासु, दूध, ऊन र यातायातको आवश्यकता पूरा गर्थ्यो।
वरिपरिका कलात्मक चित्रमा देखिएझैँ, उच्च हिमाली डाँडाले घेरिएको बीचको समथर मैदानमा छेउबाट सानो नदी बग्ने, हरिया जौका खेत र पहेँला तोरीबारीहरूको सिरानमा सेता ढुङ्गा र माटोले बनेका घरहरू भएको बस्ती हेर्दा स्वर्गको टुक्राजस्तै देखिने सम्जोङ—त्यति गौरवशाली इतिहास भएको हिमाली सभ्यता अहिले विस्थापनमा परेको छ! यो केवल एउटा गाउँको पतन होइन—यो हिमाली सभ्यताको नाजुक अस्तित्व र वैश्विक जलवायु नीतिको विफलताको प्रतीक हो। सम्जोङको माटोले बोकेको इतिहासले हामीलाई एउटा प्रश्न सोध्छ: “के हामीले यस्तो संसार बनाउँदै छौँ, जहाँ सहस्राब्दी पुरानो संस्कृति एक दशकमै लोप हुन्छ?”
जलवायु सङ्कट र विस्थापनको शुरूआत
सम्जोङ सधैँ त्यस्तो गाउँ थिएन, जहाँ बस्न कठिन होस्। आसपासका पहाडहरूमा प्राचीन गुफाहरू छन्, जहाँ हजारौँ वर्षअघि मानिसहरू बस्थे। तिनै गुफाहरूका भित्तामा चित्रहरू कोरिएका छन्, मानव अवशेष फेला परेका छन्, र इतिहासको गहिरो सास अझै बाँकी छ। पछि ती गुफा–बासिन्दाहरू तल फाँटमा झरे, हिमनदीनजिकै स्थायी बस्ती बसाए। त्यहाँ खेती, पशुपालन र व्यापार सबै फस्टायो।
सन् १९८३ तिरबाट सम्जोङमा वर्षा र हिमपातको मात्रा घट्दै गयो, र कुसमयमा हिउँ पग्लिन थाल्यो। सम्जोङको जलवायु सङ्कटको बीउ सन् २००२ देखि नै अङ्कुरित भएको थियो, जब पेमरा खोलाको प्रवाहमा असामान्य गिरावट देखियो। यो खोला, जसले गाउँलाई सयौँ वर्षदेखि सिँचाइ, पिउने पानी र जीवन दिएको थियो, मौसमी अनियमितताका कारण सुक्न थाल्यो। सन् २००५ पछि सम्जोङमा असामान्य रूपमा खडेरी पर्न थाल्यो। स्थानीय बासिन्दाका अनुसार, पहिले जाडोमा भारी हिउँ पर्थ्यो, वसन्तमा फूलहरू फुल्थे, गर्मीमा हल्का वर्षा हुन्थ्यो। तर, ती सबै नियमितता बिथोलिए। जमिन फाट्न थाल्यो, बाली लगाउने समय झन् छोटिँदै गयो। खोल्साखोल्सी सुक्दै जाँदा सिँचाइ व्यवस्था ध्वस्त भयो। खाद्यान्न उत्पादन अब कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो, जनावरहरू मर्न थाले। BBC Future र Channel News Asia का प्रतिवेदनअनुसार, सम्जोङको मुख्य जलस्रोत सुक्न थालेपछि बाली उत्पादन घट्यो, पशुपालन असम्भव भयो, र जनजीवन सङ्कटमा पर्यो (BBC Future, 2020; Channel News Asia, 2021)।
मौसमी खेती यहाँको आर्थिक मेरुदण्ड थियो। शुष्क जलवायुमा अनुकूल जौ, फापर र तोरी खेती गर्ने परम्परागत पद्धतिले पानीको अभावमा आफ्नो अर्थ खोज्न थाल्यो। सिँचाइका लागि निर्भर रहेको कुलो प्रणाली सुक्खा खोल्साहरूले निष्क्रिय बनाइदिए।
चौँरी र भेडा सम्जोङको अर्थतन्त्रको दोस्रो स्तम्भ थिए। तर चरनका लागि हरियाली मैदानहरू सुक्खा मरुभूमिमा परिणत भएपछि यी पशुहरू पनि भोकमरीको शिकार भए। दूध, ऊन र मासुको उत्पादन आधा झर्यो। चौँरीको घण्टीको आवाज, जुन बिहानै गाउँलाई जगाउँथ्यो, अब विरलै सुनिन्थ्यो। एक पशुपालकले आफ्नो निराशा व्यक्त गर्दै भने, “याक नभएपछि हामी के हुने? यो त हाम्रो जीवन नै हो।”
पानीको अभावले गाउँको आधारभूत जीवन नै सङ्कटमा पर्यो। जलवायु परिवर्तनको प्रभाव केवल पर्यावरणमा सीमित रहेन; यसले मानवीय र कृषि सङ्कट पनि निम्त्यायो। पानीको अभावले खेतीपाती ठप्प भयो र गाउँलेहरूको आयस्रोत घट्यो। परम्परागत कुलो प्रणाली काम गर्न छोड्यो, र वैकल्पिक पानीका स्रोतहरू खोज्ने प्रयास असफल भए। याकको सङ्ख्यामा कमी आयो, जसले व्यापार र ढुवानीमा पनि असर पार्यो। आर्थिक दृष्टिले निर्भीक रहेका ती परिवारहरू असहाय भए। त्यसै समयमा उक्त गाउँमा पुगेका टासी बिस्टका अनुसार, “एकपटक म सम्जोङ गएको थिएँ। स्थानीयहरूको अनुहारमा चिन्ता, असन्तोष र पीडा स्पष्ट झल्किरहेको थियो। कुराकानी हुँदै जाँदा थाहा भयो, उनीहरू आफ्नो पुरानो गाउँ छाड्न बाध्य भइसकेका थिए।” कारण थियो—हिमनदी सुक्नु। जसले गर्दा खेतमा पानी पुग्न छोड्यो, अन्न फल्न छोड्यो, र जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले बिस्तारै गाउँ खाली गर्न थाले। उनले थपे, “त्यो बस्ती दिनप्रतिदिन खाली हुँदै थियो। हरेक दिन मानिसहरू घरका मूल्यवान सामानहरू बोकेर हिँडिरहेका थिए।”
गाउँलेहरू समस्यामा अल्झिरहेका थिए। त्यही समयमा स्विट्जरल्यान्डका फोटोग्राफर म्यानुएल बाउर सन् २००८ तिर यहाँको विषम परिस्थितिलाई आफ्नो क्यामेरामा कैद गर्न आएका थिए। तर उनले भेटेको गाउँ केवल एउटा सभ्यताको अन्तिम सास थियो। उनले सोचे, “सम्जोङ गाउँ जलवायु परिवर्तनले खतरामा छ। म यसलाई बचाउन चाहन्छु।” त्यसैअनुसार उनले जमिनमुनिको पानीको उपयोग गरी खेती पुनर्जनन गर्ने योजना बनाए, तर यो अपर्याप्त रह्यो। पानीका लागि बनाइएको इनार १५ मिनेट पम्प गरेपछि खाली हुन्थ्यो। यो खेतीका लागि पर्याप्त थिएन। “सम्पूर्ण गाउँ स्थानान्तरण गर्नु नै एकमात्र उपाय हो,” भन्ने निष्कर्षमा उनी पुगे। म्यानुएलले गाउँलाई सुरक्षित क्षेत्रमा सार्ने प्रयासमा स्विस कोष र स्थानीय सहयोग जुटाए। तर म्यानुएललाई यो स्थानान्तरण एउटा सपनाभन्दा बढी कठिन साबित भयो। यो केवल भौतिक रूपमा बसाइँ सर्नु मात्र होइन, यो त सभ्यताको विस्थापन हो।
नामासुङको नयाँ जीवन—उस्तै पीडा
सन् २०१२ देखि शुरू भएको नयाँ बस्ती बनाउने अभियान सन् २०१५ मा मात्र सम्पन्न भयो। त्यसअघि स्विट्जरल्यान्डबाट आएका विभिन्न विज्ञहरूले सुरक्षित बस्ती बसाउन जोखिमहरूको अध्ययन गरेर यो स्थान पक्का गरेका थिए। स्थानीय समुदायले नामासुङ पठार–क्षेत्रका करिब दस हेक्टर जमिनमा ठूला ढुङ्गाहरू हटाएर खेतीयोग्य बस्ती बनाए।
स्विस फोटोग्राफर म्यानुएल बाउरको सहयोगमा निर्माण गरिएको यो बस्ती पुरानोभन्दा सुरक्षित छ। यहाँ पानीको पर्याप्त व्यवस्था र खेतबारीको प्रबन्ध छ, र बस्ती व्यवस्थित पनि बनाइएको छ। तर बीबीसीका अनुसार, विस्थापनपछिको जीवनमा अझै अनिश्चितताको छाया छ, किनभने नामासुङको जमिनको स्वामित्व अझै पनि पूर्व राजपरिवारसँग जोडिएको छ, जसले दीर्घकालीन बसाइँलाई प्रश्नचिह्न बनाएको छ। त्यसमाथि, पानीको मुहानमा नजिकैको नेन्योल बस्तीसँग द्वन्द्व कायमै छ। पानीको मूल सुक्दो अवस्थामा रहेकाले नेन्योल बस्तीले आफूले पुर्खादेखि उपयोग गरेको पानीको स्रोत साझा गर्न चाहँदैन। यसले दुई समुदायबीच विवाद उत्पन्न भएको छ। गणतन्त्र आएपछि सरकारले बाटोघाटो, सिँचाइ र खानेपानीमा लगानी गरेर बसोबास केही सहज बनाउने कोसिस गरेको छ, तर यो पर्याप्त छैन।
अन्ततः, सन् २०१५ मे महिनामा १८ घरपरिवारका ८६ जना बासिन्दाले आफ्नो पुर्ख्यौली गाउँ छोडेर ११ किलोमिटर टाढा नामासुङमा बसाइँ सर्नुपर्यो। यो केवल घर छोड्ने कुरा थिएन, यो त पुर्खाहरूको सम्झना र पहिचान छोड्ने बाध्यता थियो। यो विस्थापन केवल भौगोलिक स्थानान्तरण होइन, एउटा सांस्कृतिक, सामाजिक र भावनात्मक विच्छेदको कथा हो। एक वृद्धले भनेझैँ, “पुरानो घरले आत्मा बोकेको थियो, नयाँ घरले त्यसलाई तर्साएको छ।” हो, साँच्चै, नयाँ घरले शरीर त बचाउँछ, तर आत्मा पुरानो गाउँमै बाँचिरहन्छ। समुद्र सतहदेखि ४,२०० मिटर उचाइमा अवस्थित नयाँ बस्ती छोसेर हिमतालको नजिक छ, जसले अर्को सङ्कट थपेको छ। समुदायमा विस्थापित हुनुको भय अझै मेटिएको छैन। सामुदायिक बैठकहरूमा यो प्रश्न बारम्बार उठ्छ, “के हामी फेरि विस्थापित हुनुपर्ने हो?” तर विकल्पको अभावले उनीहरूलाई यही ठाउँमा रहन बाध्य बनाएको छ।
यसैबीच, गाउँलेहरूले आफ्नो पुरानो वासस्थान सम्जोङलाई बिर्सन सकेका छैनन्। त्यसैले कुनै न कुनै निहुँमा त्यहाँ गइरहन्छन्। अब त हिउँदको पारिलो घाम र नजिकैको चौरमा पशु चराउन पनि नामासुङबाट सम्जोङ नै जान थालेका छन्। एक हिसाबले अस्थायी बसोबास नै शुरू हुन लागेको छ। यसो हुनुमा पुर्खाको अस्तित्व रहेको जग्गाजमिन, घरहरू र ऐतिहासिक सम्पदाहरू (गुफा–मठ, बौद्ध थाङ्का र टुकुचे मठका १५औँ शताब्दीका भित्तिचित्रहरू) छन्। तर, संरक्षणको अभावमा पुरातात्त्विक महत्त्वका गुफाहरू र त्यहाँ भेटिएका प्रमाणहरू जलवायुले झन् जर्जर बनाउँदै लगेको छ।
नामासुङको कथा एउटा विडम्बनालाई जन्माउँछ: जलवायु सङ्कटबाट बच्न गरिएको विस्थापनले एउटा जोखिम त कम गर्यो, तर गाउँलेहरूको पीडाले भन्छ—“नयाँ घरमा बस्दा पनि हाम्रो मन पुरानो गाउँमै छ। यहाँको हावामा पुर्खाको सुगन्ध छैन।” उनीहरूको पीडा केवल भौतिक होइन, यो सभ्यताको मूल्याङ्कन गर्ने प्रश्न हो: के मानव अधिकारको परिभाषामा सांस्कृतिक अस्तित्वलाई स्थान छैन?
नीतिगत असफलता र अन्तर्राष्ट्रिय अन्याय
नेपाल सरकारले सन् २०१० मा राष्ट्रिय अनुकूलन कार्ययोजना (NAPA), सन् २०२० मा समन्वित अनुकूलन कार्यक्रम (CAPA) र स्थानीय तहबाट सञ्चालित स्थानीय अनुकूलन योजना (LAPA) मार्फत पहाडी–हिमाली भेगका समुदायलाई जलवायु सङ्कटसँग जुध्न सशक्त बनाउने वाचा गरेको थियो। तर, यी तीनै योजनाहरू सम्जोङसम्म कहिल्यै लागू भएनन्। यो केवल सरकारी अक्षमता मात्र होइन—ग्रामीण समुदायको आवाजलाई नीति निर्माण प्रक्रियाबाट बाहिर राख्ने रणनीतिक उपेक्षा हो। अर्को हिसाबले, यो अन्तर्राष्ट्रिय न्यायको घोर विफलता हो—जहाँ उत्सर्जनमा नगण्य योगदान दिने समुदायले सङ्कटको पूर्ण मूल्य आफ्नो र पुर्खाको अस्तित्व मेटेर चुकाइरहेका छन्। धनी राष्ट्रहरूले सन् २०२३ मा मात्र ३७ गिगाटन CO₂ उत्सर्जन गरेका छन् (Global Carbon Project, 2023), जबकि सम्जोङको कार्बन फुटप्रिन्ट चौँरीको गोबर बाल्नेसम्म सीमित छ।
यो अन्याय अझ गहिरो छ, किनभने युनिभर्सिटी अफ म्यासेचुसेट्स र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको पछिल्लो अध्ययनले हिमालय क्षेत्रको तापक्रम वृद्धि दर विश्वको अन्य भागभन्दा करिब तीन गुणा बढी भएको पुष्टि गरेको छ। यसले हिमनदी पग्लँदा पानीको उपलब्धता र सिँचाइ प्रणालीलाई गम्भीर सङ्कटमा पारेको छ। यसले सम्जोङजस्ता गाउँहरूमा सिँचाइ, पिउने पानी र पशुपालनको आधार नै नष्ट गर्यो। यो एउटा कडा सत्य उजागर गर्छ: जलवायु न्यायको सिद्धान्त कागजमा मात्र सीमित छ। विकसित देशहरूले ऐतिहासिक रूपमा वातावरण प्रदूषित गरेर आर्थिक विकास गरे, तर अब जब हिमालयजस्ता क्षेत्रहरूले त्यसको मूल्य चुकाउँदै छन्, उनीहरू जवाफदेहिताबाट पलायन गरिरहेका छन्। सम्जोङको माटोले सोधेको प्रश्न स्पष्ट छ: किन जलवायु सङ्कटको राजनीतिमा गरिबको जीवन सस्तो हुन्छ?
सगरमाथा संवाद
यसै साता काठमाडौँमा आयोजित सगरमाथा संवादमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको सहभागिता भए पनि, सम्जोङका विस्थापितहरू वा त्यस्तै अन्याय भोग्न बाध्य समुदायहरू त्यहाँ आमन्त्रित थिएनन्। आयोजक नेपाल सरकारले नै त्यस्ता समुदायलाई सम्झन सकेन। यो आलेख तयार पार्दै गर्दा आज हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा गाउँमाथिको ताल फुटेर लेदोसहितको पहिरो आएको समाचार छ। यो गाउँमा रहेका जम्मा ५० घरधुरीमध्ये १८ घरधुरीमा मात्र अहिले बसोबास भए पनि उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारिएको छ। लेदोसहितको पहिरोले तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ। १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, ४०० रोपनीमा सिँचाइ गर्ने कुलो र खानेपानीमा पनि क्षति पुगेको छ। तर, राजधानीमै सगरमाथा संवाद भइरहँदा यस्ता समुदायको आवाज उठाउने प्रतिनिधित्व भएको छैन। साँचो प्रश्न यही हो—के यो ‘सगरमाथा संवाद’ मञ्चले पीडितको आवाज सुन्न सक्दैन? वा सुन्न चाहँदैन?
यदि यस्ता समुदायहरूको आवाज सुन्न “सगरमाथा संवाद” जस्ता हाम्रै राष्ट्रले आयोजना गरेका मञ्चहरू पनि तयार छैनन् भने, अन्य अन्तर्राष्ट्रिय मञ्चहरूले स्थान देलान् भनेर कल्पना पनि गर्न सकिँदैन। वास्तवमा आवश्यकता छ—यस्ता संवादहरू काठमाडौँका वातानुकूलित हलहरूभन्दा टाढा, सम्जोङजस्ता विस्थापित गाउँहरूको चिसो घरमा पुग्ने। तब मात्र जलवायु न्यायको अवधारणा “सगरमाथा” जस्तै उच्च र पवित्र हुनेछ।
न्यायको खोजी
सम्जोङको कथा जलवायु अन्यायको क्रूर प्रहार हो। यहाँका बासिन्दाहरूले आफ्नो जीवनशैलीमा कार्बन फुटप्रिन्ट नगण्य राखेका छन्—चौँरीको गोबर बाल्नु, बायोडिग्रेडेबल सामग्री प्रयोग गर्नु र प्रकृतिसँग सहजीवनमा बस्नु उनीहरूको “प्रदूषण” हो। तर, वैश्विक उत्सर्जनको ९२% जिम्मेवार धनी राष्ट्रहरूले सन् २०२३ मा मात्र ३७ गिगाटन CO₂ उत्सर्जन गरेका छन् (Global Carbon Project, 2023), जबकि सम्जोङले यसको मूल्य आफ्नो घर, संस्कृति र इतिहास गुमाएर चुकाइरहेको छ। यो अन्यायको सबैभन्दा कठोर पक्ष हो: जसले सङ्कट सिर्जना गरेन, उसैले त्यसको दण्ड भोग्नुपर्छ। पूरै गाउँलाई आफ्नो जीवनशैली त्याग्न बाध्य पार्नु केवल अन्याय होइन, मानवताविरुद्धको अपराध हो।
तर, सम्जोङ केवल एउटा गाउँ मात्र होइन, यो भविष्यको दर्पण हो। यदि आज यसलाई उपेक्षा गरियो भने, यो विश्वव्यापी जलवायु नीतिहरूको विफलताको प्रतीक हुनेछ। जलवायु न्यायको माग अब केवल घोषणापत्र र सम्मेलनमा सीमित हुन सक्दैन—यसले क्रियाशील सहानुभूति, समावेशी नीति र ऐतिहासिक जिम्मेवारी माग्छ। यसको अर्थ हो: सम्जोङजस्ता समुदायलाई नीति निर्माणको केन्द्रमा राख्नु, Loss and Damage Fund मार्फत क्षतिपूर्ति गर्नु र उनीहरूको सांस्कृतिक पुनर्निर्माणमा लगानी गर्नु।
सम्जोङका बासिन्दाहरूले बिस्तारै होइन, आत्मसङ्घर्षसहित आफ्नो संस्कृति र इतिहासलाई पछाडि छाड्दै छन्। तर, उनीहरूको आवाजमा गहिरो सन्देश छ, जलवायु सङ्कटको असर समान छैन। सबैभन्दा कम योगदान दिनेहरू नै सबैभन्दा बढी पीडित छन्। सम्जोङ एउटा भूगोल मात्र होइन, एउटा प्रश्न हो: “हामी कस्तो विश्व बनाउँदै छौँ, जहाँ सहस्राब्दी पुरानो सभ्यता एक दशकमै लोप हुन्छ?” सम्जोङको सङ्घर्ष यो प्रश्नको मूर्त रूप हो।
सम्जोङलाई न्याय दिने पहिलो कर्तव्य नेपाली राज्य व्यवस्थाको हो। त्यो भनेको सम्जोङ र सम्जोङजस्ता बस्तीहरूको आवाज राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा बुलन्द गर्नु हो। संसारले जलवायु न्यायका सन्दर्भमा यदि साँच्चिकै प्रतिबद्धता देखाउन चाहन्छ भने, संवादहरू काठमाडौँका सम्मेलन केन्द्रमा मात्र सीमित नहोऊन्। संवाद त्यहाँ पुग्नुपर्छ, जहाँ आवाज छैन—सम्जोङजस्ता विस्थापित गाउँहरूमा। त्यसपछि मात्र, त्यो संवाद वास्तवमै “सगरमाथा” हुनेछ—साँच्चिकै सर्वोच्च न्यायको प्रतिनिधि।
(लेखक समाज, विकास तथा योजना अध्येताको जुम्ला जिल्ला चन्दननाथ नगरपालिका -१० का बासिन्दा हुनुहुन्छ।
हाल उहाँ कामको सिलसिलामा जर्मनीमा हुनुहुन्छ।)