पर्यटनको राजधानी बनाउने नारा दिइरहँदा नगरमा पर्यटन हेर्ने छुट्टै निकाय नहुनु र युवाले माग गर्दा पनि सुनुवाइ नहुनुले स्थानीयमा निराशा छाएको छ।
नेपाली कांग्रेसले २०७४ सालको चुनावी घोषणापत्रमा अछामको पञ्चदेवल विनायक नगरपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विश्वसामु चिनाउने लक्ष्य राखेको थियो।
घोषणापत्रमा पाँच वर्षभित्र विदेशी पर्यटक भित्र्याउने, बसाइ अवधि र खर्च बढाउने, रोजगारी सिर्जना गर्ने, ‘मास टुरिजम’को हब बनाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, वडा नम्बर १ देखि ९ सम्म दुई लेनको कालोपत्रे सडक निर्माण गर्ने र रामारोशन जोड्ने सडक विस्तार गर्ने जस्ता महत्वाकांक्षी योजना समेटिएका थिए।
तर, सात वर्षसम्म बहुमतसहित सरकार चलाउँदा यी योजना घोषणापत्रमै सीमित रहेको स्थानीयको गुनासो छ। ‘लेष्टेकोट’ शब्दसमेत ओझेलमा परेको र नगरले पर्यटन विकासमा ठोस कदम नचालेको उनीहरूको आरोप छ।
यता, नेकपा एमालेले पनि आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकता दिएको थियो। ओझेलमा परेका मठमन्दिर र पुरातात्त्विक स्थलको संरक्षण, पर्यटकीय गन्तव्यको विकास, होटल, रेस्टुरेन्ट, होमस्टे, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लायर र केबलकार जस्ता पूर्वाधार निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने योजना उसले अघि सारेको थियो।
तर, यी योजना पनि कागजमै सीमित भएको स्थानीयको भनाइ छ।
नगर र पर्यटन क्षेत्रबीच सहकार्यको अभाव
स्थानीय बुद्धिजीवी र व्यवसायीले नगरपालिकाले पर्यटन क्षेत्रसँग हातेमालो गर्न नसकेको बताएका छन्। “पर्यटन क्षेत्रको विकासका लागि नगरले अभिभावकको भूमिका निर्वाह गर्नुपर्थ्यो, तर त्यो देखिएन,” एमाले निकट युवा नेता एवं सामाजिक अभियन्ता भरत साउद भन्छन्। उनका अनुसार, कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई जोगाउन नगरले कुनै पहल गरेन।
“कर छुट र राहत दिन सक्थ्यो, तर उल्टै सम्पत्ति कर र घरबहाल करमा कडाइ गर्यो,” उनले गुनासो गरे। फोहोर व्यवस्थापन, शौचालय निर्माण, सहर सौन्दर्यीकरण र ब्रान्डिङ जस्ता आधारभूत काममा समेत नगर चुकेको उनको ठम्याइ छ।
“पर्यटक भित्र्याउन सके नगरले नै लाभ लिन्थ्यो, तर त्यसमा पनि चासो देखाइएन,” साउद थप्छन्। उनका अनुसार, कालेकाडालाई जसरी प्रवर्द्धन गरिएको छ, वास्तविकता त्यस्तो छैन। “पोष्टरमा देखाइएको लेष्टेकोट यहाँ देख्न सकिँदैन, यो सबै नगरको कमजोर भूमिकाले हो,” उनले भने।

युवाको पहल, नगरको बेवास्ता
पर्यटनको राजधानी बनाउने नारा दिइरहँदा नगरमा पर्यटन हेर्ने छुट्टै निकाय नहुनु र युवाले माग गर्दा पनि सुनुवाइ नहुनुले स्थानीयमा निराशा छाएको छ। “चुनावमा ठूला कुरा सुन्छौं, तर कार्यान्वयन शून्य छ,” साउद भन्छन्।
यता, नगरको बेवास्ताबीच युवाहरूले भने पहल थालेका छन्। १० वर्षअघि २०७१ वैशाख १ गते कालेकाडाका युवाले लेष्टेकोट महोत्सव आयोजना गरेका थिए। सडक र आर्थिक अभावले त्यसले निरन्तरता पाएन।
तर, २०८१ चैत २१ गते कालेकाडा युथ क्लबले सामाजिक सञ्जालमार्फत महोत्सवको घोषणा गरेपछि स्वदेश र विदेशमा रहेका युवा तथा नागरिकले आर्थिक सहयोग जुटाएका छन्।
आगामी फागुन २९ गते फागु पूर्णिमाका दिन भव्य कार्यक्रमको आयोजना गरिँदैछ। उक्त दिन तीनवटा राष्ट्रिय झण्डा फहराउने योजना रहेको क्लबकी कोषाध्यक्ष बेलकोषा रावल कार्कीले बताइन्।
राज्यलाई घच्घच्याउने युवाको प्रयास
सामाजिक अभियन्ता साउदले युवाहरू एकजुट भएर पञ्चदेवल र लेष्टेकोटलाई चिनाउन आर्थिक कोष खडा गरेको बताए। “नगरले साथ नदिएपछि युवाले राज्यसामु चिनाउने पहल थालेका हौं,” उनले भने। उनका अनुसार, यो अभियानले राज्यलाई समेत दबाब दिनेछ।
स्थानीयको भनाइ छ, सात वर्षमा नगरले आफ्नो आम्दानी बढाउन र पर्यटन क्षेत्रसँग सम्बन्ध बलियो बनाउन कुनै कदम चालेन। अब आउने जनप्रतिनिधिबाट पनि ठोस आशा नरहेको उनीहरू बताउँछन्। “नगर आफैं पर्यटनमैत्री बन्न सकेन, लेष्टेकोटको नाम घोषणापत्रमा पनि परेन,” साउदले थपे।
