आईतवार, ७ बैशाख, २०८२

हिउँसँगको सहयात्रा

हिउँसँग बिताएका ती अनगिन्ती स्मृतिहरू हृदयको फाँटमा कैद छन्। कहिलेकाहीँ तिनलाई पल्टाउँदा, छाम्दा, महसुस गर्दा मनमा अनौठो खुसी मिल्छ। तर आजभोलि पहिले जस्तो हिउँ पर्दैन। परोस् पनि कसरी?

जुम्ला भन्नेबित्तिकै सबैको मानसपटलमा एउटा सुन्दर दृश्य उभिन्छ। प्राकृतिक सुन्दरताको खानी, अनौठोमय र कल्पनाको स्वर्गजस्तो लाग्ने जुम्लालाई प्रकृतिप्रेमीहरूले ‘स्वर्गको टुक्रा’ भनेर परिभाषित गर्छन्।

म जुम्लाबाट बाहिर जाँदा भेटिने साथी, मित्र, आफन्त वा विभिन्न माध्यमबाट जोडिएका सबैले भन्ने गर्छन्, “जुम्ला एकपटक पुग्न मन छ, कस्तो राम्रो छ है त्यहाँ!” समय र परिस्थितिले साथ दियो भने अवश्य पुग्ने उनीहरूको आशा हुन्छ। यो सुन्दा मलाई गर्व लाग्छ—आहा! म त जुम्लामै जन्मेको मान्छे।

हिउँसँगको मेरो यात्रा र स्मृतिहरू अनगिन्ती छन्। बाल्यकालमा मंसिर लाग्नासाथ आकाशमा बादल मडारिएको देख्दा झ्यालबाट नियाल्थेँ र साथीहरूसँग एकै लयमा भन्थेँ, “हिउँ आयो, पुस बुडाबुडी रुस!” मन गद्गद् हुन्थ्यो।

हिउँ पर्दा लाग्थ्यो, हामीले भनेकै कारण हिउँ पर्‍यो। एउटा भयानक युद्ध जितेजस्तो खुसीको अनुभूति हुन्थ्यो। हिउँ भुरभुर झर्दा म जस्तै अन्य बालबालिका आँगन र छतमा उफ्रन्थे। “हिउँ आयो, पुस बुडाबुडी रुस” भन्दै उफ्रिएको क्षण हिजो जस्तै लाग्छ।

ती बाल्यकालका खुसीहरू अहिले पनि यादको भण्डारमा ताजै छन्। तर त्यो बेलाको समय र परिस्थिति पूरै बदलिएको छ। समयले कोल्टे फेरे जस्तै हाम्रो जिन्दगी पनि फेरिएको छ। ती दिनहरू कहिल्यै फर्केर आउँदैनन्।

हामी कराएर, उफ्रेर खुसीको युद्ध जित्थ्यौँ, साथीहरूसँग हिउँका डल्ला बनाएर खेल्थ्यौँ। कहिलेकाहीँ डल्लाभित्र साना ढुङ्गा हालेर एकअर्कालाई हान्थ्यौँ।

त्यो उट्पट्याङ सम्झिँदा अहिले पनि मन झसङ्ग हुन्छ। तर त्यो रहर थियो, निर्दोष मनको खेल थियो। न रिस थियो, न दुश्मनी केवल मुस्कान र खुसी बाँड्न हिउँसँग खेलिन्थ्यो।

आजभोलि ती दिनहरू हराए जस्ता छन्। कति रहरलाग्दा, कति खुसीका क्षण थिए ती! सम्झिँदा मनमा खुसीको हुरी चल्छ, मुहार हाँस्छ। कहिलेकाहीँ भन्न मन लाग्छ— क्या दिन थिए, क्या समय थियो, क्या गज्जबको जिन्दगी!

म आफैँभित्र विगतको प्रशंसक बनेर सम्झिरहन्छु। ती दिनहरू सम्झनलायक र बिर्सन नसकिने गरी मनमा जमेका बरफका टुक्रा हुन्। हिउँ पर्दैछ, हामी उफ्रिँदैछौँ, हिउँ समातेर खेल्दैछौँ।

हात चिसोले रातो हुने, आङ सिरिङ्ग हुने कुनै पत्तो नहुने। केवल रहर, साथी र हिउँसँगको सहयात्रा मात्रै महसुस हुन्थ्यो।

हिउँसँग बिताएका ती अनगिन्ती स्मृतिहरू हृदयको फाँटमा कैद छन्। कहिलेकाहीँ तिनलाई पल्टाउँदा, छाम्दा, महसुस गर्दा मनमा अनौठो खुसी मिल्छ। तर आजभोलि पहिले जस्तो हिउँ पर्दैन। परोस् पनि कसरी?

मान्छेले विकासको नाममा प्रकृतिलाई ठेस पुर्‍याइरहेको छ। जलवायु परिवर्तनले न समयमा पानी पर्छ, न हिउँ।

चैत-वैशाखमा फूल्ने लालीगुराँस माघ-फागुनमै फुल्छ। प्रकृतिको विनाश विस्तारै भइरहेछ, तर मान्छे आफ्नो इच्छापूर्तिका लागि प्रकृतिको नियम तोडिरहँदा यो पत्तै पाउँदैन।

मैले जस्तै हिउँसँगको यात्रा भावी पुस्ताले अनुभव गर्न पाउलान् कि नपाउलान्, यो सोच्दा मन चिन्तित हुन्छ। जे होस्, प्रकृतिको नियम नतोडियोस्, मान्छे समयमै सचेत होस्।

हामीले जस्तै “हिउँ आयो, पुस बुडाबुडी रुस” भन्दै पछिल्ला पुस्ताले पनि खुसी र रहर किन्न पाउन्।

मंसिर, पुस, माघमा हिउँ परोस्, उनीहरूले पनि खुसीको युद्ध जित्न सकून्। प्रकृतिको नियम उस्तै रहोस्, यो दुनियाँका सर्वश्रेष्ठ प्राणी उस्तै चलून्!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार