मंगलवार, ३ असार, २०८२

कहिले भत्किने जातीय विभेदको संरचना?

जसको हातमा सीप छ जसले श्रम गर्छ जोसँग फरक क्षमता छ। जसको सीप, कलाले समाज चलेको छ त्यसैलाई शुद्र बनाइयो। जसलाई पाउबाट उत्पन्न भए भनेर भनियो। जसलाई सबैभन्दा बढी सम्मान दिनुपर्ने हो त्यसैलाई समाजको सबैभन्दा तल्लो दर्जामा सिमित गरियो।

जातीय विभेद मूलतः समाजको सबैभन्दा क्रूर, अपराधिक, अमानवीय, असम्मानित कुप्रथा हो। जसले समाजको एक वर्गलाई हजारौं वर्षदेखि विभेदको घेराबन्दीमा पारेर हैकम जमाइरह्यो। यो विभेदको संरचना यति कठोर यति निर्मम यति बलियो छ कि आजसम्म गरेका अनेकौं क्रान्तिले समेत पूर्ण रुपमा भत्काउन सकिरहेका छैनन्। जातीय विभेदको कसरी भयो भन्ने छुट्टाछुट्टै धारणाहरु छन् परिभाषाहरु छन्। धार्मिक रुपमा हेर्ने हो भने हिन्दु धर्ममा जातको मुख्यतः वर्ण व्यवस्थामा आधारित छ। यो व्यवस्था वेद तथा मनुस्मृतिजस्ता विभिन्न ग्रन्थहरुमा वर्ण व्यवस्था रहेको देखिन्छ।

वर्ण व्यवस्थाका ब्राह्मण, क्षत्रीय, वैश्री, शूद्र चार वर्णमा व्यवस्था गरिएको पाइन्छ। सामान्य नजरले हेर्ने हो भने यसमा कुनै पनि पेशाको आधारमा वर्ण व्यवस्था गरिएको जस्तो देखिन्छ। यसको कुनै प्रकारको विभेद नभएको जस्तो देखिन्छ। यो व्यवस्थामा काम छुट्याइएको छ। जस्तै: ब्राह्मणको कर्म पूजापाठ गर्ने, शिक्षा हासिल गर्ने, विभिन्न धार्मिक कार्य गर्ने, गुरु, पुरोहित, जस्ता कर्म गर्ने उल्लेख छ। क्षत्रीयताको राजनीति गर्ने, शासन गर्ने, अझ सुरक्षा गर्ने जस्ता कार्य पर्छन्। वैश्यको कर्म व्यापार, गर्ने कृषि पशुपालन गर्ने, सामान्य अर्थमा भन्दा आर्थिक कारोबार गर्ने, उल्लेख छ भने शूद्रको कर्म भने अरुको सेवा गर्ने, श्रम गर्ने, कलाकार, हस्तकला, वास्तुकला, बृहत् कला भएको वर्ग हो शूद्र तर यो काम आधारमा छुट्याइएको एउटा संरचना मात्र थियो।

यो वर्ण व्यवस्था विस्तारै परिमार्जित हुन पुग्यो। हिन्दू धर्म ग्रन्थमा आधारित यो व्यवस्था ऋग्वेदमा थप उल्लेख गरेको छ। जसमा समाजलाई विभाजन गर्ने आधारस्तम्भहरुको उल्लेख गरिएको छ। अझ भन्दा यसमा उल्लेख भएअनुसार विभिन्न मनुस्मृतिले थप प्रभाव र असर पारेको देखिन्छ। ऋग्वेद अनुसार, पुरुषसूक्तमा वर्ण प्रणालीलाई ब्राह्मण भनेको परम पुरुषको मुखबाट अथवा इश्वरको मुखबाट उत्पन्न भएको भनिएको छ। क्षत्रीय पाखुराबाट उत्पन्न भएको उल्लेख छ। वैश्य तिघ्राबाट उत्पन्न भएको र शुद्र चाहिँ पाउबाट उत्पन्न भएको भनिएको छ। यसरी ऋग्वेदमै उल्लेख गरिएको वर्ण व्यवस्थामा एउटा मानिसलाई विभिन्न संरचनात्मक रुप दिएर विभेद गरेको देखिन्छ।

जसको हातमा सीप छ जसले श्रम गर्छ जोसँग फरक क्षमता छ। जसको सीप, कलाले समाज चलेको छ त्यसैलाई शुद्र बनाइयो। जसलाई पाउबाट उत्पन्न भए भनेर भनियो। जसलाई सबैभन्दा बढी सम्मान दिनुपर्ने हो त्यसैलाई समाजको सबैभन्दा तल्लो दर्जामा सिमित गरियो। आदिम कालमा त्यसरी सुरु भएको संरचनात्मक विभेद जुन आजको युगमा पनि जिवित छ। वर्ण व्यवस्था लागु हुने बेला वा बनेको बेलामा विभेद खासै देखिएन किनकि त्यो सुरुवात थियो। त्यो व्यवस्था वास्तवमा समाज चलायमान गराउनको निमित्त बनेको हुनसक्छ तर पछि त्यसले विकराल रुप लियो। जुन वर्ण व्यवस्था अर्थात् अहिले भन्नुपर्दा जात व्यवस्थाले समाजमा नकारात्मक रुप लिदै आएको छ।

धर्मले जसलाई शुद्र भनेर परिभाषित गर्‍यो। त्यसैलाई तल्लो स्तरको दृष्टिले हेर्न थालियो। जसले सबैभन्दा बढी श्रम गर्छ, सबैभन्दा बढी क्षमता छ, अझ भन्नुपर्दा क्षमताको खानी छ जोसँग, जसले गाउने कर्म गर्छ, जसले बजाउने कर्म गर्छ, जसको हातको सीपले भगवान बस्ने मन्दिर बन्छन्, चेतनशील प्राणी बस्ने घर बन्छन्, शरीरमा लगाउने गहना बन्छन्, लाज छोप्ने लुगा निर्माण हुन्छन्। खाने थाली बन्छन्। क्षमताको पनि क्षमता भएको वर्गलाई शूद्र भनेर अपमानित गरियो र यसरी सुरु भयो जात व्यवस्था जुन व्यवस्थाले वर्तमान परिस्थितिमा हामी थिचोमिचो परेका छौं।

नेपालमा माथिकै व्यवस्था बमोजिम जातीय व्यवस्थाको संरचना छ जुन हालसम्म सोही व्यवस्था जिवित छ। करिब १४ औं शताब्दी तिर नेपालको मल्लकालिन राजाहरूको शासन कालमा जयस्थिति मल्लको पाला नियमबद्व रुपमा जातीय विभेदको सुरुवात भएको देखिन्छ । अझ त्यो बेला त सामाजिक रुपमा जातीय विभेदलाई मान्यता दिइएको समेत पाइन्छ। जयस्थिति मल्लले वि.स.१३८२ देखि १३९५ सम्म नेपालमा जात व्यवस्थालाई कानूनी रुपमै मान्यता दिएको पाइन्छ।

जयस्थिति मल्ले त्यतिबेला ६४ वर्गमा समाजको विभाजन गरे। उच्च जात, तल्लो जात, आदिबासी, व्यापारि जात लगायत भनेर छुट्याइएको पाइन्छ।

त्यसपछि शाहकाल राजा पृथ्वीनारायण शाहले वि.स.१७७९देखि १८३१ सम्ममा नेपाल एकीकरण गरेपछि “चार वर्ण छत्तीस जात” को नारा दिएपछि थप जातीय विभेदको संस्थाकरण भयो। उनको पालामा जात व्यवस्थालाई थप कडाइका साथ लागू गरिएको पाइन्छ। ब्राह्मण र क्षेत्रीलाई उच्च जातको रूपमा मान्यता दिएका पृथ्वीनारायणले भने अन्य जातहरूलाई तल्लो दर्जाकै रुपमा समावेश गरे। त्यसपछि राणा शासनमा जङ्गबहादुर राणाले वि.स.१९१० मा ‘मुलुकी ऐन’ लागु गरे जुन ऐनमा जातीय विभेदलाई कानूनी रुपमा परिभाषित गरियो। उनले पनि चार भागमा विभाजन गरेर जातीय विभेदलाई थप उत्थान गरे।

पञ्चायतकालमा आएर जातीय विभेदविरुद्ध केही सुधार भएको पाइन्छ। राजा महेन्द्रले वि.स.२०१९ मा ‘नयाँ मुलुकी ऐन’ल्याएर जातीय विभेद हटाउने प्रयास भने गरेको देखिन्छ। तर व्यवहारिक रुपमा जस्ताको त्यस्तै रहन पुग्यो। त्यसपछि विस्तारै विभिन्न ऐन कानूनहरुमा जातीय विभेदलाई कानूनी रुपमा अपराध ठहरियो तर विभेदको अवस्थामा भने कुनै परिवर्तन आएन। पहिलो जनआन्दोलन २०४६ भयो। ०५२-०६२ सम्म दस वर्षे जनयुद्ध भयो। त्यसपछि पुन: दोस्रो जनआन्दोलन भयो २०६२-२०६३ सम्म। हजारौं मानिस सहिद भए। देशमा धेरै परिवर्तन आयो। व्यवस्था फेरियो पहिलाको भन्दा अवस्था धेरै गुणा फेरियो। संविधान बन्यो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो।

तर जातकै नाममा विभेद हुन अन्त्य कहिले भएन। राज्यले कानुन बनायो जातीय विभेद गर्नेलाई कानुनी कारबाही हुन्छ त भन्यो तर कानूनको पालना पूर्ण रुपमा हुन सकेन। कानुनले जातीय विभेद हटाए पनि यो समाजको पाखण्ड संरचनाले जातीय विभेद हटाउन सकेन। समाजको उपल्लो वर्ग भनिनेको मनोदशामा कहिले चेतनाको दियो बलेन। सामन्तवादको पराकाष्ठा भत्किन सकेन। समाजको चेतना स्तरमा खासै सुधार आउन सकेन। राज्यले शिक्षा प्रदानमा व्यापक, सबैभन्दा बढी बजेट विनियोजन गर्‍यो। जुन शिक्षाले सक्दै सकेन हेर्ने दृष्टिकोण परिवर्तन गर्न।

जातको जरो यसरी गाडिएको छ। जसलाई उखेलेर फाल्न अझै युग लाग्ने देखिन्छ। यो व्यवस्था यति भयानक व्यवस्था हो। जसको अन्त्यको निमित्त कैयौंले ज्यान आहुती दिइसके तर जातको जरो उखेलिन सकेन। न राज्य नै यो लाग्यो जातीय विभेदको यो भयानक पर्खाल भत्काउन न समाज नै लाग्यो। बरु समाजले झन यो विभेदको संरचनालाई मलजल गर्दै हुर्काउदै यहाँसम्म पुर्‍याउन मद्दत गर्‍यो।

जातीय विभेदकै संरचनाले रुकुममा नवराजहरु मारिए, दैलेखमा सेते दमाई मारिए, महोत्तरीका अजित मिजार मारिए जसको लास अहिले पनि काठमाडौंको टिचिङ अस्पतालमा न्यायको पर्खाइमा छ। बझाङकी सम्झना कामी दलित भएकै कारण बलात्कृत र ज्यान गुमाइन। अन्तरजातीय विवाह गरेकै कारण जुम्लामा घर जलाइयो। थुप्रै घटनाहरु छन्। जुन घटनाहरु जातीय विभेदकै संरचनाको कारण घटेका घटनाहरु हुन। जातीय विभेदको संरचनाकै कारण सडकदेखि सदनसम्म विभेद खेप्नु परेको छ।

जातीय संरचनाकै अर्को ठूलो जातीय घटना हो। सत्येन्द्र राम (चमार) र नेहा रौनियार बीच भएको अन्तरजातीय विवाह। राज्य संयन्त्र नै लागेर जातीय विभेद गरेको छ। गृहमन्त्रीको ठाडो आदेशमा उनीहरुमाथि सरकारको सबैभन्दा जिम्मेवार, संवेदनशील पदीयमा जसले कानूनको कार्यान्वयन गर्नुपर्ने हो। त्यसैले जातीय विभेद गरेको अवस्था छ। यसरी राज्यले नै अनेक षड्यन्त्र गरेर जातीय विभेद गरिरहेको छ। सत्ताको आडमा रहेर यसरी राज्यले आफ्नो मर्यादा भुल्नु नैतिकता हराउनु एकरत्ति जायज छैन। नेपाली इतिहासकै नैतिक पतन भएका गृहमन्त्री हुन रमेश लेखक। जसले यति ठूलो अपराध गरेर पनि मेरो छानबिन होस भनेर गृहमन्त्री जस्तो पदको दुरुपयोग गरिरहेका छन्।

यसरी राज्य सत्ता निर्मम भएर जातीय विभेद गरेको अवस्थामा यो राज्य विरुद्ध भएपनि आम दलित समुदाय राज्यविरुद्ध पुनः विद्रोह गर्ने समय आएको छ। घटना सन्दर्भ अन्तरजातीय विवाहको मात्र होइन। यो लडाइँ आत्म सम्मानको लडाइँ हो। यो लडाइँ अपहेलित विरुद्धको लडाइँ हो यो लडाइँ अन्याय, अत्याचार विरुद्धको लडाइँ हो। यो लडाइँ जात व्यवस्था विरुद्धको लडाइँ हो। तसर्थ दलित समुदाय यो लडाइँ एकजुट भएर लाग्यो भने यो व्यवस्थालाई भत्काउन सकिएला।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार