मंगलवार, ३ असार, २०८२

जाडो सम्बन्धी लोकगीत र प्यूठानको जाडो

फागुन जाडो कुला फकुला, चैत जाडो बेन्ना आइ, बैशाख जाडो बिउका जडा(जरा), जेठ जाडो बिउका पुला, अषाढ जाडो डाँडाकाँडा, साउन जाडो बादल र कुइडी, भदुअ जाडो लेखलेख आई, असोज जाडो घर नजिक आइ, कात्तिक जाडो खलाखेत, मंसिर जाडो गलारेत, पुस जाडो हाइहाइ माघ जाडो दाँता खाई (जाडोले दाँत जुधेर कटकट आवाज आउने बनाउने) अर्थात साविकको कर्णाली अञ्चल विशेषगरी जुम्लातिर बाह्रै मास जाडो हुन्छ भन्ने कुरा यहाँ देखिन्छ।

पृष्ठभूमि:
आजभोली घर, परिवार, साथीभाई, सर, गुरु, आमाबुबा, सासू ससुरा, आदरणीय व्यक्तित्व, सांसद, मन्त्री सबैले प्रत्यक्ष भेटमा या मोबाईलबाट नमस्कार शुभप्रभात भन्दै भलाकुसारीको शुरुवात हुन्छ। अनि लगत्तै सोध्नेगरिन्छ- आजको मौसम कस्तो छ ? चिसो छ कि तातो ? सिरेटो चल्छ कि चल्दैन ? नुहाउन सकिन्छ कि सकिँदैन ? घाम लागेको छ कि छैन ? आदि।

जुम्ला साविक कार्तिक स्वामी गा.वि.स. हाल चन्दननाथ नगरपालिका पुर्ख्यौली घर भई पछिल्लो समय बर्दिया गुलरियामा बस्दै आउनुभएका प्रतिष्ठित नाताले काका, पेशाले कानून व्यवसायी अधिवक्ता देविदत्त देवकोटाज्यूले यही हिउँदको एक साँझको समयमा प्यूठानमा जाडो कस्तो छ भनी सामाजिक सञ्जाल फेसबुक मार्फत भलाकुसारीको क्रममा मलाई सोध्नु भएपछि उहाँको जिज्ञासा एवं तृप्तिलाई पुरा गर्न प्यूठानमा रहेको जाडो बारे लेख्न उत्प्रेरित भएको छु।

जाडो सम्बन्धी लोकगीत
प्यूठानको जाडो बारेमा लेख्नु पूर्व यो पंक्तिकार साविक कर्णाली अञ्चल जुम्ला जिल्ला निबासी भएकोले त्यहाँको जाडो गर्मी र भूगोल, प्रकृति अनि सूक्ष्म मौसमसँग पनि परिचित छ। जुम्लाको जाडोलाई लिएर जुम्ली जनता अझ सदरमुकाम खलंगा नजिकका मानिसले गाउने गरेको प्रचलित लोकगित पस्किन चाहन्छु।

चिसो हावा ठण्डा पानी जुम्ला बजारको
मेरो मात्रै माया होकि माया हजारको।

यहाँका युवायुवतीले आफ्नो गाउँठाउँको परिचय चिसो हावा र ठण्डा पानीबाट दिँदै एक आपसमा लोकगीतका माध्यमबाट तिमीले धेरैलाई माया गर्छौकि साँच्चिकै मलाई मात्र माया गर्छौ भन्ने भाव व्यक्त गरिएको छ। यो गीत युवाले युवतीलाई र युवतीले युवकलाई जसलाई पनि भन्न मिल्ने प्रकृतिको छ।

अर्को गीत हेरौँ,
हिउँचुली सेतै त हुन्छन् खुट्टाखाइ हाल्दछन्,
कस्मेरा कालै त हुन्छ राजा लाही( लगाइ) हाल्दछन्।

प्रस्तुत गीतमा हिउँचुली अर्थात हिमाल अरूभन्दा सफेद सेतो सफा हुन्छ, शुन्दर हुन्छ तर खालीखुट्टामा हिउँले (जाडोले) खुट्टा नै खाइदिन्छ। तर कस्मेरा कपडालाई कालो भनेर के गर्नु सर्वसाधारणले मात्र होइन राजाले पनि त्यही कस्मेरा कपडाको कोट लगाउँछन् भन्ने भाव सहित गीत प्रस्तुत भएको छ।

चिसाले मरनु भैगो काम्लो रैगो हुम्ला,
काहिँपन देखिन मैले हुम्ला छै कि जुम्ला।

अर्थात जाडोमा ओढ्ने गरेको उनबाट बुनेको पाखी/काम्लो (च्यादर) हुम्लामा रहन छुट्न गयो, यता जुम्लामा चिसोले मर्नु बनाइसक्यो। यसैगरी आफूलाई माया गर्ने प्रेमिका कसैलाई पनि भेटाइन, कहाँ छौ? हुम्लामा छौ कि जुम्लामा छौ, भन्दै मायाले ओतप्रोत भइ आफ्नी मायालुलाई तँ भन्न पनि पछि नपरेको भावको गित प्रस्तुत गरिएको छ। यसैगरी-

हिउँदमास पाटनको बाटो चिसाले मर्नु छ,
छोडी जान्या पिरतीलाई भेटी क्या गर्नु छ?

अर्थात हिउँदको समय/ महिनामा पाटनको बाटो गरेर हिँड्नु पर्ने बाध्यता छ। त्यसैमा चिसोले मर्ने बनाएको छ, अनि युवतीले युवकलाई, युवकले युवतीलाई तिमीलाई भेटेर के गर्नु, कुनै अर्थ छैन किनकी जब मलाई छोडेर जान्छौ भने।

यस्ता लोकगीत जुम्ला हुम्ला लगायत साविकको कर्णालीमा कति छन् कति। मैले लोगगीतका माध्यमबाट कर्णालीको जाडोलाई मायाप्रितिका कथा र सन्दर्भ समेतसँग जोडेँ। अब प्यूठानको जाडो तिर लागौँ।

म आफैले यहाँको जाडो या न्यानो पनलाई प्रत्यक्ष रुपमा भोगिरहेको छु। यसैले पनि यहाँको हिउँदको न्यानो अवस्था र जाडोको अवस्थालाई जति जाडो भोग्न कठिन भएको छ त्यति लेख्न भने कठिन भएको छैन। यहाँको दिउँसोमा लाग्ने न्यानो घाम या बिहान बेलुकि सिरोट्ने जाडोलाई आलोचना या नकारात्मक रुपमा नलेखि मीठो रसिलो अनुभव लिदै सबै सामु सार्वजनिक गर्ने पर्यास गर्दैछु।

यस पंक्तिकारद्वारा प्यूठानमा हिउँदको याममा बसेपछि जाडो लाई भोगेर सिर्जित लोकगीत हेर्दा –

न हिउँ पर्ने नत तातो हिउँद प्यूठान् बस्ती,
बोलिमिठो लाग्छ उनको नछोडौँकि जस्ती।

अर्थात हिँउदको याममा प्यूठानका बस्तीहरूमा हिउँ नपरे पनि जाडोले यहाँका कुनै पनि ममनिसलाई माया गरेको छैन तर जाडो भएपनि मीठो बोलि भाषा, नरम शिष्ट भाषा बोल्ने यहाँका युवतीहरू हेर्दा नछोडेर साथमै लैजाउँकी जस्तो पो लाग्यो भन्ने भाव पाइन्छ।

जाडो बारेमा कर्णाली अंचलमा यस्तो कहावत रहेको पाइन्छ। फागुन जाडो कुला फकुला, चैत जाडो बेन्ना आइ, बैशाख जाडो बिउका जडा( जरा ), जेठ जाडो बिउका पुला, अषाढ जाडो डाँडाकाँडा, साउन जाडो बादल र कुइडी, भदुअ जाडो लेखलेख आई, असोज जाडो घर नजिक आइ, कात्तिक जाडो खलाखेत, मंसिर जाडो गलारेत, पुस जाडो हाइहाइ माघ जाडो दाँता खाई (जाडोले दाँत जुधेर कटकट आवाज आउने बनाउने) अर्थात साविकको कर्णाली अञ्चल विशेषगरी जुम्लातिर बाह्रै मास जाडो हुन्छ भन्ने कुरा यहाँ देखिन्छ।

फागुनदेखि खेति गर्न शुरु गरिने र शुरुवातमा नदी खोलाद्वारा पानी ल्याइने भएकोले कुलो बनाउन जाने गरिन्छ। कुलो बनाउँदा साँझपख जाडो को महसुस हुन्छ। एवं प्रकारले चैत्रको महिनानै काली मार्सी धानको बीउ भिजाउनु पर्ने र हिमाली जिल्लाहरुमा पारिलो घाम नलाग्दै बीउ राख्नु पर्ने भएकाले धानको बिउलाई विशेष न्यानो गरी उमारिन्छ।

बैशाखको महिनामा बीउ बेर्नामा हुर्कँदै गरेको गरेको अवस्थामा बिउलाइ उमार्न बेर्नाको पानी तात्न दिनुपर्ने ज्यादा पानी राख्न नहुने भनिन्छ। जेठको महिनामा यो कालीमार्सि जातको धानलाई रोपी सक्नुपर्छ। कार्तिकको महिना तुसारो लागेर काटिसक्नु पर्ने बाध्यता रहेकोले रोपिसक्नुपर्छ। नत्र जेठमा रोपाइँ गर्दागर्दै असिना पानी आएर चिसो लाग्न सक्छ। यसैले धानरोप्दा विशेष ध्यान दिनुपर्ने अवस्था देखिन्छ।

असारको महिनाम डाँडाकाँडा र लेखलेखमा बादल हुस्सु लाग्छ र त्ही बादल चिसिएर वर्षात हुन्छ यहि वर्षातमा भिजेपछि मानिसलाई आँतमा चिसो लाग्छ। जब श्रावण लाग्छ, बर्षातको राजा महिना डाँडाकाँडा, लेख पाटन सबै बादल र बादलका सेता गुच्छाले ढाक्ने मात्रै होइन। बर्षातमा भिज्यो एकैछिनमा जाडो लाग्नेगरी भिजाईदिन्छ। पशुवस्तु चराचुरुङ्गी ओभाउननै पाउँदैनन्।

चिसोले थुरथुर हुन्छन्। घरका छत छत वारी कान्लामा हुस्सु मार्फत जाडो नपत्याउने गरि आइरहेको हुन्छ। भाद्रमा त लेकलेक र हिमालमा झण्डै हिउँनै पर्न थाल्छ। दिनमा गर्मी जस्तो महसुस भएपनि त्यही लेकाली ठण्डिले रातिमा चिसोको आभास भैरहेको हुन्छ। घाँसकाट्न होस् या दाउरा लिन सोत्तर स्याउला होस् बारीमा जाँदा चिसो शीत परिरहेको हुन्छ।

असोज महिना जाडो हिमाल लेक जंगल हुँदै घर आँगन सम्म आइपु गिसक्छ। हिमाली जिल्लामा बिहानपख काम गर्न असहज भैसक्छ। कार्तिकको महिना जाडो खलाखेत अर्थात दाईँ हाल्ने बेर्ना सम्म आईपुग्छ। धान भित्र्याउने बेलामा बिहानपख होस् या साँझपख केही तराईका जिल्ला अपबाद बाहेक न्यानो हुने कपडा नलगाई सकिँदैन।

मंसिर पौष र माघ महिनामा हिमाली जिल्लामा साँझ बिहान बाहिर त के, घरभित्रपनि आगो नबाली हिटर नतापी, सकिँदैन। बिजुली हुने ठाउँ र धनिहरुले एसिनै प्रयोग गर्छन्। दिउँसोमा स्वीटर कोट जकेट टोपी मख्लर ट्राउजर हाईनिक नलगाई सकिँदैन। महिलाहरुले पनि न्याना कपडा धोती चोलो स्वीटर, घुम्चो च्यादर जकेट कोट पाइने र मिल्ने सम्मका न्याना लुगा नलगाई हिँडडुल र काम गर्न सक्दैनन्। यस्तै सकेसम्म तात्तातो झोलिलोजन्य दाल तरकारी खाने गर्दछन्।

एतिखेर प्यूठानको सदरमुकाम गाउँपालिका करिव ८०.०९ वर्ग कि.मि. क्षेत्रफलमा समुन्द्री सतह देखी करिव ४९२ देखि १८८२ मी सम्मको उचाइमा फैलिएको छ। प्यूठानमा यतिखेर मैले चिसोको मात्र कुरा गर्दा अन्याय हुन सक्छ केही केही कुरामा। दिउँसोमा बहुत न्यानो लोभलाग्दो घाम लाग्छ। निबुवा, अमिलोमा चिनी, मह खुर्सानी नुन मसला मलेर मिसाएर खाँदा कम्ति आनन्द आउँदैन।

बिहानको खाना पछि २ घण्टा निदाए पनि आनन्द आउने, तोरि तेल दलेर सुतेपनि आनन्द आउने घाम लाग्छ। साँझ बिहान आगो ताप्दै भान्सामा गफिदै चियाकफि पिउन मजा आउने जाडो छ। बरफ नजम्ने, सिरेटो नलाग्ने तर आँतमा चिसो लागेर न्यानो कपडा स्वीटर कोट उनि टोपि मखलर च्यादर जरुरी देखिन्छ।

अत्यधिक जाडो हुने जाडोको राजा महिना पुसको त झनै के कुरा गर्नु र? देशभर पुस महिना र माघ महिनाको पहिलो साताको जाडोले जनजीवन प्रभावित बनाइरहेको छ। राजधानी र देशका प्राय जिल्लामा हिमपात नभएपनि धेरै चिसो बढिरहेको छ। तराई तथा उच्च पहाडी जिल्लामा माघ महिना बाँकि नै रहेकोले जाडो थेग्न सकस खेप्नु पर्नेनै छ। विगतका वर्षमा शीतलहर एवं अत्यधिक जाडोले काठिएर मानिस एवं पशुवस्तु मरेको कैयौँ दुखद घटना हरु पनि छन्।

जाडोलाई स्वभाविक रूपमा नलिइ पनि हुँदैन। अत्यधिक जाडो हुँदा सजगता अपनाउन सकेनौँ भने विपत्ति आउन पनि सक्छ। सरकारले गरिव एवं अत्यन्त न्यून आर्थिक स्थिति भएका सर्वसाधारणलाई जाडोबाट बचाउन अहिले देखि आवश्यक तयारी थालीहाल्नु पर्ने देखिन्छ। जाडोकै कारण २ नं प्रदेशको जनजीवन समेत धेरै प्रभावित हुने गर्दछ।

उच्च हिमाली एवं पहाडी भेगमा अत्यधिक हिमपात भइ त्यहाँको जनजीवन प्रभावित हुन सक्ने हुन्छ। आम मानिसलाई जाडोका समयमा शरिरमा तातो हुने कपडा, ओढ्ने, ओछ्याउने कपडाको प्रबन्ध गर्न सरकारले अग्रसरता नलिइ हुँदैन। जाडोमा प्राय वृद्धवृद्धा, अशक्त व्यक्ति कमजोर आर्थिक स्थितिका परिवार, सडकमा बस्ने बेवारिस बच्चाहरु जाडोले सताइन्छन्।

यस २०८१ सालको हिउँदको जाडो बढ्दो क्रममा छ। यसैले देशभर जस्तै प्यूठानमा पनि कतै मानिसहरु जाडो ओढि रहेका छन्। कतै जाडो तापी रहेका छन्। कतै जाडो ओकली रहेका छन्। कठ्यांग्रिने चिसोको वर्णन गरि सक्नु छैन।

निष्कर्षमा भन्नू पर्दा जाडोको लामो इतिहास छ। जाडो अर्थात चिसो भनेको चिसोनै हो। चिसोका कारण ज्याननै गएका छन् भने होसियार रहन नसके अझै ज्यान जान सक्छन्। बिरामी हुनसक्ने अवस्था आउन सक्छ। अनावश्यक खर्च हुन सक्छ। उपचारको फागी भनेर ऋण लाग्न सक्तछ। अनावश्यक समयको दुरुपयोग हुन सक्दछ। यसैले जो जहाँ रहे बसेका भएपनि चिसो जाडोदेखि बचि न्यानो अवस्थामा रहुँ, न्यानो कपडा लगाउँ, न्यानो हुने खाना दाल तरकारी खाउँ। जय जाडो।
२०८१/१०/१०/ बिहीबार “प्रशान्त” खलंगा, प्यूठान।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार