जाडोमा इन्फ्लुएन्जा, रुघाखोकी, श्वासप्रश्वास समस्या, पिनास, टन्सिललगायतका समस्या बढी देखिन्छन्। श्वास नलीमा चिसो हावाको प्रभावले चिटचिटाहट सिर्जना गर्न सक्छ, जसले खोकी निम्त्याउँछ।
चिसो मौसममा स्वास्थ्यसम्बन्धी चुनौतीहरू थपिने मात्र होइन, दैनिक जीवनमा समेत प्रभाव पार्छ। जाडोले मानव शरीरमा विभिन्न प्रकारका समस्या निम्त्याउने गर्दछ।
यो समयको चिसो विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा अझ बढी हुन्छ। जुम्ला लगायत अन्य हिमाली जिल्लाहरूमा तापक्रम शून्यभन्दा तल झरेको हुँदा चिसोले मानिसको दिनचर्या, स्वास्थ्य र जीवनशैलीमा व्यापक प्रभाव पारेको छ।
यसले गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्नुका साथै जनजीवनमा थप कठिनाइ सिर्जना गरेको छ। चिसोमा भाइरल र ब्याक्टेरियाहरू निकै सक्रिय हुने हुँदा स्वास्थ्य समस्याको जोखिम बढ्छ।
जाडोमा इन्फ्लुएन्जा, रुघाखोकी, श्वासप्रश्वास समस्या, पिनास, टन्सिललगायतका समस्या बढी देखिन्छन्। श्वास नलीमा चिसो हावाको प्रभावले चिटचिटाहट सिर्जना गर्न सक्छ, जसले खोकी निम्त्याउँछ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू—बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी र दीर्घरोगी—चिसोबाट बढी प्रभावित हुने भएकाले उनीहरूले विशेष ध्यान दिनु आवश्यक हुन्छ।
पेटसम्बन्धी समस्याहरू पनि जाडोमा प्रायः बढ्ने गरेका छन्। चिसोका कारण पाचन प्रणालीमा समस्या आउनु, पेट दुख्ने, डाइरिया, वान्ता, रोटा भाइरस, र नोरो भाइरसजस्ता समस्याहरू देखिन सक्छन्।
त्यसैगरी, जोर्नी दुख्ने, बाथरोगका समस्या र छालाको फुस्रोपना पनि जाडोमा सामान्यजस्तै बन्ने गरेका छन्। चिसोले रक्तनली खुम्चिने हुँदा रक्तसञ्चारमा समस्या आउन सक्छ, जसले गर्दा उच्च रक्तचाप, मधुमेह, र मुटुसम्बन्धी समस्याहरू थप गंभीर हुन सक्छन्।
व्यायाममा कमी हुनु र खानामा ध्यान नदिनुले यी समस्यालाई झनै जटिल बनाउन सक्छ। चिसोको मौसममा प्रदूषणको मात्रा पनि उच्च हुने भएकाले श्वासप्रश्वासका रोगीहरूको समस्या झनै बढ्न सक्छ।
प्रदूषणको प्रभावले दम, एलर्जी, र रुघाखोकीजस्ता समस्यामा वृद्धि हुने चिकित्सकहरू बताउँछन्। यस्तो अवस्थामा सरसफाइमा विशेष ध्यान दिनु अत्यन्त जरुरी छ।
खाना पकाउनुअघि र खानुअघि साबुनपानीले राम्ररी हात धुने, संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नआउने, र आफूले प्रयोग गर्ने सामानहरू अरूसँग बाँडेर नचलाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ।
जाडोमा स्वस्थ रहन झोलिलो पदार्थको सेवनमा विशेष ध्यान दिनुपर्छ। तातो झोलिलो खानेकुरा, गेडागुडीको झोल, प्रोटिनयुक्त खाना र सागसब्जीको सेवनले शरीरलाई तातोपन दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ।
दिनभर पर्याप्त मात्रामा तातो पानी पिउनु, मर्निङ वाकमा घाम लागेपछि मात्र न्यानो कपडा लगाएर निस्कनु र नियमित रूपमा छालामा मोस्चराइजिङ क्रिम प्रयोग गर्नु जस्ता उपायहरू अवलम्बन गर्नुपर्छ। यस्तै, शरीरलाई न्यानो बनाउन तेलको मसाजले पनि फाइदा पुर्याउँछ।
बालबालिकालाई विशेष ध्यान दिएर उनीहरूको छालामा तेल मसाज गर्नु र न्यानो कपडा लगाइदिनु अत्यन्त जरुरी छ। चिसोमा जोर्नीको दुखाइ नियन्त्रण गर्न शरीरलाई सधैं एक समान तापक्रममा राख्नुपर्छ।
आगो ताप्दा वा हिटर प्रयोग गर्दा कोठाको एउटा भाग खुला राख्नु, लामो समयसम्म आगो तापेर नबस्नु र केही समयपछि बाहिर निस्केर हावा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
चिसोमा विशेषगरी हिमाली क्षेत्रमा काम गर्ने वा घुम्न जाने व्यक्तिहरूले हिउँ वा चिसो पानीसँग शरीरको कुनै पनि भागलाई जोगाउनु पर्छ। हिउँले खाएको भागको उपचारमा विलम्ब गरेमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ, जसले जीवनभरको समस्या निम्त्याउन सक्छ।
जाडोमा छालालाई न्यानो बनाउन र चिसोबाट जोगाउन आलमन्ड तेल, नरिवल तेल, वा मोस्चराइजिङ क्रिम प्रयोग गर्नु महत्त्वपूर्ण छ। चिसोले छालालाई फुस्रो बनाउने भएकाले दैनिक रूपमा छालाको हेरचाह गर्नुपर्छ।
यस्तै, बिहानकालिन समय अत्यधिक चिसो हुने हुँदा बिहानको व्यायामलाई घाम लागेपछि मात्र गर्ने र समय-समयमा तातो चिया, कफी, वा तातोपानी पिउने गर्नुपर्छ। जाडो मौसमले मात्र ल्याउने विशेष समस्या हिउँले खाने समस्या पनि हो।
लामो समयसम्म हिउँको सम्पर्कमा रहेमा औंलाहरू, नाक, कान, वा अनुहारका भागहरू ठन्डीले प्रभावित हुनसक्छन्। यस अवस्थामा प्रभावित भागलाई तताउन प्रयास नगर्ने, न्यानो ठाउँमा लैजाने, र समयमै उपचार गर्ने उपाय अपनाउनुपर्छ।
चिसो मौसमलाई सहजतापूर्वक सामना गर्न जीवनशैलीमा सुधार आवश्यक छ। तातो झोलिलो खानेकुरा खानु, शारीरिक व्यायाम गर्नाले रगतको प्रवाह सामान्य राख्नु, र शरीरको तापक्रम सन्तुलनमा राख्नु जस्ता उपायहरूले चिसोबाट हुने समस्याहरूलाई न्यून गर्न सकिन्छ।
चिसोले दिने समस्याहरूलाई ख्याल गरी आवश्यक सावधानी अपनाएमा यो मौसमलाई पनि सहजतापूर्वक पार गर्न सकिन्छ। चिसोले ल्याउने स्वास्थ्य चुनौतीहरूसँग जुध्न आफू सचेत रहनु नै मुख्य उपाय हो।