हुम्ला डायरी -३
कार्ल मार्क्सको भनाइ अनुसार संरचनाले उपरीसंरचना निर्धारण गर्छ। उहाँका अनुसार अर्थव्यवस्था भनेको संरचना हो। संस्कृति र राजनीति त्यसको उपरीसंरचना हो। त्यस्तै पशुपालनमा आधारित अर्थतन्त्र संरचना हो भने बहुपतिप्रथा उपरीसंरचना हो।
रामसिंह दाइले हाम्रो छेउमा उभिएका मान्छे छक्क बहादुर लामा भनेर देखाइदिएपछि हामी छक्क पर्यौं। मैले त्यो फोटो प्रकाश जीलाई देखाएपछि उहाँले छक्क लामाको ज्ञान राम्रो छ भेट्नुपर्छ है भन्नुभएको कुरा हुम्ला डायरीको दोस्रो भागमा आइसकेको छ। हामी हाम्रो योजना मुताविक हुम्ला सदरमुकाम सिमकोटमा रहेका छक्क लामा र दल रावललाई भेट्ने चाँजो मिलाउन लाग्यौं।
खाना खाएको केही समय आराम गरेर योजना कार्यान्वयनतिर लाग्यौं। दल रावलको नम्बर हामीले एरपोर्टमै लिएका थियौं। छक्क लामाको नम्बर रामसिंह दाइले पठाइदिनु भयो। छक्क लामा २०४८ सालमा ३५ वर्षको कलिलो उमेरमा जनमोर्चाबाट चुनाव जितेको कम्युनिष्ट विचारक, पूर्व सांसद, पूर्व राज्यमन्त्री, एक विद्रोही, वाम बुद्धिजीवी, माओवादी केन्द्रका पोलिब्युरो सदस्य समेत भएका र पछिल्लो निर्वाचन पछि एमाले भएको मान्छे भन्ने कुरा थाहा थियोे।
अंग्रेजी भाषाको ‘कैलाश मण्डला’ नामक पुस्तकका लेखक छक्कबहादुर लामाले धेरै पल्ट यार्सागुम्बा आफैले पत्ता लगाएको कुरा पनि गर्नु भएको छ। सामान्य जानकारी मात्रै लिएका हामीले उहाँलाई भेट्न खोज्यौं। उहाँले हार्दिकताका साथ हामीलाई आफ्नो घरमा आमन्त्रण गर्नुभयो।
भेटमा उहाँले गरेको कुरा सुन्दा प्रकाश उपाध्याय जीले उहाँलाई हुम्लाको लाइब्रेरी नै भनिदिनु भयो। उहाँसँग भेट भएको कुरा मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई पनि भनेको थिएँ। उहाँले मानवशास्त्र, समाजशास्त्र, राजनीति, इतिहास, दर्शन, अर्थशास्त्र सबै विषयको राम्रो ज्ञान भएको हुम्लाको एकमात्र लिडर भन्नुभयो। कुरा उस्तै लाग्यो। बुझ्दै जाँदा छक्क बहादुर लामालाई चिनाउने अनेक बिम्ब निर्माण भएका हुन सक्ने आँकलन भयोे। लाग्यो, रामसिंह दाईले जसरी भएपनि भेट्नु भनेर त्यसै भन्नुभएको रहेनछ।
उहाँसँग धेरै विषयमा कुरा भए। हुम्ला डायरीको यो भागमा उहाँले जे जे भन्नुभयो त्यसैलाई लिपिबद्ध गर्ने प्रयत्न गरिएको छ। कति कुरा छुटेका छन्। ती पछिल्ला भागमा विविध सन्दर्भमा प्रयोग हुनेछन्। उहाँले २०३१ सालमा हुम्लाबाट काठमाडौं पढ्न गएपछि नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेको कुरा बताउनु भयो। बिरामी भएर घर फर्केपछि अनुसन्धानको क्षेत्रमा लामो समय काम गरेको हुनाले जनतासँग निकट भएको, त्यसैको प्रतिफल चुनावमा जित हासिल भएको, मार्क्सवाद र तान्त्रिक बुद्धिज्मको शिक्षा लिएको कुराकानी गर्दै जाँदा थाहा भयो।
“आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा दुबै पढेकाले होला म आलोचनात्मक दृष्टिकोण राख्छु। हरेक कुरालाई द्वन्द्वात्मक रुपमा लिने बानी छ। जस्तो हामी बसिरहेको टेबुल र कुर्सीको सम्बन्ध पनि त्यसरी नै निर्माण भएको हुन्छ,” उहाँले भन्नुभयोे।
आफ्नै भूमिमा उब्जिएको इतिहास, जनजीवन, उत्पादन सम्बन्ध, त्यसले निर्माण गरेको संस्कृतिको विषयमा अध्ययन गर्ने मामलामा राज्य संयन्त्र नै चुकेको उहाँको तर्क थियोे। पाठ्यक्रम निर्माण गर्दा सम्बन्धित क्षेत्रको भूगोल त्यहाँको संस्कृतिलाई ध्यान दिइएन। अध्ययन गर्दा पनि गाउँठाउँमा जोड्ने तन्तुहरूको अध्ययन गर्दैनन्। उहाँले हुम्लीले हुम्ला नपढ्ने, हिमाल नपढ्ने, पठार नपढ्ने, लिमी नपढ्ने, भेडा, च्याङ्ग्रा र चौरी नपढ्ने हो भने आफैलाई बुझिँदैन भन्दै गर्दा हामीले पढिरहेको शिक्षाले अमेरिका, बेलायत, अस्ट्रेलिया, खाडीको सेवा गरिरहेको तितो यथार्थ सम्झिरहेका थियौं।
राजनीति, इतिहास र संस्कृतिको विषयमा असाध्यै अनौपचारिक तवरबाट कुरा भइरहेका थिए। हामी हाम्रो तर्फबाट अलिअलि ज्ञानका कुरा गर्न खोज्थ्यौं। उहाँ गहन र घतलाग्दा कुरा गर्नु हुन्थ्यो। उहाँले उच्च हिमाली भेगको बहुपतिप्रथा र गुम्बा संस्कृति तथा तल्लो हिमाली भेगको बहुपत्नी प्रथाको विषयमा गहन कुरा गर्नुभयो। यसका बारेमा हामीसँग नगन्य जानकारी मात्रै थियोे।
हुम्लाको माथिल्लो भेगको भाषा, चालचलन सबै तिब्बतसँग मिल्दो जुल्दो छ। भाषा संस्कृति तिब्बतसँग मिल्ने भएपछि विहेबारी र नाता सम्बन्ध समेत कायम गर्न सहज हुने नै भयो। त्यो क्षेत्रका मान्छेको आयस्रोत प्रमुख आधार पशुपालन र खेतीपाती हो। जग्गा थोरै हुने हुनाले पशुपालन बढी गरिन्थ्यो। त्यसैको प्रतिफल बहुपति प्रथा चलेको उहाँको बलियो तर्क छ।
हुम्लामा वस्तु विनिमयमा आधारित अर्थतन्त्र बलियो थियो। त्यसैले नै हिमाली क्षेत्रको संस्कृति निर्माण गरेको विषयमा उहाँ बोल्दै जानु भयो। माथिल्लो भेग पाटन या पठार भएको हुनाले वर्षा याममा पशुवस्तुका निम्ति पुग्दो घाँसे मैदान छ। हिउँदमा ती घाँसे मैदानहरू हिउँले ढाकिने हुनाले वस्तुभाउ तिब्बततिर चराउन लैजाने गरिएको थियो। अहिले यो चलन केही हदसम्म कायम छ। पछिल्लो समय चरण क्षेत्र तिब्बत आफैलाई नपुग्ने भयो। माथिल्लो भेगका वस्तुभाउ तिब्बत लिने चलन व्यापक रुपमा घटेको छ। यसले लिमीको बसोबासमा समेत असर पारेको उहाँको भनाई छ।
हेर्दा धार्मिक संस्था जस्तो देखिए पनि गुम्बा सामाजिक संस्थाको रुपमा रहेको छ। गुम्बा त्यस क्षेत्रको सांस्कृतिक केन्द्र हो। हुम्लामा गुम्बाको नियम असाध्यै कडा छ। बहुपति प्रथा र गुम्बाको नियम कडा नगरी माथिल्लो क्षेत्रका मान्छे बाँच्नै गाह्रो थियो। त्यही नियम मानेर मान्छेहरू फर्केर त्यहीँ बस्न आउथे। हाल्जी भन्ने ठाउँमा यो अझै पनि कडा रुपमा लागु गरिएको छ। जाङ र तील गाउँमा भने दुबै नियम कमजोर बन्दै गएको छ।
माथिल्लो भेगको समाज गुम्बाको नियम अनुसार चलिरहेको उहाँको भनाइ छ। गुम्बा भनेको धर्म, लिखित वाङमय र संघको संयोजन हो। यसलाई “त्रिरत्न” पनि भनिन्छ। त्यो भनेको बुद्धरत्न, धर्मरत्न र संघरत्न हो। सही नेतृत्व (बुद्धरत्न), सही विचार (धर्मरत्न) र सही संस्था (संघरत्न) हो। त्यसै अनुसारको सामाजिक मूल्य मान्यता बनेको हुन्छ। गाउँमा सामाजिक अनुशासनको काम पनि त्यसैले गरेको हुन्छ।
गुम्बाले अति कडाइ गरेको बहुपति प्रथा विस्तारै कम हुँदै गएको छ। यसको उत्पत्ति कथा पनि उहाँले निकै रोचक गरि सुनाउनु भयो। हामीले कैलाश होटेलको पुस्तक कलेक्सनमा ‘हुम्ली भोटे-लामा संस्कृति र बहुपति विवाह प्रथा’बारे कन्जोक लामा (अविनाश) लेखेको किताब सरसर्ती हेरेका थियौं। त्यो पुस्तकको एक प्रति मैले पनि किनेर ल्याएँ।
तर उहाँले उक्त किताबमा भएको भन्दा रोचक ढंगले बहुपतिप्रथाको विषयमा चर्चा गर्नुभयो। त्यतिमात्र होइन उहाँले बहुपत्नि प्रथाको विषयमा पनि उत्तिकै रोचक ढंगले वर्णन गर्नुभयो। हामी प्रश्न निकै कम गरिरहेका थियौं भने उहाँका कुरा बढी सुनिरहेका थियौं। असाध्यै गहन कुरा आउँदा प्रकाश जी र म मुखामुख गर्थ्यौं।
लिमी चिसो ठाउँ भएकाले खेतीयोग्य भूमि छैन। त्यसैले त्यहाँ जग्गाको असाध्यै महत्व छ। मूल्य पनि महँगो छ। बहुपतिप्रथाका कारण त्यो जमिन खण्डीकरण हुन पाउँदैन। अंशबन्डा भएर जग्गा बाँड्न नपरोस् भनि बहुपतिप्रथा कडाई गरिएको हो। आठ, नौ पुस्तासम्म पनि मान्छे सगोलमा बसेका छन्।
जहाँ बहुपति प्रथा छ त्यहाँका घरको बनावट पनि फरक हुन्छ। बहुपतिप्रथा भएको गाउँमा घर ठूला ठूला हुन्छन्।
बहुपतिप्रथा मातृसत्ताको अवशेष पनि हो। सामान्यतया यो प्रथामा मागी विवाह हुन्छ। विवाह गर्ने बेलाका लमीहरु नातेदार हुन्छन्। कार्ल मार्क्सका अनुसार संरचनाले उपरीसंरचना निर्धारण गर्छ। उहाँका अनुसार अर्थव्यवस्था भनेको संरचना हो। संस्कृति र राजनीति त्यसको उपरीसंरचना हो। त्यस्तै पशुपालनमा आधारित अर्थतन्त्र संरचना हो भने बहुपतिप्रथा उपरीसंरचना हो। जनावर धेरै चराउन लोग्ने मान्छे धेरै चाहिने हुनाले पति धेरै हुने गरियो।
खासगरी बार्टर इकोनमीलाई विस्थापन गर्दै आएको ‘क्यास इकोनोमी’ले गर्दा बहुपतिप्रथामाथि थुप्रै चुनौति आए। १९८० को दशकसम्म सट्टा बजार (बार्टर इनोनोमी)को चलन थियो। त्यसभन्दा अगाडिको समाजमा बहुपतिप्रथा कायम थियो।
जसरी चैत १२ गते घर नफर्कोको जुम्ली मर्यो भनी जान्नु भनिन्छ। त्यसरी नै लामा भोटे समुदायामा पनि गाउँको जात्रा, पर्व र पुजामा गाउँ फर्कने चलन थियोे। नफर्के मरेको अड्कल काटिन्थ्यो। गाउँलेहरु रमाउन आफ्नै गाउँघरमा फर्कन्थे। राम्रो लगाउन, मिठो खान घरमै आउनु पर्थ्यो।
बहुपतिप्रथामा महिलाको खास श्रीमान जेठो दाइ नै हुन्थ्यो। बाँकी भाइहरू सहपति जस्ता हुन। एक किसिमले भाइहरू सहयोगी जस्ता हुन। भाइहरूको कमाइ दाइलाई बुझाउनु पर्थ्यो। घर चलाउने भनेको जेठो दाजु र भाउजूले हो। क्यास इकोनोमी भएपछि पैसा हुने पावर सेन्टर भयो। त्यसले मातृसत्तालाई हान्यो।
बहुपतिप्रथा नभएको तल्लो क्षेत्रमा साना घर हुन्छन्। ती घरहरुमा खसआर्यहरूको बसोबास छ। त्यस भेगमा पितृसत्ता थियोे र छ। खेतीपातीमा महिलाको काम बढी हुने भएकाले एकभन्दा बढी श्रीमती ल्याउने चलन बन्यो। त्यहाँ महिलाहरुले बढी काम गर्नु पर्ने हुनाले पनि धेरै महिलाहरु श्रीमतीको रुपमा राख्ने चलन बढेको थियो। माथिल्लो भेगमा बहुपतिप्रथा भए जस्तै तल्लो भेगमा बहुपत्नीप्रथा थियो।
अहिले एक श्रीमान्, एक श्रीमतीको चलन छ। तल्लो भेगका लागि कानुनले पनि अनुकुल गर्यो। यसको असर माथि पनि परिरहेको छ। अब म बहुपति प्रथामा रहिनँ। उहाँले यति भनिरहँदा हामीले बहुपति प्रथाको मात्रै चर्चा हुने गरिएको र यसलाई नराम्रो चलनका रुपमा हेरिएको बतायौं। उहाँले बहुपति अल्पसंख्यकको भएको हुनाले कुप्रचार बढी गरिएको भन्नुभयो। तथापि बहुपति र बहुपन्ति प्रथा दुबै संस्कृतिमा राम्रा पक्ष पनि थिए। तर खराबीहरु बढी रहेको हुनाले नै अहिलेको समयमा उपयुुक्त नठहरिएको बताउनुभयो।
गहन छलफल पछि लामो सास फेर्दै हामीले भोलिपल्ट बिहान भेट्ने र भिडियो अन्तर्वार्ता लिने गरि अनुमति माग्यौं। उहाँले आफूले लेखेको किताब एकएक प्रति हामीलाई उपहार दिनुभयो। किताब समाउँदै गर्द प्रकाश जीले मतिर हेर्दै भन्नुभयो, “उहाँ त धेरै पढ्नुहुन्छ। लेख्नु पनि हुन्छ। म यो किताब पढेपछि मेरा हातका औंला र पढेका किताबका संख्या उस्तै हुन्छन् होला। तर यो किताब जसरी पनि पढ्छु।” माहोल हाँसोमा परिणत भयो। हामी निस्किएर सिमकोट बजारतिर डुल्न गयौं।
हुम्ला डायरीका अघिल्ला शृङ्खलाहरु पढ्नुस्