मंगलवार, ९ पुष, २०८१

दौडिएर देश चिनाउने सुनमाया: दुई हप्ताका, दुई दुर्लभ रेकर्ड

साधनस्रोतको सीमितताबीच उनले दौडमा आफ्नो सम्भावना देखिन् र कठिन परिश्रमले चुनौतीका पहाड छिचोल्दै त्यसलाई अवसरमा बदलिन्।

जुम्लाको पातारासी गाउँपालिका-२, पेरे गाउँकी सुनमाया बुढा अल्ट्रा म्याराथनमा चम्किलो नाम हो। कठिन प्राकृतिक वातावरण र सीमित अवसरका बावजुद, सुनमायाले आफ्नो साहसी प्रयासबाट केवल व्यक्तिगत उचाइमा सफल भएकी छैनन् बरु नेपाललाई नै विश्वभर चिनाइरहेकी छिन्।

विकट हिमाली भेगको चिसो सिरेटोसँग पौंठेजोरी खेल्दै हुर्केकी सुनमायाको जीवनले संघर्ष, समर्पण, र सफलताको कथा बोकेको छ। उनले केही हप्ताको दौरान चीनमा भएका दुई ठूला र प्रतिष्ठित प्रतियोगितामा विजयी हासिल गरी नेपालको प्रतिष्ठा थप उचाइमा पुर्‍याएकी छिन्।

अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी र टिसाइगु ट्रेल रेसमा उनले कीर्तिमानी समयका साथ पहिलो स्थान हासिल गरेर आफूलाई एक साहसी धावकका रुपमा स्थापित गरेकी छिन्।

यसरी देश चिनाइरहेकी सुनमायाको दौडप्रतिको लगाव बाल्यकालमै स्कुलमा आयोजना हुने प्रतियोगिताबाट सुरु भएको थियोे। सन् २०१५ मा जुम्लामा भएको राष्ट्रपति रनिङ शिल्डमा दोस्रो स्थान हासिल गरेपछि उनले दौडलाई आफ्नो जीवनको उचाइ यसैमा रहेको पहिचान गरिन्। अब उनी आफ्नै बासना थाहा नपाउने कस्तुरी रहिनन्।

त्यसको एक वर्षपछि, सन् २०१६ मा उनले मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो स्थान हासिल गरिन्। यहीँबाट उनको अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भयो र उनको आत्मविश्वासले गति लिन थाल्यो।

धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइसकेकी सुनमायाले, चीन, हङकङ, स्वीट्जरल्याण्ड, फ्रान्स, इटली, अस्ट्रेलिया र स्पेनजस्ता मुलुकमा नेपाली झण्डा फहराइइसकेकी छिन्।

उनले थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेटमा पूरा गरी कीर्तिमान राख्न सफल भइन्। यसले अन्तर्राष्ट्रिय मञ्चमा उनको पहिचानलाई बलियो बनायो। पछि उनले फ्रान्समा युटिएमबी सीसीसी रेसमा दोस्रो स्थान हासिल गरिन्, जसले उनको ख्यातीलाई थप उचाइमा पुर्‍यायो।

सुनमायाले पछिल्लो समयमा चीनमा दुई महत्त्वपूर्ण प्रतियोगिता जितेकी छिन्। केही साताअघि मात्र उनले अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस ५ घण्टा ४० मिनेटमा पूरा गर्दै कीर्तिमानी समयसहित उपाधि जितेकी थिइन्।

यो ६० किलोमिटरको दौडमा उनले आफ्नो उच्च क्षमता प्रदर्शन गर्दै कोर्स रेकर्ड कायम गरिन्। सुनमायाले यस रेसपछि प्रतिक्रिया दिँदै भनेकी थिइन्, “दौड एकदम रमाइलो भयो, धेरै समर्थकहरूले चियर गरिरहेका थिए। म एकदमै खुशी छु।”

यही क्रममा उनले अर्को प्रतिष्ठित टिसाइगु ट्रेल रेसमा १०५ किलोमिटरको दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन्। यो दुई हप्तामा उनको दोस्रो महत्वपूर्ण विजय थियो।

चीनमा तेस्रो पटक विजयी भएकी उनी यसअघि पनि गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितिसकेकी थिइन्।

जुम्लाको दुर्गम र कष्टकर भेगमा हुर्केर अन्तर्राष्ट्रिय स्तरमा स्थान बनाउनु सामान्य कुरा थिएन। उनले आफ्नो परिवारको साथ र कठिन श्रमबाट नै यस यात्रामा निरन्तरता दिइन्।

साधनस्रोतको सीमितताबीच उनले दौडमा आफ्नो सम्भावना देखिन् र कठिन परिश्रमले चुनौतीका पहाड छिचोल्दै त्यसलाई अवसरमा बदलिन्।

सुनमायाका लागि दौड केवल खेल मात्र नभई आत्म-शक्ति र स्वाधीनताको प्रतीक बनेको छ। उनले आफ्नो शारीरिक सुदृढता, मानसिक बल र दृढ इच्छाशक्तिको सहायताले नेपाललाई एक सकारात्मक सन्देश दिन सफल सकेकी छिन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा अझै पनि धेरै दौडहरूमा सहभागिता जनाउने योजना बनाएकी छिन्। उनले भनिन्, “आफ्नो अनुभव र लगावका कारण आगामी दिनमा थप कीर्तिमान राख्न कोसिस भइरहनेछ। देशकै लागि थप सफलता प्राप्त गर्ने मेरो सपना र अठोट बाँकी नै छ।”

सुनमाया संघर्षपूर्ण जीवन भोगाइ प्रेरणादायी छ। उनको सफलताले मात्र उनलाई एक व्यक्तिको रुपमा चिनाएको छैन, बरु उनले आफ्नो देशको पहिचानलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेकी छिन्।

एक साहसी धावकको रुपमा चिनिने उनको यो यात्रा नयाँ पुस्ताका थुप्रैका लागि प्रेरणाको स्रोत बनेको छ। आशा गरौं उनी यो यात्रामा अझै कामयाब हुनेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार