नाम्खाको स्वास्थ्य शिविर विशेष
दाँतका विशेषज्ञ डा. कविराज पौडेलले तोप्चेनको दाँतको समस्या बुझ्नका लागि पाल्जोरलाई प्रश्न सोधे र पाल्जोरले त्यो कुरा आफ्ना हजुरबालाई श्रवण यन्त्रमार्फत सुनाए। हजुरबाले आफ्नो भाषामा समस्या सुनाए। पाल्जोरले त्यसलाई नेपालीमा अनुवाद गरेर डाक्टरलाई सुनाइदिए।
हुम्ला जिल्लाको दुर्गम गाउँ, नाम्खा गाउँपालिका–४ याल्बाङमा भएको दुइदिने स्वास्थ शिविरमा एउटा अद्भुत दृश्य देखियो। जहाँ स्थानीयहरू विभिन्न स्वास्थ्य समस्याहरूको उपचारका लागि शिविरस्थलसम्म पुगे।
स्वास्थ्य सेवा सुलभ नभएको ठाउँमा यस्तो शिविर एक सुनौलो अवसरजस्तै थियो, जहाँ गाउँलेहरू वर्षौंपछि चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गर्न पाइरहेका थिए।
६८ वर्षीय तोप्चेन लामाका लागि यो अवसर विशेष र महत्त्वपूर्ण रह्यो। तोप्चेनलाई पाँच वर्षदेखि कान नसुन्ने समस्या छ र उनी श्रवण यन्त्रको सहाराले संचार गरिरहेका छन्।
दाँत दुख्ने समस्याले उनलाई निकै कष्ट दिएको थियो, तर उनी स्वास्थ्य सेवामा सहज पहुँचको अभावमा उपचार गराउन सकिरहेका थिएनन्।
शिविरमा उनी आफ्ना नाती पाल्जोर लामाको साहारामा डाक्टरलाई आफ्ना समस्या देखाउन पुगे। १५ वर्षका पाल्जोर हाल याल्बाङस्थित गुम्बामा अध्ययनरत छन्। उनी हजुरबाका लागि मात्र होइन, शिविरमा एक आकर्षक पात्रको रुपमा देखिए।
तोप्चेनलाई चिकित्सकसँग संवाद गर्न पाल्जोरले दोभाषेको रूपमा सघाए। याल्बाङको गुम्बामा पढ्दै गरेका पाल्जोर नेपाली भाषा बुझ्छन्, तर उनका बाजे तोप्चेन नेपाली भाषा बुझ्दैनन्।
त्यसैले तोप्चेनको स्वास्थ्य समस्याको वास्तविकता बुझ्न र उपचार प्रक्रिया सहज बनाउन पाल्जोरको भूमिका अत्यन्त सान्दर्भिक बनिदियो।
दाँतका विशेषज्ञ डा. कविराज पौडेलले तोप्चेनको दाँतको समस्या बुझ्नका लागि पाल्जोरलाई प्रश्न सोधे र पाल्जोरले त्यो कुरा आफ्ना हजुरबालाई श्रवण यन्त्रमार्फत सुनाए।
हजुरबाले आफ्नो भाषामा समस्या सुनाए। पाल्जोरले त्यसलाई नेपालीमा अनुवाद गरेर डाक्टरलाई सुनाइदिए।
निकै कठिन र लामो संवादपछि डाक्टरले तोप्चेनको समस्या बुझेर उनको दाँत फुकाल्नुपर्ने सुझाव दिए। तर तोप्चेनले दाँत फुकाल्न डर लाग्ने बताए र सकेसम्म औषधिबाट नै समाधान खोज्न आग्रह गरे।
डा. कविराजले उनलाई धेरै सम्झाउन प्रयास गरे। अन्ततः तोप्चेनको डर देखेर डाक्टरले वैकल्पिक रुपमा औषधि सेवन गर्न सल्लाह दिए।
औषधिले दाँतको समस्या पूर्णरूपमा समाधान नहुने भए पनि, केही हदसम्म राहत दिने विश्वासका साथ तोप्चेनले औषधि सेवन गर्ने निर्णय गरे।
ताप्चेन र उनी जस्ता थुप्रैका लागि शिविर उपचारको सेतु सावित भयो। विकट क्षेत्रका वृद्धवृद्धा र कमजोर अवस्थाका मानिसहरूले आशा गरे अनुसारको उपचार पाए।
गाउँमा स्वास्थ्य सेवा पुग्न कठिन हुने हुँदा, यो शिविरले मात्र उनीहरूका लागि आशा र उपचारको अवसर जुटाएको थियो।
तोप्चेन र पाल्जोरको यो कथा यस शिविरको एउटा मात्र दृष्टान्त होइन। यो कथाले कर्णाली लगायत दुर्गम गाउँ, बस्तीमा बस्ने मानिसहरूको प्रतिनिधित्व गर्छ।
तोप्चेनले उपचारको अवसर पाउनु र पाल्जोरले आफ्ना हजुरबाको लागि दोभाषेको भूमिका निभाउँदै दायित्वलाई यसरी पूरा गर्नुले हाम्रो समाजको पारिवारिक संरचना र दायित्वलाई एकसाथ उजागर गरेको छ।
पाल्जोर जस्ता युवाहरूले आफ्नो परिवार र समाजप्रतिको जिम्मेवारीलाई गम्भीरताका साथ लिएको देख्दा भावनात्मक सम्बन्ध अझ बलियो भएको देख्न सकिन्छ।
याल्बाङमा सम्पन्न उक्त शिविरले समाजमा भाषा, संस्कृति र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई मात्र देखाएन, यसले नयाँ सम्भावनाको ढोका पनि खोलिदियो।
पाल्जोरजस्ता भावी पुस्ताले यो खाडल पूर्ति गर्ने ठूलो भूमिका निभाउन सक्छन्। तोप्चेनको स्वास्थ्य समस्याको पूर्ण समाधान हुन समय लाग्न सक्छ, तर शिविरमा उनको उपस्थिति र पाल्जोरको सक्रिय भूमिका एक नयाँ आशाको प्रतीक बनेको डा. कविराजको भनाइ छ।
उनले भने, “यसले मात्र उनीहरूको जीवनमा स्वास्थ्य सेवाको महत्व उजागर गर्दैन, यसले दुर्गम गाउँमा नियमित स्वास्थ्य सेवा र जनताको पहुँचमा आउने अवसरहरूको आवश्यकता पनि झल्काउँछ।”
यो कथा नाम्खाका लागि मात्र होइन, यो कर्णालीका सबै विकट बस्तीका बासिन्दाको कथा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।
उनले भने, “गाउँगाउँमा यस्ता स्वास्थ्य शिविरको व्यवस्था, स्थानीय जनताको भाषा, संस्कृति र भौगोलिक अवस्थालाई बुझेर स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो। यसमा प्रतिष्ठान सदैब सहयोगी बन्न तयार छ।”
यसले देशभरिका अन्य स्वास्थ्यकर्मी र संगठित संस्थाहरूलाई पनि यस्तो प्रयासमा संलग्न हुन प्रेरित गर्न सक्ने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
“यस्ता शिविरहरूले स्थानीयहरूमा सेवा प्राप्त गर्ने विश्वास जागृत गर्छन्, जसले उनीहरूलाई एक स्वस्थ र समृद्ध जीवनतर्फ अघि बढ्न मद्दत गर्छ,” उनले भने।