शरीरमा भिटामिन ‘डी’को उपस्थितिले क्याल्सियम शोषण गर्न मद्दत गर्छ। त्यसैले प्रत्येक दिन घाममा बस्नै पर्छ। किनभने ८० देखि ९० प्रतिशत भिटामिन ‘डी’ त घामबाट नै प्राप्त हुन्छ।
उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ। उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ। बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तरार्धमा स्वस्थ भएर बाँच्ने सम्भावाना बढ्छ।
एकै पटक धेरै खाने वा मीठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन। बढ्दो उमेरमा युवा अवस्थामा जस्तो पचाउने शक्ति हुँदैन र शारीरिक क्रियाकलापमा पनि कमी हुन्छ।
‘म पहिले–पहिले एक माना चामलको भात एकछाकमै खान्थेँ। अहिले त दुई मुठी खाएपछि पेट टम्म भरिन्छ। खाने इच्छा नै लाग्दैन, के भएको होला? पहिले ढुंगा, माटो खाए पनि पचाउँथें, अहिले त एक डाडु खाए पनि पेट ढुस्स हुन्छ। कतै कचरमचर खाएँ भने पखाला चल्छ। के भएको होला मेरोे ज्यानलाई?’ ६० वर्ष कटेपछिका कतिपय मानिसले यस्तो भनेको सुनिन्छ। तर उनीहरुलाई थाहा हुँदैन कि शरीरमा बाहिरीसँगै भित्री अंगमा पनि परिवर्तन हुन्छ। अनि पेटको पाचन रस पनि कम निस्किन्छ। पहिले सजिलै पचाउने कुरा उमेर बढ्दै जाँदा पचाउन गाह्रो हुन्छ। त्यसैले उमेरसँगै खानपिन परिवर्तन गर्नै पर्छ।
जसलाई धेरै बलको काम गर्नुपर्दैन, उनीहरुको त खाना पनि उमेरसँगै कम गर्दै जानुपर्छ। यदि मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या छ भने त स्वास्थ्यकर्मीसँग सल्लाह लिएर नै भोजनको व्यवस्थापन गर्नुपर्छ।
उमेर बढ्दै गएपछि कतिपयलाई पहिले सजिलै पच्ने दूध खाएपछि पनि पेट गडबड हुने समस्या हुन सक्छ। दूधमा भएको ‘ल्याक्टोज’ नामक विशेष तत्व नपच्ने अवस्था पनि आउन सक्छ। त्यस्तो अवस्थामा पिर मान्नुपर्दैन। दूधको सट्टा दही, महीजस्ता पदार्थ प्रयोग गर्न सकिन्छ। साथै भोजनमा क्याल्सियमको मात्रा समावेश गराउनका लागि क्याल्सियम बढी भएका तिल, आलस आदि प्रयोग गर्न सकिन्छ।
केही अघि ६६ वर्षका एक परिचितको अस्पतालको सघन कक्षमा उपचार गर्दागर्दै मृत्यु भयो। उनको दुबै मृगौलाले काम गर्न छोडेको थियो। बिस्तारै–बिस्तारै फोक्सोमा पानी जम्यो। हातखुट्टा सुन्निएर आए। शरीका अन्य अंग–प्रत्यंगले काम गर्न छाडे। डायलासिस गरेर उनको जीवन केही दिन चल्यो तर धेरै दिन चल्न सकेन।
उनलाई मधुमेहको समस्या भएको १० वर्ष भइसकेको थियो। उनी औषधि खाँदै थिए। तर कुनै पनि बेला मुख बार्दैनथे। ‘मर्नै पर्ने हो एक दिन, किन भोको पेट बस्ने? म त मुख बार्दिन, आनन्दसँग खान्छु, बरु खाएरै मर्छु’, उनी भन्थे। उनलाई मुटुमा पनि समस्या परेको एक वर्ष भइसकेको थियो। उनको मधुमेहको समस्या औषधि खाएर पनि ठीक भएको थिएन।
५६ वर्ष हुँदा मधुमेह भएकाले मुख नबार्दा ६६ वर्षमा नै उनी बिते। सरकारी कर्मचारी भएकोले उपचारमा केही सहुलियत थियो। तर ‘अब यो उमेर भइसक्यो किन मुख बार्नु ?’ भनेर लत्तो छोडेपछि उनको मृत्यु असामयिक रुपमा नै भयो। डाक्टरले उपचारका लागि परामर्श र सल्लाह दिने हो। समय–समयमा औषधिले फाइदा पुर्याएको वा नपुर्याएको हेरेर औषधि परिवर्तन गर्ने हो।
तर आफैंले आफ्नो स्वास्थ्यको वास्ता नगरेपछि त उपचारले मात्र के हुन्छ र? त्यसैले ज्येष्ठ नागरिकहरुले आफ्नो स्वास्थ्यकर्मी र परिवारको सल्लाह लिएर अनि आफैंलाई पनि अनुशासनमा राखेर स्वस्थ जीवन बिताउन कोशिश गर्नुपर्छ।
ज्येष्ठ नागरिकहरुले रोगसँग लड्ने शक्ति कायम राख्न भिटामिन ‘सी’ भएका वस्तुलाई भोजनमा समाहित गर्नु उचित हुन्छ। विभिन्न फलफूल अम्बा, अमला आदिको साथै कुनै पनि स्थानीय फलफूल जस्तो– कागती, बेल आदिमा भिटािमन ‘सी’ पर्याप्त पाइन्छ। पचाउने शक्ति कम हुँदै गएमा सजिलोसँग पच्ने हरियो तरकारी जस्तो– बकुला, सिमी आदि पनि पानीमा भिजाई टुसा उमारेर प्रयोग गर्न उचित हुन्छ। यिनमा प्रोटिन, रेसादार तत्व आदि पर्याप्त हुन्छ। टुसा उमारेपछि पचाउन पनि सजिलो हुन्छ। यसमा प्रोटिन पनि पर्याप्त हुन्छ। तर मृगौलामा समस्या भएका ज्येष्ठ नागरिकले चिकित्सकको सल्लाह लिनै पर्छ।
हरियो तरकारीहरुको प्रयोग गर्दा सरसफाइको ध्यानचाहिँ दिनै पर्छ। हरियो तरकारीले रोगसँग लड्ने शक्ति बढाउने, मिटामिन ‘ए’ दिने र बुढ्यौली हुने प्रक्रियालाई कम गर्ने हुन्छ।
रोटी वा ढिँडोसँग हरियो तरकारी र अचार खाँदा स्वास्थ्य र स्वाद दुवै मिल्छ। ज्येष्ठ नागरिकमा विशेष महिलाहरुले पनि रजोनिवृत्ति भइसकेपछि भोजनमा विशेष ध्यान दिनै पर्छ।
प्रायः नेपाली महिलाहरुको ५० वर्षको उमेरसम्म रजोनिवृत्ति अर्थात् (महिनावारी सुक्ने) प्रक्रिया भइसक्छ। पुरुषको तुलनामा महिलाहरुको हड्डी क्षय हुने समस्या बढी हुन्छ। यो न्यूनीकरण होस् भनेर भोजनमा दूध, दही, भटमास, बोडी, तोफु, पनिरजस्ता खानेकुुराको प्रयोग गर्न उचित हुन्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने, शरीरमा भिटामिन ‘डी’को उपस्थितिले क्याल्सियम शोषण गर्न मद्दत गर्छ। त्यसैले प्रत्येक दिन घाममा बस्नै पर्छ। किनभने ८० देखि ९० प्रतिशत भिटामिन ‘डी’ त घामबाट नै प्राप्त हुन्छ।
विभिन्न किसिमका नसर्ने रोग भएका ज्येष्ठ नागरिकले भने के खाने, कुन बेला खाने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनै पर्छ। स्वास्थ्य राम्रो रहोस् भनेर भोजन शैलीको परिवर्तनका साथै योगासन र व्यायाममा पनि ध्यान दिनुपर्छ।