गीताले न सेना, न पुलिस, न राज्य, न दण्ड, केवल राज्य धर्मको आधारमा संचालन भनेको छ भने मार्क्सवादले न सेना, न प्रहरी, न दण्ड समानताको कुरा गरेको छ। गीताले युद्ध जबर्जस्ती होइन, निष्ठाले जितिन्छ भनेको छ भने मार्क्सवादले अवसरवादले क्रान्ति असफल हुन्छ भनेको छ।
अबको समय इतिहास, सभ्यता र दर्शनको प्रचार प्रसार गर्न जरुरी भइसकेको छ, किनकि अरूका सभ्यता, इतिहास र दर्शन नाश गरेर खालि बनाउने र आफ्नो सभ्यता, इतिहास र दर्शन बोकेर साम्राज्य स्थापना गर्ने कुटिल चाल चलेको देखिन्छ। साम्राज्य संचालन गर्न आफू उपस्थित हुनु पर्दैन, आफ्ना खटाइएका पात्रमार्फत शासन जिम्मा दिने र हैकम आदेश आफ्नो हुने व्यवस्था नै वर्तमान समयको साम्राज्यको प्रकार हुन्छ।
साम्राज्य शासकीय मात्र भएर पुग्दैन, कला, साहित्य, इतिहास, धर्म, दर्शन पनि साम्राज्य हुनु पर्छ भन्ने मान्यता रहेको हुनाले अबको चरण शासकीय नमुना त परिवर्तन हुन सक्यो तर इतिहास, दर्शन, कला, संस्कृति परिवर्तन गर्नुपर्ने देखिएकोले हाम्रा इतिहास, संस्कृति, रीति रिवाज, दर्शन सके मेटाउने, नसके गलत व्याख्या गरेर घृणा पैदा गराएर वितृष्णा फैलाउने कार्य अनवरत चलेको देखिएको छ।
त्यसैले दर्शन र इतिहासको खोज अनुसन्धान गर्ने क्रममा पाश्चात्य दर्शन र पूर्वीय दर्शनको खोजी गर्दा तुलनात्मक रूपमा यसरी प्रस्तुत गरिएको छ। ई.सा.पू. ८०० पूर्व पश्चिमी जगतको दर्शन नै थिएन। ई.सा.पू. ७०० को समयमा बल्ल कविता र काव्य सुरु भएको देखिन्छ भने दर्शनशास्त्र, तर्कशास्त्रको कुनै नामनिशान देखिदैन। त्यो समयमा काव्यमार्फत देवतावाद उल्लेख गरिएको थियो।
देवतावादमा अर्थात् देवताको वंश विस्तार गरिएको थियो। काव्यमै सर्वप्रथम शून्य उत्पत्ति भएको र शून्यबाट पृथ्वी, पृथ्वीबाट काम उत्पन्न हुन गएको देखिन्छ। यही पृथ्वी र शून्यबाट सृष्टिको रचना हुन गएको भन्ने व्याख्या गरिएको थियो। जब सृष्टिको रचना भयो, त्यही शून्यबाट अन्धकार र रात्री उत्पन्न भएको र शून्य र अन्धकारबाट दिनको उत्पत्ति हुन गएको भनियो। बल्ल पृथ्वी र आकास मिलेर परिवारको जन्म भएको मानियो।
यी परिवारमध्ये नारी रिया र पुरुष क्रोनसको जन्म भयो, यी रिया र क्रोनसबाट देवताहरू र जलपरीको जन्म हुन गयो भनेर बताइयो। अर्को चरणमा देवताहरू र जलपरीबाट मानवीय विकास हुन गयो। यी मानवहरूबाट वंश विस्तार भएको मानियो।
जब ई.सा.पू. ७०० को अन्त्यमा अर्को तरिकाले सृष्टिको विकासको व्याख्या गरिएको थियो। त्यो के थियो भने गीत संगीतको धुनबाट सृष्टिको उत्पत्ति भएको र डेमीटरको उत्पत्ति हुन गएको र यहीँबाट पर्सेफोनी, पर्सेफोनीबाट डायोनिस नामको छोराको जन्म भएको थियो। त्यही डायोनिस संसारको शासक नियुक्त गरिएको थियो तर यी डायोनिसको क्रियाकलाप चित्त नबुझेपछि टाइटनहरूले डायोनिसलाई टुक्रा टुक्रा गरी काटेर आपसमा बाँडेर खान लाग्दा आकासदेवीको नजर पर्यो र डायोनिसको हृदय खोसेर लिएर जियसकोमा पुर्याइन्।
जियसले डायोनिसको हृदय निकालेर आफूसँग सुरक्षित गरी राखे। त्यो हृदयको कारण डायोनिसको पुनर्जन्म हुन गयो भने डायोनिसलाई मारेर खान खोज्ने टाइटनहरूलाई भस्म पारेर त्यही भस्म जम्मा गरी प्रथम मानवको जन्म दिएको भनेर व्याख्या गरिएको थियो। जब ई.सा.पू. ६०० को समय आयो र त्यसपछि दुनियाँमा दार्शनिकहरूको वृद्धि नै आयो।
आर्यावर्त अर्थात् वर्तमान भारत, नेपाल, पाकिस्तान, अफगानिस्तानभित्रको भूमिमा महावीर, सिद्धार्थ गौतम, केश कम्बली, चीनमा कन्फ्युसियस, अरब जगतमा मोहम्मद पैगम्बर र जिसस क्राइस्टको जन्म भयो भने युनानी प्रथम दार्शनिक थेलिस र पाइथागोरस, एम्पिडोक्लिज र हेराक्लाइटसको उदय भयो। यही समयबाट दर्शनको सुरुवात हुन गएको पाइन्छ। युनानी प्रथम दार्शनिक थेलिसले भौतिक जगतको उत्पत्ति जलबाट भएको भनेर उल्लेख गरेका छन्।
अर्का दार्शनिक हेराक्लाइटसले भौतिक जगतको उत्पत्ति वायुबाट भएको भने एम्पिडोक्लिजले भौतिक जगतको उत्पत्ति जल, वायु, अग्नी र पृथ्वीबाट भएको व्याख्या गरेका छन्। पाइथागोरसको दर्शन कर्मवाद र गणितमा आधारित भएको भए तापनि भौतिक जगतको उत्पत्ति जल, वायु, अग्नी र पृथ्वीलाई नै मानेको देखिन्छ।
त्यसैले यो सिद्धान्त पूर्वीय दर्शनबाट सापटी गएको देखिन्छ जुन कुरा हजारौँ वर्ष पहिले नै ऋषिहरूले व्याख्या गरिसकेका थिए। माथि उल्लेखित दार्शनिकपछि युनानी अर्का दार्शनिकको उदय भयो जसलाई सुकरातका नामले परिचित छन्। उनले पनि आफ्नो मूल विचार नैतिकता र न्यायलाई जोड दिएका थिए भने पुनर्जन्म र कर्मवादलाई पनि मानेका देखिन्छ।
त्यति मात्र होइन, आत्मा, बुद्धि, इन्द्रियहरूको बन्धनबाट छुटकारा हुनु भनेको साक्षात्कार हुनु हो भनेर वेद वेदान्तको हुबहु उल्लेख गरेका छन्। भौतिक जगतको बारेमा उनले जल, वायु, अग्नी र पृथ्वीलाई नै समर्थन गरेका छन्। त्यसैले सुकरातको दर्शन पनि चाहे नैतिकताको सवाल होस्, चाहे पुनर्जन्म होस्, चाहे कर्म सिद्धान्त होस्, यी सबै पूर्वीय दर्शनबाट सापटी लिएको पाइन्छ।
मानव शरीर र सृष्टिको उत्पत्ति जल, वायु, अग्नी, पृथ्वी र आकास अर्थात् शून्य यी पाँच महाभूतबाट भएको हो भनेर वैदिक साहित्यले व्याख्या गरिसकेका थिए। यसरी हेर्दा युनानी प्रथम दार्शनिक थेलिसदेखि सुकरातसम्म आइपुग्दा पश्चिम जगतको सृष्टिको उत्पत्ति देववादमा आधारित रहेको अमान्य भइसकेको थियो भने पूर्वीय दर्शनबाट प्रभावित भइसकेको पाइन्छ। सुकरातका चेला प्लेटोले पनि आफ्नै गुरु सुकरातको विचारलाई नै प्रचार गरेकोले उनको दर्शन पनि पूर्वीय दर्शनबाट प्रभावित देखिन्छ।
अरस्तुको दर्शनमा पनि भौतिक जगतको उत्पत्ति जल, वायु, अग्नी र पृथ्वीबाट भएको तथा जल र पृथ्वी तल्लो भागमा केन्द्रित हुन्छन् भने अग्नी र वायु माथिल्लो भागमा केन्द्रित हुने पदार्थ हुन् भनेर अझै अगाडि बढेको पाइन्छ। जसले गर्दा सूर्यलाई अग्नीको रूप, शून्यमै बग्ने वायु, जल र पृथ्वी चन्द्रमाभन्दा तलको भागमा रहन्छन् भनेका छन्। यसको अर्थ बादललाई पनि जल मानेको हुनुपर्छ।
यो विचार युनानको एथेन्समा प्लेटो र अरस्तुले खोलेका शैक्षिक केन्द्रहरूमा प्रचार हुन थाले। यसपछि जति पनि दार्शनिकको उदय भयो, पूर्वीय दर्शनको जगबाट आफ्ना विचारहरू प्रवाह गरेको पाइन्छ। सन् १८०० को समय आइपुग्दा पूर्वीय दर्शनको व्यापक उजागर बर्लिन यूनिभर्सिटीबाट भएको देखिन्छ, जहाँ हेगल, शोपेनहावर, नित्शे र कार्ल मार्क्सलाई प्रभाव पारेको देखिन्छ। पूर्वीय दर्शनको विशेषतः गीताको आधारमा कार्ल मार्क्सको दास क्यापिटल तयार भएको देखिन्छ, फरक यति हो शब्द फरक छ।
गीताले धर्म र अधर्मको व्याख्या गरेको छ भने मार्क्सको दर्शनले पूँजीपति र मजदुर वर्गको उल्लेख गरेको छ। गीताले धर्मको आधारमा मानवताको उल्लेख गरेको छ भने मार्क्सवादमा अधिकारको रूपले मानवताको कुरा गरिएको छ। गीताले गुण र धर्मको आधारमा कर्म भनेको छ भने मार्क्सवादले योग्यताको आधारमा काम भनेको छ। गीताले न सेना, न पुलिस, न राज्य, न दण्ड, केवल राज्य धर्मको आधारमा संचालन भनेको छ भने मार्क्सवादले न सेना, न प्रहरी, न दण्ड समानताको कुरा गरेको छ। गीताले युद्ध जबर्जस्ती होइन, निष्ठाले जितिन्छ भनेको छ भने मार्क्सवादले अवसरवादले क्रान्ति असफल हुन्छ भनेको छ।
त्यसैगरी शोपेनहावरलाई पूर्वीय दर्शनको यति गहिरो प्रभाव परेको देखिन्छ कि उनलाई निराशावादी दार्शनिक पनि भनिन्छ, सायद पूर्वीय दर्शनमा वैराग्यको प्रभाव परेको देखिन्छ। हुन पनि उनले ‘जीवन जन्मिनु हुँदैनथ्यो; जन्मिएपछि बाँच्नु हुँदैन; किनकि जहाँसम्म जीवन रहन्छ, त्यहाँसम्म आत्मा दूषित भइरहन्छ’ भन्ने भनाइ राखेका छन्। त्यस्तै, नित्शे पनि एक पादरीका छोरा थिए, जसले बचपनदेखि धर्मको छाप पाएका थिए।
तर जब शोपेनहावरको सम्पर्कमा रहे, सायद उनलाई पूर्वीय दर्शनको असर परेको हुनुपर्छ। जसको कारण एक प्रकारको विद्रोह पैदा भई ‘ईश्वर मरेको छ’ भने घोषणा गरिदिए। अब पश्चिमी दर्शन र पूर्वीय दर्शनको कति पुरानो भनेर तुलना गर्दा पाश्चात्य दर्शन देववादलाई समेत जोड्ने हो भने ई.सा.पू. ८०० शताब्दी र भौतिक जगतको विषय अर्थात् बुद्धिवादको इतिहास हेरियो भने ई.सा.पू. ६०० मा थेलिस र पाइथागोरसको कालबाट सुरु भएको पाइन्छ।
पूर्वीय दर्शनको इतिहास विचार गर्दा सर्वप्रथम ऋग्वेदको समय ई.सा.पू. १०००० वर्ष पुरानो देखिन्छ, जुन दश जना ऋषिले रचेर वेदव्यासले पुस्तकमा सङ्ग्रह गरेका देखिन्छन्। यही वेदबाट निस्केका वैदिक साहित्य कायम छन्। यसरी हेर्दा इतिहास, सभ्यता र दर्शनमा सनातनी जगत निकै पुरानो रहेको छ। यही सनातनी जगतले दिएको दर्शनले युरोपको पुनर्जागरण कालमा पारेको प्रभावले पाश्चात्य जगतलाई सभ्य बनाएको हो। तर दुःखको कुरा, अब यही पाश्चात्य जगत पूर्वीय इतिहास र दर्शन मेटाउन लागिरहेको छ।














