अनेरास्ववियु जुम्ला जिल्ला कमिटीले प्रजातन्त्र दिवसको अवसर पारेर जुम्ला बहुमुखी क्याम्पसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अनेरास्ववियु जुम्ला जिल्ला कमिटीका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिराज भण्डारी रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष योगीले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको स्मरण गर्दै वर्तमान पुस्ताले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताए।
उनले भने, “प्रजातन्त्रले मात्रै मुलुकलाई समृद्ध बनाउने भएकाले यसको संस्थागत विकासमा सबै लाग्नुपर्छ।”
प्रमुख अतिथि भण्डारीले युवा विद्यार्थीहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै राजनीतिक चेतनासहित समाज रूपान्तरणमा लाग्नुपर्ने बताए।
उनले भने, “लोकतन्त्र प्राप्त गर्न जति संघर्ष भयो, त्यसलाई जोगाउन पनि उत्तिकै जिम्मेवारी हामी युवा पुस्ताको हो।”
कार्यक्रममा अनेरास्ववियुका विभिन्न नेताहरू, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो। दीप प्रज्वलनपछि लोकतान्त्रिक मूल्य–मान्यताबारे संक्षिप्त छलफलसमेत गरिएको थियो।