भित्तामा झुन्डिएको बाको कोट
वर्षौं देखि त्यहीँ झुण्डिरहेको छ
बाका हातका छाला कैयौं पटक फेरी सके
बाका काला केश हिउँ जस्तै सेता भइसके
तर बाको कोट त्यहीँ ..झुण्डिरहेको छ।
कोट झुन्ड्याउने काँटी खिया लागेर भाँचिन लगाई सक्यो,
सेतो भित्ता कालो भै कयौं पटक आफ्नो मुहार फेरि सक्यो
तर बाको कोट त्यहीँ..झुण्डी रहेको छ।
एक पटक ओथारो बसेको पञ्च्छिले त आफ्नो भुवा फेर्छ
एक पटक सबै पात खसे पछि पनि त रुखमा नयाँ पालुवा पलाउँछ
तर बाले लाउने कोट वर्षौं भैसक्यो फेरिएको छैन।
बाका ‘सपना’हाम्रा सपनाले तुहिन्छन्
सुत्दा खेरी आउने बाका आफ्ना रहरहरु बिहान उठ्दा हाम्रा रहर सँगै विलीन हुन्छन्।
बाका दुःख हाम्रा सुखमा परिणत हुन्छन्।
बाका खाली पेटहरुले हाम्रा भोक मेटाउँछ
त्यसैले त बाको कोट वर्षौं देखि त्यही भित्तामा झुण्डिरहेको छ।