आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूका अनुसार उपकूलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरूको स्तरवृद्धि र नियमावली अनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलन स्थगित भएको छ।
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूका अनुसार उपकूलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हो।
प्रतिष्ठानका शिक्षक र कर्मचारीहरूले आफूहरूको स्तरवृद्धि र तलब-भत्ताको विषयमा न्यायका लागि मिति २०८१ भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीहरूको पक्षमा फैसला भएको थियोे।
उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम सुरु भएको थियो। यसै सन्दर्भमा २०८१ कात्तिक २७ गते पदाधिकारी र कर्मचारीहरूबीच भएको दुई पक्षीय वार्तामा कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरी सभामा अनुमोदनका लागि पेश गर्ने सहमति गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
२०८१ कात्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले सो निर्णय अनुमोदन गरेको भए पनि उपकूलपतिले निर्णय कार्यान्वयनमा आलटाल गरेको आन्दोलनरत पक्षको आरोप छ।
निर्णय कार्यान्वयन नभएपछि २०८१ मंसिर ३ गतेदेखि प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनका कार्यक्रमहरू सुरु गरिएको थियोे। मंसिर ४ र ५ गते जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा बसेका सर्वदलीय बैठकहरूले समेत समाधान निकाल्न असफल भएपछि आन्दोलन थप चर्किएको आन्दोलनरत पक्षको दाबी छ।
“आन्दोलनको क्रममा रजिस्ट्रारबाट गठित वार्ता समितिसँग पटक-पटक छलफल भएपछि २०८१ पुष ४ गते उपकूलपतिबाट छुट पदहरू समेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदहरूको सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको छ,” विज्ञप्तिमा उल्लेख छ।
यही प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन्।