उनले जुम्लामा खिचेका संस्कृति र प्रकृतिका तस्वीरहरु अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल भएका छन्।
पश्चिम नवलपरासीका फोटोग्राफर तथा वातावरण संरक्षणकर्मी राज अधिकारीका लागि जुम्ला दोस्रो घर हो। अध्ययनका शिलशिलामा केहि समय जुम्लामा बिताउँदा यहाँका पशुपंक्षी, डाँडापाखा तथा संस्कृति र सभ्यताले अधिकारीका मनमा अमिट छाप छोडेका थिए।
उनले जुम्लामा खिचेका संस्कृति र प्रकृतिका तस्वीरहरु अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल भएका छन्। पिक्सोटो विभिन्न अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता आयोजना गर्ने अनलाइन प्लेटफर्म हो जसमा फोटोहरु लाइभ रेटिङ गरिन्छ।
फोटोग्राफर अधिकारीले आफ्नो जुम्ला बसाइका क्रममा जुम्लाको खलङ्गामा खिचेको हिमाली चरा च्याखुराको तस्वीर पिक्सोटोमा प्रतियोगी थियो। उक्त तस्वीर पंक्षी तर्फ दैनिक रेटिङमा प्रथम, साप्ताहिक रेटिङमा द्वितीय तथा मासिक रेटिङमा पाँचौं स्थान हासिल गर्न सफल भएको छ।
पिक्सोटोमा अहिलेसम्म पठाइएका पंक्षीका करिब ५ लाख ४५ हजार वटा तस्वीर मध्ये टप ३ प्रतिशतमा पर्न सफल यस तस्वीर पिक्सोटोका नेपाली पंक्षीका तस्वीरहरुमा द्वितीय स्थानमा छ।
केहि महिनाअघि अधिकारीले खिचेकै जुम्ली बड्डीको तस्वीर ब्राजिलमा प्रदर्शनीमा आएर चर्चा कमाएको थियो भने यसपाली च्याखुराको तस्वीरले जुम्लाको पंक्षी विविधता र चरा पर्यटनको सम्भाव्यता बारे अन्तर्राष्ट्रिय मञ्चमा सन्देश छोडेको छ।
जुम्लाको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वमाझ पस्किन सफल फोटोग्राफर राज अधिकारीले आगामी दिनमा पनि यस्तो कर्मलाई निरन्तरता दिने बताएका छन्।
उनले भने, “जुम्ला चिनाउन पाउँदा अत्यन्तै खुसी छ। जुम्लाले मलाई एक पछि अर्को खुसी दिइरहेको छ।”