सोमबार, ८ पुष, २०८१

चित्तौन कचेहेरीको दोस्रो संस्करण सम्पन्न

दोस्रो संस्करणको समापनअघि आयोजित नौ सत्रहरूमा उल्लेखनीय विषयवस्तुमा गहन छलफल र रचनात्मक प्रस्तुति भए।

चितवनको नारायणी कला मन्दिरमा शुक्रबारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ शनिबार साँझ सम्पन्न भएको छ। कार्यक्रमले साहित्य, विज्ञान, कला, जलवायु परिवर्तन, र सामाजिक विषयहरूमा केन्द्रित विविध संवाद र प्रस्तुति मार्फत सहभागीहरूलाई आकर्षित गर्‍यो।

दोस्रो संस्करणको समापनअघि आयोजित नौ सत्रहरूमा उल्लेखनीय विषयवस्तुमा गहन छलफल र रचनात्मक प्रस्तुति भए।

कार्यक्रमको पहिलो दिन पाकिस्तानका वैज्ञानिक, लेखक र बौद्धिक अगुवा डा. परवेज हुदभोयको प्रमुख विद्वत् प्रवचनले चर्चा बटुलेको थियो। उनले विज्ञानले सत्य खोज्ने प्रक्रियामा मानव एकताको महत्त्व झल्काउने विचार प्रस्तुत गरे।

उनका अनुसार, “विज्ञानले हामी कहाँबाट आयौं र हामी एउटै परिवारका हौं भन्ने तथ्य स्पष्ट गर्दछ, जसले लडाइँ र विभाजन अन्त्य गर्न मद्दत गर्दछ।”

शनिबारको प्रमुख आकर्षण भारतका लेखक हर्ष मन्दर, डा. परवेज हुदभोय र डा. जीवन क्षेत्रीबीचको संवाद थियो।

चितवनको ऐतिहासिक बसाइसराइ र यसले स्थानीय समाज, संस्कृति र वातावरणमा पारेको प्रभावबारे अभिनेता सरोज खनाल, उद्योगी प्रतिभा श्रेष्ठ, अध्येता सञ्जय चौधरी र विज्ञ दीर्घ घिमिरेले छलफल गरेका थिए।

कविता वाचन र गजल प्रस्तुति कार्यक्रमका सांस्कृतिक पक्षको प्रमुख आकर्षण बने। स्थानीय तथा राष्ट्रियस्तरका कवि र गजलकारहरूले आफ्ना रचनामार्फत दर्शकहरूको ध्यमन खिचेका थिए।

नाटक मञ्चनले चितवनको सांस्कृतिक र सामाजिक विविधता झल्काउने प्रयास गर्‍यो। यसले कार्यक्रममा सहभागी दर्शकलाई थप मनोरञ्जन र बौद्धिक ऊर्जा प्रदान गर्‍यो।

‘चित्तौन कचेहेरी’का दुवै दिन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चितवनका विभिन्न संघ-संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेले। कार्यक्रमको संयोजन ‘बेटर चितवन’ले गरेको थियो।

यसअघि २०८० वैशाखमा आयोजना भएको पहिलो संस्करणको तुलना गर्दै यो दोस्रो संस्करण अझै व्यापक र समृद्ध भएको चित्तौन कचेहरीकी निर्देशक सरिता तिवारीले बताइन्।

उनका अनुसार विविधतापूर्ण सत्र, प्रतिष्ठित वक्ता र स्थानीय सांस्कृतिक प्रस्तुतीकरणका कारण यो संस्करणले सहभागीहरूलाई विशेष अनुभव प्रदान गरेको थियो।

चितवन क्षेत्रको समृद्धि र सहकार्यका लागि ‘चित्तौन कचेहेरी’ हरेक वर्ष हुने आयोजकको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार