सोमबार, ८ पुष, २०८१

पूर्ण चौलागाईं नेपाल पत्रकार महासंघ जुम्ला शाखाको अध्यक्षमा निर्वाचित

अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मतको अन्तरले पराजित गर्दै चौलागाईंले नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

नेपाल पत्रकार महासंघको जुम्ला शाखामा सम्पन्न निर्वाचनबाट पूर्णप्रसाद चौलागाईं अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मतको अन्तरले पराजित गर्दै चौलागाईंले नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीका अनुसार कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो। चौलागाईंले २८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले २५ मत ल्याएका थिए।

यसअघि नै चौलागाईंको प्यानलका अधिकांश उम्मेदवार जिल्ला कार्यसमितिका विभिन्न पदहरूमा निर्विरोध निर्वाचित भइसकेका थिए।

वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, सदस्य पदमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएका छन्।

यसपटकको निर्वाचनमा प्रेस सेन्टरबाट दुई अध्यक्षका उम्मेदवार उठेका थिए। चौलागाईंलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेका थिए भने समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थिए।

निर्वाचन समितिले विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम आगामी शनिबार आयोजना गरिने जानकारी दिएको छ।

चौलागाईंले आफ्नो नेतृत्वको कार्यसमितिले जुम्लाका पत्रकारहरूको हकहित संरक्षण र क्षेत्रीय पत्रकारिताको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार