सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवा आयोगमार्फत पदपूर्ति र बढुवा प्रक्रिया सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया सुरु गरेसँगै, स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको रजिस्ट्रार महतले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवा सम्बन्धी कार्य लोकसेवा आयोगमार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ।

यो निर्णयले प्रतिष्ठानलाई विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट अब्बल शिक्षक र कर्मचारी नियुक्त गर्न ठूलो अवसर प्रदान गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार, “यो निर्णय संस्थागत हितका लागि महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ। प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता र योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ।”

लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो। तत्कालीन समयमा २०७५/०७/१५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो।

तर, तीन वर्षको प्रयास र विभिन्न कठिनाई पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

उनले भने, “प्रतिष्ठानको दीर्घकालीन हितका लागि लोकसेवा आयोगजस्तो विश्वसनीय संस्थामार्फत पदपूर्ति गर्नुपर्ने आवश्यकता थियो। यो निर्णयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति भित्र्याउन ठूलो सहयोग पुर्‍याउनेछ।”

उपकुलपति डा. रावलले लोकसेवा आयोगबाट पदपूर्ति गर्ने बाटोलाई ऐतिहासिक निर्णय भन्दै सहकार्य गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले थपे, “यो सफलता प्राप्त गर्नका लागि तीन वर्षको निरन्तर प्रयास गरिएको हो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी, सहसचिव पुष्कर सापकोटा र मानव संशाधन विज्ञ कृष्ण भण्डारीज्यूहरूको विशेष योगदानलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया सुरु गरेसँगै, स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको रजिस्ट्रार महतले बताए।

यस कदमले प्रतिष्ठानको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

आन्दोलन अन्त्यको अपिल
रजिस्ट्रार महतले हालसम्म आन्दोलनमा रहेका शिक्षक र कर्मचारीलाई सम्पूर्ण आन्दोलन स्थगित गरी आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको छ।

वैधानिक प्रक्रियाबाट योग्यताका आधारमा सबै कर्मचारीहरूको एक तह बढुवा हुने आश्वासन दिइएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले ०८१ मंसिर ३ गतेदेखि सुरु गरेको आन्दोलनका कारण प्रतिष्ठानका शैक्षिक क्रियाकलाप अवरुद्ध छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार