सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनले विद्यार्थी भविष्य अन्योलमा, नेविसंघ

नेविसंघले आन्दोलनरत पक्ष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समयमै समाधान खोजेर विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न जोडदार अपिल गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले मिति २०८१ मंसिर ३ गतेदेखि सुरु गरेको आन्दोलनका कारण प्रतिष्ठानका शैक्षिक क्रियाकलाप अवरुद्ध हुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको नेपाल विद्यार्थी संघ (नेविसंघ) जुम्ला कार्यसमितिले जनाएको छ।

आन्दोलनकै कारण परीक्षा फाराम भर्ने प्रक्रिया, पठनपाठन तथा अन्य नियमित क्रियाकलाप प्रभावित हुँदा कयौं विद्यार्थीको शैक्षिक प्रगति अन्योलमा परेको हो। नेविसंघका जिल्ला अध्यक्ष महेश हमालले यस्तो स्थितिले विद्यार्थीहरूको शैक्षिक भविष्यमा गम्भीर नकारात्मक असर पार्ने खतरा रहेको बताए।

“विद्यार्थीहरूको भविष्य राजनीतिक आन्दोलनको नाममा अवरुद्ध हुनु अन्याय हो। शैक्षिक संस्थाहरूको प्रमुख उद्देश्य शिक्षाको सुनिश्चितता र गुणस्तर सुधार हो, तर अहिलेको आन्दोलनले त्यसलाई पूर्णरूपमा प्रभावित पारेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत पक्षहरूले तत्काल समाधानका लागि ठोस कदम चाल्नुपर्छ,” हमालले भने।

सचिव बिनोद कुमार महतारा (एलेक्स)ले पनि नेविसंघको ध्यानाकर्षण यस विषयमा गम्भीर रहेको बताए। “हाम्रो आग्रह छ— दुबै पक्षले संवादबाट समाधान खोजून्। विद्यार्थीहरूको भविष्य खेलवाड गर्ने काम सह्य हुँदैन। आन्दोलनले परीक्षासमेत अवरुद्ध भएका कारण विद्यार्थीहरूको मनोबल खस्किएको छ। यसको दीर्घकालीन असर पर्न सक्छ,” उनले भने।

नेविसंघ जुम्लाले विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारी र प्रशासनलाई आन्दोलन यथासिघ्र अन्त्य गरी शैक्षिक वातावरण पुनर्स्थापना गर्न आग्रह गरेको छ। साथै, संस्थानले छात्रहितमा तत्काल कदम नचाले नेविसंघ आफैं थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

सचिव महताराले भने: “विद्यार्थीहरू कुनै पनि किसिमको अन्याय सहन तयार छैनन्। हामी शान्तिपूर्ण वार्ता र समाधानका पक्षधर छौं, तर आन्दोलनले लामो समय लम्बिए हामी दबाबमूलक कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।”

अध्यक्ष हमालले थपे: “कर्णाली जस्तो शैक्षिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा यस किसिमको गतिरोध अत्यन्तै दुखद् छ। विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामी आफ्नो भूमिका पूरा गर्नेछौं।”

नेविसंघले आन्दोलनरत पक्ष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समयमै समाधान खोजेर विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न जोडदार अपिल गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार