सोमबार, ८ पुष, २०८१

चन्दननाथ मन्दिर परिसरमा निर्मित विवाह मण्डप भत्काइयो

विवाह मण्डपमा ९ लाख गुठीको कोषबाट र ३ लाख निजी योगदानबाट संकलन गरिएको थियो। तर, निर्माण भएको तीन वर्ष पनि नपुग्दै मण्डप भत्काइएको छ।

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको विवाह मण्डप (यज्ञशाला) भत्काइएको छ। पुरातत्व विभागको निर्देशनअनुसार गुठी व्यवस्था समितिले उक्त संरचना हटाएको हो।

गुठी व्यवस्था समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार पुरातत्व विभागले २०७९ पुष १८ र २०८१ भदौ २६ मा परिपत्र गर्दै मन्दिर परिसरभित्रका आधुनिक संरचनाहरू हटाउन निर्देशन दिएको थियो।

यसैको पालना गर्दै मंसिर ११ गते डोजर प्रयोग गरी विवाह मण्डप भत्काइएको हो।

२०७८ सालमा तत्कालीन गुठी व्यवस्था समितिका अध्यक्ष पूर्णसिंह कठायतको नेतृत्वमा करिब १२ लाख रुपैयाँको लागतमा विवाह मण्डप निर्माण भएको थियो।

यसमा ९ लाख गुठीको कोषबाट र ३ लाख निजी योगदानबाट संकलन गरिएको थियो। तर, निर्माण भएको तीन वर्ष पनि नपुग्दै मण्डप भत्काइएको छ।

पूर्वअध्यक्ष पूर्णसिंह कठायतले विवाह मण्डप भत्काउनु पुरातत्व विभागको निर्देशनको आडमा व्यक्तिगत प्रतिशोध साध्ने प्रयास भएको आरोप लगाएका छन्।

उनले भने, “यदि पुरातत्व विभागकै निर्देशन हो भने मन्दिरभित्र सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका अन्य आधुनिक संरचनाहरू पनि भत्काइनुपर्छ।”

तर, वर्तमान गुठी अध्यक्ष थापाले विवाह मण्डप निर्माण प्रक्रियामा पुरातत्व विभागसँग सहमति नलिइएकाले संरचना भत्काउन निर्देशन आएको बताए।

उनले भने, “पुरातत्व विभागले स्पष्ट रूपमा भत्काउन निर्देशन दिएपछि हामी बाध्य भयौं। मण्डप भत्काउने निर्णय समितिका पदाधिकारीको व्यक्तिगत निर्णय होइन।”

पुरातत्व विभागले ऐतिहासिक र धार्मिक महत्त्वका स्थानहरूमा आधुनिक संरचना थप्न रोक लगाउँदै आएको छ।

विभागको मापदण्डअनुसार, यस्ता क्षेत्रहरूमा हुने निर्माण कार्यमा परामर्श र अनुमतिको अनिवार्यता छ।

तर, चन्दननाथ मन्दिरमा बनाइएको विवाह मण्डप निर्माण गर्दा यो प्रक्रिया पूरा नगरिएकाले विभागले संरचना हटाउन निर्देशन दिएको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार