कर्मचारीहरूले समस्याको समाधानका लागि २४ घण्टे अल्टिमेटम दिएका छन्। उनीहरूले उपकुलपतिलाई तत्काल केन्द्रीय कार्यालयमा फर्कन र आफ्ना माग पूरा गर्न आग्रह गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीले न्यायोचित वृत्तिविकासको माग गर्दै सञ्चालन गरेको आन्दोलन आज नवौं दिनमा प्रवेश गरेको छ।
आन्दोलनरत शिक्षक र कर्मचारीले मंगलबार जारी गरिएको एक विज्ञप्ति मार्फत प्रतिष्ठानभित्रको बेथितिप्रति गम्भीर आपत्ति जनाएका छन्। विज्ञप्तिमा उपकुलपति डा. मंगल रावलमाथि विभिन्न गम्भीर आरोप लगाइएको छ।
उनीहरूले नियम, विधि र प्रक्रियाको अवलम्बन नगरी उपकुलपतिले व्यक्तिगत स्वार्थका लागि निर्णय गरिरहेको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “विधि, विधान, र प्रक्रियाको रटान लगाएर कर्मचारीको वृत्तिविकासमा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई हामी कडा रूपमा भर्त्सना गर्दछौं।”
आन्दोलनरत कर्मचारीहरूले भने उपकुलपतिले आन्दोलनलाई सम्बोधन गर्न कुनै प्रयास नगरेको र समस्याबाट विमुख हुन प्रयास गरेको आरोप लगाएका छन्। “तालाबन्दीको नवौं दिनसम्म पनि उपकुलपतिले वार्ताको कुनै पहल नगर्नु उदासीनता र लाचारीपनको पराकाष्ठा हो,” विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीहरूले आफ्नो वृत्तिविकासलाई लिएर न्यायिक आदेशसमेत बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्मचारीहरूको पक्षमा आदेश दिइसकेको र कार्यकारी परिषदले निर्णयसमेत अनुमोदन गरिसकेको अवस्थामा पनि बढुवा प्रक्रियालाई रोकिएकोमा उनीहरूले गुनासो गरेका छन्।
“संविधान र नियमावली विपरीत माथिल्लो तहका पदाधिकारीहरूले स्वार्थपूर्ति गर्दा तल्लो तहका कर्मचारीको वृत्तिविकासमा बाधा पुर्याउनु कस्तो न्याय हो?” विज्ञप्तिमा प्रश्न उठाइएको छ।
आन्दोलनरथ कर्मचारीहरूले प्रतिष्ठानको आर्थिक स्रोतबारे समेत प्रश्न उठाएका छन्। उनीहरूले प्रतिष्ठान हाल एकमुष्ट अनुदानमा भर परेको हुँदा विज्ञापन प्रक्रिया अघि बढाउनुअघि अर्थ मन्त्रालयको स्वीकृति आवश्यक रहेको तर्क गरेका छन्।
“अर्थ मन्त्रालयको सहमति बिना नयाँ पदपूर्तिका लागि विज्ञापन प्रकिया अघि बढाउनु प्रतिष्ठानलाई आर्थिक संकटमा पुर्याउने प्रयास हो,” विज्ञप्तिमा भनिएको छ।
समस्याको समाधानका लागि २४ घण्टे अल्टिमेटम
कर्मचारीहरूले समस्याको समाधानका लागि २४ घण्टे अल्टिमेटम दिएका छन्। उनीहरूले उपकुलपतिलाई तत्काल केन्द्रीय कार्यालयमा फर्कन र आफ्ना माग पूरा गर्न आग्रह गरेका छन्।
माग पूरा नभए थप कठोर आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएका छन्। “यदि हाम्रो जायज माग बेवास्ता गरियो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रतिष्ठानका पदाधिकारीहरूले लिनुपर्नेछ,” आन्दोलनरत कर्मचारीले चेतावनी दिएका छन्।