सोमबार, ८ पुष, २०८१

जुम्लाको तिला गाउँपालिकामा ९५ प्रतिशत नागरिक साक्षरता भएको घोषणा

अभियानमा सामेल भएकी ४८ वर्षीया चन्द्रकला रोकाय भन्छिन्, “पहिले मलाई मेरो नामसमेत लेख्न आउँदैनथ्यो। तर अहिले म घडी हेर्न, क्यालेन्डर पढ्न र मोबाइल चलाउन सक्छु। यो हाम्रो जीवनमा ठूलो परिवर्तन हो।”

जुम्लाको तिला गाउँपालिकाले हालै ९५.४ प्रतिशत नागरिकलाई साक्षर बनाउँदै साक्षर पालिका घोषणा गरेको छ। यो केवल एउटा तथ्यांकको सफलता मात्र नभई ग्रामीण क्षेत्रको शिक्षा र चेतनाको विकासमा देखिएको सकारात्मक परिवर्तनको प्रतिविम्ब भएको बताएको छ।

जुम्लाको विकट भूगोलमा रहेको तिला गाउँपालिकाका अधिकांश बासिन्दा परम्परागत कृषि पेसामा निर्भर छन्। अशिक्षा र चेतनाको अभावले धेरै दशकसम्म यहाँका जनतालाई सामाजिक र आर्थिक विकासबाट वञ्चित गरायो।

तर दुई वर्षअघि तिला गाउँपालिकाले यो चुनौतीलाई अवसरमा बदल्ने साहसिक निर्णय गर्‍यो। तिलाकी शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार, गाउँपालिकाका सबै ९ वडामा घरधुरी सर्वेक्षण र साक्षरता कक्षा सञ्चालन गरी शिक्षाको बीउ रोप्न थालियो।

“गाउँगाउँमा पुगेर स्थानीयबासीलाई शिक्षा र चेतनाको महत्व बुझाउने काम गर्‍यौं,” उनले भनिन्, “बालबालिकादेखि वृद्धसम्मलाई आधारभूत साक्षरतामा ल्याउने हाम्रो मुख्य लक्ष्य थियो।”

साक्षरता अभियान केवल सरकारी प्रयासमा सीमित रहेन। स्थानीय विद्यालय, समुदायका अगुवा, महिला समूह, युवा क्लब, र गैरसरकारी संस्थाको सहकार्यले यसलाई अभियानकै रूप दियो।

“साक्षर बन्ने अभियानलाई समुदायले आफ्नै पहलजस्तो लिएर अगाडि बढायो। यसको मुख्य श्रेय तिला गाउँपालिका भित्रका जनताको सक्रिय सहभागितालाई जान्छ,” प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले भने।

अभियानमा सामेल भएकी ४८ वर्षीया चन्द्रकला रोकाय भन्छिन्, “पहिले मलाई मेरो नामसमेत लेख्न आउँदैनथ्यो। तर अहिले म घडी हेर्न, क्यालेन्डर पढ्न र मोबाइल चलाउन सक्छु। यो हाम्रो जीवनमा ठूलो परिवर्तन हो।”

तिला गाउँपालिकाले साक्षर घोषणा गर्न १२ सूचकहरूलाई आधार मानेको थियो। नाम लेख्न, मोबाइल चलाउन, ट्राफिक नियम बुझ्न, क्यालेन्डर हेर्न, र १ देखि १० सम्म गन्न सक्नेजस्ता आधारभूत सीपहरू हासिल गराउने काम अभियानको मुख्य लक्ष्य थियो।

अभियानको क्रममा १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका ८६७ नागरिक निरक्षर थिए। तीमध्ये ८२७ जनालाई साक्षर बनाउन सफल भएपछि हाल तिलामा केवल ४० जना नागरिक मात्रै निरक्षर रहेका छन्। यसले गाउँपालिकालाई साक्षर घोषणा गर्ने मार्ग प्रशस्त गर्‍यो।

तिलाका ३१ वटा सामुदायिक विद्यालयले अभियानलाई सफल बनाउन ठूला भूमिका निर्वाह गरेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए।

“शिक्षा विकास र सामुदायिक चेतना बढेपछि साक्षरता अभियानले तीव्र गति लियो। अब हामी बाँकी निरक्षरलाई साक्षर बनाउन थप कार्यक्रम गर्नेछौं,” उनले भने, “बालबालिकामार्फत अभिभावकमा शिक्षा र चेतनाको सन्देश पुर्‍याउनुका साथै शिक्षकहरूले वयस्क साक्षरता कक्षाहरू पनि चलाए।”

तिला गाउँपालिकामा साक्षरता अभियानले केवल साक्षर नागरिक मात्रै उत्पादन गरेन, यसले ग्रामीण जीवनमा व्यापक परिवर्तन ल्याएको अध्यक्ष रोकायाको भनाइ छ।

मानिसहरूले आफ्ना दैनिक जीवनका कामकाज सजिलोसँग गर्न थालेका छन्। ट्राफिक नियम पालना गर्न सिकेपछि सडक सुरक्षा बढेको छ। वित्तीय साक्षरताका कारण बैंकिङ प्रणालीमा पहुँच सजिलो भएको तिला गाउँपालिकाकी उपाध्यक्ष कल्पना बुढाले बताइन्।

उनले भनिन् “पहिले हामीलाई बाहिरी संसारको केही थाहा थिएन। तर अब बैंक खाता खोल्न, फारम भर्न र सरकारी सेवा लिन आफैं जान सक्छौं,”

साक्षरता घोषणाको यो सफलतालाई दिगो बनाउन गाउँपालिकाले नयाँ योजना अघि सारेको छ। सामुदायिक पुस्तकालय स्थापना, डिजिटल साक्षरतामा ध्यान, र बालबालिका तथा वयस्कहरूको शिक्षामा थप लगानी गर्ने योजना रहेको छ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीले भने, “साक्षरता केवल अक्षर चिन्ने कुरा होइन। यो जीवनस्तर सुधार गर्ने पहिलो खुड्किलो हो। तिलालाई पूर्ण साक्षर र आत्मनिर्भर बनाउनु अब हाम्रो दीर्घकालीन लक्ष्य हो।”

तिला गाउँपालिकाको साक्षरता अभियानले जुम्लाका अन्य पालिकाहरूलाई पनि प्रेरणा दिएको छ। अहिले सम्म जिल्लाका सात गाउँपालिकाहरू साक्षर घोषित भइसकेका छन्।

तिला गाउँपालिकाको यो सफलता केवल एउटा गाउँको कथा होइन। यो नेपालजस्तो विविध भूगोल र सांस्कृतिक संरचना भएका देशमा पनि शिक्षा र चेतनाको उज्यालो फैलाउन सकिने प्रमाण भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए।

उनले भने, “यो सन्देश सिंगो देशभर फैलाउन सकेमा ग्रामीण विकासको यात्रा अझै तीव्र हुनेमा कुनै शंका छैन।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार