शिविरबाट २०२ जनाले हाडजोर्नी, ९५ जनाले स्त्री रोग परामर्श र उपचार, १५० जनाले जनरल चेकजाँच, १३० जनाले मनोसामाजिक परामर्श, ११० अपाङ्गता परीक्षण सेवा र ३५ जनाले दन्त सेवा लिएका थिए।
सिंजा गाउँपालिकाको आयोजनामा, प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रविधिक सहयोगमा मिति २०८१ कार्तिक ३० र मङ्सिर १ गते दुईदिने निःशुल्क स्वास्थ्य तथा अपाङ्गता पहिचान शिविर सम्पन्न भएको छ।
शिविर क्रमशः सनिगाउँ स्वास्थ्य चौकी र नराकोट स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो। शिविरले दुर्गम गाउँका स्थानीयवासीलाई विशेषज्ञस्तरको स्वास्थ्य परामर्श, उपचार सेवा र अपाङ्गता पहिचान जाँच उपलब्ध गराएको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावलाई लक्षित गर्दै सञ्चालन गरिएको यो कार्यक्रमले समुदायका व्यक्तिहरूको ठूलो सहभागिता पाएको छ। शिविरमा विभिन्न स्वास्थ्य समस्यासँग सम्बन्धित सेवाहरू प्रदान गरिएको सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए।
उनका अनुसार शिविरबाट २०२ जनाले हाडजोर्नी, ९५ जनाले स्त्री रोग परामर्श र उपचार, १५० जनाले जनरल चेकजाँच, १३० जनाले मनोसामाजिक परामर्श, ११० अपाङ्गता परीक्षण सेवा र ३५ जनाले दन्त सेवा लिएका थिए।
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले, शिविरको सफलतामा सबै साझेदार संस्थाहरूको योगदानप्रति आभार प्रकट गरे।
उनले भने, “यस्ता स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सहज उपचार सेवा दिनुका साथै अपाङ्गता पहिचानमा सहयोग पुग्छ। हामी आगामी दिनमा पनि यस्ता सेवाहरू निरन्तर सञ्चालन गर्नेछौं।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले, प्रतिष्ठानको प्रविधिक सहयोगमार्फत दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउनु आफ्नो दायित्व भएको बताए।
“स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा विशेषज्ञहरूको सेवा उपलब्ध गराउन भविष्यमा पनि यस्ता कार्यक्रम गरिनेछ,” उनले भने।
प्लान नेपालले कार्यक्रमलाई वित्तीय र व्यवस्थापकीय सहयोग गरेको छ। यसैगरी, स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले, शिविरले समुदायका स्वास्थ्य समस्याबारे सचेतना जगाउनुका साथै सेवाप्राप्त व्यक्तिहरूलाई ठूलो राहत दिएको बताए।
सिंजा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य तथा अपाङ्गता पहिचान शिविरले जनताको स्वास्थ्य समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको अध्यक्ष धितालले बताए।
यस्ता कार्यक्रमले दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्थानीयहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय भूमिका खेल्ने निर्देशक डा. रोकायाले बताए।